भू–राजनैतिक हस्तक्षेपद्वारा निर्देशित अस्थिरता
सरकार गठन भएको दुई महिना पनि भएको छैन । पाँच वर्षे आवधिक आयुलाई नियाल्ने हो भने पनि यो धेरै छोटो अवधि हो । अर्थात् यति छोटो अवधिमा सरकारको काम कारबाही परिणाममुखी नभएको जिकिर गर्ने वेला पनि भइहालेको देखिँदैन ।
यद्यपि गठबन्धनमा आबद्ध पार्टीहरू बीचको खटपट र स्वार्थको द्वन्द्वद्वारा निर्देशित अभिव्यक्तिहरू भने सतहमा छताछुल्ल भइरहेको छ । यसले सरकारको स्थायित्व र गठबन्धनको गाँठो कतिखेर खुस्किने हो, यसै भन्न सकिन्न । यो हामी सबैको लागि शुभसंकेत होइन । यसले चरम राजनैतिक अस्थिरता र द्वन्द्वबाहेक अरू केही दिनेवाला छैन ।
चलखेलकै कारण अस्थिरता
नेपालमा एउटा जबरजस्त भाष्य के बनाइएको छ भने आपसी खिचातानीको कारण विदेशी हस्तक्षेप बढेको हो । सतही रूपबाट मात्र विश्लेषण गर्दा यो भाष्यमा काफी दम छ जस्तो लाग्छ । तर यो हाम्रो नजरमा परिस्थिति ठिक विपरीत रहेको छ ।
यहाँ वस्तुतः विदेशी चलखेलको कारण राजनैतिक अस्थिरता बढिरहेको भने साँचो हो । तपाईं हामी सबै सचेत नागरिकले यो नयाँ शिराबाट राष्ट्रिय राजनीतिक परिदृश्यको भाष्य निर्माण गर्न, बुझ्न, व्याख्या गर्न र आवश्यक रणनीति विकास गर्न जरुरी देखिन्छ । अन्यथा तपाईं हाम्रो अज्ञानताभित्र झनै गम्भीर जालझेल र षड्यन्त्रहरुको तानाबाना बुनिएको पत्तै नहुने खतरा छ ।
यसकारण हामी नेपालीहरूलाई न्यूनतम रूपमा वर्तमान विश्व शक्ति राष्ट्रहरूको मूलभूत अन्तर्विरोध कुन कुन मुद्दामा टक्राइरहेको छ अर्थात् स्वार्थको द्वन्द्व कुन कुन सवालमा उठिरहेको छ नजरअन्दाज गर्नु जरुरी छ ।
यही नजर अन्तरगत यता नेपालमा विदेशी चलखेल कहाँ कहाँबाट भइरहेको छ । यसको पछाडि लुकेको सारभूत र रुपगत कारणहरू के के हुन् । यसलाई कम गर्न हाम्रो भूमिका कस्तो रहनुपर्दछ । शक्ति राष्ट्रहरूको स्वार्थको द्वन्द्व र नेपालको भूराजनीतिक अवस्थितिले कुन कुन शक्ति राष्ट्रहरूलाई आकर्षित गरिरहेको छ । ती शक्ति राष्ट्रहरूले नेपालमा कुन कुन पार्टी वा व्यक्तिहरूलाई उपयोग र दुरुपयोग गरिरहेका छन् जस्ता गम्भीर र संवेदनशील राष्ट्रिय राजनैतिक सवालहरूमा हामी सबै सचेत नागरिकले अलि भिन्न ढङ्गले सोच्नुपर्ने बेला आएको देखिन्छ ।
उनीहरूको चलखेल अन्त्य नभएसम्म नेपालमा स्थायित्व र स्थिरताको कल्पनै गर्न सकिन्न । यही भावभूमि वरिपरिबाट नै हाम्रो वैदेशिक कूटनीतिक सम्बन्धहरू परिपक्व ढङ्गले तय गर्नु अनिवार्य देखिन्छ ।
पछिल्लो तीव्र भेटघाट
पुँजीको प्रभावमा कमजोर मुलुकलाई आफ्नो स्वार्थभित्र कैद गर्नु वर्तमान निगम पुँजीको विशेषता हो । नेपाल यसको अपवाद हुन सक्दैन । सरकार बनेको डेढ महिनाको अन्तरालमा थुप्रै विदेशी शक्तिकेन्द्र वा उनीहरूको प्रतिनिधिहरूले भेटघाटलाई तीव्रता दिएका छन् ।
भारत, अमेरिका, चीन, बेलायत अनि युरोपियन युनियनका प्रतिनिधिहरूले प्रधानमन्त्रीदेखि, पार्टी अध्यक्ष, दलको नेतालगायत राष्ट्रिय राजनीतिका सबै सरोकारवाला व्यक्ति वा निकायहरूसँगको छलफल बढाइरहेका छन् । कूटनैतिक सम्बन्ध विस्तारको लागि गरिने औपचारिक भेटघाटहरू सामान्य प्रक्रियाहरू हुन् । तर एकपछि अर्को भेटघाटहरूको अन्तर्यमा भने रणनीतिक स्वार्थगत चलखेलजन्य स्वार्थ लुकेको हुन्छ ।
पछिल्लो तीव्र भेटघाट र अनौठो रूपमा बढिरहेको राजनैतिक अन्यौलता र अस्थिरताबीच कुनै न कुनै साइनो सम्बन्ध रहेको बुझ्न कठिन छैन । सबैले आ–आफ्नो स्वार्थको द्वन्द्वअनुरूप राजनैतिक बहस–पैरवी बढाइरहेका छन् । स्वार्थगत अनुकूलता र प्रतिकुलताको आधारमा समर्थन र विरोध जनाइरहेका छन् ।
विभिन्न पार्टी, पात्र, प्रवृत्तिहरूमाथि खेलबाड गर्दै राजनीतिलाई आफ्नो चङ्गुलमा राख्ने दाउपेच गरिरहेका छन् । यस्तै राजनीतिमा रमाउने हाम्रो दिनचर्या बनिरहेको छ ।
रास्वपा र राप्रपाको उदय
मुख्य राजनैतिक पार्टीहरूप्रति वितृष्णा बढिरहेको परिवेशमा एकाएक नयाँ र पश्चगामी शक्तिहरू उदाएका छन् । यो रूपबाट हेर्दा पुरानोले गरेन, नयाँले गर्छ कि भन्ने सद्भाव वा ईमोशनको बनिबनाउ चाहना अन्तरगतको उर्वर पृष्ठभूमिबाट निर्देशित देखिन्छ ।
अरू पुराना पार्टी वा नेताहरूले गरेनन्, अब नयाँलाई छान्नुपर्छ भन्ने पछिल्लो नेपाली राष्ट्रिय राजनीतिको जबरजस्त भाष्य बनिरहेको छ । उनीहरूलाई नयाँ पुराना र बूढो र तन्नेरी भन्दा पनि मूलतः प्रणालीमा रहेको समस्याहरू वर्तमान गत्यावरोधहरु मूलभूत कारण हो भन्ने न्यूनतम ज्ञान देखिँदैन ।
यसो भएपछि उनीहरूमा सही र गलत खुट्याउने हैसियत हुने कुरै भएन । यही कमजोर सचेतनागत धरातलमा वैदेशिक चलखेल र जनता व्ल्याकमेलिङ गर्न सहज भइरहेको छ । जनता पनि वस्तुवादी भएर सत्य तथ्य पहिचान गरेर कार्यक्रमिक योजनागत गन्तव्य तय गर्नु भन्दा पनि सामाजिक सञ्जालजन्य प्रचारबाजीहरूको पछि पछि दौडिन थालेका छन् । यही कमजोरीको गुरुत्व केन्द्र वरिपरि वैदेशिक चलखेल मडारिरहेको छ ।
वस्तुतः बाहिरी रूपबाट विश्लेषण गर्दा रास्वपा र राप्रपाको उदय स्वाभाविक देखिन्छ । अरू पुराना पार्टी वा नेताहरूले गरेनन्, अब यसले गर्छ भन्ने जुन भाष्य बनाइएको छ, त्यो ठिकै लाग्न सक्छ । उनीहरूले पनि पुराना पार्टी र नेताहरू यहाँ चुके, त्यहाँ चुके, यता बिगारे, उता भत्काए अनि यता खाए, उता चप्काए भनेर आफूहरूलाई मात्र निरपेक्ष रूपमा सही साबित गर्ने रणनीति लिएर छिटो मीठो राजनीतिमा होमिएका छन् ।
नयाँ पार्टी र नेताहरूप्रति एक खालको बनिबनाउ आकर्षण देखिन्छ । यही वस्तुगत धरातलमा रास्वपा र राप्रपा उदाएको सबैलाई जगजाहेरै छ । तर उनीहरूको उदय पछाडि यति मात्र कारण पर्याप्त छैन ।
पछिल्लो समय ईण्डोपश्चिमा शक्तिहरू कार्यगत मोर्चा बनाएर नेपाली राजनीतिमाथि चलखेल गरिरहेका छन् । अमेरिकीहरूमा पनि नेपालमाथि सिधै हस्तक्षेप गर्ने कि दिल्ली हुँदै गर्ने भन्ने दुई थरी मत रहेको छ । तर सैन्य उपस्थिति सहितको प्रत्यक्ष हस्तक्षेप भन्दा दिल्ली हुँदै गरिएको घुमाउरो रणनीतिक चलखेलले अझ बढी जनता दिग्भ्रमित पार्न सकिन्छ भन्ने विश्लेषणमा उनीहरू पुगेको देखिन्छ ।
यही रणनीतिअन्तर्गत वासिङ्टन र दिल्ली दुवैको स्वार्थगत देशान्तरको उर्वर भूमिमा रास्वपा र राप्रपा हुर्किरहेको स्पष्ट छ । यो कुरा उनीहरूको नाटकीय उदय, अहिलेसम्मको राजनैतिक उपलब्धि माथिको नाङ्गो हमला, संविधान विरुद्ध मनोगत प्रतिक्रिया, कतिपय उच्छृङ्खल वा अपरिपक्व गतिविधि अनि अतिविश्वासको पारो आदिको वस्तुवादी मूल्याङ्कन गर्दा यही तथ्य उजागर हुन्छ ।
एमाले, रास्वपा र राप्रपा ध्रुवीकरण
पार्टी अध्यक्षको नागरिकता काण्डमा अदालतले दोषी ठहर गरेपछि रास्वपा सरकारबाट बाहिरिएको छ । यही मेसोमा उसले सबैलाई तल्लो स्तरको गालीगलौज गर्न पनि पछि परेन । गृहमन्त्री नबनाएको झोँकमा रवि लामिछानेले धेरैलाई थुप्रै लाञ्छना लाउन भ्याए ।
अदालतलगायत धेरैको लामिछाने दोषी भएको हुनाले मन्त्री होइन, उल्टै कारबाहीको प्रक्रिया अघि बढाउनु पर्छ भन्ने मत निकै बलियो रहेको छ । यस्तो मुद्दामा अरू कोही साधारण व्यक्ति थियो भने जेल जानुपर्ने हुन्थ्यो । तर उनको हकमा त्यो लागु भएन । यसमा पनि धेरैले प्रश्न उठाइरहेका छन् ।
तर रवि वा रास्वपा भने गल्ती महसुस गर्नुको सट्टा आफ्ना वचाउ मात्र गरिरहेको छ । पत्रकार सम्मेलनमार्फत् रोदन र जलन पोख्न पनि भ्यायो । धेरैले यस घटनामा उनले अधैर्यता प्रकट गरेको टिप्पणी गरिरहेका छन् । यस्तो आत्मकेन्द्रीत व्यक्तिवादी चिन्तन र महत्त्वाकाङ्क्षा लिएको पार्टी वा व्यक्तिहरूबाट धेरै आशा गर्नु मूर्खता हुन्छ । कसैले गर्छ भने त्यो भ्रम मात्र हुनेछ ।
रास्वपाको यही अराजनीतिक र अपरिपक्व वा अर्को अर्थमा भन्ने हो भने केटाकेटीको भाडाँकुटी खेल जस्तो राजनीतिलाई नियाल्दा मुलुकको राजनीति कता जाँदैछ सहजै अनुमान गर्न सकिन्छ । यही धरातलमा एमालेका अध्यक्ष केपी ओलीले भने रास्वपाको खुलरै बचाउ गरे । सकभर लामिछानेलाई गृहमन्त्री वनाउनै पर्ने, नभए पार्टीलाई सरकारमा भने तुरुन्तै ल्याउनु पर्छ भनेर वकालत गरिरहे । अदालत माथि नै पनि प्रश्न उठाए । यस परिघटनालाई नजिकबाट नियाल्दा मुलुकको राजनीतिले सही बाटो पकड्ने देखिँदैन ।
यसरी अदालतमा मुद्दा खेपिरहेको पार्टी वा नेताप्रति एमालेको यस्तो रवैया देख्दा अनौठो अनुभूति हुन्छ । कतिपय सन्दर्भमा राप्रपासँग पनि ओली बाको हिमचिम बढिरहेको छ । विदेशीहरूले कम्युनिष्ट विरुद्ध कम्युनिस्टहरू नै प्रयोग गर्दै आएको विगत ताजै छ । यही सन्दर्भमा उनीहरूले एमालेलाई उपयोग गर्दै आएको हो ।
यसले ईन्डोपश्चिमा वैदेशिक रणनीतिअन्तर्गत एमाले÷रास्वपा÷राप्रपा लगायतको ध्रुवीकरण हुने सम्भावना बढ्दै गएको देखिन्छ । यसमा भारत र अमेरिकाको दोहोरो स्वार्थ लुकेको देखिन्छ ।
प्रसाईको राजा ल्याउने अभियान
एमालेका केन्द्रीय सदस्य दुर्गा प्रसाईले पछिल्लो समय निकै अस्वभाविक हर्कत गरिरहेका छन् । अनौठो ढङ्गले सामाजिक सञ्जालमा पनि छाइरहेका छन् । उनले फागुन १ गते मेची पुलमा पूर्व राजा र राजपरिवारका अन्य सदस्यहरूको उपस्थितिमा राजा ल्याउने महाअभियान आरम्भ गर्न भ्याए । अव चाँडै नै राजतन्त्र स्थापित हुने उद्घोष समेत गरे । गणतन्त्रवादीहरुलाई निकृष्ट गाली गरे ।
