भारतकी ‘मर्लिन मुनरो’ मधुबालाको जीवनकथा : बुवा रिक्सा चलाउँथे, फिल्ममा सफल भइन्, ३६ वर्षमा दुःखदायी मरण
मलाई थाहा थियो कि मधुबाला अरु कसैको प्रेममा थिइन्, तर पनि म उसको प्रेममा पागल भएँ भनेर स्वीकार गर्न चाहन्छु । यसका लागि कसैलाई दोष दिन सकिँदैन, किनकि उनीभन्दा सुन्दर महिला मैले कहिल्यै देखेको थिइनँ ।
यो कुरा शम्मी कपूरले आफ्नो जीवनी ‘शम्मी कपूर द गेम चेन्जर’ मा ‘भेनस अफ द स्क्रिन’ मधुबालाका लागि लेखेका थिए । मधुबालाको सुन्दरताको जादु यस्तो थियो कि शम्मी कपुरले उनलाई माया गर्न आफूलाई रोक्न सकेनन् । मधुबालाको सुन्दरताको जादु यति सम्मको थियो कि शुद्ध शाकाहारी उनका डान्स टिचर उनलाई हेर्दा हेर्दै बिहानको खाजामा मासु खाएका थिए ।
मधुबालालाई मन पराउने लाखौँ थिए तर दुर्भाग्य नै भन्नुपर्छ कि उनले जसलाई मन पराइन्, उनीहरुको साथ कहिल्यै पाइनन् । उनका पिता उनको विवाह दिलिप कुमारसँग गराउन चाहँदैनथे तर विवाहित कमाल अमरोहीसँग विवाह गराउनका लागि तयार थिए ।
थुप्रै पटक सम्बन्ध टुटेपछि मधुबालाले किशोर कुमारसँग विवाह गरिन् । तर बिरामी हुँदा उनले पनि मधुबालालाई छोडे । ३६ वर्षको उमेरमा २३ फेब्रुअरी १९६९ मा मधुबाला यो संसारबाट सदाका लागि बिदा भइन् ।
आज मधुबालाको ५४ औँ पुण्यतिथिमा उनका चार अधुरो प्रेम कहानी, एक असफल विवाह र फिल्मी संघर्षबारे कुरा गरौँ ।
परिवार पाल्न बुवाले रिक्सा चलाए
मधुबालाको जन्म १४ फेब्रुअरी सन् १९३३ मा दिल्लीमा भएको थियो । बाल्यकालमा उनको नाम मुमताज जहां बेगम देहलवी थियो । उनी आफ्ना बुवा अताउल्लाह खान र आमा आयशा बेगमको ११ सन्तानमध्ये पाचौँ सन्तान थिइन् । मधुबालाका बुवा सुरुका दिनमा माटोको भाँडा बनाउनेसँग काम गर्थे ।
त्यसपछि उनले पेशावरको एक सुर्ती कारखानामा काम गरे तर केही दिनमै उनलाई कामबाट निकालियो । त्यसपछि उनले परिवार पाल्न रिक्सा चलाउन सुरु गरे ।
राम्री भएकोले फिल्ममा पाइन् बाल कलाकारको भूमिका
एकदिन उनका बुवाको भेट एक ज्योतिषीसँग भयो । उनका बुवाले आफ्नो परिवारको सबै समस्या बताए । त्यतिबेला ज्योतिषीले भविष्यवाणी गर्दै उनकी छोरी मधुबालालाई हिरा बताउँदै उनको देश विदेशमा नाम हुने बताए ।
त्यतिबेला अल इन्डिया रेडियोमा एक बाल कार्यक्रम आउँथ्यो, त्यसमा मधुबालाले पनि जाने मौका पाइन् । त्यो कार्यक्रममा बम्बे टकिजका महाप्रबन्धक राय बहादुर चुन्निलाल आएका थिए । उनले सानी मुमताज अर्थात् मधुबालालाई देखेपछि उनी पनि दङ्ग परे ।
त्यतिबेला बम्बे टकिजमा फिल्म वसन्त बनाउने तयारी भइरहेको थियो । यो फिल्मका लागि बाल कलाकारको खोजी भइरहेको थियो । यो भूमिकाका लागि चुन्नीलालले मधुबालालाई टकिजकी मालिक देविका रानीसँग भेट गराए ।
