कहिलेसम्म गिजोलिन्छ नेपालको राजनीति ?
राजनीति सबैले गर्न मिल्ने र खेल्न मिल्ने खेल हो । राजनीति एउटा व्यक्तिदेखि समुदाय, गाउँ, सहर जिल्ला, प्रदेश, केन्द्र सर्वत्र हुन्छ । केन्द्र राजनीतिको प्रमुख स्थल हो । राजनीति सबैले गर्दा गर्दै सबैले सधैँ गर्न र खेल्न नमिल्ने खेल पनि हो ।
त्यसैले, यसमा पनि निश्चित, नियम, समय र विधि अनि प्रक्रिया निर्धारण गरिएको हुन्छ । राजनीतिमा सत्ताको दौडमा प्रतिस्पर्धा गर्न पार्टी र तिनका प्रतिनिधिहरू चुनिएर जान्छन् । ती प्रतिनिधिहरू व्यक्ति व्यक्तिले गर्ने राजनीतिको छनौट मार्फत छानिएर पुगेका हुन्छन् ।
जसरी खेल मैदानमा खेल खेल्ने अवसर सयौं खेलाडीमध्ये केही र निश्चित संख्याले प्राप्त गर्दछ । त्यसै गरी राजनीतिमा पनि सत्ताको खेल खेल्न विभिन्न तह र तप्काका खेलाडी स्थानीय निकायदेखि प्रदेश र केन्द्रसम्म चुनिएर, छानिएर र छाँटिएर आएका हुन्छन् ।
त्यसैले, ती खेलाडी सत्ताको वैधानिक हकदार हुन्, जसलाई संविधान र विधानले चिनेको र जानेको हुन्छ । जसले जनताको वारेस लिएर गएका हुन्छन् । सामान्यतया राजनीतिको वैधानिक खेल खेल्ने पात्रहरू तिनै हुन् । उनीहरूकै निर्णयले वैधानिकता प्राप्त गर्दछ, जो जनताद्वारा विभिन्न चुनावमार्फत् प्रतिनिधि बनेर पुगेका छन् ।
हामीले प्राय पाँच वर्षको लागि चुनेका प्रतिनिधिलाई आधुनिक राजनीतिको भाषामा हाम्रो सेवक बन्न भरिया बन्न पठाएका हौ । यिनै खेलाडीले गोल हान्ने, स्पाइक गर्ने, चौका छक्का हान्ने काम गर्न पाउँछन् । प्रजातन्त्र लोकतन्त्रको मर्म र उद्देश्य यही हो, आफूले चुनेर पठाएका प्रतिनिधिले आवधिक निर्वाचन मार्फत शासन गर्ने र सत्ताको व्यवस्थापन गर्ने ।
तर हामी विधि र प्रक्रियामा पुग्ने कामलाई कर्मकाण्ड गरे जस्तो गरेर बाहिर बाहिर सत्ताको अभ्यास गर्छौं । वैधानिकता प्राप्त गर्ने निकाय एकातिर राजनीतिको खेल अर्कोतिर भैरहेको हुन्छ । निर्णय गर्ने बहुसंख्यक प्रतिनिधि अरूले सुनाएको निर्णयमा लालमोहर लाउने पात्र मात्र भएर बसेका हुन्छन् । वैधानिक निकायभन्दा बाहिर पार्टी पार्टीबीच सामान्य छलफल, लेनदेन र भागबण्डा अस्वाभाविक होइन । तर सबै धन्दा बाहिर गरिएर लालमोहर लाउन मात्र संसदमा छिराउनु राम्रो मानिन्न ।
हाम्रो राजनीतिमा देश भित्रको ग्राउण्ड बाहिरका खेलाडी मात्र नभएर देश बाहिरका खेलाडी पनि खेलको निर्णायक बनिदिन्छन् । सामान्यतया खेलमा रेफ्रीको भूमिका हुन्छ तर रेफ्री बन्नुपर्ने, तटस्थ बस्नुपर्ने राष्ट्रिय र अन्तरराष्ट्रिय निकाय नै स्वयं खेल खेल्न मैदानमै छिर्ने प्रतिस्पर्धा ज्यादै लाजलाग्दो विषय बनेको छ ।
नेपालमा नेपालीले आफै खेल्ने खेलमा बाहिरको खेलाडीको निर्लज्ज प्रवेश सबै नेपालीको शीर झुकाउने सवाल हो । यो नेपाली मन्त्री परिषद्मा विदेशीले प्रवेश पाउने २००७ सालको पेरिफेरिको समयदेखि आज पर्यन्त अनेक रूप, रङ्ग, सवाल र सर्तमा भएको छ । हिजो हाकाहाकी देखादेखी उपस्थित हुने परम्परा थियो, आज त्यसको स्वरूप बदलिएर आएको छ । उपस्थिति, हस्तक्षेप र निर्देशनमा आधुनिकीकरण गरिएको छ, कम गरिएको छैन । पार्टीहरूले डिक्टेशन पाएका छन्, सोही अनुसार लेख्छन् ।
भावी राष्ट्रपति र उपराष्ट्रपतिको विषयमा चर्को मतान्तर, तानातान खिचातानी र मोलमोलाई चलिरहँदा पूर्व न्यायाधीश र बहालवाला न्यायाधीशहरूसमेत आफ्नो इन्ट्रेस्ट देखाएर वक्तव्यबाजीमा उत्रेका छन् । उत्ताउलो बनेर प्रस्तुत भएका छन् ।
समाजका प्रवुद्ध वर्गको आफ्नो दृष्टिकोण सुझाव र सल्लाह अन्यथा होइन तर आफ्नो हितको लागि त्यो केन्द्रीत देखिनु दूर्भाग्यपूर्ण हुनेछ । यही अवस्था हो, गैरखेलाडीको खेल मैदानमा प्रवेश र हस्तक्षेप ।
जब पार्टीहरू आफ्नो निर्णय क्षमता गुमाउँछन्, तब राष्ट्रिय अन्तरराष्ट्रिय खेलाडी मैदान छिर्न र निर्देश गर्न आइपुग्छन् । पूर्व, पश्चिमका र उत्तर, दक्षिणका राजदूतहरू नेताको दैलो दैलोमा देउसी खेल्न पुग्छन् । अनावश्यक सल्लाह दिन्छन् । कसैलाई उक्साउछन्, कसैलाई तर्साउँछन् । कसैलाई ऊर्जा दिन्छन्, कसैलाई टेको झिकिदिन्छन् ।
हाम्रो राजनीतिमा देश भित्रको ग्राउण्ड बाहिरका खेलाडी मात्र नभएर देश बाहिरका खेलाडी पनि खेलको निर्णायक बनिदिन्छन् । सामान्यतया खेलमा रेफ्रीको भूमिका हुन्छ तर रेफ्री बन्नुपर्ने, तटस्थ बस्नुपर्ने राष्ट्रिय र अन्तरराष्ट्रिय निकाय नै स्वयं खेल खेल्न मैदानमै छिर्ने प्रतिस्पर्धा ज्यादै लाजलाग्दो विषय बनेको छ ।
अनि, कहिले गैरराजनीतिक व्यक्तिको फरमान जारी गर्छन् र सम्भावित नामको उर्दी पस्कन्छन् । सल्लाह दिनेले, हस्तक्षेप गर्नेले आफ्नो गच्छेअनुसार गरिरहेका छन् । कसैलाई न्यायलय देखाएर तर्साउँछन्, कसैलाई शक्तिकेन्द्र र भक्तिकेन्द्र देखाएर ।
जब राजनीति तरल हुन्छ, तब आकार दिने र तरल राजनीतिलाई आफ्नो साँचोमा ढाल्न देश विदेश सक्रिय रहन्छ । सम्बन्धित खेलाडी अन्योलग्रस्त हुन्छन् र असम्बन्धित पात्रहरू अर्ति, उपदेश, आदेश, अचानो र आरो लिएर आइपुग्छन् । तव रेटिनुपर्ने आमनेपालीको गर्दन हो । जुन हाम्रो देशका पार्टी र नेताहरूले आजसम्म पुर्याउन नसकेको बुद्धि हो ।
राष्ट्रपति र उपराष्ट्रपतिको चुनाव नेताको व्यवस्थापन होइन, देशको व्वयस्थापनको लागि अभिभावकीय नेतृत्व हो, जुन सेरेमोनियल हुन्छ र तर, राष्ट्रपतिमा देखिएको दलहरूको विशेष आकर्षणले यो पद कार्यकारी बन्ने र बनाउने खतरा छ, जसलाई पूर्व राष्ट्रपति र वर्तमान राष्ट्रपतिले नजीर बसालिदिनु भएको छ ।
नेपाली दल र नेताको बुद्धिलाई व्यङ्ग गर्न कवि भूपि शेरचनले ‘हामी फगत क्यारेमका गोटी हांै । स्ट्राइकरले जता हान्छ, त्यतै मुन्टिनु गोटीको नियति हो,’ भनेर कवितामार्फत् नेपाली राजनीतिमा हस्तक्षेप विगतदेखि भएको सङ्केत गरेका थिए । हामी आज पनि त्यही नियति भोगिरहेका छौ । आफै आफ्नो स्ट्राइकर बन्न किन सकिरहेका छैनौ ? आजको राजनीतिको मूल विमर्श यही हो । जहिल्यै गोटी बन्नुपर्ने नियतिबाट उम्कने उपाय के हो ? कतै हाम्रो व्यवस्थामा खराबी त छैन ?
कुनै पनि व्यवस्था आफैमा गुण र दोषरहित हुँदैन भनिन्छ । तर, मात्रात्मक रूपमा गुण हावी हुने परिपाटी हामीले किन अवलम्बन गर्न सकेनौ ? व्यवस्थालाई हेर्ने दृष्टिदोष पो छ कि ? राजनीतिमा हाम्रो आवश्यकता भन्दा बढी चासो पो रह्यो कि ?
होइन भने आज हामीले अभ्यास गरेको व्यवस्था मिश्रित चुनाव प्रणालीमा कुनै पनि पार्टीको बहुमत आउने अवस्था प्रायः हुँदैन । बहुमत आए पनि टिकाउन नसकेको हाम्रो अघिल्लो संघ र प्रदेशको चुनाव पछिको सत्ताको खेलले प्रष्ट पारेको छ ।
संसदमा गणितको खेल भएको कारण सबैभन्दा ठूलो दल फुटेर संसदमा तेस्रो स्थान प्राप्त दल नेपाली काँग्रेसले सरकारको नेतृत्व गरेको र सबैभन्दा ठूलो दल नेकपा एमाले सत्ता भन्दा बाहिर बसेको दृश्य समेत देखिएकै हो । भर्खरै सम्पन्न निर्वाचन पश्चात पनि संसद्को सबैभन्दा ठुलो दल कांग्रेस प्रतिपक्षमा रहेको छ भने दोस्रो ठुलो दल एमाले, तेस्रो दल माओवादीको स्टेक होल्डर भएर सत्ता सयरमा छ । फागुन २५ मा हुने राष्ट्रपतिको चुनावले पुनः सत्ता उलटफेर हुने निश्चितप्रायः छ ।
झन्डै दुई तिहाई बहुमत प्राप्त पार्टीको सरकार गिरेको घटनाले पनि संसदमा हुने सत्ताको अस्थिरता सामान्य हो । सत्तामा पुग्ने सत्ताबाट एकले अर्कोलाई विस्थापन गर्न खोज्ने खेल सामान्य हो ।
हामी चुनाव प्रणाली फेर्न सक्दैनौ भने सत्तामा पार्टीहरू पाँच वर्षभित्र अनेक पटक आउने जाने गरेको खेल हेर्न सधैँ बाध्य हुनेछौ । हाम्रो जस्तो मिश्रित चुनाव प्रणाली अवलम्बन गर्ने जुनसुकै देशमा पनि पार्टीहरूबीच सत्ताको छिनाझमट चलिरहन्छ । सत्ता असमयमा तल माथि भैरहन्छ । विधि र प्रक्रियासम्मत भएका कुरालाई सामान्य रूपमा बुझ्ने र ग्रहण गर्ने संस्कृति नभएसम्म राजनीति विरक्तलाग्दो बनिरहन्छ ।
राजनीतिको मैदानमा हुने विधिसम्मत खेललाई खेलाडीकै जिम्मामा छोडेर आममान्छे आआफ्नो कर्ममा व्यस्त बने राजनीति यति गिजोलिन पुग्दैन । बाहिर बसेर पनि सबैलाई राजनीति गर्नु छ । शिक्षक, प्राध्यापकलाई पढाउन छोडेर राजनीति हेर्नु र गर्नु छ । डाक्टर विरामी जाँच्न छोडेर, किसान हलो छाडेर, न्यायाधीश न्याय दिन छाडेर, वकिल वकालत छाडेर, विद्यार्थी पढ्न छोडेर राजनीति हेर्न र गर्न व्यस्त बनेपछि राजनीतिका वैधानिक खेलाडी भन्दा बाहिर पुग्छ राजनीति ।
हामी सबैलाई राजनीति मैदान चाहिएको छ । राजनीतिमा आकर्षण देखिएको छ । राजनीतिमा पाँच वर्षको लागि चुनिएर जानेहरू भगवान् जस्ता लागेका छन् । त्यसैले पनि राजनीति बिझाएको छ । आफू हुन नपाएकोमा पोलेको छ, दुःखेको छ ।
राजनीतिमा कलाकार जानु परेको छ, समाजसेवी जोडिनु परेको छ, खेलाडी घुस्रिन परेको छ । सेवा निवृत्त कर्मचारी जागिर छाडेको भोलिपल्ट राजनीति ज्वाइन् गर्छ । पत्रकार दल खोलेर हाम फाल्छ । साहित्यकार लेख्न छाडेर राजनीतिमा मरिहत्ते गर्छ । समाजका यावत पेशाका यावत मान्छेलाई आफ्नो पृथक परिचय र प्रतिष्ठा भन्दा राजनीतिमा बढी रहर छ ।
सत्तामा जाने म्यान्डेट नभए पनि सबैलाई चुनाव जितेको भोलिपल्ट मन्त्री, उपप्रधानमन्त्रीको लस्कर र प्रधानमन्त्री चाहिएको छ । हामी सबैले अराजनीति गरेको कारण राजनीति मैलिएको हो । राजनीति भनेको जो जुन पेशा र व्यवसायमा छौं, त्यही आफ्नो भूमिका र जिम्वेवारी गजबले निभाउन सके शुद्ध राजनीति त्यही हुन्छ । परिणाममुखी राजनीति आफ्नो क्षेत्रमा निर्वाह गर्ने भूमिका हो ।
राजनीतिको परिधि बाहिर बसेकालाई पनि जतिसुकै बेला राजनीति चाहिएकोले राजनीति धमिलो र हिलोमैलो भएको हो । व्यवस्था नै त्यस्तो रोजेपछि राजनीतिमा हुने सत्ताको कित्ता परिवर्तन र सत्ता साझेदारीको हेराफेरीलाई सामान्य रूपमा नै बोध गर्नुपर्छ ।
वैदेशिक हस्तक्षेपबाहेक देश भित्रका पार्टी तथा नेताको विवेक र निर्णयलाई अस्वीकार गर्न मिल्दैन । हामीले हाम्रो क्षमता र व्यवस्था अनुसारका नेता पाएका छौ । आम जनताको खास चासो सत्ता फेरिंदा जनताले पाउने सेवा र सुविधाको प्राथमिकता फेरिनु भएन ।
बस्, शासन गर्न पुगेका पार्टीहरू जसले शासन गरे पनि देश र जनतालाई केन्द्रविन्दुमा राख्न सकून् । कि चुनाव प्रणाली फेरौ कि चुनावमा जहिल्यै कुनै पनि पार्टीलाई बहुमत प्रदान गरौ । कि व्यवस्था अनुसारको अवस्था हो भनेर सत्ता परिवर्तनलाई सहज रूपमा स्वीकार गरौ । सत्ता र शक्तिको राजनीतिक फेर बदलालाई अतिरञ्जना नगरौ ।
वैदेशिक र अवाञ्छित हस्तक्षेपबाहेक नेपालका दल र तिनको निर्णय अराजनीति र असंवैधानिक हुन सक्दैन ।
लेखक त्रिवि, कीर्तिपुर एमफिल–पिएचडी अनुसन्धाता हुन्