भारतबाट हुने अवैध आयातले व्यवसाय धराशायी भएको गुनासो
![भारतबाट हुने अवैध आयातले व्यवसाय धराशायी भएको गुनासो](https://rpcdn.ratopati.com/media/albums/524x380-nepalgunj_jamunaha_border_HmEejBYaMQ.jpg)
बाँके । भारतबाट हुने अवैध आयातका कारण नेपालगञ्जका उद्योग व्यवसाय धराशायी हुँदै गएको व्यवसायीले गुनासो गरेका छन् । सीमावर्ती भारतीय नाकाबाट हुने तस्करी र अवैध आयातका कारण नेपालगञ्ज क्षेत्रको व्यापार व्यवसाय धराशायी बन्न पुगेको नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष अब्दुल वाहिद मन्सुरीले बताए । सरकारी निकायले नाकामा कडाइ नगर्दा दैनिकरुपमा तस्करी भइरहेकाले स्थानीय उत्पादन र व्यापारले बजार नपाएको उनको गुनासो छ । अवैध आयात नरोकिएमा उद्योगी व्यवसायी पलायन भई नेपालगञ्ज क्षेत्र आर्थिक सङ्कटमा फस्नसक्ने उनले बताए ।
नेपालगञ्जका अगुवा व्यापारी कृष्णप्रसाद श्रेष्ठले अहिलेको प्रतिकूल अवस्थामा पनि उद्योगी व्यवसायीले सङ्घर्षका साथ उद्योग व्यवसाय सञ्चालन गरेको जनाउँदै सरकारले राहतको कार्यक्रम ल्याउनुपर्नेमा जोड दिए । उनले निजी क्षेत्रको समस्या समाधान गरेर आर्थिक अवस्था सुदृढ गर्नेतर्फ अग्रसरता नदेखाए अवस्था भयावह हुने बताए । आर्थिक विकासका लागि उद्योग, कलकारखाना र व्यापार व्यवसाय फस्टाउने वातावरण बनाउनुको विकल्प नरहेको उल्लेख गर्दै उनले अवैध आयात र तस्करीलाई निरुत्साहित पार्न माग गरे ।
भारतसँग जोडिएको बाँकेमा छोटी भन्सार कार्यालय सञ्चालन नहुँदा ग्रामीण क्षेत्रबाट दैनिकरुपमा हुने तस्करीले नेपालगञ्जको व्यापार व्यवसायलाई समस्यामा पारेको उनको भनाइ छ । बाँकेको भारतसँग जोडिएको ६५ किमीको खुला सीमानाकामा हाल एउटा मात्र भन्सार कार्यालय छ । ग्रामीण नाकामा रहेका सात छोटी भन्सार कार्यालय करिब दुई दशकअघि बन्द गरिएकामा हालसम्म पुनःस्थापना हुन सकेका छैनन् ।
छोटी भन्सार कार्यालय नहुँदा ग्रामीण नाकाबाट ठूलो परिमाणमा विभिन्न सामग्री राजस्व छलेर खुलारूपमा भारतबाट भित्रिने गरेकाले राजस्वको लक्ष्य पूरा गर्न समस्या भइरहेको नेपालगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी डिल्लुप्रसाद शर्माले बताए । उनका अनुसार केही वर्षयता छोटी भन्सार बन्द गरिएका नाकाबाट खुलारूपमा चोरी पैठारी बढेका कारण राजस्व सङ्कलन घटेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अदूरदर्शी पोखराका जनप्रतिनिधि : लामे आहालको म्याद सकियो, पोखराको फोहोर ५ दिनदेखि सडकमै
-
मुस्ताङको लुरी गुम्बा ओझेलमा
-
प्रतिनिधिसभा बैठक बस्दै, के-के छन् कार्यसूची ?
-
स्टील र आल्मुनियममा २५ प्रतिशत आयातकर लगाउने ट्रम्पको घोषणा, अस्ट्रेलियाप्रति नरम
-
दुनाटपरी व्यवसायबाट दैनिक तीन हजारसम्म आम्दानी
-
‘मच्छिन्द्रनाथको रथ बनाउने बेत सहज आपूर्तिको व्यवस्था गर्न अनुरोध’