सोमबार, ०८ पुस २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
विचार

महन्त ठाकुर राष्ट्रपतिका लागि सरल र सहज विकल्प

शुक्रबार, १२ फागुन २०७९, ११ : ४७
शुक्रबार, १२ फागुन २०७९

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले महन्थ ठाकुरलाई राष्ट्रपतिको साझा उम्मेदवार बनाउन लबिङ सुरु गरेको छ । राष्ट्रपतिको प्रस्ताव लिएर लोसपाका वरिष्ठ नेता राजेन्द्र महतो, शरदसिंह भण्डारीलगायतका नेताहरू प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एमाले)का अध्यक्ष केपी ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा एवं पदाधिकारीलाई छुट्टाछुट्टै भेटिसकेका छन् ।

निर्वाचन आयोगले फागुन १३ गते मनोनयन र २५ गते राष्ट्रपतिको निर्वाचन गर्ने कार्यतालिका सार्वजनिक गरिसकेको छ । राष्ट्रपति निर्वाचनले वर्तमान सत्ता गठबन्धनको मात्र होइन देशकै राजनीतिले बाटो तय गर्ने निश्चित छ । राष्ट्रपति निर्वाचनमा पनि निर्णायक देखिएको वर्तमान सरकारको नेतृत्वकर्ता माओवादी अहिले के गर्ने ? भन्ने नै मुख्य विषय हो । माओवादीले भन्दै आएको राष्ट्रिय सहमति कांग्रेस वा एमालेको एक उम्मेदवारलाई समर्थन गरेर पूरा पनि हुन सक्तैन ।

राष्ट्रपति, सभामुख, महत्त्वपूर्ण मन्त्रालयसहितका शक्तिशाली पदमा एमाले पुग्दा जोखिम हुने बुझाइ माओवादीको छ । यसैले उसको प्राथमिकता राष्ट्रिय सहमति होस् भन्नेमा छ । माओवादीको यो चाहना स्वाभाविक छ । अहिले प्रचण्ड सरकारको नेतृत्वकर्ता मात्र होइन कि राष्ट्रपति निर्वाचित गर्नुपर्ने निर्णायक मतभार पनि माओवादीसँग छ । हेर्नु छ प्रचण्डले लिएको राष्ट्रिय सहमतिको अडानमा कति टिक्न सक्छ । राष्ट्रिय सहमतिको अलाप सत्तामा लामो समय रहिरहने तुरूप मात्रै रहेछ भने निर्वाचन निश्चित नै हुनेछ । त्यसबखत अर्काे महत्त्वपूर्ण तथ्य पनि छ– त्यो हो माओवादीबाहेकका दल पनि निर्णायक मत लिएर बसेका छन् । २ हजार ४९४ मत भएको नेकपा एस, २ हजार १४५ मत भएको जसपा, १ हजार २४२ मत भएको जनमत, १ हजार ०१९ मत भएको लोसपा र ८९२ मत भएको नागरिक उन्मुक्ति पार्टीको मत राष्ट्रपतिका लागि निकै महत्त्वपूर्ण रहेको देखिन्छ । यी दलको कुल मत ७ हजार ७९२ छ । जुन माओवादीको भन्दा ३२ मतले कम हो । यी दलले मत नदिए कांग्रेस र माओवादी वा एमाले र माओवादी मात्रै मिल्दा पनि राष्ट्रपति जित्ने अवस्था हुँदैन ।

राजतन्त्रको वकालत गरिरहेको राप्रपा यो चुनाव बहिष्कार गर्ने वा भोटिङ गर्नेमा असमन्जसमा छ । एमाले नजिक रहेको राप्रपा राष्ट्रपतिबारे अनिर्णीत रहे माओवादी एमाले एकै ठाउँमा रहे पनि वा माओवादी कांग्रेस मिले पनि जसपा, जनमत, नागरिक उन्मुक्ति, लोसपा नचाहेसम्म राष्ट्रपति टुङ्गो लाग्नेवाला छैन ।

एमाले र रास्वपाको मतमा यी नेकपा एस, जसपा, लोसपा, जनमत, नागरिक उन्मुक्ति पार्टीको मत जोड्दा आवश्यक मत पुग्ने देखिन्छ । साना दलसँग एमाले मिल्न सके कांग्रेस र माओवादीबिना नै राष्ट्रपतिको चुनाव जित्न सक्ने देखिन्छ । त्यसैगरी साना दलबिना कांग्रेसको उम्मेदवार पनि जित्न सक्ने अवस्थामा हुने छैन ।

कस्तो राष्ट्रपति ?

नेपालको राजनीतिक प्रणालीअनुसार राष्ट्रपतिको भूमिका आलल्कारिक रहे पनि नेपालको राष्ट्रिय एकताको प्रवर्द्धन गर्ने, संविधानको पालना गर्नु र संरक्षण गर्नु राष्ट्रपतिको मुख्य कर्तव्य हुनेछ भनी नेपालको संविधानको धारा ६१ को ९३० र ९४० मा उल्लेख छ । अभिभावकको कर्तव्य अन्य दायित्वमा रहेका नागरिकभन्दा पृथक् र अहम् हुन्छ । देश र जनताप्रति उत्तरदायी मात्र नभई राष्ट्रपति पदमा विराजमान हुने पात्र आफैँमा एउटा अभूतपूर्व सन्देश हुनुपर्छ । हामी सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक राजनीतिक प्रणालीको अभ्यास र संविधान कार्यान्वयनको प्रक्रियामा छौँ । अपूर्ण रहेको संविधानलाई पनि पूर्णतातिर लग्नु छ । त्यस भूमिकामा पनि अभिभावकत्व ग्रहण गर्न सक्ने पात्र चाहिन्छ । हरेक राजनीतिक उपलब्धिलाई बडो सजगतापूर्वक संविधानको मर्मअनुरूप गाँस्ने कर्मलाई राष्ट्रपतिको भूमिकाले थप मजबुत बनाउनुपर्छ ।

नेपालजस्तो देश जसको कडा (सैन्य र आर्थिक) शक्ति छैन तर आफूसँग रहेको सौम्य शक्तिको मद्दतले विश्व राजनीतिक व्यवस्थामा आफ्नो अस्तित्वलाई मजबुत बनाउनुपर्छ । त्यो भूमिका पनि राष्ट्रपतिको हो । नेपालजस्तो भूराजनीतिक अवस्थितिमा रहेको मुलुकले अझै बढी सौम्य शक्तिको वृद्धि गर्दै राष्ट्रिय स्वार्थको संवर्द्धन गर्नुपर्छ । त्यसको निम्ति खासगरी लोकतान्त्रिक विश्वसँग राम्रो सम्बन्ध भएको पात्र नै उपयुक्त हुने छ । हामीले अवलम्बन गर्ने राजनीतिक अभ्यासले आमरूपमा कस्तो सन्देश प्रवाह गर्छ भन्ने कुराले हाम्रो राष्ट्रिय अवस्थालाई विश्व राजनीतिक व्यवस्थामा प्रतिबिम्बित गर्छ । हामीले आठ दशकमा अवलम्बन गरेका चारवटा राजनीतिक व्यवस्था विश्वमा बिरलै छ । हामीले सैन्य शक्तिको अवस्थालाई बलियो बनाउन सकेको छैन भने सौम्यसमेत वृद्धि गर्न सकेको छैनौँ ।

राज्यको संरचनाबाट लामो समयदेखि पछाडि पारिएको र सामाजिक बहिष्करणमा परेको समुदायको प्रतिनिधित्व गर्ने राजनीतिक पात्रलाई २५ गते हुने राष्ट्रपतिको निर्वाचनमार्फत राष्ट्रपतिमा निर्वाचित गराउन सके नेपालले विश्व राजनीतिक परिवेशमा अभूतपूर्व सन्देश प्रवाह गर्न सक्नेछ र सौम्य शक्तिलाई मजबुत बनाउने कडी थपिनेछ । समाजिक रूपले पनि राष्ट्रिय एकताको कार्यभारमा मजबुती मिल्ने छ ।

राजनीतिक दल र राज्यका अङ्गबीच शक्ति सन्तुलन कायम राख्नलाई राष्ट्र अध्यक्षको अभिभावकत्व अपरिहार्य हुन्छ । अभिभावकसमेत दलगत स्वार्थबाट प्रभावित हुन थाल्यो भने राष्ट्रिय स्वार्थ र मुलुकको सार्वभौमिकता समेत सङ्कटमा पर्न जान्छ । राष्ट्र प्रमुखको भूमिकाले राष्ट्रको कूटनीतिक मर्यादालाई थप मजबुत र फराकिलो बनाउन मद्दत पुर्याउने हुनुपर्छ तर गणतन्त्र स्थापनापछिको कालखण्डका दुवै राष्ट्रपतिको उक्त क्षेत्रमा योगदान औसतभन्दा कम नै रहेको पाइन्छ । किनभने उनीहरू सम्भावित प्रधानमन्त्री हुनसक्ने शक्तिशाली दलबाट त्यस भूमिकामा पुगेका थिए । यस दृष्टिकोणबाट एमाले, कांग्रेसजस्ता दलका सक्रिय नेता राष्ट्रपतिको भूमिकामा नगएको नै देशको हितमा हुनेछ ।

राष्ट्रपतिले विभिन्न अभियानको नेतृत्व गर्दै राष्ट्रमा विदेशी अनुदान भित्र्याउने सौम्य शक्तिको प्रतिबिम्बित हुनुको साथै लगानीमैत्री वातावरण निर्माणमा ठूलो योगदान पु¥याउनुपर्छ । देशमा प्राकृतिक प्रकोप या कुनै अप्रिय घटना भइरहँदा केवल विज्ञप्ति निकालेर कर्मकाण्डी बन्ने मात्र होइन, स्वयं आफैँ पहलकदमी लिई सरकारका तत् तत् निकायलाई कडा निर्देशन र अभिभावकत्व प्रदान गर्नुपर्छ । त्यसैले समस्त राजनीतिक परिस्थिति, देश र जनताको सामूहिक मुद्दाको साझा प्रतिनिधित्व हुनुपर्छ ।

राष्ट्रपति दलीय र व्यक्तिगत स्वार्थभन्दा माथि उठेर देश र जनताको हुनुपर्छ भन्ने भाव संविधान र परिवर्तित व्यवस्थाले परिकल्पना गरेको छ । राष्ट्रपतिमा जनताको साझा भावना झल्किनुपर्छ । ‘हिमाल, पहाड, तराई, कोही छैन पराइ’ भन्ने भावनाको जगेर्ना गर्ने कर्म राष्ट्रको प्रमुखबाट हुनुपर्छ । अनि मात्र कर्तव्यनिष्ठ अभिभावकीय भूमिका जनताले अनुभूत गर्नेछन् । मुलुक शोकमा हुँदा र जनतालाई पीडा हुँदा राष्ट्र प्रमुखलाई दुख्नुपर्छ । अनि मात्र सही अर्थमा उक्त दुःखाइले मलम पाउन सक्छ । समाजको पिँधमा रहेका जनताको मर्मको भावनाको अनुभूत गर्ने र सदियौँदेखि उत्पीडन र पीडामा रहेका समुदायको पीडालाई बोध गर्दै विभेद मुक्त समतामूलक समाज निर्माण अभियानको नेतृत्वदायी भूमिकामा राष्ट्रपति हुनुपर्छ ।

