मुनमुन नाटक हेरेपछि...
मन्डला थियटरमा मञ्चन भइरहेको नाटक ‘मुनमुन’को पात्र रकीले आफ्ना साथीहरूलाई आफूमाथि केही दिनअघि घटेको घटना सुनाउँदैछ । एकातिर साथीहरूलाई ऊ कथा सुनाउँछ, मञ्चको अर्कोछेउमा ऊ आफ्नो कथा (फ्लासब्याक)मा आधारित पात्रसँग अभिनय गरेर पनि देखाउँछ । यहीँनेर रकी अर्थात् यस नाटकका निर्देशक सम्राट भुजेल उन्माद अभिनय गर्छन् ।
नाटक वा फिल्ममा यस खालको प्रस्तुति नौलो होइन । यद्यपि, यस दृश्यले पुष्टि गर्छ– निर्देशक सम्राटसँग मञ्चमा कथा प्रस्तुत गर्ने केही खुबी छ ।
सम्पूर्ण नाटक सेटिङ (परिदृश्य), विम्ब र प्रतीकको तालमेल वा लयसहित आएको छ भन्ने होइन, कहीँकहीँ निर्देशकको कोसिस राम्रो देखिन्छ । केही ठाउँमा उनले विम्ब र प्रतीकको माध्यमबाट पात्रको मनस्थिति वा उकुसमुकुसलाई व्यक्त गर्न खोजेका छन् । व्यापार सुरु गर्न भनी मामाघर गएको नाटकको प्रमुखपात्र पवनको मनमा अनेक कुरा खेलेको हुनुपर्छ । यसलाई झल्काउन निर्देशकले पवनको अगाडि केही कालो कपडा लगाएका मानिसलाई नचाउँछन् ।
प्रेम विवाह वा प्रेममा परेकी स्त्रीलाई हाम्रो समाजमा त्यति सहज छैन । उसलाई अनेक सामाजिक अवरोध आउन सक्छन् । यसलाई निर्देशकले सबैभन्दा सुन्दर ढंगले प्रस्तुत गरेका छन्– एउटी स्त्री पात्रलाई काला कपडा लगाएका केही पुरुष पात्रले घेर्नु, लाठीको वृत्ताकार अर्थात् छेकबारले घेर्नु आदि दृश्य राखेर ।
नाटकमा कुहिरो वा धुवाँको अत्यधिक प्रयोग गरिएको छ । धुवाँमा प्रकाशका माध्यमबाट रङको प्रयोग गरिएको छ । रङले पात्रको मानसिक अवस्था दर्शाउँछ वा त्यसलाई प्रभावित गर्छ । मानिसलाई कुनै रङको नाम थाहा नहोस्, तर ऊ त्यस रङसँग भावनात्मक रूपले जोडिएको हुन्छ ।
रङको सार्वभौम अर्थ मात्रै होइन, मानसिक असर नै हुन्छ । यतिसम्म कि मानिसलाई रङसँग डर लाग्ने रोग नै छ— क्रोमोफोबिया । यसका केही प्रकारका छन्, जस्तो ः मेलानोफोबिया अर्थात् कालो रङसँग डर लाग्नु । क्रिसोफोबिया अर्थात् सुन्तला वा पहेँलो रङसँग डर लाग्नु । साइनोफोबिया अर्थात् नीलो रङसँग डर लाग्नु ।
पछिल्लो समय रङ र मनोवैज्ञानिक कार्यप्रणालीमाथि सोध–अनुसन्धान हुन थालेका छन् । रङमाथि हाम्रो (हिन्दु) समाज धार्मिक वा सांस्कृतिक रूपमा सचेत हुन थालेको धेरै अघिदेखि हो । जस्तो ः विधवालाई रातो लगाउन नदिनू, विजयको प्रतीक स्वरूप (दशैँमा) रातो टीका लगाउनू आदि ।
प्रतीकवादका रूपमा रङलाई संसारका विभिन्न समुदाय वा समाजले विभिन्न रूपमा अथ्र्याउँदै आएका छन् । हामी त नाटकलाई रंगमञ्च भन्छौँ, अर्थात् रङको मञ्च । अचेल प्रविधिको विकासले गर्दा नाटकमा रङको प्रयोग गर्न सहज भएको छ ।
यस नाटकमा निर्देशकले कहीँकहीँ करिबकरिब होसियारीपूर्वक (रङको सिद्धान्तमै आधारित भएर) रङको प्रयोग गरेको देखिन्छ । कहीँ अत्यावश्यक ठाउँमा रङको प्रयोग भएको छैन । जस्तो ः नाटकमा चरम यातना र अत्याचारको दृश्य राखिएको छ, बोक्सीको आरोपमा दिसा खुवाइएको । यस दृश्यमा लाइटका माध्यमबाट रङको प्रयोग गर्न सकिन्थ्यो । खासगरी यस्ता दृश्य कालो पर्दाभित्र देखाउँदा उचित हुन्थ्यो । सामान्यतः विरोध र अराजकतामा कालो रङको प्रयोग गरिन्छ । अर्थात् यस्तोमा मानिसहरूको भ्रम दर्शाउने किसिमले लाइट र रङको प्रयोग गर्न सकिन्थ्यो । अर्थात् यही ढंगले गर्नुपर्छ भन्ने होइन, सैद्धान्तिक कसीमा मौलिकता अपनाउन सकिन्थ्यो ।
डुंगा चलाइएको दृश्यमा रङको प्रयोग ठीक भए पनि कमजोर लाग्छ । डुंगामा बसेर पात्रहरूबीच लामो संवाद हुँदा दृश्य नै थप बोझिल भएको छ । संवाद छोट्ट्याएर वा डुंगासँग सम्बन्धित अन्य क्रियाकलाप गरेर, डुंगाको पछाडि चित्रका माध्यमबाट दृश्य देखाएर यसलाई भरिपूर्ण पार्न सकिन्थ्यो । उसो त नाटकमा मञ्च साजसज्जा वा परिवेश त्यति पूर्ण रूपमा आएका छैनन् । नेपाली केही नाटकहरु हेर्दा लाग्छ, मञ्चको साजसज्जामा आवश्यक खर्च गर्न हामी अभ्यस्त हुन सकेका छैनौँ, यसका विविध पक्ष हुन सक्छन् ।
निर्देशक भुजेलका अनुसार, यो नाटक लेखक बुद्धिसागरको उपन्यास ‘फिरफिरे’बाट प्रेरित हो । ब्रोसरमा उनको भनाइ छ, ‘फिरफिरे उपन्यासमा आधारित नभई किताबभित्रका केही पात्रको चरित्रलाई अंशुरचना (आशुरचना भन्न खोजेको हुनुपर्छ) गरी प्रेम, पर्खाइ, अवहेलना र त्यागको विषय लिएर नाटक बनाइएको हो ।’
बुद्धिसागरको भनाइ छ, ‘जब किताबका पात्रहरूसित मोह बस्छ । जन्मिन्छ अर्को कथा । मुनमुन नाटक फिरफिरेका उही पात्रहरूको वरिपरि घुम्छ र आपसमा गाँसिन्छ र बन्छ अर्को कथा । यो बेग्लै र सुन्दर कथाले अमिट छाप्न छोड्नेछ ।’
यो नाटकको कथावस्तु अभ्यास र व्युत्पत्तिको उपज हो । कुनै पनि साहित्यको सिर्जना वा उत्पत्ति हुनुको मूलतः तीन कारण हुन्छन्– प्रतिभा (रचना गर्ने क्षमता), अभ्यास (लेख्ने वा बुन्ने अभ्यास गर्दागर्दै सिर्जना हुने साहित्य) र व्युत्पत्ति (अर्काको पढेर वा सुनेर सिर्जना हुने) ।
उपन्यासका पात्रबाट प्रेरित (वा व्युत्पत्ति) यस नाटकको कथानक नौलो होइन । स्वस्थानीको पालादेखिको नेपालीको आमकथा, अर्थात् घरमूली पुरुष कमाउन परदेश हिँड्ने पीडाबाट नाटक सुरु हुन्छ । लोग्ने पर्खने आशामा बसेकी जुठी समाजमा बोक्सी करार हुन्छे । समाजबाट बहिष्कृत भए पनि लोग्नेकै पर्खाइमा रहेकी ऊ नाटकमा बेलाबेला झुल्कन्छे ।
अर्कोतिर, नाटकको प्रमुख पात्र पवन एकाएक हराउँछ, उसको पर्खाइमा उसकी प्रेमिका मुनमुन हुन्छे । मुनमुनको पर्खाइ सकिँदैन । एकपटक निकै लामो दृश्यसम्म ऊ हलचल नगरी रुखमुनि पर्खिरहन्छे । उसको अगाडि धेरै गतिविधि हुन्छन् । यो पर्खाइको दृश्य सुन्दर लाग्छ, यद्यपि यस दृश्यलाई फोकस गरी दर्शकको नजरमा स्थापित गर्न नसकेको देखिन्छ । यसमाथि यस दृश्य राख्नुको उद्देश्य वा वैचारिक स्पष्टताको अभाव छँदै छ ।