देविका रानीलाई पनि सानी मधुबाला मनपर्यो । त्यसपछि मधुबालाले सन् १९४२ मा रिलिज भएको फिल्म वसन्तबाट आफ्नो अभिनयको यात्रा सुरु गरिन् ।
अधुरै रह्यो पहिलो प्रेम
मधुबालाको सानै उमेरमा प्रेम बस्यो । उनी दिल्लीमा बस्दा त्यहाँका लतिफलाई मन पराउन थालिन् जो पछि आइएएस अधिकारी बने ।
मधुबाला मुम्बई जाँदै छिन् भन्ने थाहा भएपछि लतिफ निकै दुःखी भए । मधुबाला टाढा जान लागेको उनलाई मन परेको थिएन । यस्तै, मधुबाला पनि उनीबाट टाढा हुन चाहँदैन थिइन् । मुम्बई जानु अघि अन्तिम भेटमा मधुबालाले उनलाई गुलाफको फूल दिइन् जसलाई उनले निकै सम्हालेर राखे ।
यता मुम्बई आएपछि मधुबाला फिल्ममा व्यस्त भइन् तर लतिफले उनलाई कहिल्यै बिर्सन सकेनन् । मधुबालाको निधन पछि लतिफ उनको प्रत्येक पुण्यतिथीमा समाधि स्थल जाने र त्यहाँ गुलाफको फूल राख्थे भन्ने पनि गरिन्छ ।
पाँच भाइ बहिनीको जलेर मृत्यु
मधुबालाको परिवार मुम्बईको मलाडमा बस्थे । एकपटक उनी आफ्ना बुवासँग जिद्दी गरेर फिल्म हेर्न गइन् । घरमा उनका पाँच भाइ–बहिनी थिए, त्यहि बेला त्यहाँ आगलागी भयो र उनको पूरा घर जल्यो । उक्त घटनामा उनका पाँच भाइ–बहिनीको जलेर मृत्यु भयो ।
गरिबी यतिसम्मको थियो कि उनको बुवासँग बच्चाका लागि ‘कात्रो’ किन्नेसमेत पैसा थिएन । यहि घटनापछि सानै उमेरकी मधुबाला निकै बुझ्ने भइन् र घरको जिम्मेवारी उनले आफ्नो काँधमा लिइन् । अन्ततः लामो संघर्ष पछि उनले रणजीत फिल्म स्टुडियोमा ३०० भारु प्रत्येक महिनामा जागिर पाइन् ।
त्यसपछि मधुबाला फिल्मी दुनियाँमा अघि बढ्दै गइन् र महल, बादल, काली, बरसातकी रात, नील कमल जस्ता उत्कृष्ट फिल्ममा अभिनय गरिन् ।
हलिउडबाट पनि आयो फिल्मको अफर तर बुवा मानेनन्
अभिनयमा मधुबाला निकै पोख्त थिइन् । विदेशमा पनि उनको चर्चा व्यापक थियो । एकपटक हलिउडका चर्चित निर्देशक काप्राले मधुबालालाई आफ्नो केही फिल्ममा काम गर्न प्रस्ताव राखे तर उनका बुवाले यो प्रस्ताव अस्वीकार गरे । उनले ‘मधुबाला काँटा–छुरीले खाना खान सक्दिनन् त्यसैले विदेश गएर बस्न सक्दिनन्’ भनेर उक्त प्रस्ताव अस्वीकार गरे ।
विवाहित कमाल अमरोहीसँग सम्बन्ध
सन् १९४९ मा बम्बे टकिजको ब्यानरमा फिल्म ‘महल’ बन्यो । यो फिल्मका निर्देशक कमाल अमरोही थिए । फिल्मका लागि पहिला सुरैयालाई कास्ट गर्नुपर्ने थियो तर स्क्रिन टेस्टपछि मुख्य भूमिकामा मधुबालालाई छानियो । यो फिल्म बक्स अफिसमा हिट रह्यो ।
यो फिल्मको सुटिङका बेला नै मधुबाला र कमाल अमरोही एक अर्कासँग नजिकिए । मधुबालाका पिता यी दुईको सम्बन्धसँग निकै खुसी थिए । उनले एकपटक भनेका थिए, ‘भोलि गएर उनीहरुको विवाह भएछ भने पनि मलाई कुनै आपत्ति छैन ।’
तर कमाल अमरोही विवाहित थिए र उनी आफ्नी श्रीमतीलाई छोड्न चाहँदैनथे । मधुबाला दोस्रो श्रीमती भएर बस्नुपर्ने उनले शर्त राखेका थिए तर यो उनलाई मञ्जुर थिएन । उनले आफ्नो श्रीमान् अरु कसैसँग बाँड्न नचाहेको उनले बताइन् ।
उनले कमाल अमरोहीलाई पहिलो श्रीमतीसँग सम्बन्धविच्छेद गर्न भनिन् तर उनले मानेनन् । यसैकारण उनीहरुको सम्बन्ध टिकेन ।
सेटमा रगतको बान्ता गरेपछि मुटुमा प्वाल छ भन्ने थाहा भयो
फिल्म ‘बहुत दिनों’ को सुटिङका बेला एकदिन मधुबालाले रगतको बान्ता गरिन् । बिस्तारै यो कुरा पूरा उद्योगमा फैलियो । स्वास्थ्य परीक्षणपछि उनको मुटुमा प्वाल भएको थाहा भयो । यसको उपचार त्यतिबेला सम्भव थिएन ।
डाक्टरले उनलाई बेड रेस्ट गर्न सल्लाह दिँदा पनि उनले लगातार फिल्ममा काम गरिरहिन् । यता मधुबालाले एकपछि अर्को हिट फिल्म दिइरहेका बेला उनको रोग लगातार बढ्दै गयो ।
आज तिमी गइनौँ भने म तिमी भएठाउँ कहिल्यै आउनेछैन : दिलिप कुमार
दिलिप कुमार र मधुबालाको भेटघाट फिल्म तरानाको सेटमा भएको थियो । दुबै पहिला साथी थिए तर बिस्तारै बिस्तारै मधुबालाले उनलाई मन पराउन थालिन् । एकपटक उनले आफ्नो नजिकको मेकअप आर्टिस्टमार्फत् दिलिप कुमारलाई चिट्ठीसँग गुलाफ पठाइन् ।
चिट्ठामा लेखिएको थियो – यदि तपाईं मलाई मन पराउनुहुन्छ भने यो चिट्ठी स्वीकार गर्नुहोस् नभए यसलाई फिर्ता पठाउनुहोस् ।
दिलिप कुमारले चिट्ठी स्वीकार गरे र त्यसपछि दुबैको प्रेम झाङ्गियो ।
सन् १९५५ मा पहिलो पटक फिल्म ‘इंसानियत’ को प्रिमियरका बेला दुईलाई सार्वजनिक रुपमा देखिएको थियो । यद्यपि, सार्वजनिक रुपमा यिनीहरुलाई देखिएको यो अन्तिम पटक पनि थियो ।
उनीहरुको सम्बन्ध ९ वर्षमा नै टुट्यो । कारण यो थियो कि मधुबालाका पिता चाहन्थे कि दिलिप कुमार मधुबालाको हिसाबले काम गरुन् । उनले उनको हरेक काममा दखल दिन्थे । यसको कुरा दिलिप कुमारले आफ्नो अटोबायोग्राफी ‘दिलिप कुमार – द सब्सटेन्स एन्ड द स्याडो’ मा पनि गरेका थिए ।
उनले लेखेका थिए, ‘मेरो मधुबालासँग उनका पिता अताउल्लाह खानबारे कुरा हुँदा मैले स्पष्ट पारेँ कि मेरो काम गर्ने आफ्नै तरिका छ । म आफ्नो हिसाबले प्रोजेक्ट छान्छु र त्यसमा मेरो आफ्नो प्रोडक्सन हाउस पनि छ, त्यसैले म ढिलाई गर्न सक्दिनँ ।’
दिलिप कुमारको यो कुरा मधुबालाका पितालाई मन परेन, उनलाई दिलिप कुमार असाध्यै घमण्डी लाग्यो । मधुबाला पनि बुवाको कुनै कुरा काट्न सक्दिन थिइन् । एकदिन दिलिप कुमारले भने, ‘अब विवाह गरौँ ।’ त्यतिबेला उनी रुन थालेकी थिइन् । यसमा दिलिप कुमारले भनेका थिए, ‘आज तिमी मसँग गइनौ भने म तिमी भएठाउँ कहिल्यै आउनेछैन, कहिल्यै आउने छैन । ’ त्यसपछि साँच्चै नै उनी कहिल्यै मधुबाला भएठाउँ गएनन् ।
