मङ्गलबार, ११ मङ्सिर २०८१
ताजा लोकप्रिय
समाचार

रातोपाटी ब्रिफिङ : यस्ता छन् आजका ‘टपटेन’ समाचार

आइतबार, १४ फागुन २०७९, २० : ५३
आइतबार, १४ फागुन २०७९

आज २०७९ फागुन १४ गते आइतबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौं–

आजका मुख्य समाचारमा राष्ट्रपति निर्वाचन : कसको पल्ला कति भारी ?, पल शाहले पाए सफाइ, प्रधानमन्त्री प्रचण्डप्रति ओलीको कटाक्ष, माधव नेपाल भन्छन्– एमालेसँग पनि मिल्नुपर्छ, सबै सरकारी वेभसाइट एउटै ढाँचामा, म्यानपावर कम्पनीमा छापा, जनयुद्धका सहिदलाई ‘राष्ट्रिय सहिद’ घोषणा गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता लगायत छन् ।

१. राष्ट्रपति निर्वाचन : कसको पल्ला कति भारी ?
राष्ट्रपति पदका लागि हुन गइरहेको निर्वाचनमा नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल र एमालेका सुवासचन्द्र नेम्वाङ उम्मेदवार छन् । पौडेललाई कांग्रेससहित नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा नेपाल, लोसपा नेपाल, नागरिक उन्मुक्ति पार्टी लगायत ८ दलको साथ छ । दलीय समर्थनको आधारमा मतभारको हिसाबले नेम्वाङको तुलनामा पौडेल नै बलियो देखिन्छ ।

२. पल शाहले पाए सफाइ
बालिकामाथि जबरजस्ती करणी गरेको मुद्दा खेपिरहेका कलाकार पल शाहले उच्च अदालत पोखराबाट सफाइ पाएका छन् । न्यायाधीशद्वय डिल्लीराज आचार्य र श्रीधराकुमारी पुडासैनीको संयुक्त इजलासले अभियोग दाबी नपुग्ने भन्दै आइतबार उनलाई सफाइ दिएको हो ।


३. प्रधानमन्त्री प्रचण्डप्रति ओलीको कटाक्ष
पुस १० मा बनेको राजनीतिक गठबन्धन राष्ट्रपति निर्वाचनको पूर्वसन्ध्यामा भत्काएकोमा एमाले अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई कटाक्ष गरेका छन् । आइतबार आयोजित एक कार्यक्रममा ओलीले प्रचण्डलाई विभिन्न विशेषणसहित कटाक्ष गरेका हुन् । 

४. माधव नेपाल भन्छन्– एमालेसँग पनि मिल्नुपर्छ 
पूर्व प्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले देशको समस्या समाधान गर्न सबै पार्टी मिल्नुपर्ने तर्क गरेका छन् । उनले यसका लागि एमालेसँग पनि मिल्नुपर्ने बताए । 

५. सबै सरकारी वेभसाइट एउटै ढाँचामा
नेपाल सरकारका विभिन्न निकायको वेभसाइट एउटै ढाँचामा निर्माणको कार्य अन्तिम चरणमा पुगेको छ । प्रधानमन्त्री कार्यालयको अग्रसरतामा सबै सरकारी कार्यालयका वेभसाइटलाई एउटै ढाँचामा बनाउने गरी टेम्प्लेट निर्माण अन्तिम चरणमा पुगेको छ ।

६. म्यानपावर कम्पनीमा छापा
पूर्व स्वीकृति नलिई वैदेशिक रोजगारीका लागि साउदी पठाउन खोज्ने मेनपावर कम्पनीमा वैदेशिक रोजगार विभागले छापा मारेको छ । बुढानिलकण्ठ नगरपालिका–९ सुकेधारामा रहेको एसियापावर रिक्वइटमेन्ट कन्सल्टेन्ट प्रालिमा विभागले छापा मारेर पासपोर्टसहित आवश्यक कागजात नियन्त्रणमा लिएको हो ।

७. प्रधानमन्त्रीको चार दिने कतार भ्रमणको कार्यतालिका यस्तो छ
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को चार दिने कतार भ्रमणको कार्यतालिका सार्वजनिक गरिएको छ । तेस्रो पटक प्रधानमन्त्री भएपछि उनको यो पहिलो विदेश भ्रमण हो ।

८. जनयुद्धका सहिदलाई ‘राष्ट्रिय सहिद’ घोषणा गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्धका सहिदहरूलाई राष्ट्रिय सहिद घोषणा गर्ने बताएका छन् । आइतबार जनयुद्धका सहिद तथा बेपत्ता योद्धाका परिवारहरूसँगको अन्तरक्रियामा उनले नेपालको राजनीतिक परिवर्तनमा अद्वितीय योगदान गर्ने सहिदहरूको उच्च सम्मानसहित राष्ट्रिय सहिद घोषणा गर्ने तयारी भइरहेको बताएका हुन् ।

९. स्ववियु निर्वाचनमा चार विद्यार्थी संगठनको गठबन्धन
स्ववियु निर्वाचनमा चारवटा विद्यार्थी संगठनले गठबन्धन गर्ने भएका छन् । आइतबार नेपाल कम्युनिस्ट पार्टा निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) को केन्द्रीय कार्यालय बुद्धनगरमा बसेको संयुक्त विद्यार्थी संगठनहरुको बैठकले सो निर्णय गरेको हो ।

१०. र यो पनि,
राप्रपाका मन्त्रीहरुले राजीनामा दिएसँगै राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई नै थप जिम्मेवारी प्रदान गरेकी छन् ।


गण्डकी सरकारविरुद्ध गएको पाँच वर्षमा १२६ वटा रिट निवेदन परेका छन् । 

राजनीतिक समीकरण फेरिएसँगै परराष्ट्रमन्त्री विमला राई पौड्यालको स्वीट्जरल्याण्ड भ्रमण रोकिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप