मङ्गलबार, ११ मङ्सिर २०८१
ताजा लोकप्रिय

मधेश विश्वविद्यालय सञ्चालनमा वीरगञ्ज महानगरले सहयोग गरेन : उपकुलपति शाक्य

बिहीबार, ११ फागुन २०७९, १२ : ५५
बिहीबार, ११ फागुन २०७९

बारा । मधेश विश्वविद्यालयका उपकुलपति प्राडा दिपक शाक्यले मधेश विश्वविद्यालय सञ्चालनका लागि वीरगञ्ज महानगरपालिकाले कुनै सहयोग  नगरेको गुनासो गरेका छन् । राष्ट्रिय विभूति सामुदायिक शिक्षा सदन डुमरवानाको २१ औं वार्षिकोत्सव तथा अभभावक दिवसको अवरसमा आयोजित कार्यक्रममा बोल्दै उपकुलपति  शाक्यले सो कुरा बताएका हुन् । उनले विश्वविद्यालय सञ्चालनको विषयमा वीरगञ्ज महानगर प्रमुख र उद्योग वाणिज्य संघका पदाधिकारीलाई पटक पटक छलफलमा बोलाउँदा पनि कुनै चासो नदेखाएको टिप्पणी गरे ।

‘विश्वविद्यालय हामी बनाउन सक्छौ तर, चलाउन सक्दैनौ, चलाउन समाज चाहिन्छ, आज मधेश विश्वविद्यालय आएको ६ महिना भयो हामीले नियमावली बनायौ, सिनेट बसायौ, घर खोज्दैछौ तर दुखको कुरा आजसम्म वडा अध्यक्षदेखि मन्त्रीसम्मले १ रुपैयाँ आर्थिक सहयोग गरेका छैनन्’ उपकुलपति शाक्यले भने, ‘मैले दिनहुँ यहाँका मेयर साव, उद्योग वाणिज्य संघका अध्यक्षसँग आउनुस् छलफल गरौं विश्वविद्यालय कसरी चलाउने भनेर बिन्ती गर्दा उहाँहरुले केही माग्ला भनेर छलफलमा आउनुभएन’ उपकुलपति शाक्यले झण्झटिलो कानुनी प्रकियका कारण पनि धेरै समस्या भएको बताए । उनले बितेको ६ महिनामा नियमावली बनाउने, विश्वविद्यालय सञ्चालन समिति  बनाउने र घर खोज्ने काम मात्रै भएको बताए ।

वीरगञ्जस्थित नेशनल टेडिङको घर भाडामा लिएर मधेश विश्वविद्यालयको कार्यलय सञ्चालन भएपनि शैक्षिक सत्र कहिलेदेखि शुरु हुने भन्ने टुंगो लागेको छैन । विश्वविद्यालय सञ्चालनका लागि करिब एकसय बिगाहा जग्गा आवश्यक पर्ने भन्दै पर्साका स्थानीय तहहरुमा जग्गा खोजीको काम भइरहेको उपकुलपति शाक्यले जनाएका छन् । उनले निजी विद्यालयहरुले शिक्षकलाई सम्मानजनक सेवा सुविधा दिए मात्रै शैक्षिक स्तरमा सुधार हुने भन्दै सिपयुक्त शिक्षालाई प्रोत्साह दिन आग्रह गरे ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप