तुलसी सहकारीको अनियमितताबाट ८५ करोड रकम जोखिममा परेको अनुमान
विराटनगर । विराटनगरमा मुख्य कार्यालय रहेको तुलसी बहुमुखी सहकारीले अस्वाभाविक ‘कमिसन’ दिने गरेको खुलेको छ । उसले बचतकर्तालाई फिक्स डिपोजिट गरे १५ प्रतिशतदेखि १८ प्रतिशतसम्म ब्याज दिने प्रलोभन पनि देखाएको थियो ।
उक्त सहकारीमा विराटनगर–१ की गीता गिरीले १५ प्रतिशत ब्याज पाउने लोभमा परी ४ करोड रुपैयाँ जम्मा गरेकी थिइन् । घरजग्गा विक्री गरेको पैसा आफूले बचत गरेको उनले बताइन् ।
सहकारीले आकर्षक ५ वर्षे ‘डबल स्किम’ पनि दिएको थियो । त्यही स्किमको लोभमा परेर थुप्रैले फिक्स डिपोजिट गरेका थिए । कतिपयलाई १८ प्रतिशतसम्म ब्याज दिने भन्दै बचत रकम संकलन भएको बचतकर्ताहरु बताउँछन् । बचत ल्याउनेलाई पनि १५ प्रतिशतसम्म कमिसन दिने गरेको बताइएको छ ।
४५ वर्ष नेपाल टेलिकममा जागिर खाएका प्रेम आचार्यले त्यहाँबाट आएको ७५ लाख रुपैयाँ सोही सहकारीमा बचत गरे । विराटनगर–५ की रन्जु झाँडगले झाडु, पोछा लगाएर ७ लाख रुपैयाँ जम्मा गरेकी थिइन् । उनको रकम पनि डुबेको छ ।
विराटनगर–३ कै भीम माया तामाङले १० लाख रुपैयाँ बचत गरेकी थिइन् । होटल व्यवसाय गरेर कमाएको रकम डुब्न लागेको भन्दै उनले जिल्ला प्रशासन कार्यालय मोरङमा हारगुहार गरेकी छिन् ।
विराटनगर–५ का सुकदेव रायले १५ प्रतिशत व्याज दिने भनेपछि साउनदेखि ६० लाख रुपैयाँ बचत गरेका थिए । उनकी श्रीमतीको पनि सोही सहकारीमा चार लाख रुपैयाँ बचत छ । रायले जग्गा बिक्री गरेको पैसा सहकारीमा बचत गरेको बताए ।
यसरी नै बचत गरेको १ अर्ब ४५ करोड रुपैयाँ उक्त सहकारीको निक्षेप जोखिममा परेको छ । ‘जुन सहकारीले उत्पादन र बजारीकरणको क्षेत्रमा पैसा लगानी गरे । कोरोनाको कारण व्यवसाय ठप्प भयो । त्यसकारण भुक्तानी गर्न सकेन,’ जिल्ला सहकारी संघ मोरङका अध्यक्ष डिल्ली पोखरेलले भने ।
प्रदेश १ सरकारका उद्योग, कृषि तथा सहकारी मन्त्रालय अन्तर्गत सहकारी शाखाका अधिकृत तोया तिम्सिनाले तुलसी सहकारीको संचालक समितिले बचतकर्ताको पैसा फिर्ता गर्नुपर्ने बताए । ‘समितिले बचतकर्ताको रकम फिर्ता गर्नुपर्छ । हामीले यस विषयमा मन्त्रीसँग पनि छलफल गरेका छौं । यस विषयमा छानबिन गरेर कारबाही प्रक्रिया अगाडि बढाउन मन्त्रालयको तर्फबाट पनि विभागलाई जानकारी गराइएको छ,’ उनले भने ।
८५ करोड रकम फसेको देखियोः लेखापरीक्षक
यता, विराटनगरका एक प्रतिष्ठित चार्टड एकाउन्टेन्टले दिएको जानकारी अनुसार तुलसी बहुमुखी सहकारीको झण्डै ८५ करोड रुपैयाँ जोखिममा छ ।
अघिल्लो आर्थिक वर्षको लेखा परीक्षक प्रतिवेदन पढ्दा र अध्ययन गर्दा दुईवटा समस्या देखिएको उनले बताए । ‘एउटा भनेको उहाँहरुले ४७ करोड बराबरको बिक्री देखाउनुभएको छ । त्यसमध्येमा झण्डै ४० करोड रकम उठ्न बाँकी देखाइएको छ,’ नाम नभन्ने शर्तमा उनले भने, ‘उहाँले उधारोमा बिक्री गरेको देखियो । अर्को भनेको उहाँहरुको जिन्सी मौज्दात भनेर झण्डै ४० करोड देखाउनु भएको छ । अन्य शीर्षकमा ५ करोड भनेर देखाउनु भएको छ ।’
उनले तीन वटै शीर्षकमा देखाइएको ८५ करोड रकम फसेको हो कि निकालेर लगिएको हो भन्ने कुराको यकिन नभएको पनि बताए । ‘यसरी हेर्दा झण्डै ८५ करोड रुपैयाँ रकम फसेको देखिन्छ । अब त्यो चाहिँ फसेको हो कि निकालिएको हो, प्रस्ट थाहा भएन । अन्य कुरा चाहिँ डिटेल अडिट गरेपछि मात्रै थाहा हुन्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वर्णलक्ष्मीबाट पूर्वडीआईजी जोशीले १ करोड ३० लाख ऋण लिएको भेटियो
-
२७ करोडमा बिक्री भए ऋषभ पन्त, दिल्लीले ११ करोड ७५ लाखमा किन्यो मिचेल स्टार्कलाई
-
बागमती सरकारद्वारा १४ उद्यमी सम्मानित
-
सरकारी कामकाजको भाषा चाँडै लागु हुन्छ: मुख्यमन्त्री सिंह
-
पञ्जाबले कीर्तिमानी मूल्य २६ करोड ७५ लाखमा किन्यो श्रेयष ऐयरलाई, बटलर गुजरातमा
-
चार कारणले थपियो रवि लामिछानेसहितलाई १५ दिन म्याद