फिल्म मुगल–ए–आजममा अनारकली र सलिमको जोडीमा दिलिप कुमार र मधुबालालाई असाध्यै रुचाइएको थियो तर सुटिङका बेला उनीहरु एक–अर्कासँग फिटिक्कै कुरा गर्दैनथे ।
बिरामी मधुबालालाई श्रीमान् किशोर कुमार ३–४ महिनामा भेट्न जान्थे
सन् १९६० मा मधुबालाले किशोर कुमारसँग विवाह गरिन् । किशोर कुमारलाई उनको रोगबारे थाहा थियो तर उनले यो कुरालाई गम्भीरताका साथ लिएनन् । विवाह पछि उनले मधुबालालाई लिएर लण्डन गए जहाँ थाहा भयो कि उनी दुई वर्ष मात्रै बाँच्नेछिन् ।
किशोर कुरा उनीसँग मुम्बई फर्किएपछि उनले मधुबालालाई उनका पिता र बहिनीहरुसँग छोड्दै भने, ‘म कामका कारण असाध्यै व्यस्त हुन्छु, त्यसैले मधुबालाको राम्रोसँग हेरविचार गर्न सक्दिनँ ।’ त्यसपछि उनी मधुबालालाई भेट्न आउँथे तर तीन–चार महिनामा एकपटक मात्रै । मधुबालालाई आफ्ना श्रीमानको सबैभन्दा बढी खाँचो भएका बेला नै उनी भएनन् ।
मलाई बाँच्नु छ, मर्नु छैन : मधुबाला
मधुबालाको हालत दिन दिनै खराब भइरहेको थियो । उनको शरीरमा असाध्यै रगत बन्थ्यो जसका कारण उनको नाक र मुखबाट बाहिर निस्किन्थ्यो । घरमा डाक्टर आएर उनको रगत निकाल्थे । उनलाई फोक्सोको पनि रोग थियो । त्यसैले उनलाई हरेक चार–पाँच घण्टामा अक्सिजन दिनुपर्दथ्यो ।
मधुबाला लामो समय लगभग ९ वर्षसम्म बेडमा नै थिइन् । शरीरमा हड्डी मात्रै बाँकी थिए । आफूलाई हेरेर उनी सधैँ रुन्थिन् र भन्थिन्, ‘मलाई बाँच्नु छ, मर्नु छैन ।’ बिरामी हुँदा पनि उनी मेकअप गरेर बस्थिन् । यसो गरेर उनी आफूलाई केही भएको छैन भनेर सोच्थिन् ।
दिलिप कुमारलाई भनिन्, ‘मेरो राजकुमारले राजकुमारी पाए’
अन्तिम समयमा निकै कम मानिस मात्रै मधुबालाई भेट्न जान्थे । तीमध्ये दिलिप कुमार पनि एक थिए । जब एकपटक दिलिप कुमार उनको घरमा आए तब उनको आँखामा आँसु थियो । दुबैले घण्टौँसम्म कुराकानी गरे त्यसपछि मधुबालाले उनलाई सायरा बानोसँग विवाह गरेको विषयमा भनिन्, ‘म खुसी छु, मेरो राजकुमारले राजकुमारी पाए ।’
कुरा गर्दै गर्दा मधुबालाले दिलिप कुमारलाई सोधे, ‘म निको भएपछि, तिमी मसँग फिल्ममा अभिनय गर्नेछौ ? यसमा उनले भने, ‘पक्कै पनि । तिमी ठिक हौ न, म अवश्य तिमीसँग फिल्म गर्नेछु ।’
त्यसपछि न त मधुबाला निको भइन् न नै दिलिप कुमारसँग फिल्म आयो । अन्ततः रोगका कारण मधुबालाको २३ फेब्रुअरी सन् १९६९ मा ३६ वर्षको उमेरमा निधन भयो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इन्टर फर्कियो लयमा, घरेलु मैदानमा ३ अंक थप
-
अमेरिकी डलर, रियाल, दिराम, रिङ्गेटको भाउ बढ्यो, कतिको मूल्य कति ?
-
सेना र प्रहरीको अस्पतालमा सर्वसाधारणलाई सेवा
-
लोप हुँदै तरबार नाच
-
ट्रम्पका सहयोगी गेट्जमाथि गम्भीर आरोप : कार्यालयभित्रै लागूऔषध सेवनदेखि नाबालिकको यौन शोषणसम्म
-
उर्वर जग्गा रेल्वे ट्र्याकमा परेपछि अन्योलमा किसान