शनिबार, ०८ मङ्सिर २०८१
ताजा लोकप्रिय
वैदेशिक व्यापार

सञ्चालनमा रहेका मध्ये एक तिहाइ नाकाबाट शून्य निर्यात

बन्दैछन् आधा दर्जन थप व्यापार पूर्वाधार
सोमबार, १५ फागुन २०७९, १९ : ०९
सोमबार, १५ फागुन २०७९

काठमाडौँ । सञ्चालनमा रहेका कूल व्यापारिक नाकामध्ये एक तिहाइ नाकाबाट हुने निर्यात शून्य देखिएको छ । 

हाल नेपालले वैदेशिक व्यापारमा प्रयोग गर्दै आइरहेको कूल २७ वटा भन्सार नाकामध्ये १० वटाबाट शून्यको निर्यात हुने गरेको देखिएको हो । 

यी नाकाहरू नेपाल तर्फको आयातमा मात्रै प्रयोग भइरहेको छ भने सरकारी बेवास्ता र आवश्यक पूर्वाधार नहुँदा निर्यात शून्य छ ।

नेपालले वैदेशिक व्यापारमा प्रयोग गर्ने व्यापारिक नाकामध्ये महेशपुर, जनकपुर, भद्रपुर, राजविराज, त्रिवेणी र सिराहा भन्सार कार्यालयबाट निर्यात हुँदैन । 

यस्तै, सुनसरी, ठाडी, तातोपानी र साटी भन्सार नाकाबाट समेत चालू आर्थिक वर्ष २०७९÷८० को ७ महिनाको अवधिमा शून्य निर्यात छ । जबकि, यी सबै नाकाबाट नेपालतर्फ आयात भने भइरहेको छ ।

महेशपुर भन्सार कार्यालयबाट २३ करोड, जनकपुरबाट ५५ करोड, भद्रपुरबाट १० करोड, राजविराजबाट ३ करोड रुपैयाँको आयात भएको छ । 

यस्तै, सिराहाबाट ९ करोड, सुनसरीबाट ४ अर्ब र तातोपानीबाट ६ अर्बको आयात हुँदा ठाँडीबाट ४ र साटीबाट १५ करोडको आयात भएको तथ्याङ्क छ । 

यसले नेपालका व्यापार पूर्वाधार नेपालतर्फ हुने आयातका लागि स्थापना भएको जस्तो देखिन थालेको छ । सञ्चालनमा रहेका सबै नाकाबाट उल्लेख्य मात्रामा आयात भइरहँदा निर्यात भने न्यून देखिन्छ ।

‘नेपालमा वस्तु उत्पादन नै हुँदैन । उत्पादित वस्तुमा गुणस्तर समस्या छ,’ नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले भने, ‘यस्तै, उत्पादित वस्तु गुणस्तरीय भए पनि ढुवानी लागतलगायत समस्या हुँदा अन्तर्राष्ट्रिय बजारमा मूल्य प्रतिस्पर्धा गर्न सक्दैन ।’ सोही कारण नेपालका नाकाहरूबाट निर्यात शून्य भएको उनको भनाई छ । 

यस्तो अर्थमा नेपाल सरकार र विभिन्न दाताहरुको सहयोगमा अर्बौ रुपैयाँको लगानीमा बनाइएका भन्सार कार्यालय, एकीकृत जाँच चौकी र सुख्खा बन्दरगाह आयात बढाउने माध्यमजस्ता देखिएका छन् ।

खास गरी, नेपालबाट विदेशतर्फ पर्याप्त वस्तु निर्यात गर्न नसक्दा सबै भन्सार नाकाहरू आयात बढाउने माध्यमका रुपमा परिणत बनेका छन् । 

चालू आर्थिक वर्षको ७ महिनाको अवधिमा नेपालतर्फ ९ खर्ब १९ अर्ब १६ करोड ५३ लाख रुपैयाँको आयात भएको छ । यस्तै, यस अवधिमा नेपालबाट जम्मा ९३ अर्ब ४३ करोड रुपैयाँको निर्यात भएको भन्सार विभागको तथ्याङ्कले देखाउँछ । यसअनुसार चालू वर्षको ७ महिनाको अवधिमा नेपालले ८ खर्ब २५ अर्ब ७३ करोड ३० लाख रुपैयाँ व्यापार घाटा ब्यहोरेको छ ।

यी हुन् निर्यात नहुने नाका

a

कुन नाकाबाट कति व्यापार ?

image (2)

तथ्याङ्कअनुसार हाल सञ्चालनमा रहेका कूल २६ वटै भन्सार कार्यालयबाट वैदेशिक व्यापार हुँदै आइरहेको छ । यद्यपि, कूल १० वटा नाकाबाट आयात शून्य देखिएको छ । 

यस्तो अवस्थामा भैरहवा भन्सार कार्यालयबाट १ खर्ब ३० अर्ब ५३ करोड रुपैयाँको आयात भएको छ । यस्तै, विराटनगरबाट १ खर्ब ६ अर्बको आयात हुँदा वीरगन्जबाट ३ खर्ब ४३ करोड रुपैयाँको वस्तु आयात भएको छ । 

यता, वीरगन्ज सुख्खा बन्दरगाहबाट समेत चालू आर्थिक वर्ष २०७९÷८० को ७ महिनाको अवधिमा १ खर्ब १६ अर्ब ४४ करोड रुपैयाँको आयात भएको छ । जबकि वैदेशिक व्यापारमा मुख्य भूमिका खेल्दै आएका यी भन्सार नाकाबाट समेत नेपालको निर्यात व्यापार न्यून छ । 

भैरहवा भन्सारबाट ५ अर्ब ४२ करोडको निर्यात हुँदा विराटनगरबाट २५ अर्ब ५३ करोडको निर्यात भएको छ । यस्तै, वीरगन्जबाट २५ अर्ब ५३ करोड रुपैयाँको निर्यात हुँदा वीरगन्ज सुख्खा बन्दरगाहबाट समेत २३ अर्ब २८ करोडको मात्रै निर्यात व्यापार भएको छ । यी बाहेक अन्य नाकाबाट खर्ब माथिको आयात भएको छैन ।

नाकाअनुसार वैदेशिक व्यापार

a1

 

यी स्थानमा बन्दैछन् नयाँ पूर्वाधार

व्यापार पूर्वाधार निर्माण र व्यवस्थापनको जिम्मेवारी पाएको नेपाल इन्टरमोडल यातायात विकास समितिले देशका आधा दर्जन स्थानमा व्यापार पूर्वाधार बनाइरहेको छ । 

यसमध्ये केही पूर्वाधारको काम सुरु भइसकेको छ भने केही पूर्वाधारको सम्भाव्यता अध्ययन सम्पन्न भइसकेको समितिका कार्यकारी निर्देशक आशिष गजुरेल बताउँछन् । 

गजुरेलका अनुसार हाल देशका विभिन्न स्थानमा सुख्खा बन्दरगाह निर्माणाधीन अवस्थामा छन् भने धेरै स्थानमा सम्भाव्यता अध्ययन सकिएर निर्माणको चरणमा छन् ।

नेपालको वैदेशिक व्यापारलाई सहज बनाउने लक्ष्यसहित सुख्खा बन्दरगाह निर्माणको काम अघि बढिरहेको कार्यकारी निर्देशक गजुरेल जानकारी गराउँछन् । 

हालसम्म समितिले तातोपानी, चोभार, वीरगञ्ज, भैरहवा, विराटनगर र काँकडभिट्टामा सुख्खा बन्दरगाह निर्माण सकेर सञ्चालन भइरहेको छ । 

यी बाहेक, भविष्यको वैदेशिक व्यापार सहजीकरण गर्ने लक्ष्यसहित अन्य आधा दर्जन स्थानमा व्यापार पूर्वाधार निर्माणको काम भइरहेको गजुरेलको भनाइ छ ।

हालसम्म इन्टरमोडल यातायात विकास समितिले हुम्लाको यारी, चाँदनी दोधारा, कोरला, ओलाङचुङगोला, जलेश्वर र किमाथांकामा सुख्खा बन्दरगाह निर्माणको अध्ययन सम्पन्न गरिसकेको छ । 

यस्तै, टिमुरेमा सुख्खा बन्दरगाह निर्माणको काम ३५ प्रतिशत सकिएको छ भने नेपालगञ्जमा निर्माणाधीन एकीकृत भन्सार चौकीको निर्माणसमेत ८० प्रतिशत सम्पन्न भएको छ ।

‘चोभार सुख्खा बन्दरगाह निर्माण सम्पन्न भइसकेको छ । विश्व बैंकको ऋण सहयोगमा बनेको बन्दरगाहले काठमाडौंकेन्द्रीत वैदेशिक व्यापारलाई प्राथमिकतामा राख्नेछ,’ गजुरेल भन्छन्, ‘हाल यो बन्दरगाह नचलेपनि अबको १०÷२० वर्षपछिको व्यापारमा अत्यावश्यक व्यापार पूर्वाधार बन्छ ।’

image (1)

के भन्छन् व्यापारविज्ञ ?

व्यापारविज्ञ पुरुषोत्तम ओझा नेपालमा अन्तर्राष्ट्रिय बजारमा बेच्न योग्य वस्तु उत्पादन नहुँदा निर्यातमा समस्या देखिएको बताउँछन । 

‘नेपालमा वस्तु उत्पादन नै हुँदैन । उत्पादित वस्तुमा गुणस्तर समस्या छ,’ उनले भने, ‘यस्तै, उत्पादित वस्तु गुणस्तरीय भए पनि ढुवानी लागतलगायत समस्या हुँदा अन्तर्राष्ट्रिय बजारमा मूल्य प्रतिस्पर्धा गर्न सक्दैन ।’ सोही कारण नेपालका नाकाहरूबाट निर्यात शून्य भएको उनको भनाई छ ।

नेपाल–भारत पारवहन सन्धिले नेपालका १५ वटा नाकाबाट निर्यात अनुमति दिएको छ । ती मध्ये, वीरगन्ज र विराटनगर नाकाबाट निर्यातको पायक पर्छ । 

नेपालबाट निर्यात हुने वस्तु भारतको कलकत्ता, हल्दिया र विशाखपटन बन्दरगाहबाट निर्यात हुन्छ । यी बन्दरगाहमा सामान पठाउन नेपालका दुई नाकाबाट मात्रै सहज र छिटो हुन्छ । यसबाहेक अन्य नाकाबाट समेत छिटपुट निर्यात भए पनि मुख्य निर्यात नाका ७ वटा मात्रै रहेको र बाँकी नाकाबाट निर्यातको परिणाम उल्लेख्य नरहेको ओझाले रातोपाटीलाई बताए ।

यसै गरी, निर्यातको तुलनामा आयात बढ्नुमा स्वदेशी बजारको मागअनुसार नेपालका उद्योगीले उत्पादन गर्न नसक्नु नै हो । स्वदेशका उत्पादकले राष्ट्रिय अवश्यकताअनुसार उत्पादन गर्न सकेमा आयात विस्थापन गर्न सक्ने भए पनि सो अनुसार हुन नसक्दा विदेशी उत्पादक हाबी भएको ओझाले बताए । जसको परिणाम यतिबेला मुलुकको आयात अनियन्त्रित ढङ्गले उकालो लागिरहेको छ ।

image (3)

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

निकेश खत्री
निकेश खत्री

खत्री रातोपाटीका लागि आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप