शुक्रबार, ०७ मङ्सिर २०८१
ताजा लोकप्रिय
प्रदेश

कर्णाली र सेती नदीको दोभानमा त्रिपक्षीय विकास बहस

शनिबार, १३ फागुन २०७९, ०९ : ४५
शनिबार, १३ फागुन २०७९

सुर्खेत । कर्णाली र सेती नदीको दोभान हो, बेनी त्रिवेणी । जहाँ सुदूरपश्चिमका बझाङ, बैतडी, डडेल्धुरा, डोटी र अछाम जिल्ला हुँदै बग्ने सेती नदी कर्णाली नदीमा मिसिन्छ । 

कर्णाली नदी सुर्खेतको पश्चिम तालेगाउँ, अछामको ढकारी गाउँपालिका–४ बलाँताको पूर्व किनार हुँदै त्रिवेणीमा सेतीसँग मिसिन्छ भने सेती नदी डोटीको बोगटान फुड्सिल गाउँपालिका–३ को कालचौरको उत्तर, पुर्वी र ढकारीको पश्चिम उत्तरतिरबाट कर्णालीमा मिसिन्छ । दुई ठुला नदीको संगम स्थललाई ‘बेनी त्रिवेणी’ भन्ने गरिएको छ । 

01-paralka geet (2)

पर्यटकीय, धार्मिक र सांस्कृतिक हिसाबले दुई प्रदेशका तीन जिल्लाको केन्द्रबिन्दु कर्णाली–सेती दोभानमा बुधबार ‘त्रिपक्षीय विकास बहस’ को आयोजना गरियो । चौकुने गाउँपालिका–१ तालेगाउँतर्फको नदी किनारामा गरिएको बहसका लागि चौकुनेकै धनरासबाट प्लास्टिकका कुर्सी टेबल बगरमा लगिएका थिए । आर्थिक हिसाबले निकै कमजोर तालेगाउँबासीले जेनतेन तीनै जिल्लाका सहभागीहरूलाई खानपिनको व्यवस्थापन मिलाए । 

02-paralka geet (3)

वीरेन्द्रनगरदेखि १२१ किलोमिटर पश्चिममा पर्ने कालेगाउँ पुग्न निकै कठिन यात्रा गर्नुपर्छ । तालेगाउँको आधासम्म कच्ची सडकमा गाडीको यात्रामा थिए, सुर्खेत क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्य हृदयराम थानी र प्रदेश सभा सदस्य विन्दमान विष्ट । तीन वटा गाडीमा सवार चौकुनेका जनप्रतिनिधि, प्रहरी र विभिन्न राजनीतिक दलका प्रतिनिधिलाई स्वागत गर्न तालेगाउँबासीले परालले बेरेर बनाइएका गेटले न्यानो स्वागत गरेका थिए । ठाउँ–ठाउँमा गरी ७ वटा परालले बनाइएका गेटमा लेखिएको थियो ,‘त्रिपक्षीय भेटघाट’ । 

03-paralka geet (1)

बहसमा तीन वटै जिल्लाका सांसद, स्थानीय जनप्रतिनिधि र राजनीतिक दलका नेताहरूको सहभागिता रहने कार्यक्रम थियो । डोटीका प्रतिनिधिहरू पनि २ घण्टा लामो पैदल यात्रापछि पनि डुङ्गा (नाउ) चढेर त अछाममा प्रतिनिधिहरू त्रिवेणी भन्दा केहीमाथि कर्णालीमा पर्ने झोलुङ्गे पुल तरेर वारी आएका थिए । बहसमा तालेगाउँबासी पनि सहभागी बने । दिउँसो ३ बजेबाट बेलुकी ६ बजेसम्म गरिएको बहस तीन जिल्लाको ‘कनेक्टिभिटी’ र बगिरहेको नदीको सदुपयोगबारे केन्द्रित रह्यो । सम्भावना र आवश्यकताको केन्द्र बेनीलाई सडक सञ्जाल र पर्यटकीय हब बनाउने उद्देश्यसहित ‘मास्टर प्लान’ बनाएर अघि बढ्नुपर्ने निष्कर्ष निकालियो । 

08-dunga calaudai

बेनी त्रिवेणीको डोटी किनारामा अहिले मन्दिर बनिरहेको छ भने यता सुर्खेतर्फ पनि एक जना व्यक्तिले मन्दिर बनाएका रहेछन् । त्यो बाहेक नदी बगरमात्र छ, जहाँ विदेशी पर्यटकहरू आएर बेला–बेला रमाउने गरेका छन् । कहिले काहीँ महिनौँ दिनसम्म पनि विदेशी पर्यटकहरू टेन्ट हालेर दोभानमा रमाउने गरेको त्यहाँका स्थानीयले बताए । 

04-surkhet tarfa baneko mandir

विकासका लागि ‘एकीकृत पहल’ 

बेनी त्रिवेणी अछाम, डोटी र सुर्खेत जिल्लाकै ‘लाइफ लाइन’ हो । यदि यस क्षेत्रलाई विकास गर्न सकिएको खण्डमा नदी आसपास क्षेत्रका बासिन्दाले राज्य भएको अनुभूत मात्रै गर्ने छैनन्, आर्थिक हिसाबले समेत क्षेत्र सफल बन्ने विज्ञहरू बताउँछन् । तर राज्यले बेवास्ता गर्दा त्रिवेणी आसपास क्षेत्रका स्थानीयले चरम गरिबी मात्र भोगिरहेका छैनन्, धेरैजसो बसाइँ सरेर तराईतर्फ झर्ने गरेका छन् । 

05-karnali seti dovan

तीनै जिल्लाका जिल्ला सदरमुकामदेखि निकै टाढा पर्ने त्रिवेणी आसपासका नागरिकहरू रोजगारीका सिलसिलामा कालापहाड जाने गरेका छन् । उनीहरूले उत्पादन गरेको अन्नले ३÷४ महिना पनि पुग्दैन । यातायातको सहज पहुँच मात्र पुगेको खण्डमा परिवर्तनका ढोकाहरू खोलिने उनीहरूको अपेक्षा छ ।

बहसमा सहभागी जनप्रतिनिधिहरुले बेनी त्रिवेणीलाई ‘एकीकृत पहल’का माध्यमबाट विकास गर्ने प्रतिबद्धता जनाएका छन् । कर्णाली सरकारका पूर्व अर्थमन्त्री एवं सुर्खेत २ (ख) बाट निर्वाचित प्रदेश सभा सांसद विन्दमान विष्टले सबैभन्दा पहिला सडक विकासले बेनीलाई जोड्ने र पर्यटकीय हबको रूपमा विकास गर्नुपर्ने बताए । विष्टले कर्णाली–सेती दोभानदेखि कर्णाली भेरी दोभानसम्म जलयात्राको सम्भावना रहेकाले त्यसको ‘मास्टर प्लान’ बनाएर अघि बढ्नुपर्ने तर्क राखे । 

10-IMG_20230222_171907_405

त्यो भन्दा पहिला सुर्खेत–अछाम र अछाम–डोटीमा पक्की पुलको संरचना बनाउनुपर्ने छ । मदन भण्डारी राजमार्गले पश्चिम सुर्खेत र बेनी त्रिवेणी हुँदै डोटी जोड्ने छ भने कैलालीको राजकाँडा हुँदै सुदूर पहाड जोड्ने सेती लोकमार्ग पनि यही क्षेत्रलाई छोेएर जाने छ । यद्यपि यी दुबै ठुला सडकको विकास भने सुस्त छ । मदन भण्डारी राजमार्गको सुर्खेतको बड्डीचौरबाट अहिले काम भइरहेको छ । दुई ठुला सडक मार्गले छोएको खण्डमा र जलयात्राको सुरुवात गर्न सकेमा मात्रै आर्थिक गतिविधि चलायमान हुने अपेक्षा सांसद विष्टले गरे । 

अछामबाट प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने सांसद पुष्प शाहले धार्मिक, सांस्कृतिक हिसाबले समेत संगम स्थल रहेको त्रिवेणीलाई पर्यटकीय गन्तव्यकै रूपमा विकास गर्नुपर्ने तर्क राखे । प्राकृतिक रूपमा सौन्दर्यताको अनुपम बेनी त्रिवेणीमा हिजोआज पनि विदेशी पर्यटकहरू आएर रमाउने गरेका छन् । ‘यसको विकासका लागि केही पहिले पर्यटन बोर्डबाट समेत चासो दिइएको थियो । यद्यपि काम अघि बढ्न सकेन,’ शाहले थपे । 

सुर्खेत –२ बाट प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने सांसद हृदयराम थानीले सबैभन्दा पहिला १२ महिना नै चल्ने सडकको विकास गरिनुपर्ने बताए । तीन जिल्लालाई जोड्ने पक्की पुल बनेको खण्डमा मान्छेको आवागमन ह्वात्तै बढ्ने अपेक्षा उनले गरे । विष्ट र शाहको कुरामा समर्थन जनाउँदै थानीले पनि बेनी त्रिवेणीको ‘मास्टर प्लान’ बनाई डीपीआरको काम चाँडै गर्नुपर्ने तर्क राखे । सुरुवाती केही संरचनाको विकास भएको खण्डमा पर्यटनमन्त्री र प्रधानमन्त्रीलाई समेत ल्याएर यस क्षेत्रको विकासबारे विमर्श गर्नुपर्ने उनले बताए  ।  

06-bahasma sahavagiharu photo khicaudai

स्थानीय पालिकाले पुर्‍याउँदैछन् सडक

चौकुने गाउँपालिकाले तालेगाउँसम्म सडकको ट्रयाक खोलिसकेको अवस्था छ । यद्यपि सवारी साधन भने तत्कालै चल्ने सम्भावना छैन । किनकि ट्रयाक खोलिएको सडकमा सबैजसो गाडी चल्न सक्ने अवस्था छैन । चौकुने गाउँपालिकाका अध्यक्ष खड्ग विवश (बास्पाने) ले अबको एक महिनाभित्र बेनी त्रिवेणीसम्म सडक पुर्‍याउने बताए । अहिले पनि तालेगाउँमा डोजर चलिरहेको छ । मदन भण्डारी राजमार्ग पनि अहिले पालिकाले ट्रयाक खोलिरहेकोसँगै डोटी जोडिने  छ ।  यद्यपि स्थानीयको सहजताका लागि पालिकाले सडक बनाएको हो ।

उता अछाम ढकारी गाउँपालिकाका अध्यक्ष प्रकाशबहादुर साउद दोभानसम्म सडक पुर्‍याउने पहल भइरहेको बताए । ‘हामीले अबको केही दिनमै सडक पुर्‍याउँछौँ करिब ३ किमी मात्रै बाँकी छ,’ उनले भने । त्रिवेणीको विकासका लागि यसअघि पनि पहल नभएका होइनन । अछामतर्फको किनारामा यसअघि १८ लाखको भवन बनेको र उक्त भवन नदीले बगाएको स्मरण साउदले गरे ।

बोगटान फुड्सिल गाउँपालिकाका अध्यक्ष कमल गड्सिलाका अनुसार बेनी त्रिवेणीसम्म करिब १० किमी सडक जोड्न बाँकी रहेको छ । अहिले सुदूरपश्चिम प्रदेश सरकार र गाउँपालिकाको संयुक्त पहलमा सडक विकासको काम भइरहेको उनले बताए । अहिले छिडीथान, कामचौर, मैलटा त्रिवेणी सडकमा १५ लाख बजेटको काम भइरहेको छ । 

11-bahas gardai   (1)

गाउँ छाडेकाहरू फर्किने आशा 

०५४ सालसम्म बोगटान फुड्सिल–३ को कालाचौरमा ठुला बस्तीहरू थिए । तर दुर्गमतासँगै आर्थिक अभावका कारण स्थानीयहरूले बिस्तारै गाउँ छाडेर कैलालीतर्फ बसाइँ सर्न थाले । जुन क्रम अहिले पनि चलिरहेको छ । बाटोघाटोको सुविधा नहुँदा अधिकांश मान्छेहरू तराईतिर बसाइसरेको अध्यक्ष गड्सिला बताउँछन् । ‘कतिपय गाउँहरू अहिले खाली छन्,’ उनले रातोपाटीसँग भने,‘ सडक विकास र पर्यटकीय हिसाबले विकास भएको खण्डमा त्यो घट्ने मात्र होइन बसाइँ सरेर गइसकेकाहरू पनि पुनः आफ्नो थातथलोमा फर्कने अपेक्षा हामीले गरेका छौँ ।’ यता सुर्खेततर्फ चौकुने गाउँपालिका–१ अन्तर्गत पर्ने बनरास, धामिसेन, तालागाउँ, देवल, सिमली, सिदुरकोट लगायतका बस्तीका मान्छेहरू पनि अविकासका कारण कैलालीतर्फ बसाइँ सर्ने गरेका छन् । यदि सडकको सहज पहुँच, शिक्षा र स्वास्थ्य क्षेत्रको विकास भएको खण्डमा मात्र त्यस क्षेत्रका बासिन्दाहरूले राज्य भएको अनुभूति गर्न पाउने त्यस क्षेत्रका अगुवा बताउँछन् । सडक यातायातको विकास भएको खण्डमा तीनै जिल्लाका मान्छेहरूको आर्थिक जीवनस्तरमा बदलाव आउने विश्वास गरिएको छ । 

07-karnali seti dovan 2

बेनी त्रिवेणीको धार्मिक र सांस्कृतिक महत्त्व

बेनी त्रिवेणी धामको सांस्कृतिक र धार्मिक महत्त्व पनि उत्तिकै छ । २० औँ शताब्दीदेखि नै मान्छेहरूमा एउटा जनविश्वास छ –त्यहाँ गएपछि मनले मागेको पुग्छ । त्रिवेणी धाममा हरेक वर्षको वैशाख १ र शिवरात्रिको अवसरमा मेला पनि लाग्ने गर्दछ । कतिपय मान्छेहरूले दुई नदीको संगमस्थल भएकाले त्यहाँको पानीमा नुहाउनु भनेको पाप कट्नु सरह मान्ने गरेका छन् ।  

सडक सञ्जाल मात्र जोडिएको खण्डमा तीन जिल्लाका नागरिकलाई आर्थिक हिसाबले समृद्ध त बनाउँछ नै सामाजिक रूपमा मेलमिलापको भावनालाई सुदृढ, प्रगाढ बनाउने अपेक्षा गरिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप