रातोपाटी ब्रिफिङ : कांग्रेसको ढोक्सामा पर्यो माछा, भत्कियो गठबन्धन
काठमाडौँ । आज मिति २०७९ फागुन महिनाको १२ गते शुक्रबार । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमलाई रातोपाटीको रात्रिकालीन प्रस्तुती ‘रातोपाटी ब्रिफिङ’ मा प्रस्तुत गरिएको छ ।
१. कांग्रेसको ढोक्सामा पर्यो माछा
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री प्रचण्डलाई कांग्रेसले विश्वासको मत दिने भएपछि प्रतिनिधिसभा बैठकमै कटाक्ष गरेका थिए । उनले नेपाली कांग्रेसले प्रधानमन्त्रीलाई विश्वासको मत दिएर ढोक्सा थापेपनि माछा नपर्ने बताएका थिए ।
जुन कुरा ओलीले संसदमा अर्को पटक सम्बोधन गर्दा पनि उनले उल्लेख गरेका थिए । उनको भनाइ थियो, ‘कांग्रेसको यस व्यवहारलाई सरकारमाथि विश्वास गरेको मान्न सकिँदैन । मैले त्यतिबेलै भनेको थिए मतदान मात्रै गरेको भए त ठीकै हो । ढोक्सा थापेको हो भने गल्ती हो । ढोक्सा बेलुका थापिन्छ । अँध्यारोमा माछा पार्न खोजिन्छ ढोक्सामा । बिहान भएपछि रित्तो ढोक्सा बोक्यो फेरि घर फक्र्यो । सरकारलाई दिएको विश्वासको मतलाई राष्ट्रपति र सभामुखको निर्वाचनमा खिचलो खडा गर्ने काँग्रेसको रणनीति देखिन्छ ।’
कांग्रेसको योजना पूरा नहुने दाबी गर्दै आएका ओली शुक्रबारको सहमतिसँगै निराश बनेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको कांग्रेससहितको आठ दलको बैठकबाट नयाँ गठबन्धन बनेको हो । उनीहरुबीच राष्ट्रपतिमा कांग्रेसलाई सघाउने सहमतिसहित अन्य विषयमा पनि सहकार्य गरेर अघि बढ्ने समझदारी भएको छ ।
२. रास्वपा र राप्रपासँगको सत्तामा भविष्य के होला ?
जनमत पार्टीका उपाध्यक्ष एवं खानेपानी मन्त्री अब्दुल खानले प्रधानमन्त्री प्रचण्डले राष्ट्रपतिमा राष्ट्रिय सहमति जुटाउनका लागि सरकारमा रहेका दलहरूसँग पुनः छलफल गर्ने बताएका छन् ।
तर, अर्का एक नेताका अनुसार भने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राप्रपाका मन्त्रीलाई बर्खास्त गर्ने संकेत गरेका छन् ।
राष्ट्रपतिको विषयमा निर्णय लिन बसेको कांग्रेससहितको दलहरुको बैठकमा प्रचण्डले परिवर्तन उल्टाउन खोज्ने शक्तिहरुसँग सहकार्य गाह्रो भएको भन्दै अब नयाँ समीकरण बनाएर अघि बढ्ने आफ्नो चाहना रहेको बताएका हुन् ।
३. एमाले सरकारबाट बाहिरने तयारीमा
राष्ट्रपति पद आफूले नपाउने भएसँगै नेकपा एमाले सरकारबाट बाहिरिने भएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले यो कुरा नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई जानकारी गराएका हुन् । शनिबार बस्ने बैठकबाट थप निर्णय हुनेछ ।
४. कोर्स करेक्सन भयो : प्रचण्ड
नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कोर्स करेक्सन गर्न बाध्य बनाइएको बताएका छन् । उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग मिलेर काम गर्न नसकिएको बताएका हुन् ।
यसैबीच लोकतान्त्रिक समाजवादी पार्टी नेपालले राष्ट्रपतिमा आफ्नो दावी नरहेको बताएको छ । लोसपाका वरिष्ठ नेता शरदसिंह भण्डारीले आफूहरूले राष्ट्रपतिको दावी छाडेको बताए । उनले भने, ‘आज बालुवाटारमा बसेको आठ दलीय बैठकमा हामीले राष्ट्रिय सहमतिका लागि आफ्नो पार्टीका अध्यक्ष महन्थ ठाकुरको नाम प्रस्ताव गरेका थियौं तर प्रधानमन्त्री प्रचण्डले परिस्थितिको विश्लेषण गर्दै ठूलो दलको हैसियतमा कांग्रेसलाई दिने प्रस्ताव गर्नुभयो त्यसमा हामी सबै सहमत भयौं ।’
यसैगरी जनता समाजवादी पार्टी (जसपा) नेपालले राष्ट्रपति निर्वाचनमा कांग्रेसको उम्मेदवारलाई समर्थन गर्ने औपचारिक निर्णय गरेको छ । शुक्रबार राति बसेको जसपा कार्यकारिणी समितिको बैठकले राष्ट्रपतिमा कांग्रेसको उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेको प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।
५. राप्रपा र रास्वपा अब के गर्छ ?
