शनिबार, ०८ मङ्सिर २०८१
ताजा लोकप्रिय
स्थानीय र निकुञ्जबीच बढ्दै द्वन्द्व

वन्यजन्तु आतङ्क रोक्न निकुञ्जलाई सकस, छैन कुनै दीर्घकालीन योजना

सोमबार, १५ फागुन २०७९, ११ : ३०
सोमबार, १५ फागुन २०७९

काठमाडौँ । हात्तीको आक्रमणबाट गत मंगलबार सुनसरीको बराह क्षेत्रमा ६५ वर्षीय धनबहादुर माझीको मृत्यु भयो । 

त्यस्तै, धरान उपमहानगरपालिका–१७ का तीन वटा घरमा हात्तीले क्षति पुर्‍याएको थियो भने दुई वटा कृषि फर्म भत्काइदिएको थियो । पटक पटक जंगली हात्ती हुल बाँधेर आउने र स्थानीयका बालीनालीसँगै भौतिक संरचनामा क्षति पुर्‍याइरहेका छन् ।

बराहक्षेत्र र धरान उपमहानगरपालिकाको जङ्गलसँग जोडिएको बस्तीमा जंगली हात्ती छिरेर आतङ्क मच्चाउन थालेपछि स्थानीयहरू अहिले रातभर जाग्राम बस्दै आएका छन् । तीन वटा हात्ती बस्तीमा पसेर आतङ्क सिर्जना गर्न थालेपछि अहिले बराह क्षेत्रका स्थानीयवासी पालैपालो जाग्राम बस्दै आएका हुन् । 

गएकै साता मकवानपुरको मनहरि गाउँपालिकामा समेत हात्ती छिरेर मनहरि–४ निवासी राधा अधिकारीलाई आक्रमण गर्दा मृत्यु भएको थियो । उक्त घटनाबारे प्रतिनिधिसभामा समेत सांसदहरूले पीडितलाई क्षतिपूर्तिसँगै हात्ती आतङ्क रोक्न सरकारले दीर्घकालीन योजना बनाउन माग गरेका थिए। 

हात्तीको आतङ्कपछि मनहरि क्षेत्रका विद्यार्थीलाई विद्यालय जानसमेत त्रास बढेको छ । पछिल्ला यी घटनाले जंगली हात्ती मानवबस्तीमा प्रवेश गरेर आतङ्क सिर्जना गरेका केही प्रतिनिधि उदाहरण मात्रै हुन् । हात्तीमात्रै होइन, बाघ, चितुवा, गैँडालगायत जंगली जनावरले स्थानीयलाई आक्रमण गरी घाइते बनाउने र ज्यानैसमेत लिने गरेका छन्। 

गत साउनदेखि यता मात्रै हात्तीको आक्रमणबाट चितवनमा २, पर्सामा २, बर्दियामा १, कञ्चनपुरमा ३ र सुनसरीमा २ जना गरी १० जनाको मृत्यु भैसकेको छ भने १३ जना घाइते भएका छन् । 

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका अनुसार गत वर्ष मात्रै हात्तीले क्षति पुर्‍याएका भौतिक संरचना, बालीनाली र मानिसको मृत्यु भएका परिवारलाई क्षतिपूर्तिस्वरुप १८ करोड रुपैयाँ उपलब्ध गराइएको थियो। विभागका अनुसार नेपालमा  करिब सवा २ सय जंगली हात्ती छन् । खुला सिमानाका कारण यो सङ्ख्यामा घटबढ भइरहन्छ । 

यो वर्ष पनि क्षतिपूर्तिस्वरुप साउनयता साढे ६ करोड रुपैयाँ सरकारले तिरिसकेको छ। आगामी साउनसम्ममा झन्डै २० करोड रुपैयाँ क्षतिपूर्तिस्वरुप तिर्नुपर्ने अवस्था सिर्जना हुन सक्ने विभागका महानिर्देशक डा.महेश्वर ढकालको जिकिर छ । 

विभागका अनुसार बाघको आक्रमणबाट साउनयता ९ जना, चितुवाबाट ३ जना, गैँडा र जंगली बँदेलबाट १÷१ जना गरी १४ जनामाथि आक्रमण भएको देखिन्छ। 

‘अब जंगलमा डढेलो र आगलागीको घटना हुने सिजन सुरु हुने बेला भयो, वन्यजन्तुहरु जंगलबाट निस्कन्छन्,’ विभागका प्रमुख ढकालले रातोपाटीसँग भने,‘आउँदा दिनमा वन्यजन्तु र मानवबीच जम्काभेट हुने खतरा बढ्यो। त्यसैले, राज्यको आर्थिक दायित्व थपिने देखिन्छ।’ 

नेपालमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागअन्तर्गत १२ राष्ट्रिय निकुञ्ज, १ वन्यजन्तु आरक्ष, १ शिकार आरक्ष, ६ संरक्षण क्षेत्र तथा १३ मध्यवर्ती  क्षेत्र छन् । ६ वटा संरक्षण क्षेत्रहरूमध्ये ३ वटा राष्ट्रिय प्रकृति संरक्षण कोषले, २ वटा नेपाल सरकारले, १ वटा स्थानीय बासिन्दाले नै संरक्षण र व्यवस्थापन गर्दै आएका छन् । 

विभागका अनुसार गत वर्ष ३७ वटा गैँडा मरेका थिए । यीमध्ये दुई वटा चोरी शिकारी र अन्य प्राकृतिक कारणले मरेका थिए। यो आर्थिक वर्षमा १० वटा गैँडा मरिसके, त्यसमध्ये तीन वटा चोरी शिकारीले मारेका हुन्। 

राष्ट्रिय निकुञ्ज र वन्यजन्तु आरक्षको संरक्षण कार्यलाई अझ बढी व्यवस्थित तथा प्रभावकारी बनाउन र चोरी शिकारलाई पूर्ण रूपमा निरुत्साहित गर्ने उद्देश्यले २०३२ सादेखि नेपाली सेना संरक्षित क्षेत्रमा तैनाथ छन् । त्यसका अतिरिक्त प्रहरी र निकुञ्जका कर्मचारीले सेनालाई समन्वयकारी भूमिका खेल्दै आएका छन्। 

मानिसको बानी ब्यहोरामै परिवर्तन आउन जरुरी 

राष्ट्रिय निकुञ्ज र आरक्षण क्षेत्रका जंगली जनावरको आतङ्क मानवबस्तीमा धेरै देखिन्छ । सरकारले पुरै निकुञ्ज र आरक्षण क्षेत्रमा काँडेतार लगाएको छैन। 

सरकारले बस्ती स्थानान्तरणको योजना ल्याए पनि स्थानीयले अटेर गर्दै आएका छन्। जङ्गल नजिकै दिनप्रतिदिन बस्ती बसिरहेका छन्। निकुञ्ज क्षेत्रमा होटल/रेष्टुरेन्टलगायत मनोरञ्जनका क्षेत्र धेरै छन्। 

यसरी निकुञ्ज भ्रमणका नाममा दर्जनौँ सवारीसाधन निकुञ्जभित्र प्रवेश गर्न दिई निकुञ्जलाई व्यवस्थापन भन्दा पनि व्यापारको रूपमा सरकारले बुझ्दै आएको छ। 

स्थानीयको सुरक्षा तथा वन्यजन्तुको आतङ्क रोक्न सरकारसँग प्रभावकारी योजना छैन । द्वन्द्व व्यवस्थापन गर्ने सजिलो उपाय भनेको स्थानीय आफैँ सजग हुनुपर्ने निकुञ्जको भनाई छ ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डा. महेश्वर ढकालका अनुसार पछिल्लो समयमा स्थानीय र वन्यजन्तुबीच द्वन्द्व बढेको साँचो हो। विशेष गरी जंगली हात्ती बस्तीमा पसेर बालीनाली खाने र मानिसमाथि नै आक्रमणका घटना भइरहेका छन् । हात्ती शारीरिक रूपमा पनि ठूलो हुने भएकाले उसलाई खान बस्ने ठूलो क्षेत्र चाहिन्छ। जहाँ खान पाइन्छ, हात्ती उतै लम्किने गर्छ। पूर्वमा झापा, सुनसरी, सिन्धुली, पर्सा, चितवन र पश्चिममा बाँकमा हात्ती लगायत जनावरको आक्रमण धेरै देखिएको छ । 

‘जनावरहरू प्राकृतिक बाटोमा हिँड्न मन पराउँछन् । त्यसैले, उनीहरूले मानव अवरोध सहन सक्दैनन्। साना जनावरलाई त डार्ट हानेर नियन्त्रणमा लिई राख्न सकिए पनि हात्तीलाई सकिँदैन,’ महानिर्देशक ढकाल भन्छन्, ‘सबैभन्दा राम्रो मानिसको बानी ब्यहोरामै परिवर्तन आउन जरुरी छ । निकुञ्जले स्थानीयलाई सचेतना जगाउने, निकुञ्ज र वस्तीबीचको दूरी बढाउनेबाहेक अन्य केही गर्न सक्दैन ।’ उनका अनुसार निकुञ्जभित्र पनि जनावरलाई सुहाउने संरचना बनाइरहेका छौँ । तर, बजेट थोरै छ । 

बीमा कार्यक्रम सुरु गर्ने तयारी

निकुञ्जले जंगली जनावरले गर्ने आतङ्कबाट हुने क्षतिलाई लक्षित गरेर बीमा कार्यक्रम अगाडि बढाउने तयारी गरेको छ।

स्थानीय पालिकाको पहलमा अन्नबाली, पशुधन र जीवन बीमा कार्यक्रम अगाडि सार्न लागिएको जानकारी विभागका महानिर्देशक ढकालले दिए । बीमा कार्यक्रम सफल भएमा सरकारलाई आर्थिक दायित्व कम पर्ने दाबी विभागको छ । 

‘निकुञ्ज र आरक्ष क्षेत्र वरपरका स्थानीय बासिन्दालाई अनिवार्य जीवन बीमासँगै पशुधन र अन्नबालीको बीमा गर्ने वातावरण सिर्जना गर्छौँ,‘ विभागका महानिर्देशक ढकालले भने,‘स्थानीय पालिका र निकुञ्ज बीचको समन्वय आवश्यक छ ।’ 

के छ चुनौती ?

वन्यजन्तु संरक्षणमा निम्न चुनौती देखिन्छ:

– वन पैदावार र वन्यजन्तुको चोरी शिकार तथा अवैध व्यापार ।

– संरक्षित क्षेत्रको सिमानाभित्र र मध्यवर्ती क्षेत्रको सरकारी वन क्षेत्रमा बस्ती र जग्गा अतिक्रमण ।

–  कमजोर भौतिक संरचना र साधन स्रोतको अपर्याप्तता ।

–  कर्मचारीहरूमा व्यावसायिक कार्यकुशलताको कमी ।

– प्राकृतिक स्रोत माथिको बढ्दो मानवीय चाप ।

– वातावरणमैत्री पूर्वाधार विकास नहुनु ।

– घाइते टुहुरा वन्यजन्तुको व्यवस्था गर्न स्रोत साधन, वन्यजन्तु अस्पताल र उद्धार केन्द्रको कमी ।

– वन्यजन्तुको वासस्थान खुम्चनु, क्षयीकरण तथा संरक्षित क्षेत्र बीचमा जैविक मार्ग सहज नहुनु।

– सेक्टर कार्यालय, रेञ्जपोष्ट तथा पोष्टहरु पुराना र जीर्ण हुनु ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास गोतामे
सुवास गोतामे
लेखकबाट थप