पूर्व राजा ज्ञानेन्द्र पनि आफ्नो पक्षमा एक खालको लहर देखेर मक्ख देखिन्थे । यसरी एमाले, रास्वपा र राप्रपाको हिमचिम बढिरहेको वस्तुगत धरातलमा स्वयं एमालेकै केन्द्रीय सदस्यबाट यस्तो अभियान थाल्नु कुनै संयोग मात्र नभएर सुनियोजित रणनीति भनेर आशंका गर्ने ठाउँ देखिन्छ । यद्यपि एमालेले प्रसाईलाई कारबाही गरिसकेको दाबी गरेको छ ।
ईन्डोपश्चिमाहरुको संयुक्त डिजाइनमा नै नेपालमा राजा सहितको नयाँ ध्रुवीकरण गर्न खोजिरहेको देखिन्छ । यही रणनीति अन्तरगत नै नयाँ पार्टी, व्यक्ति र पुस्तान्तरणको बहस पनि अनपेक्षित रूपमा भइरहेको छ । गगन थापालाई प्रधानमन्त्रीमा काष्टिङ गर्नु यसैको उपज थियो ।
रवि र गगन बीचको सम्बन्धमा पनि ईन्डोपश्चिमाहरुको रसायनले महत्त्वपूर्ण भूमिका खेलेको देखिन्छ । यता उनीहरूले कम्युनिष्ट जनमत भित्र खेल्न र दिग्भ्रम सिर्जना गर्न तुलनात्मक रूपमा राम्रो संगठन भएको पार्टी एमालेलाई अधिकतम् उपयोग गर्दा तुलनात्मक रूपमा बढी फाइदा हुने बुझेर नै यस्तो रणनीति लिएको देखिन्छ ।
अन्तमाः
वस्तुतः नेपालमा विद्यमान अस्थिरता र अन्यौलताको मूलभूत कारण भनेको वैदेशिक हस्तक्षेप वा चलखेल नै हो । यसरी वैदेशिक हस्तक्षेप नहुने हो भने हाम्रो राजनीति यति धेरै भद्रगोल र अस्तव्यस्त हुने थिएन । कतिपय पार्टी र पात्रहरूको अति चुरीफुरी पनि यसरी बढ्ने थिएन ।
रास्वपा र राप्रपाको उदय र एमालेको अवसरवादी ढुलमुले प्रवृत्तिलाई नियाल्दा कतै न कतै ईन्डोपश्चिमाहरुको स्वार्थ लुकेको देखिन्छ । विचार एजेन्डा भन्दा पनि हावादारी प्रचारात्मक माहौलको पछि समाज निर्देशित हुनु यसैको उपज हो ।
त्यसैले, एमाले, रास्वपा र राप्रपा लगायतका पार्टीहरू एकातिर ईन्डोपश्चिमा गुरुयोजना अन्तरगत गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेशी र समानुपातिक लगायतका अग्रगामी एजेण्डाहरु विरुद्ध ध्रुवीकरण भइरहेको छ । विदेशी शक्तिकेन्द्रहरूको यस्तो चलखेललाई वेलैमा व्यवस्थापन नगरे विकराल स्थिति नआउला भन्न सकिन्न । यसमा सबै गम्भीर बन्न जरुरी छ ।
वस्तुतः ठोस कार्यदिशा र कार्ययोजना विना केवल अरूलाई गाली गरेर आफ्नो उत्थान हुने प्रचारात्मक राजनीतिले धेरै परिणाम दिन सक्दैन । यो शाश्वत सत्य हो । यसकारण चोटिलो धाराप्रवाह गाली वा मीठो भाषण अनि भ्रष्टाचार विरुद्धको सुगरकोटेड नारा भित्रको असली नियत बुझ्दै अग्रगामी राजनैतिक एजेण्डाको आधारमा गोलबन्द बनौँ । अवसर र माहौलको पछि लाग्ने चरम ढुलमुले प्रवृत्तिलाई निस्तेज गरौंँ ।
अग्रगामी राजनीति विरुद्ध यो वा त्यो बहानामा गरिने कुनै पनि खालको पश्चगामी हर्कतहरुलाई विफल पारौँ । सबै गणतन्त्रवादीहरू एक होऔँ । किनकि कुनै पनि शर्तमा परिवर्तनको युगसापेक्ष अग्रगामी विकल्प पश्चगमनद्वारा निर्देशित अस्थिरता हुन सक्दैन ।