आइतबार, ०९ मङ्सिर २०८१
ताजा लोकप्रिय
स्वास्थ्य

कोसी अस्पतालमा चरम बेथिति : पानीको अभावले शल्यक्रिया नै रोकियो

शुक्रबार, १२ फागुन २०७९, ०९ : २५
शुक्रबार, १२ फागुन २०७९

विराटनगर । कोसी अस्पतालको अर्थोपेडिक वार्डमा पानीको उचित व्यवस्थापन नहुँदा बिरामीको शल्यक्रिया नै रोकिएको छ । अस्पतालको अर्थोपेडिक वार्डमा जाने पानीको पाइपमा लेदो जमेर पानी बन्द भएपछि बिहीबारका लागि तय गरिएका ६ जना बिरामीको शल्यक्रिया रोकिएको हो ।

शल्यक्रिया रोकिने बिरामीहरूमा सुनसरीको दुहबी नगरपालिका–१२ पुर्वकुसहा घर भएकी ७६ वर्षीय भगवती देवी गेलाल, सप्तरी रुपनगरकी ६० वर्षीय चन्द्रमाया राईलगायत छन् । राईको लडेर देब्रे खुट्टा भाँचिएको बिहीबार पाँच दिन भयो । आर्थिक अवस्था नाजुक रहेका वृद्धा राईको उपचारका लागि कोसी अस्पताल आएकी थिइन् ।

‘आमाको उपचारमा ऋण खोजेर ल्याएको पैसा पनि सकियो । तर, अहिलेसम्म आमाको खुट्टाको शल्यक्रिया हुन सकेको छैन,’ छोरी परिस्काले गहभरि आँसु पार्दै मेसुको कार्यकक्षमा भनिन्, ‘हस्पिटल बसेको पाँच दिन भइसक्यो । बिहीबार अप्रेसन हुने भनेर ३० हजार रुपैयाँमा स्टील पनि किनेँ । अप्रेसनका लागि १० हजार रुपैयाँ डिपोजिट  पनि  गरेको छु । तर, अहिलेसम्म आमाको खुट्टाको शल्यक्रिया हुन सकेको छैन ।’

बिहीबार हुने भनेको शल्यक्रिया पनि पानी नभएको भन्दै हुन नसकेको उनले बताइन् । चिकित्सकले शल्यक्रियामा प्रयोग गर्ने सामग्रीदेखि बिरामीलाई प्रयोग गरिने स्टिलका सामग्री पानीमा उमालेर मात्रै प्रयोग गर्नुपर्ने हुन्छ । पानी आपूर्ति गर्ने मुख्य पाइपलाइनमा समस्या भएपछि ‘वाटर प्यूरिफाई प्लान्ट’ समेत बन्द भएको छ ।

अस्पतालको हाडजोर्नी तथा नशारोग विभागका प्रमुख डा. महेन्द्र प्रसाद महतोले शल्यक्रिया गर्न औजारहरू पानीमा उमाल्नका लागि ‘अटोक्लेभ’ सम्म पानी नभएको कारणले अप्रेसन रोकिएको बताए । प्राविधिक समस्याको कारणले गर्दा अर्थोपेडिक विभागसम्म आउने पानीको पाइपमा समस्या देखिएको उनले बताए । उक्त समस्या समाधानका लागि आफूहरु लागिरहेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रविनराज सिंहले बताए । अप्रेशन गर्ने तालिकामा रहेका बिरामीको शल्यक्रिया एक दिन पछाडि सारिएको उनले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप