बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

भरतपुर उज्यालो सहर अभियान : दोस्रो चरणको काम सुरु हुँदै

आइतबार, १४ फागुन २०७९, १२ : ३१
आइतबार, १४ फागुन २०७९

चितवन । भरतपुर महानगरलाई उज्यालो सहर बनाउने महानगरको अभियानअन्तर्गत दोस्रो चरणको कार्यक्रम सुरु गरिएको छ । पहिलो चरणमा ७८ दशमलव एक किलोमिटर क्षेत्रमा स्मार्ट सडक बत्ती राखिएकामा दोस्रो चरणमा एक सय १८ किलोमिटर क्षेत्रमा थप बत्ती राख्न आज बोलपत्र आह्वान गरिएको छ । महानगरपालिका र नेपाल विद्युत् प्राधिकरणको राष्ट्रिय सडक बत्ती प्रबर्द्धन आयोजनाको सहकार्यमा महानगरमा उक्त काम  सुरु गरिएको हो ।

पहिलो चरणको काम अन्तिममा पुगेलगत्तै दोस्रो चरणको कामको थालिएको छ । पहिलो चरणमा महानगरपालिकाको १० प्रतिशत लागत साझेदारी थियो भने दोस्रो चरणमा ६० प्रतिशत महानगरपालिका र आयोजनाको ४० प्रतिशत साझेदारीमा काम गर्न लागिएको हो । महानगरपालिका प्रमुख रेनु दाहालका अनुसार पहिलो चरणको काम यही वैशाखको पहिलो सातासम्ममा सकिने छ ।

दोस्रो चरणको काम निर्माण व्यवसायीसँग सम्झौता भएको एक वर्षमा सम्पन्न हुने छ । दोस्रो चरणमा विभिन्न ठाउँमा आठवटा हाइमास्ट र ६० वटा मिनिमास्टसहितको बत्ती राखिँदै छ । पहिलो चरणमा सडक क्षेत्रमा एक हजार नौ सय ३३ वटा बत्ती जडान गरिएको छ । महानगर प्रमुख दाहालका अनुसार पहिलो चरणमा मूल्यअभिवृद्धि करसहित  रु ११ करोड ४९ लाख ८९ हजार तीन सयमा ठेक्का सम्झौता भएसँगै सेफ स्टिल/सूर्योदय ऊर्जा/टपशन जेभिले काम गरिरहेको छ । दोस्रो चरणमा रु २६ करोड ५० लाखको बोलपत्र आह्वान गरिएको छ । 

उनले  भनिन्, “पहिलोको भन्दा धेरै क्षेत्रलाई हामी उज्यालो बनाउँदै छौँ ।” पहिलो चरणमा महानगरका सहरी क्षेत्रमा बत्ती जडान गरिएको छ । दोस्रो चरणअन्तर्गत महानगरका ग्रामीण क्षेत्रका फराकिलो सडकलाई प्राथमिकता दिएर बत्ती जडान गरिँदै छ । महानगरप्रमुख दाहालले महानगरलाई आउँदो पाँच वर्षभित्र दक्षिण एशियाली मापदण्ड अनुकूलको भौतिक पूर्वाधारले सम्पन्न नमुना सहर बनाउने उद्देश्यअनुरुप उज्यालो सहर बनाउन लागिएको बताइन् ।

यस क्रममा स्मार्ट सडक बत्ती, विभिन्न स्थानमा हाई–मास्ट तथा मिनी–मास्ट बत्ती जडान गरिँदै छ । सन् २०२४ लाई भरतपुर महानगरले भ्रमण वर्षको रूपमा मनाउन लागेको भन्दै उनले मुख्य सडकमा यात्रा गर्दा आम सर्वसाधारण, पैदलयात्री, पर्यटक, महिला, विद्यार्थी तथा सवारी साधनको आवतजावतलाई सहज र सुरक्षित बनाइ सडक दुर्घटना न्यूनीकरण गर्न र आन्तरिक तथा बाह्य पर्यटकलाई रात्रिकालीन सुरक्षाको अनुभूति दिलाउन ’उज्यालो सहर–भरतपुर’ अभियान तीव्र पारिएको बताइन् । 
 
उपप्रमुख चित्रसेन अधिकारीले स्मार्ट सहरको पहिलो खुड्किलो स्मार्ट सडक बत्ती हो भन्ने कुरालाई मध्यनजर गर्दै यस ‘उज्यालो सहर–भरतपुर’ अभियानमा सहयोग गर्न सबैमा अनुरोध गरे । यस कार्यक्रमअन्तर्गत पाँच वर्षसम्म निर्माण कम्पनीले मर्मत सम्भार समेत गर्ने उनले जानकारी दिए । अन्य ठाउँमा स्मार्ट बत्ती जडान क्रमश गर्दै लगिने उपप्रमुख अधिकारीको भनाइ थियो ।

आयोजना प्रमुख प्रमोद रिजालले महानगरपालिकाले आफ्नो क्षेत्रलाई उज्यालो बनाउन गरेको प्रस्तावअनुसार प्राधिकरणले सहकार्य गरेर काम गरिरहेको बताए । पहिलो चरणको काम ८५ प्रतिशत सकिएको भन्दै उनले बोलपत्रको काम सुरु भएकाले आउँदो वर्षभित्रमा महानगरका धेरै ठाउँमा स्मार्ट बत्ती पुग्ने जानकारी दिए । महानगरमा विकास निर्माणका काम तीव्र गतिमा भइरहेका छन् । विकासका हिसाबले धेरै काम भएको पालिकामा भरतपुरलाई चिन्ने गरिन्छ ।

यस्तै नेपाल विद्युत् प्राधिकरण आयोजना व्यवस्थापन निर्देशनालयले महानगरपालिकाको मुख्य सहरी क्षेत्रमा विद्युत् भूमिगत तथा सुदृढिकरण गरेको छ । पोखरा–भरतपुर वितरण प्रणाली सुदृढिकरण आयोजनाअन्तर्गत रहेर महानगरपालिकाको पुलचोक–केन्द्रीय बसटरमिनल–गोन्द्राङ् र  केन्द्रीय बसटरमिनलदेखि आँपटारीसम्मको विद्युत् लाइन भूमिगत गर्ने काम सुरु भएको र यसका लागि  रु एक अर्ब २० करोडमा ठेक्का सम्झौता गरेर काम अघि बढाइएको हो ।

भरतपुर बाइपास सडकको पूरै र छ लेनको पुलचोकदेखि केन्द्रीय बस टरमिनलसम्म सबै तार भूमिगत गरिने छ । बसपार्कबाट गोन्द्राङ्सम्म ३३ केभिएलाई मात्र पहिलो चरणमा भूमिगत गर्न लागिएको छ । एशियाली विकास बैंकको सहयोगमा प्राधिकरणले महानगरका दुई सडक गरी ११ किलोमिटर क्षेत्रमा विद्युत् भूमिगत गर्न लागेको हो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप