आइतबार, ०७ पुस २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सामाजिक सञ्जालमा भाइरल सिरियाली भिडियो र तस्बिरको यथार्थ

सोमबार, १४ फागुन २०७४, १६ : ३८
सोमबार, १४ फागुन २०७४

   काठमाडौं–केहि दिनयता सामाजिक सञ्जालमा सिरियामा भएको भनिएको बम आक्रमणको भिडियो भाइरल भइरहेका छन् । 

त्यस्तै बम आक्रमणमा घाइते भएका निर्दोष बालकहरूको तस्बिर पनि उत्तीकै सेयर भइरहेका छन् । नेपाली समाजिक सञ्जालमा यी आक्रमण अमेरिकाले सिरियामाथि गरेको बम हमला भनेर प्रसारित भइरहेको छ । 

अमेरिका सिरियाली गृहयुद्धमा अप्रत्यक्ष रूपमा संलग्न भए पनि पछिल्लो बम हमला भने उसले गराएको होइन ।

सिरियामा विगत ७ वर्षदेखि गृहयुद्ध जारी छ । सिरियामा प्रत्येक पटक ठूलो मुठभेडपछि पुराना फोटो र भिडियोहरू सामाजिक सञ्जालमा छाउने भएकाले यी हालैको आक्रमणका हुन् भन्न सकिने अवस्था छैन ।
सिरियामा पहिलो पटक सन् २०११ मा सरकारको विरोध सुरु भएको थियो । ट्युनिसियाबाट सुरु भएको विरोध लिबिया र इजिप्टको बाटो हुँदै सिरिया भित्रेको थियो । यी सबै देशमा ३० वर्ष वा त्योभन्दा लामो समयदेखि एउटै व्यक्तिको शासन चलिरहेको थियो । बाँकी अन्य देशमा जस्तै सुरुमा शान्तिपूर्ण रहेको विरोधले सिरियामा भने हिंसात्मक र अझ जातीय सङ्घर्षमा लियो ।

माथिका २ पुरानाे  तस्बिर

 

सिरियाका वर्तमान राष्ट्रपति बसार अल–असाद देशको कुल जनसङ्ख्यामा १३ प्रतिशत हिस्सा ओगट्ने सिया समुदायका हुन् । उनी सन् २००० मा उनको पिता हाफिज अल–असादको मृत्यु भएयता शासनमा छन् । उनका बावु हाफिजले १९७० मा रक्षा मन्त्री रहँदा कू गरेर सत्ता हत्याएका थिए । उनले तीस वर्षसम्म शासन चलाए । असाद परिवारले धर्मनिरपेक्षताको आधारमा राज्यलाई संचालन गरिरहेका छन् । एक समयसम्म असादहरूको शासनमा विकासले गति लिएको थियो । त्यो समय राज्यमा सिया सुन्नीको विवाद थिएन । तर आर्थिक वृद्धिमा कमी आएसँगै बढेको असन्तुष्टिको निशाना राज्यमा लामो समयदेखि कायम रहेको सिया अधिपत्य, असाद परिवार अझ धर्मनिरपेक्षता भएका छन् ।

सरकारले प्रारम्भमा भएका शान्तिपूर्ण विरोध जुलुसमा चरम दमन गर्यो । सो निर्मम दमनको विरोधमा जुलाई २०११ मा सेनाको एक तप्काले विद्रोह गर्यो । त्यसपछि सुरु भएको सिरियाली गृहयुद्धले क्षेत्रीय र अन्तर्राष्ट्रिय शक्तिको रणभूमि भइदिँदा विकराल रूप लिएको छ । सुन्नी राष्ट्र साउदी अरब त्यहाँको सिया सरकारलाई कुनै हालतमा हटाउन चाहन्छ । सियाबहुल राष्ट्र इरान जसरी पनि असाद सरकारलाई जोगाउन चाहन्छ । दुबै राष्ट्र आफूले समर्थन गरिरहेको पक्षलाई आर्थिक, सशस्त्र र जनशक्ति सहयोग प्रदान गरिरहेको छ ।

साउदी अरबको रणनीतिक मित्र रहेको अमेरिका साउदी अरबको स्वार्थको पक्षमा रहेको छ । ऊ यो युद्धमा प्रत्यक्ष संलग्न छैन । तर एक रिपोर्टले अमेरिका असाद सरकार विरोधी फौजलाई छिमेक देशमा ल्याएर तालिम दिने र हतियार उपलब्ध गराउने काममा संलग्न भएको सार्वजनिक गरेको थियो । अमेरिका असाद सरकारको विरोधमा रहनुको कारण अर्को पनि छ । सोभियत सङ्घको पतनपछि एकल ध्रुवीय विश्वको नेतृत्व गरिरहेको अमेरिकाको संसारभर आफूलाई खुलेरै अटेर गर्ने सरकार टिक्न नदिने भित्री नीति देखिन्छ । असद परिवारको शासन भने विगत ४८ वर्षदेखि अमेरिकालाई चिड्यार पनि सरकारमा रहने संसारको थोरै सरकारमा पर्छ ।

असाद सरकार बलियो शक्तिहरूको सामूहिक आक्रमणमा परेर राजधानी सहरमा सीमित भइसकेको अवस्थामा ३० सेप्टेम्बरमा २०१५ मा रसियाको आगमनले यो गृहयुद्धको शक्ति सन्तुलन नै बदलियो । रसियाले सिरिया सरकारको पक्षमा लड्नका लागि युद्धक विमानहरू पठाएर यस युद्धमा सहभागीता जनायो ।

युक्रेनमा भएको शान्तिपूर्ण विरोधपछि रसिया समर्थक राष्ट्रपति भिक्टर यानुकोभिच देश छाड्नुपर्यो । बदलामा रसियाले त्यसको ३ दिनपछि नै २६ फेब्रुअरी २०१४ मा क्रिमियालाई बलपूर्वक आफूमा समाहित गर्यो । यो घटनापछि अमेरिका र उसका मित्रहरूले रसियामाथि कडा नाकाबन्दी लगाए । रसिया अमेरिकामाथि प्रहार गर्ने विन्दु खोजिरहेको थियो । उसले त्यो सिरियामा पायो ।
रसियाको आगमनपछि विद्रोहीहरूले कब्जामा लिएका निक्कै भूभागहरू गुमाइसकेका छन् ।

पछिल्लो बम आक्रमण सरकारले विद्रोहीहरूबाट छुटाउन बाँकीे राजधानी नजिकको पूर्वी गोटामा भएको हो । सरकारले यसलाई जसरी पनि विद्रोहीहरूबाट फिर्ता लिन खोजेको उसले प्रयोग गरेको शक्तिबाट देखिन्छ । हप्ता दिनसम्म भएको बमबारीमा विद्रोही लुकेको भनिएको हिस्सा लगभग समथल बनेको छ र यो आक्रमणमा सयौँले ज्यान गुमाएका छन् ।

 

सिरिया नजिकैको यमनमा विगत दुई वर्षदेखि साउदी अरबको नेतृत्वमा यस्तै भीषण आक्रमण भइँरहदा कुनै तस्बीर बाहिर नआउने अवस्थामा सिरियाका सरकारले गर्ने प्रत्येक सानातिना आक्रमणपछि (पुराना) तस्बिर र भिडियो समाजिक सञ्जालमा व्यापक हुनु र हस्तक्षेपको माग हुनुले पश्चिमी शक्ति सिरियामाथि प्रत्यक्ष आक्रमणका लागि जनमत बटुलिरहेको छैन भन्ने प्रश्न पनि उब्जाउँछ । आखिर विगतमा पश्चिमी राष्ट्रले गरेका आक्रमण अघि यिनै उपक्रम चल्ने गरेको देखिन्थ्यो ।

                                                                                      

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

श्रवण उप्रेती
श्रवण उप्रेती
लेखकबाट थप