राष्ट्रपति पदको गरिमा र मर्यादा कायम राखिरहन त्यो पदमा कस्तो व्यक्तिलाई आसीन गराइन्छ भन्नेले पनि ठूलो भूमिका खेल्छ । सर्वमान्य, विवादरहित, सक्षम र देशप्रति बफादार व्यक्ति राष्ट्रपति हुँदा उसको नरम शक्ति जहिले पनि औपचारिक शक्तिभन्दा धेरै गुणा बढी हुन सक्छ । उसका दृष्टिकोणले देशलाई बलियो सङ्गठनमा रूपान्तरण गर्न सक्छन् ।

हाम्रो संविधानले राष्ट्रपतिलाई संविधानको संरक्षकसँगै राष्ट्रिय एकताको प्रवद्र्धक पनि मानेको छ । त्यो पदमा वञ्चितीकरणमा परेका आदिवासी जनजाति, मधेशी, महिला, दलित तथा अल्पसङ्ख्यकलगायत समुदायबाट सक्षम र स्थापित व्यक्तित्वलाई पुर्याउन सके राष्ट्रिय एकताको प्रवर्द्धन हुन्छ । अहिले खासगरी कांग्रेस, एमालेभित्रका चर्चा भइरहे । जस्तो पूर्वप्रधानमन्त्रीलाई राष्ट्रपति बनाउँदा एक त वञ्चित समुदायबाट हुने सम्भावना हुन्न । अर्काे महत्त्वपूर्ण कुरा के हो भने कार्यकारी प्रमुख भइसकेको व्यक्ति कार्यकारी भूमिका नभएको पदमा पुग्दा मन्त्रिपरिषद् बाहेक अर्काे शक्ति केन्द्र स्थापित हुने र कुण्ठा एवं द्वन्द्व सिर्जनाको सम्भावना पनि त्यतिकै हुनेछ ।

नेपालको प्रथम राष्ट्रपतिमा नेपाली कांग्रेसबाट प्रतिनिधित्व भयो । दोस्रो राष्ट्रपतिका रूपमा कम्युनिस्टको प्रतिनिधित्व भएको छ । अब स्वाभाविक रूपमा मधेस केन्द्रित दलबाट आएका योग्य व्यक्तिलाई राष्ट्रपति बनाउँदा नेपालले राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा गतिलो सन्देश प्रवाह गर्न सक्नेछ । यो निर्णयले साँचो अर्थमा सबै राजनीतिक दलको उद्देश्यले विजय प्राप्त गर्नेछ । सच्चा अर्थमा राष्ट्रिय एकता पनि झल्कने छ । संविधान निर्माण प्रक्रियामा किनारीकृत गरिएर असन्तुष्ट रहेका बखत यो निर्णयले मल्हमको काम गर्नेछ । विभेदरहित समतामूलक समाज निर्माण, उत्पीडन र बहिष्करणको आमूल निर्मूलीकरण सबै राजनीतिक दलको साझा सङ्कल्प हुन् । यी सबै मुद्दा मधेसी समुदायले सदियौँदेखि भोग्दै र त्यसविरुद्ध लड्दै आइरहेका छन् । उत्पीडन र बहिष्करणको भोगाइले गर्दा उक्त समुदायले सूक्ष्म रूपमा पीडाहरूको साझा अनुभूति गर्न सक्छ र निराकरणका लागि उपयुक्त पहलकदमी लिन तत्परता देखाउन सक्छ ।

ठाकुर सबैका लागि सरल र सहज विकल्प 

उपरोक्त गुणयुक्त राष्ट्रपतिका लागि एक मात्र योग्य उम्मेदवार माननीय महन्त ठाकुर हुन् । नरम, शिष्ट, शालीन र बयोवृद्व महन्त ठाकुर राणाविरुद्धको आन्दोलन, पञ्चायतविरुद्धको आन्दोलन, गणतन्त्र प्राप्तिको आन्दोलन र सङ्घीयता प्राप्तिको निम्ति भएको मधेश आन्दोलनमा समेत नेतृत्व प्रदान गरिसकेका छन् । महन्त ठाकुर कम मतभार भएको लोसपाको अध्यक्ष मात्र होइनन् सिङ्गो राजनीतिक परिवर्तन आन्दोलनको इतिहास हुन् । हरेक राजनीतिक परिवर्तनको आन्दोलनका अगुवा हुन् । अहिलेको राजनीतिक व्यवस्था अर्थात् लोकतन्त्र, सङ्घीयता, गणतन्त्र ल्याउन उनले खेलेको भूमिका अतुलनीय छ । उहाँको यही भूमिकालाई कदर गर्दै राष्ट्रिय सहमतिको आधारमा राष्ट्रपतिको भूमिका उहाँलाई दिँदा राष्ट्रकै गौरव बढ्ने छ । उनले सँगालेको राजनीतिक अनुभवका हिसाबले पनि साना दलको शुभेच्छासहित ठाकुर राष्ट्रपतिका उपयुक्त दाबेदार हुन् ।

कांग्रेसमा दशकौँ दशकको राजनीति जीवन, पार्टी छोड्दा पनि कांग्रेसविरुद्ध  दुष्ट र आक्रामक नहुनु साथै पछिल्लो निर्वाचनमा आफू कम सिट लिएर कांग्रेसलाई बढी सिट दिएर नै मधेसमा पुनः स्थापित हुन सकेको कांग्रेसका लागि र एक्लै संसद् विघटन गर्दा विषम परिस्थितमा पनि दिल खोलेर एमालेका अध्यक्ष केपी ओलीलाई ठाकुरले सघाएका हुन् । त्यही कारण सग्लो जसपासमेत फुट्यो तर ओलीलाई सहयोग गरे । तसर्थ ठाकुर कांग्रेस र एमालेका लागि पनि साझा व्यक्तित्व हुन् ।

पटक पटक सँगै मोर्चाबन्दी गरी मधेसमा आन्दोलन गरेको, पार्टी एकता गरी ठाकुरलाई पहिलो अध्यक्ष मानेर काम गरेकाले जसपा अध्यक्ष उपेन्द्र यादवका लागि पनि ठाकुर उत्तम उम्मेदवार हुनेछन् । सार्वजनिक अन्तर्वार्तामा समेत उपेन्द्रले उक्त आशयको अभिव्यक्ति दिइसकेका छन् । मधेस केन्द्रित दलबीच राम्रो सम्बन्धको चाहना राखेका जनमत पार्टीका अध्यक्ष डा. सीके राउत पनि ठाकुरको विरोधमा जाँदैन, गए मधेसमा त्यसको प्रभाव जनमतलाई नराम्रो पार्न सक्नेछ । नागरिक उन्मुक्ति पार्टीका सुप्रिमो जेलमा रहेका रेशम चौधरीले ठाकुरलाई स्पष्ट रूपमा भीष्म पितामह भनिसकेका छन् । ठाकुरप्रति उनको सम्मान अपार छ भन्नेमा दुई मत छैन । नेकपा (एस)का माधवकुमार नेपालका लागि पनि ठाकुर असहज पात्र होइनन् । कम्युनिस्ट प्रधानमन्त्री भइरहँदा सौम्य शक्तिको दृष्टिकोणले लोकतान्त्रिक विश्वका नेतृत्वकर्ता रहेका भारत र अमेरिकालगायत लोकतान्त्रिक विश्वका लागि ठाकुर राष्ट्रपति भए सहज महसुस गर्ने भएकाले समेत ठाकुर राष्ट्रपतिमा बलियो र उपयुक्त उम्मेदवार हुनेमा दुई मत छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सन्तोष मेहता
सन्तोष मेहता

लेखक राजपा नेपालका प्रवक्ता हुन् ।

लेखकबाट थप