नाटक नाटककै व्याकरणमा हिँड्नुपर्छ अर्थात् नाटकसँग सम्बन्धित तत्व (मञ्च साजसज्जा, अभिनय, संवाद, विम्ब र प्रतीक, संगीत आदि) पूर्ण हुनुपर्छ । नाटकमा शब्द वा संवाद नहोस्, यसले व्यक्त गर्ने भाव वा विचार कुनै न कुनै सैद्धान्तिक कसीमा आउनैपर्छ, नत्र मनलागी दृश्य राखे भइगयो ।
नाटकको आत्म भनेकै कथानक वा विषयवस्तु हो । यस नाटकको कथा भने कमजोर छ । भलै यस नाटकका पात्रहरूबीचको भावनात्मक सम्बन्ध सुन्दर होस्, खासखास पात्र पलायनवादी छन् । प्रेममा धोका खाएको रकी समाज छाडेर हिँड्छ, ऊ समाज र जीवन संघर्षदेखि भागेको देखाइएको छ । नाटकको प्रमुख पात्र पवन अनायसै हराउँछ । ऊ प्रेम र जीवनतिर फर्कन सक्दैन । त्यसरी फर्कन नसक्नुलाई उसको नियतिजस्तो देखाइएको छ । आजका युवाले बुझ्नैपर्छ– संघर्षले नियतिलाई बदल्न सक्छ । तर, कसैको र सबैको नियति बदल्न सामूहिक भावना र संघर्ष आवश्यक हुन्छ ।
बोक्सीको आरोपमा दिसा खुवाइएकी जुठी केवल लोग्नेको प्रतीक्षामा छ । ऊमाथि भएको अन्यायविरुद्धको आवाज बुलन्द गरिएको छैन, मानौँ यो स्वाभाविक सामाजिक नियम वा प्रक्रिया हो ।
संसारमा मूलतः दुई प्रकारका घटना हुन्छन्– प्राकृतिक र राजनीतिक । सामाजिक घटनाहरू राजनीतिसँग जोडिएका हुन्छन् । यी घटनाबाट कोही व्यक्ति कुनै किसिमले पीडित हुन सक्छ । आजको मानव विवेकले यस्ता हर घटनामा न्यायको व्यवस्था गरेको छ, नभए गर्नुपर्छ । त्यो न्यायको व्यवस्थाका लागि गर्नुपर्ने कार्य जुन छ, त्यहीँबाट कला–साहित्य जन्मने हो । पहिले सामाजिक न्याय महत्त्वपूर्ण हुन्छ, त्यसपछि अरु न्यायका लागि साहित्य जन्मदै जाने हुन् । यस नाटकले राज्यको उपस्थिति, राजनीतिक व्यवस्था, सही व्यवस्थाका लागि संघर्षतर्फ सोचेको वा ध्यान दिएको छैन । भ्रष्ट हुँदै गएको राजनीतिप्रति आक्रोशका शब्द भने छन् ।
जेहोस्, नयाँ पुस्ताले रंगमञ्चको क्षेत्रमा गरेको सुन्दर कामको प्रशंसा गर्न, कमीकमजोरी औँल्याउन आज आवश्यक छ । यसले हाम्रै रंगमञ्चको विकास गर्नेछ ।
श्रीशेष श्रेष्ठको सहनिर्देशन रहेको नाटकमा किशोर महर्जन, शुव महजैन र मनोज महर्जनको पाश्र्व संगीत रहेको छ । मञ्चमा मनिषा ओझा, श्रीशेष श्रेष्ठ, सम्राट भुजेल, प्रविन खरेल, सन्तोष गिरि, प्रशंसा सिवाकोटी, दिग्गज खत्री, सृष्टि महर्जन, दीपेश गजुरेल, अरुण शाह, सवि थापा, रिता साइजु, भुवन लुहार, मनोज पोखरेल, किशोर थापा, विशाल बुढा क्षेत्री ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरी हिरासतमा सुतिरहेका रविको फोटो खिचेर भाइरल बनाउने निकोलस काठमाडौंबाट पक्राउ
-
१० बजे १० समाचार : रविलगायत विरुद्ध ४२७ पृष्ठ लामो अभियोगपत्र दायरदेखि सरकारको कार्यशैलीप्रति कांग्रेसभित्र असन्तुष्टिसम्म
-
फाल्गुनन्द गोल्डकप : झापा–११ माथि मच्छिन्द्रको फराकिलो जित
-
नागरिक लगानी कोष र म्याग्दी हाइड्रोपावरबिच सेयर प्रत्याभूति सम्झौता
-
लक्ष्मी सनराइज बैंक र आईएफसीबिच नेपालमा वित्तीय दुरुपयोग समाधान गर्ने बारे साझेदारी
-
ताली बजाएर र भाषण गरेर मात्रै क्रिकेटको विकास हुँदैन : अध्यक्ष चन्द