कञ्चनपुरका उत्कृष्ट कृषक आसरे : उखुमा लगानी, अन्य बालीबाट पनि आम्दानी
धनगढी । एउटा भनाइ छ, काइदा जाने फाइदा हुन्छ । कञ्चनपुरको एक अगुवा कृषक त्यही बाटोमा अग्रसर छन्, एउटा बालीमा लगानी गरेर अर्को बालीबाट शुन्य लगानीमा मनग्ये आम्दानी लिइरहेका छन् ।
उनी हुन्, कञ्चनपुरको बेलौरी नगरपालिका–६ हात्तीबोझाका ३८ वर्षीय आसरे राम बडायक । उनी ६ विघामा व्यावसायिक ढंगले धान, गहुँ, उखु आलु, तोरी, मसुरोलगायत खेती गर्छन् ।
उनको खेती गर्ने शैली भने अन्य किसानभन्दा निकै पृथक छ । उनी नयाँ प्रविधिलाई पछ्याउँदै बाली उत्पादन समय चक्रलाई ध्यानमा राख्दै खेती गर्छन् । फलतः उनको त्यो प्रयोगले लागत त घटेको छ नै,बालीको उत्पादन बृद्धि भई प्रशस्त आम्दानी गर्न पनि सफल भएका छन् ।
विगत ८ वर्षदेखि व्यावसायिक उखुु खेती गर्दै आएका कृषक बडायकले ४ वर्षदेखि भने मिश्रित बालीको रुपमा उखुु र आलु, तोरी र मसुरोखेती सँगै गर्दै आएका हुन् ।
कार्तिकमाउखुसँगै रोपिएको आलु भित्र्याउनलाई तयार छ भने उखुको आँखला बेर्नामा ३-४पातसहितको पालुवा आइसकेको छ । त्यस्तै, केही प्लटमा उखुुसँगै रोपिएका तोरी भित्र्याइसकेका छन् भने मसुरो बाली लहलहाउँदो छ ।
मिश्रित बालीमा लाभैलाभ
कृषि फर्ममार्फत् व्यावसायिक उखुु र आलु खेती गर्दै आएका बडायकलाई मिश्रित खेतीको आवधारणाप्रति महाकाली सुगर मिल र बेलौरी नगरपालिकाको कृषि शाखाको कार्यक्रमले हौस्याएको हो ।
‘उखुुसँगै मिश्रित बालीको रुपमा आलु खेती गर्न सकिने तालिमबाट म निकै प्रभावित भएँ। आलु आलीमा र उखु केही दुरीमा रहेको नालीमा रोपिन्छ’, मिश्रित बालीबारे उनले भने ।
किसान आसरेको बारीमा कार्तिकमा उखुसँगै रोपिएको आलु भित्र्याउनलाई तयार छ भने उखुको आँखला बेर्नामा ३-४ पातसहितको पालुवा आइसकेको छ । त्यस्तै, केही प्लटमा उखुुसँगै रोपिएका तोरी भित्र्याइसकेका छन् भने मसुरो बाली लहलहाउँदो छ ।
उनका अनुसार यसरी उखुुमा प्रयोग हुने मल आलुलाई काम लाग्छ । आलुको उत्पादन करिब ४ महिनामै लिन सकिन्छ । आलुको पातसहितको डाँठ उखुको लागि हरियो मलको काम गर्छ । आलु खन्दा उखुको गोडमेल हुने हुँदा उखु गोडमेल गर्दा लाग्ने लेबर खर्च जोगिन्छ । यसरी एकै समयमा रोपिने हुँदा एक बालीमा लाग्ने लगानी दुई बालीलाई पुग्छ । जसबाट लागत घटाउन सकिँदो रहेछ ।
सुरुवाती वर्षमा १ विघा क्षेत्रफलमा मिश्रित बालीको रुपमा उखु र आलु खेती गरेका उनले केही प्राविधिक ज्ञानको अभावले घाटा बेहोर्नुपरेको थियो । तर उनी पहिलो वर्षको असफलताले कत्ति पनि हतोसाहित भएनन् । दोस्रो वर्षमा पनि उनको मेहनतले रंग ल्यायो ।
वर्षमा ३० लाखसम्म मुनाफा
व्यावसायिक कृषिलाई आफ्नो जीवनको लक्ष्य बनाइसकेका बडायक आफूलाई अपुगका ज्ञान र सीप सिक्ने कुरामा कहिल्यै पछि पर्दैनन् । प्राविधिक ज्ञानका लागिकहिले अन्य निकायको सहयोग माग्छन् भने कहिले इन्टरनेटमा सर्च गर्छन् ।
महाकाली सुगर मिलको सहयोगमा आफूसहित केही कृषक भारतको उत्तरप्रदेशस्थित सहजानपुर गन्ना स्रोत परिषदबाट तालिमसमेत लिइसकेका छन् उनले । बडायक पछिल्लो समय उखु र थारु आलु प्रवद्र्धन कार्यक्रम अन्तरगत कृषि ज्ञान केन्द्र कञ्चनपुर तथा सुदूरपश्चिम कृषि विकास निर्देशनालयबाट प्राविधिकसँगै अनुदान सहयोग समेत पाउँदै आएका छन् ।
उनी गत वर्ष २ विघा ५ कठ्ठामा उखुु र रैथाने थारु आलु मिश्रित खेती गरेका थिए भने विघामा आलु खेती मात्रै गरेका थिए । यस वर्ष भने उनले डेढ विघामा आलु र उखुु रोपेका छन् । त्यस्तै, १४ कठ्ठामा तोरी र उखुु तथा १ विघामा उखुु र मसुरो बाली रापेका छन् । आलुको उत्पादन राम्रो भएको बताउँदै उनले प्रति विघा डेढ सय क्वीन्टलका दरले जम्मा २२५ क्वीन्टल बढी आलु उत्पादन हुने बताएका छन् ।
उखुमा पनि नयाँ प्रविधि
उखु खेतीमा पनि कृषक बडायकले राम्रो आम्दानी लिदै आएका छन् । साढे २ विघामा उखु खेती गर्दै आएका उनी प्रति विघा ११ सय क्वीन्टल उत्पादन गर्दै आएका छन् ।
उखु खेतीमा उनी बीउ उत्पादनको नयाँ प्रविधि प्रयोग गर्दै आएका छन् । उनी वर्ड प्रविधि अर्थात् बड कटर मेसिन प्रयोग गरी बेर्ना तयार पार्दै आएका छन् । जसबाट कम उखुको प्रयोगबाट धेरै बीउ उत्पादन गर्न सकिने उनी सुनाउँछन् ।
उनले भने, ‘मैले बड कटर मेसिन आफै बनाएको छु । प्रति विघामा मात्र २ क्वीन्टल उखुको आँखला बीउ प्रयोग गर्छु । जबकि, अन्य कृषक प्रति विघामा ७० क्वीन्टलसम्म बीउ प्रयोग गर्छन् ।’
धान खेतीमा छरुवा प्रविधि
बडायककै सक्रियतामा उच्च प्रविधिको प्रयोग गर्दै सो क्षेत्रमा धानको छरुवा खेती समेत सुरु गरिएको छ । बडायकसहित २० जना कृषकले छरुवा धान प्रविधि अँगालेका छन् ।
छरुवा धान खेती प्रविधिमा धानको बेर्ना रोप्नुको सट्टा सिधै खेतमा धानको बीउ छरिन्छ । परम्परागत पद्धति भन्दा उल्लेख्य मात्रामा कृषि कामदार कम लाग्ने र बाली स्थापना गर्न लाग्ने खर्च पनि कम हुने हुँदा छरुवा धान खेतीप्रति उनीहरु आकर्षित भएका छन् । यसबाट प्रविधिबाट पनि धानको उत्पादन राम्रो भएको उनको भनाइ छ ।
कृषि कार्यमा यान्त्रिकरणसँग मिश्रित खेती प्रणाली अपनाएका उनी प्रति वर्ष करिब३० लाख रुपैयाँसम्म खुद मुनाफा गर्दै आएका छन् । उनी भन्छन्, ‘कृषि कर्म अब निर्वाहमुखी होइन । व्यावसायिक नजरले हेर्न जरुरी छ । हामीसँग सीमित जमिन छ, त्यो पनि घट्दै गएको छ । त्यही जमिनमा उत्पादन बढाउने हो । त्यसमा गरिने लगानी घटाउन सक्नुपर्छ । त्यसको प्रतिफल नै मुनाफा हो ।’
उनी आफ्नो पौरख र सिर्जनशिलताले जिल्लाकै अगुवा तथा रोल मोडल कृषकको रुपमा चिनिँदै र सम्मानित हुँदैआएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विकास परियोजनाको नाममा कालीगण्डकी नदीको अस्तित्व मेटिने चिन्ता
-
भ्रष्टाचार विरोधी आन्दोलन मधेसबाट सुरु भयो : आजपा
-
काठमाडौं प्लाजा सर्वसाधारणको सवारी पार्किङका लागि खुला हुने
-
रातको समयमा काठमाडौंंमा गयो भूकम्प
-
१२ बजे, १२ समाचार : बीआरआई ऋणमा स्वीकार्न नसकिने प्रधानमन्त्रीको भनाइदेखि आन्दोलनबाट क्षति पुगेको रास्वपाको निष्कर्षसम्म
-
सहकारी ठगी : पूर्वडीआईजी छविलाल जोशीलाई काठमाडौं ल्याएर दिनभर लिइयो बयान, अब पालो रविको