मङ्गलबार, ११ मङ्सिर २०८१
ताजा लोकप्रिय
समाचार

रातोपाटी ब्रिफिङ : सरकारबाट बाहिरियो एमाले, विश्वासको मत लिने तयारीमा प्रधानमन्त्री

रिहा भए पल शाह, सन्दीपलाई विदेश जान अनुमति
सोमबार, १५ फागुन २०७९, २० : ५२
सोमबार, १५ फागुन २०७९

आज २०७९ फागुन १५ गते सोमबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौं–

आजका मुख्य समाचारमा समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरियो एमाले, विदेश जान पाउने भए सन्दीप लामिछाने, रिहा भएका पल शाहलाई समर्थकले गरे स्वागत, राजनीतिक समीकरण फेरिएपछि प्रदेश सरकारमा पनि हलचल, विश्वासको मत लिने प्रधानमन्त्रीको तयारी, परराष्ट्रमन्त्रीलाई जेनेभा भ्रमणमा जान रोकेकोबारे के भन्छन् विज्ञ ?, हनुमान ढोका दरबारमा ठड्याइयो चीर लगायत छन् ।

१. समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरियो एमाले
प्रधानमन्त्री पुष्पकमल दाहाललाई दिएको समर्थन फिर्ता लिँदै नेकपा एमाले संघीय सरकारबाट बाहिरिएको छ । एमालेबाट सरकारमा सामेल मन्त्रीहरुले सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाललाई राजीनामा दिएका हुन् ।

२. विदेश जान पाउने भए सन्दीप लामिछाने
बलात्कार सम्बन्धी मुद्दा खेपिरहेका क्रिकेटर सन्दीप लामिछानेलाई सर्वोच्च अदालतले सशर्त विदेश जान अनुमति दिएको छ । उच्च अदालतको आदेश अनुसार धरौटीमा रिहा भएका उनलाई सर्वोच्चले विदेश जान अनुमति दिएको हो ।

३. रिहा भएका पल शाहलाई समर्थकले गरे स्वागत
बलात्कार आरोपमा सफाइ पाएसँगै अभिनेता पल शाह सोमबार तनहुँ कारागारबाट रिहा भएका छन् । उनलाई स्वागत गर्न ठुलो संख्यामा समर्थक जेल बाहिर उपस्थित थिए । समर्थकहरुले नाराबाजीसमेत गरेका थिए ।

४. राजनीतिक समीकरण फेरिएपछि प्रदेश सरकारमा पनि हलचल
राष्ट्रपति निर्वाचनको पूर्वसन्ध्यामा राजनीतिक समीकरण फेरबदल भएसँगै प्रदेशहरुमा पनि हलचल भएको छ । विभिन्न प्रदेशमा सरकारको स्थायित्वमाथि प्रश्न खडा भएको छ । खासगरी एमालेले नेतृत्व गरेको प्रदेशमा सरकारको भविष्यमाथि प्रश्न उठ्न थालेको हो । 

५. विश्वासको मत लिने प्रधानमन्त्रीको तयारी
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभामा विश्वासको मत लिने तयारी गरेका छन् । सत्ता साझेदार दलहरु सरकारबाट बाहिरिएसँगै प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद पुनर्गठन र विश्वासको मत लिने तयारी एकसाथ अघि बढाएका छन् ।

६. परराष्ट्रमन्त्रीलाई जेनेभा भ्रमणमा जान रोकेकोबारे के भन्छन् विज्ञ ?
राष्ट्रसंघीय मानवअधिकार परिषदको ५२ औं सत्रमा सहभागी हुनबाट परराष्ट्रमन्त्रीलाई रोकेको विषयलाई कुटनीतिक क्षेत्रका विज्ञले गैरजिम्मेवारीपूर्ण कदम भनेका छन् । सरकारको यस्तो कदमलाई उनीहरुले कुटनीतिक मर्यादाविपरीतको कार्यसमेत भनेका छन् ।

७. एकीकृत समाजवादीलाई क्रान्तिकारी धार भएको पार्टी बनाउने अध्यक्ष नेपालको प्रतिबद्धता
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफूहरुले चाहे मुलुकको राजनीतिक कोर्ष परिवर्तन हुनसक्ने बताएका छन् । सोमबार सुर्खेत विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै अध्यक्ष नेपालले एकीकृत समाजवादीलाई राष्ट्रिय राजनीतिमा क्रान्तिकारी धार भएको पार्टीको रुपमा अगाडि बढाउन चाहिरहेको पनि बताए ।  

८. हनुमान ढोका दरबारमा ठड्याइयो चीर
काठमाडौंको वसन्तपुरस्थित हनुमानढोका दरबारमा तीन तले चीर ठड्याइएको छ । हनुमानढोका दरबारको गद्दी बैठकको दक्षिणतर्फ सोमबार तीन तले चीर ठड्याएसँगै देशभर फागु अर्थात् होली पर्व सुरु भएको छ ।

९. कतार जाने नेपालीको संख्यामा गिरावट
कतार विश्वकप फुटबलपछि वैदेशिक रोजगारीका लागि जाने नेपालीको संख्यामा निकै गिरावट आएको छ । विश्वकप अगाडि जुन चापमा नेपालीहरू गइरहेका थिए । अहिले भने त्यो तुलनामा ५० प्रतिशतले कमी आएको छ । विगतको तुलनामा अहिले कतारका लागि श्रम स्वीकृति लिनेको संख्या ५० प्रतिशतले घटेको हो ।

१०. र यो पनि,
उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायण काजी श्रेष्ठले धनुषा र सिराहालाई जोड्ने  कमला नदी पुलको निर्माण कार्य दुई हप्ताभित्र सुरु गर्न निर्देशन दिएका छन् । 


नेकपा माओवादी केन्द्रको स्थायी समिति र केन्द्रीय समिति बैठकपछि प्रवास समन्वय समिति सक्रिय भएर लागेको छ । 

नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक (डीआइजी) श्यामलाल ज्ञवालीले आफ्नो नागरिकतामा शंका गर्नुपर्ने कुनै आधार नरहेको स्पष्ट पारेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप