बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय
राष्ट्रपति निर्वाचन

राष्ट्रपति निर्वाचनमा कूटनीतिक छाया !

प्रचण्डको ‘कम्फरटेबल’ रोजाई
शनिबार, १३ फागुन २०७९, २१ : २७
शनिबार, १३ फागुन २०७९

काठमाडौँ । दलरुबीच राष्ट्रपति कसलाई बनाउने भन्ने छिनोफानो शनिबारको उम्मेदवारी दर्तासँगै टुङ्गिएको छ । नेपाली कांग्रेसका रामचन्द्र पौडेल र एमालेका सुवास नेम्वाङले उम्मेदवारी दर्ता गराए ।

दलहरु बिचको लामो छिनाझम्टीपछि नेपाली कांग्रेस र माओवादीसहितका ८ दलको साझा उम्मेदवारको रुपमा पौडेलले उम्मेदवारी दर्ता गराए । त्यसो त राष्ट्रपति पदमा उम्मेदवारी दर्ताअघि नेपालमा विभिन्न शक्तिराष्ट्रका प्रतिनिधिहरुको बाक्लो उपस्थिति थियो । विशेषगरी भारत, चीन र अमेरिकाका संस्थापन पक्षका प्रतिनिधिहरुले विभिन्न बहानामा नेपाल भ्रमण गरे पनि उनीहरुको स्वार्थ भनेको आफ्नो अनुकुल व्यक्ति राष्ट्रपतिको उम्मेदवार बनोस् भन्ने नै थियो ।

नेपालको हरेक बदलिँदो राजनीतिक घटनाक्रम हेर्दा वैदेशिक हस्तक्षेप प्रस्ट देखिन्छ । शनिबार उम्मेदवारी दर्ता पनि शक्तिराष्ट्रको चाहनाभन्दा बाहिर रहन सकेन ।

भारत, चीन र अमेरिकाले नेपालमा गर्दै आएका हस्तक्षेपलाई नजिकबाट नियालेका एक पूर्व परराष्ट्र सचिवले भने, ‘भारत र अमेरिकाको चाहना अनुरुप ८ दलको गठबन्धनले राष्ट्रपतिको उम्मेदवार चयन गरेको हो, चीनको चाहना यो पटक पूरा हुन सकेन ।’

नाम उल्लेख नगर्ने सर्तमा ती पूर्व सचिवले रातोपाटीसँग भने, ‘भारतका विदेश सचिव बिनय मोहन क्वात्राको पछिल्लो भ्रमण सिद्ध सावित भयो । विशेष गरी माओवादी र नेकपा समाजवादीलाई एक हुने सन्देश क्वात्राले दिएर गएका थिए ।’

नेपालको सार्वभौमसत्ता र स्वाधीनताका बारेमा बोल्दै आएका पूर्व उपप्रधानमन्त्री डा. भीम रावलले राष्ट्रपतिको निर्वाचन र घोषित उम्मेदवारमा नेताहरु आत्मनिर्णयको अधिकारबाट बञ्चित भएको टिप्पणी गरे ।

‘राष्ट्रपतिको निर्वाचन सन्दर्भमा व्यापक छलफल र पार्टी बैठकका बिचमा कुटनीतिक मर्यादा मिचेर विभिन्न ठूला र शक्ति सम्पन्न देशका मानिसहरुले नेताको घरघरमा गएर भेटवार्ता गरेको देखियो । यो कुनै पनि स्वाधीन, स्वतन्त्र र स्वाभिमानी देशका लागि सुहाउने कुरा होइन,’ एमाले नेता रावलले भने, ‘यो आपत्तिजनक कुरा हो । कतिपय नेताहरुले कुटनीतिक मर्यादा विपरीत नेपालको संविधानको संरक्षक र एकताको प्रतिक भनिएको राष्ट्रपतिको निर्वाचनको सन्दर्भ तीव्र रुपमा उठिरहेको बेला जसरी विदेशी राष्ट्रका विभिन्न स्तरका मानिहरुहरुसँग भेटवार्ता गरेको देखियो, त्यो कुनै पनि स्वाभिमानी नेपाली र नेपालको प्रतिकुल हो ।’

उनले नेपालले आत्मनिर्णयको अधिकार आफै गर्नुपर्छ भनेर नीति बनाए पनि त्यो असफल भएको जिकिर गरे ।

जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयेश त्रिपाठी वैदेशिक स्वार्थलाई नेपाली नेताले समयानुकुल परिभाषाको रुपमा बुझ्ने गरेको बताउँछन् । ‘नेताहरु आफू उल्टो गर्छन् र जो त्यसबाट लाभ लिन सक्दैनन्, अरुलाई तेर्स्याइदिएर आफ्नो कमजोरी लुकाउने प्रवृत्ति छ । आफ्नो नालायकीलाई अरुतिर तेर्स्याउने प्रवृत्तिलाई रोक्नुपर्छ ।’

२००७, २०१५, २०४६ र २०६२ मा भएका परिवर्तन र १२ बुँदै सहमतिलाई कसैले सहयोग र कसैले हस्तक्षेप ठाने पनि त्यो भारतको सहयोग बिना सम्भव नभएको ठम्याइ त्रिपाठीको छ ।

उनले अझै पनि नेपाली राजनीति अस्थिर रहेको टिप्पणी गरे । उनले भने, ‘हेर्नोस्, दुई तीन वटा सरकार बन्नै छ । कांग्रेसको सहयोगमा एमालेको सरकार र एमालेको सहयोगमा कांग्रेसको सरकार बन्नै बाँकी छ । विदेशीहरु आए, कुराहरु गरे तर कसले माने ? हामीले विदेशी–विदेशी भनेर आफूचाहिँ पानीमाथिको ओभानो हुन मिल्दैन ।’

कांग्रेसले प्रचण्डलाई प्रधानमन्त्री नदिएपछि एमालेतिर जानु र अहिले एमालेले आफ्नो राष्ट्रपति खोजेपछि कांग्रेसतिर जानु भनेको राजनीतिक अस्थिरता भएको टिप्पणी त्रिपाठीको छ ।

राजनीतिक विश्लेषक तुलानारायण साह तत्कालीन घटनाक्रमलाई घरेलु राजनीतिको रुपमा बुझ्छन् । उनी भन्छन्, ‘प्रचण्डलाई एमालेसँग भन्दा कांग्रेससँगको गठबन्धन कम्फरटेबल भएकाले पुरानो गठबन्धनतिर लागेको देख्छु, यसमा विदेशी हस्तक्षेप देख्दिनँ । रामचन्द्र पौडेलको उम्मेदवारी षड्यन्त्रको हिसाबले विश्लेषण गर्न जरुरी छैन ।’

विदेशी आउने र जाने भइरहे पनि हाम्रा नेताहरुले राजनीतिक संस्कारलाई जोगाउन नसक्नु बिडम्बनाको राजनीति भएको टिप्पणी साहको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास गोतामे
सुवास गोतामे
लेखकबाट थप