सोमबार, १० मङ्सिर २०८१
ताजा लोकप्रिय
प्रदेश

‘कति खाने धुलोधुँवा ?’

बुधबार, १७ फागुन २०७९, १३ : ५६
बुधबार, १७ फागुन २०७९

दाङ । तुलसीपुर उपमहानगरपालिका–१८ दुधरासका लुमासिंह डाँगीको घर सोनापुर सिमेन्ट उद्योगको छेउमै पर्छ । उद्योग र डाँगीको घर करिब सय मिटरको दुरीमा छ । उद्योगको धुलोधुँवाले घर, बाली सबै धुलाम्य देखिन्छ ।

घर बाहिरमात्रै होइन, घरभित्रका भाडाँकुडादेखि लत्ताकपडा ओढ्ने–ओछ्याउनेसम्म धुुलाम्य हुुन्छन् । उद्योगको धुलोधुुँवा दिनमा ५÷७ पटक नै सफा गर्नुुपर्ने बाध्यता डाँगी परिवारलाई छ ।

घरभित्र बाहिर, लत्ताकपडा, भाडाँकुुडाको धुलोधुँवा सफा गर्न मिल्छ तर शरीरभित्र त्यही धुलोधुँवाले पार्ने असर कम गर्न नियमित औषधि खानुपर्ने बाध्यता रहेको स्थानीयवासी बताउँछन् ।

डाँगीले भने, ‘जहिलेदेखि उद्योग चल्यो, यस क्षेत्रमा बस्दै आएका हामी त्यो बेलादेखि नै धुलोधुँवाको सिकार बन्न थाल्यौँ ।’

नियमले ठूला उद्योगहरू मानव बस्तीभन्दा करिब ३ किलोमिटर टाढा सञ्चालन हुनुपर्ने हो । तर सोनापुर सिमेन्ट उद्योग घनाबस्ती बिचमै छ । उद्योगको पूर्वमा घोराही उपमहानगरपालिका वडा नं. ११, दक्षिणमा तुलसीपुर–१७ पर्दछ भने उद्योग तुलसीपुर–१८, दुधरासमा सञ्चालित छ ।

मानव बसोबासका हिसाबले यी क्षेत्रमा निकै बाक्लो बस्ती छ । तर वर्षाैँदेखि बस्तीबिचमा चल्दै आइरहेको उद्योगको धुँवाधुलो र प्रदूषणका कारण स्थानीयबासी आजित भएका छन् । उनले भने, ‘उद्योगले रोगी बनाइसक्यो । दैनिक धुँवाधुलो खानु परेका कारण विभिन्न रोग लाग्ने गरेको छ ।’

स्थानीयवासीको मानव स्वास्थ्यमा मात्रै होइन, अन्नपात, बस्तुभाउमा समेत धुँवाधुलोले असर पार्दै आएको छ । उद्योगको धुलोधुुँवाले बालीनालीको उब्जनीदेखि गाईबाख्रालाई घाँसपात खुवाउन समस्या परिरहेको स्थानीयवासीको भनाइ छ । बस्तुभाउले खाने घाँस परालमा धुलोधुँवा छपक्कै हुने भएकाले तिनै घाँसपराल खाएका कारण बस्तुभाउ बिरामी हुनेदेखि मर्नेसम्म गरेको डाँगीले बताए ।

उनले भने, ‘धुलो बसेका घाँसपात खाँदा मेरै घरको ३ वटा बाख्रा मरे, हाम्रो स्वास्थ्यमा पनि धुलोधुँवाको असर परेको छ । हामी नियमित औषधि खान्छौँ ।’

उद्योगले धुुँवाधुलो नियन्त्रण नगर्ने र आफूहरू उक्त ठाउँ छाडेर अन्यत्र जान नसक्ने अवस्थाका बिच प्रदूषणमै दैनिकी गुजार्नु परिरहेको उनी बताउँछन् ।

उनी मात्रै होइन, घोराही उपमहानगरपालिका वडा नं. ११, नयाँ बस्तीका बासिन्दा पनि यस्तै पीडामा छन् । सो बस्तीमा करिब ७० घरधुरीको बसोबास छ । जहाँ रुघाखोकीका बिरामी नभएको घर नै छैनन् । नयाँ बस्तीका निर्मल नेपालीले भने, ‘रुघाखोकी त हामीलाई सजिलै थाहा हुन्छ र औषधि ल्याएर खाने गरिरहेका छौँ । भित्री अङ्गको चेकजाँच गरे तिनमा कति रोग लागेको होला !’

छेउमै रहेको उद्योगले आफूहरूलाई दैनिक रोगी बनाउँदै गएको उनको भनाइ छ । उद्योग स्थापना भएदेखि खेतबारीको उब्जनी समेत घट्दै गएको उनले बताए ।

सरकार मौन

स्थानीय सरकार र स्थानीय प्रशासनले उद्योगको प्रदूषणबारे खासै चासो देखाएका छैनन् । पीडितहरूले आन्दोलन नै गरेपछि केही दिन चासो देखाएजस्तो गरे पनि पछि उक्त विषय त्यसै सेलाउने गरेको छ ।

सिमेन्ट उद्योग बस्ती बिचमा मात्रै होइन, घोराही–तुलसीपुर सडकको छेउमै छ । नियमले बस्ती, सडक, जंगलदेखि केही टाढा रहनुपर्ने भए पनि सोनापुर सिमेन्ट उद्योगले यो नियम पूरा गरेको छैन ।

उद्योगको प्रदूषणका कारण पीडितको स्वास्थ्यअवस्था जोखिममा पर्दै गइरहे पनि स्थानीय सरकार, प्रशासन मौन नै देखिन्छन् । उद्योग पीडित हृदयदास नेपालीले भने, ‘उद्योगको धुुँवाधुलो खाएर मर्नुपर्ने भयो , राज्यले त्यो देख्दैन ।’

उद्योगको लापरबाहीका कारण स्थानीयवासीले जति पीडा खेप्नुु परेको छ, त्योभन्दा बढी स्थानीय सरकार र प्रशासनको बेवास्ताका कारण खेप्नु परेको उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गिरिराज नेपाली
गिरिराज नेपाली
लेखकबाट थप