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सरकारमा रहने वा नरहने भन्नेबारे परिस्थिति हेरेर आवश्यक निर्णय लिने भएको छ ।
यसैगरी राष्ट्रपतिमा नेपाली कांग्रेसलाई समर्थन गर्ने आठ दलले सहमति गरेसँगै फेरिएको सत्ता समीकरणमा पार्टीले कस्तो बाटो तय गर्ने भन्नेबारे राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टीको औपचारिक बैठक बसेर मात्र निर्णय लिने भएको छ ।
६. प्रधानमन्त्रीमा आलोपालो
पुरानो गठबन्धन ब्युताएका चार दलबीच सरकारको नेतृत्व तीन पार्टीले आलोपालो गर्ने सहमति भएको छ । प्रधानमन्त्रीमा २–२–१ वर्षको पालो गर्ने पनि सहमति जुटेको बैठकमा सहभागी एक नेताले रातोपाटीलाई बताए ।
कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष प्रचण्डले २–२ वर्ष सरकारको नेतृत्व गरेपछि प्रतिनिधिसभाको कार्यकालको बाँकी एक वर्ष एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल प्रधानमन्त्री हुनेछन् ।
७. एमालेको १०० पद धरापमा
राजनीतिक समीकरण र सत्ता गठबन्धन फेरिएसँगै नेकपा एमालेले झन्डै एकसय भन्दा बढी राज्यसत्ताका महत्त्वपूर्ण पदहरू गुमाउने देखिएको छ । राष्ट्रपति निर्वाचनमा सरकारको नेतृत्व गरेको माओवादी केन्द्रसहितका दलहरूले कांग्रेस उम्मेदवारलाई सघाउने निर्णय गरेपछि एमालेले सरकार छाड्ने सङ्केत गरिसकेको छ । यद्यपि सरकार छाड्नेरनछाड्ने भन्ने औपचारिक निर्णय शनिबार बस्ने सचिवालय बैठकले गर्नेछ । शनिबारको बैठकले एमालेले सरकार छाड्ने निर्णय गरेमा उसले राज्यसत्ताका महत्त्वपूर्ण धेरै पदहरू गुमाउने निश्चित छ ।
८. प्रतिनिधिससभा बैठक
गणपुरक संख्या नपुगेर प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । शुक्रबार बसेको बैठकमा राष्ट्रियसभाबाट सन्देशसहित प्राप्त अनुगमन तथा मूल्याङ्कन विधेयक २०७८ माथि सांसदहरुले धारणा राख्ने क्रममा सभाहल लगभग खाली अवस्थमा थियो । सांसद संख्या थोरै देखेपछि कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सभामुखले बिधेयक निर्णयार्थ प्रस्तुत गर्न गणपुरक संख्या नभएको बताए ।
९. सेयर बजार
यो साता पनि सेयर बजारका लागि सन्तोषजनक रहेन । आइतबारदेखि बिहीबारसम्म जम्मा तीन दिन खुलेको बजारमा ४७ अंकमाथिको गिरावट आएको छ ।
नेपाल स्टक एक्सचेञ्जको तथ्याङ्क अनुसार अघिल्लो साताको अन्तिम कारोबार दिन फागुन चार गते नेप्से सूचक २१.१५ अंकले घटेर २ हजार ७०.४१ अंकको विन्दुमा अडिएको थियो । तर, यस सातको पहिलो कारोबार दिन आइतबार प्रजातन्त्र दिवस परेकाले एकैपटक सोमबार खुलेको बजारमा थप २३.६० अंकले नेप्से घट्दै २ हजार ४६.८१ विन्दुमा झर्न पुग्यो ।
१०. यो पनि...
तेह्रथुमको आठराई ६ चुहानडाँडास्थित हातिखर्कमा भीषण आगलागी भएको छ ।
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले राष्ट्रपतिको पदलाई कार्यकारी बनाउने खेल भइरहेको बताएका छन् ।
उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले कांग्रेसले प्रधानमन्त्रीलाई दिएको विश्वासको मतलाई कदर गर्नुपर्ने बताएका छन् ।
नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरीको निलम्बन फुकुवा भएसँगै राष्ट्रपतिको निर्वाचनमा भाग लिन पाउने भएका छन् । यही फागुन २५ गते हुने राष्ट्रपतिको निर्वाचनका लागि सांसद चौधरी निलम्बित भएका कारण मतदाता सूचीमा उनको नाम समावेश थिएन ।
सर्वोच्च अदालतले सन्दीप लामिछानेलाई विदेश गएर खेल्न पाउने अनुमति दिन अस्वीकार गरेको छ । न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले लामिछानेविरुद्धको अर्को मुद्दा सर्वोच्च अदालतमा नै विचाराधीन रहेकोले दुवै मुद्दालाई लगाउमा राखेर सुनुवाइका लागि आइतबार संयुक्त इजलासमा पेसी तोक्न आदेश दिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिसो बढेसँगै कालीगण्डकीमा जलयात्रा बन्द
-
‘सामाजिक सुरक्षा कोषमा आबद्ध हुँदा योगदानकर्ता र रोजगारदाता दुवैलाई नोक्सान छैन’
-
‘हामी भारत कि चीन भनेर लडिरहेका छौँ’
-
घाइते भएका कारण नेपाल प्रिमियर लिगबाट बाहिरिए दक्षिण अफ्रिकी बलर डे लान्ज
-
प्रचण्डले चीन भ्रमण गर्दा चाइना कार्ड नहुने, ओलीले गर्दा हुने ?
-
कर्णाली डेभपलमेन्ट बैंक ‘समस्याउन्मुख’, वित्तीय कारोबार गर्न रोक