बुधबार, १० पुस २०८१
ताजा लोकप्रिय
भाषा

‘नेपाली भाषा नै कमजोर हुँदैछ, अरु भाषाको के कुरा गर्नु’

‘आमाबुवाले छोराछोरीलाई आफ्नो भाषा सिकाउन अल्छी गरे भाषा लोप हुन्छ’ : प्राडा माधवप्रसाद पोखरेल
शनिबार, १३ फागुन २०७९, १५ : २५
शनिबार, १३ फागुन २०७९

मातृभाषाको संरक्षणको सवाल खागरी छयालीसको आन्दोलनपछि चर्चामा आयो । नेपाल अधिराज्यको संविधान २०४७ ले नेपाली नेपालको राष्ट्रभाषा र यहाँ बोलिने सबै राष्ट्रिय भाषा भनेर संवैधानिक रूपमै चासो लियो । यसरी पञ्चायती व्यवस्थाको एक भाषा एक भेष भन्ने नारालाई हटाउँदै नेपालभित्र बोलिने विभिन्न भाषाभाषीलाई यस संविधानले स्वीकार्यो ।

त्यसो त जनगणनामा भाषाको गणना भने २००८ सालदेखि नै हुँदै आएको हो । २०६२/६३ को आन्दोलन विभिन्न जातजाति भाषाभाषीहरूको पहिचानको आन्दोलन थियो । यसले हरेक जातजातिले आफ्नो मातृभाषा र संस्कृतिका बारेमा राज्यबाटै सम्मान खोजेका थिए । यही आन्दोलनको फलस्वरुप नेपालको संविधान २०७२ ले मातृभाषालाई विशेष व्यवस्था गरिदियो । हरेक समुदायले आफ्ना बालबालिकालाई मातृभाषाका माध्यमबाट पढ्न पाउने स्वतन्त्रता स्थानीय तहका सरकारमार्फत् विद्यालयहरूलाई प्रदान गर्यो ।

यो कार्यले मातृभाषाको विषय अझ व्यापक बन्न पुगेको छ । मातृभाषाका वक्ता सङ्ख्याका आधारमा स्थानीय तहले सरकारी कामकाजको भाषा लागु गर्न पाउने व्यवस्थासमेत गरेको छ । यसै सन्दर्भमा आजीवन भाषाकै क्षेत्रमा समर्पित रही करिब ६९ मातृभाषाका वर्ण निर्धारण गर्ने प्राडा माधव पोखरेलसँग वर्ण निर्धारण, उनले निर्धारण गरेका मातृभाषाका वर्णहरूको प्रयोग, भाषा संरक्षणका विकल्पलगायतका विषयमा केन्द्रीत रही शिखर मोहनले गरेको कुराकानीको सम्पादित अंशः  

–यहाँले हालसम्म कतिवटा मातृभाषाका वर्ण निर्धारण गरिसक्नुभयो ?

मैले हालसम्म ६९ वटा अलिखित भाषाहरूको वर्णमाला बनाएको हो । यस क्रममा लिम्बू, धिमाल, मेचे, राजवंशी, लुम्किन÷लुङ्खिम, छथरे लिम्बू, याक्खा, मारेकयाक्खा र मेवाहाङ हुँदै सोलुका खालिङ, थुलुङ, खोटाङका चाम्लिङ, रामेछापका सुनुवार, मकवानपुरका चेपाङको हो ।

dr madhab pokhrel (3)

त्यस्तै, तनहुँका भुजेल र मगर ढुट, डोल्पाका मगर काइके, रोल्पा, रुकुम र पश्चिम बाग्लुङका मगर खाम, दार्चुलाका व्यासी, जुम्लाको सिंजाली, कैलालीको राजी, दैलेखको राउटे, सर्लाहीको मगही÷मजनी, रौतहटका भोजपुरी र बज्जिका, दाङको डंगौरा थारू, डोट्याली, अछामी, बैतडेली, दार्चुलेली लगायत ६९ वटा भाषाको वर्ण निर्धारण गरेको छु ।

–यी वर्ण निर्धारण गरेपछि सबै देवनागरी लिपि नै प्रयोग गर्नुभएको छ कि अन्य लिपिमा पनि छन् ?

मैले निर्धारण गराएका सबै वर्णमाला देवनागरी लिपिमै आलेखन गर्न लगाएको छु । तर सबै भाषाका वर्ण देवनागरी लिपिमा मात्र लेख्न सकिँदैन । किनभने देवनागरी लिपिको वर्णमाला आधारभूत रूपमा संस्कृतको वर्णमाला हो । त्यसमा सबै भाषाका वर्ण त मिल्दैनन् । तर त्यसका लागि उपचिह्न, प्रायः तलथोप्ली आदि राखेर वर्णको फरक छुट्याएको छु ।

हरेक आमाबुवाले हाम्रा छोराछोरीलाई आफ्नै मातृभाषा सार्न चाहन्छौँ भन्नु पर्यो । आफूले जानेजति आफ्नो मातृभाषा छोराछोरीमा स्थानान्तरण गर्छु भनेर मन गर्नु पर्यो । यो अठोट गर्यो भने भाषा बाँच्यो, कसैले लोप गर्न सक्दैन ।

–अन्य लिपि हुनेले आफ्नै लिपि प्रयोग गर्छन् होला नि ? जस्तो सिरिजङ्गा लिपि लिम्बूहरूको आफ्नै छ ।

सिरिजङ्गा लिपि पढ्न सक्ने लिम्बूहरू अत्यन्त कम छन् । जनसङ्ख्याको अनुपातमा एक प्रतिशत पनि छैनन् । अरु भाषाको पनि अवस्था त्यस्तै छ । त्यसैले आफ्नो बेग्लै लिपि भए पनि उनीहरू देवनागरी लिपिमै बढ्ता पढ्न सक्ने छन् ।

–ह्रस्व दीर्घ नियम, श, ष, स को प्रयोग पनि छन् तिनमा ?

नेपालीमा ह्रस्व, दीर्घको नियम चाहिएको चाहिँ यहाँ उच्चारणमा पनि, अर्थमा पनि फरक पर्ने एक जोडा शब्द (लघुतम युग्म) भेटिँदैन । त्यसैले ह्रस्व, दीर्घको नियमको झन्झट नेपालीमा थपिएको हो । भाले जति ह्रस्व लेख, पोथीजति दीर्घ लेख भन्ने भन्ने नियम नेपाली वर्णको नियमै होइन ।

यी तीनवटा श, ष र स चाहिँ कतिपय भाषामा आएका छन् । तालव्य श र दन्त्य स को वर्णात्मक फरक सुनुवार भाषामा छ । यस्तै वर्णात्मक मूर्धन्य ष हुने भाषा पनि तिब्बती मूलका छन् । तिनीहरूलाई नियमले बाँधिने भन्ने छैन । सम्बन्धित भाषाका वक्ताहरूको उच्चारणमा प्रयोग भएका आधारमा त्यसको वर्ण निर्धारण भएका छन् ।

–कतिवटा भाषाले निर्धारित वर्णहरू लागू गरिसके ?

गोरखापत्रले प्रकाशित गर्ने नयाँ नेपाल पृष्ठमा करिब ४० वटा भाषामध्ये धेरै भाषामा वर्णअनुसार हिज्जेको प्रयोग गरेका छन् । सबै चाहिँ होइन, धेरैजसो चाहिँ मैले निर्धारण गरिदिएका वर्णहरू नै प्रयोग भएका छन् ।

मेरो जस्तो प्रयोग धेरैले गरेकै छन् । मैले सिकाएको अलिकति पनि फरक नपारी प्रयोग गरेको भनेको मगरहरूको हो ।

dr madhab pokhrel (4)

–त्यस्तो वर्णविन्यास प्रयोग गर्दा विवाद आएको देखिन्छ । केही पहिले थारू भाषामा केही विवाद आएर पृष्ठ संयोजक नै हटाइएको थियो नि ?

थारू भाषामा विवाद भएको होइन । डंगौरा थारूको भाषा बेग्लै छ । तत्कालीन पृष्ठ संयोजकले त्यसको वर्ण लागू गर्दा अरुलाई आपत्ति भयो होला । एउटा भाषामा पारस्परिक सञ्चार हुन सक्छ सक्दैन, बुझ्न सक्छन् सक्दैनन् भन्ने आधारमा छुट्याइन्छ । बोलेको ६० प्रतिशतभन्दा बढी बुझियो भने एउटै भाषा भयो, बुझिएन भने त्यो बेग्लै भाषा हुन्छ ।

त्यसैले डंगौरा थारू, चितौनिया थारू, मोरङ्या थारू एकै ठाउँमा भेला हुँदा थारू भाषामा कुरा हुँदैन । यी सबैतिरका थारूहरू एकै ठाउँमा बसेर मातृभाषामा कुरा गर्दा सबैले बुझ्दैनन् । सबै ठाउँका थारूहरू बसेर कुरा गर्नु पर्यो भने नेपाली नै प्रयोग गर्छन् ।

–त्यो भाषै फरक हो कि भाषिका हुन् ?

हैन, भाषै फरक नभईकन त्यस्तो हुँदै हुँदैन नि । भाषिका भए त बुझिहालिन्छ नि । भाषिकामा पारस्पारिक बोधगम्यता हुन्छ । पारस्परिक बोधगम्यता छ भने चाहिँ एउटै भाषा भयो, छैन भने भाषा नै फरक भयो ।

–जनगणनामा बैतडेली, अछामी, डोटेलीलगायत भाषा पनि मातृभाषामा समेटिएको छ, यी त नेपाली भाषाका भाषिका होइनन् र ?

भाषा र भाषिका निर्धारण अलिकति राजनीति नमिसिईकन हुँदैन । उदाहरणका लागि नेपाली भाषाको उत्पत्तिका सन्दर्भमा गढवाली, कुमाउली भाषामा प्राचीन अभिलेखहरू छन् । ती चाहिँ हाम्रै खस राजा अशोक चल्लले र अक्षय मल्लका शिलालेख, ताम्रपत्रहरूमा भएको एउटै भाषा हो । त्यसलाई उतातिर प्राचीन हिन्दी भनिन्छ । त्यो चाहिँ राजनीतिक सिमानाले त्यो त भारतमा पर्छ । त्यही अक्षय मल्लहरूले जारी गरेको अभिलेखलाई उनीहरू प्राचीन हिन्दी भन्छन् । त्यही अक्षय मल्लले जारी गरेको अभिलेख यता नेपालकाहरूले १३७६ को प्राचीन नेपाली भाषा भन्छौँ । भाषा एउटै हो । राजनीतिक सीमाका कारण एउटै भाषा भारततिर प्राचीन हिन्दी  भयो, यता चाहिँ प्राचीन नेपाली भयो ।

भाषै फरक नभईकन त्यस्तो हुँदै हुँदैन नि । भाषिका भए त बुझिहालिन्छ नि । भाषिकामा पारस्पारिक बोधगम्यता हुन्छ । पारस्परिक बोधगम्यता छ भने चाहिँ एउटै भाषा भयो, छैन भने भाषा नै फरक भयो ।

अर्को कुरा हिन्दी र उर्दू एउटै भाषा हो । यी दुवै भाषाका वक्ताहरूले दोहोरै कुरा गर्छन् । तर जानाजान ती भाषामा कृत्रिम फरक पारिएको छ  । हिन्दी चाहिँ देवनागरीमा लेखिन्छ, उता उर्दु चाहिँ अरबीमा लेखिन्छ । हिन्दीमा शब्द पुगेन भने संस्कृतबाट लिइन्छ, उर्दुका लागि अरबी फारसी ल्याइन्छ । यसरी हिन्दी र उर्दू जानाजान राजनीतिक कारणले फरक पारिएको हो । नभए भाषा एउटै हो । हिन्दी र उर्दूको व्याकरण पनि बेग्लै छैन ।

–जनगणनामा चाइनिज, फ्रेन्च भाषालाई पनि राखिएको छ तर यी नेपालका उत्पत्ति भाषा त होइनन्, किन गणना गरियो ?

यसमा दुईवटा कारण हुन सक्छ । थुप्रै नेपालीले चाइनिज केटी विवाह गरेको हुन सक्छन् । विवाह गरी ल्याएका बुहारीलाई जनगणनामा जाने गणकले मातृभाषा के हो भनेर प्रश्न गर्दा चाइनिज भन्नु स्वाभाविकै हो । उनीहरूले मातृभाषा चाइनिज नै लेखाउने भए । नेपालमा हुँदै नभएका भाषाको लगत चाहिँ आएको होइन । तर मातृभाषाका हिसाबले जुन महत्त्व दिनुपथ्र्यो, त्यस्तो नगर्दा पनि हुन्थ्यो भन्ने हो । जनगणनाको जुन तथ्याङ्क हो, त्यो मिथ्याङ्क होइन ।

–भाषा आयोगले विभिन्न भाषालाई विभिन्न जिल्लाका विद्यालयमा मातृभाषामा पढाइ तथा स्थानीय निकायमा कामकाजको भाषाको रूपमा सिफारिस गरेको छ तर कार्यान्वयन पक्ष चाहिँ किन फितलो छ ?

आधारभूत रूपमा कार्यान्वयन चाहिँ आमाबुबाले नै गर्ने हो । मातृभाषीले हाम्रो विद्यालयमा पढाउँछौँ, हाम्रा बालबालिकालाई हाम्रै मातृभाषामा सिकाउँछौँ भनेर उनीहरूले नै निर्धारण गर्नुपर्छ । उनीहरूले आफ्ना छोराछोरीलाई नेपाली भाषामै सिकाउँछौँ भने भने सरकार र भाषा आयोगको केही चल्दैन । वडाले नै पनि मातृभाषामा पढाऊ भनेर कर गर्न पाउँदैन । त्यसैले आधारभूत रूपमा यो मातृभाषामा शिक्षा दिने कि नदिने भन्ने निर्णय त अभिभावकको अधिकार हो ।

त्यसैले पञ्चायती व्यवस्थामा मातृभाषीले चाहे भने पनि पढाउन पाउँदैन थिए । तर अहिले मातृभाषीले चाहे भने पढाउन पाउँछन् । फरक यत्ति हो ।

dr madhab pokhrel (1)

–भाषा संरक्षणका विकल्प के के हुन सक्लान् ?

हरेक आमाबुवाले आफ्नो मातृभाषा आफ्ना छोराछोरीलाई आफूजत्तिकै जान्ने बनाएर सिकाए भने त्यो भाषा जीवन्त हुन्छ । जुन भाषा चाहिँ बोल्नलाई आमाबुवा जत्तिको छोराछोरी जान्दैनन्, त्यो भाषा लोपोन्मुख भयो । अहिले नेपाली जति हामी जान्दछौँ, त्यति केटाकेटी जान्दैनन् नि यो लोपोन्मुखताको लक्षण हो । हाम्रै घरमा देखिएको लोपोन्मुखताको लक्षण हो । नेपालीमै त यस्तो छ भने अरु भाषाको अवस्था झन् चर्कै छ ।

–मातृभाषा दशक (२०२२–२०३२) सुरु भएको छ । भाषा संरक्षणका लागि आगामी योजना कसरी अगाडि बढाउँदा उपयुक्त होला ?

मैले भाषा आयोगको प्रतिवेदनमा पनि सुझाव दिएको छु । पहिलो कुरा सम्बन्धित मातृभाषी सचेत हुनु पर्यो । हरेक आमाबुवाले हाम्रा छोराछोरीलाई आफ्नै मातृभाषा सार्न चाहन्छौँ भन्नु पर्यो । आफूले जानेजति आफ्नो मातृभाषा छोराछोरीमा स्थानान्तरण गर्छु भनेर मन गर्नु पर्यो । यस्तो अठोट गर्यो भने भाषा बाँच्यो, कसैले लोप गर्न सक्दैन ।

तर आफ्नो भाषा सिकाउन आमाबुवाले मनै गरेनन् भने लोपोन्मुख हुने भयो । त्यसैले, मातृभाषा संरक्षण गर्ने कार्य सरकारले गर्ने होइन, अरूले गर्ने होइन । हरेक आमाबुवाको निर्णयको कुरो र आमाबुवाले नै गर्ने हो । आमाबुवाले आफ्नो मातृभाषा छोराछोरीलाई आफू जत्तिको जान्ने बनाउन अल्छी गरे भने त्यो भाषा लोप हुन्छ । अरूले गर्ने भनेको नारा र कुरा मात्र हुन्, उपलब्धिमूलक काम होइन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शिखर मोहन
शिखर मोहन
लेखकबाट थप