आइतबार, ०७ पुस २०८१
ताजा लोकप्रिय
अर्थतन्त्र

बिजुलीको भरपर्दो बजार खोज्दै नेपाल, निर्यातमा ‘ब्रेक थ्रु’को संकेत

बिहीबार, ११ फागुन २०७९, ०६ : ४८
बिहीबार, ११ फागुन २०७९

भारतले शुभसंकेत दिएसँगै नेपाल र बंगलादेशबिच विद्युत व्यापारमा ‘ब्रेक थ्रु’को सम्भावना देखिएको छ । नेपाल र बंगलादेश आपसमा विद्युत व्यापारका लागि प्रयासरत रहेकै अवस्थामा भारतले नेपाललाई बंगलादेशतर्फ विद्युत निर्यातको अनुमति दिने संकेत दिएको हो । यससँगै, नेपाल र बंगलादेशबिच विद्युत व्यापारमा ‘ब्रेक थ्रु’को सम्भावना बढेको हो ।

भारतको राजस्थानमा सम्पन्न नेपाल–भारत ऊर्जा सचिवस्तरीय संयुुक्त निर्देशक समितिको बैठकमा भारतीय पक्षले नेपाललाई बंगलादेशतर्फ बिजुली निर्यातको अनुमति दिने संकेत गरेको हो । बैठकमा बंगलादेश निर्यात गर्ने निश्चित आयोजनासहित नेपालबाट प्रस्ताव पेस भएमा भारतको विद्युत आयात–निर्यात निर्देशिका बमोजिम स्वीकृत दिने भारतीय पक्षले बताएको थियो । यससँगै, वर्षौँदेखि नेपाल र बंगलादेशले विद्युतमा सहकार्य गर्न गरेको प्रयासले मूर्तरुप लिन लागेको हो ।

खासगरी, बंगलादेश लामो समयदेखि नेपालको बिजुली किन्न प्रयासरत छ । आफ्नो देशमा बिजुलीको ठूलो बजार रहेकाले बंगलादेशी पक्ष नेपाल र भुटानसँग बिजुली किन्न चाहन्छ । तर, यी दुवै मुलुकसँग बिजुली किन्दा प्रसारण लाइनका लागि भारतीय भूमि प्रयोग गर्नुपर्छ । सोही कारण, बंगलादेश लामो समयदेखि भारतीय पक्षलाई नेपालबाट बिजुली किन्ने अनुमति दिन दबाब दिइरहेको छ ।

यही बीचमा भर्खरै सम्पन्न उच्चस्तरीय बैठकमा भारतीय पक्षले बंगलादेशतर्फ बिजुली निर्यात गर्न नेपाललाई स्वीकृति दिने बताएसँगै दुवै पक्ष उत्साहित बनेका छन् । नेपाल विद्युत प्राधिकरणले १५ दिन अघि नै भारतसमक्ष बंगलादेशतर्फ बिजुली निर्यातको प्रस्ताव गरिसकेको छ ।

प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले बंगलादेशमा बिजुली निर्यात गर्न भारत समक्ष प्रस्ताव पेस गरेको जानकारी दिए । उनले रातोपाटीसँग कुरा गर्दै भने, ‘हामीले १५ दिन अघि भारतलाई प्रस्ताव पठाएका छौं । भर्खरै सम्पन्न ऊर्जा बैठकमा अनुमति दिन भारतीय पक्ष सकरात्मक देखिएको छ । सम्भवतः जुलाईदेखि बंगलादेशमा बिजुली निर्यात हुन्छ ।’

हाल वर्षा यामको समयमा आन्तरिक माग अधिकतम १७ सय मेगावाट छ । जबकि, राष्ट्रिय प्रसारण लाइनमा जोडिएको आयोजनाको कुल उत्पादन क्षमता २४ सय मेगावाट भन्दा धेरै छ । यद्यपि, नेपालका अधिकांश आयोजना ‘रन अफ दि रिभर’ (नदी प्रवाहमा आधारित) रहेकाले सुक्खा याममा भारतबाटै बिजुली किन्नुपर्छ ।

बंगलादेश निर्यात गर्न लागिएको ५० मेगावाट बिजुलीको परिमाण ठूलो नभए पनि यसले आगामी दिनमा ठूलो मात्रामा बिजुली निर्यात गर्न बाटो खोल्ने उनको भनाइ छ । भारतबाट सहमति पाउना साथ लिखु ४ जलविद्युत आयोजनाबाट उत्पादित बिजुली बंगलादेश निर्यातको बाटो खुल्नेमा घिसिङ विश्वस्त छन् । नेपाल र भारतबिच हाल सञ्चालनमा रहेको प्रसारण लाइनबाट तत्कालै बंगलादेशतर्फ ५० मेगावाटसम्म बिजुली निर्यातको सम्भावना भएकाले पनि प्राधिकरणले सुरुमा यही परिमाणमा बिजुली निर्यातको प्रयास गरेको हो ।

ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयका प्रवक्ता मधुप्रसाद भेटवाल भारतको अनुमतिबिना बंगलादेशमा बिजुली निर्यात गर्न नसकिने बताउँछन् । नेपाल र बंगलादेश आपसमा विद्युत व्यापार सहकार्यका लागि तयार रहे पनि यसका लागि भारतीय भूमि प्रयोग गर्नुपर्छ । यही कारण, बंगलादेश र नेपाल दुवै पक्ष भारतलाई निरन्तर व्यापार अनुमति दिन दबाब दिइरहेका छन् । भारत र बंगलादेशले यसअघिदेखि नै ‘क्रस बोर्डर’ विद्युत व्यापार गर्दै आएका छन् । यही कारण नेपालले भारतीय प्रसारण लाइनमा ५० मेगावाट विद्युत पठाउने र भारतीय पक्षले सोही परिमाणको बिजुली बंगलादेश पठाउने गरी व्यापार हुन्छ ।

नेपाल र बंगलादेशबीच विद्युत व्यापारका लागि भारतसमेत सहमत देखिएसँगै ‘ब्रेक थ्रु’को सम्भावना देखिएको भेटवाल बताउँछन् ।

बिजुलीको बजार खोज्दै नेपाल

यतिबेला विद्युत बिक्रीका लागि नेपाल निरन्तर बजारको खोजीमा लागिरहेको छ । गत वर्षदेखि भारततर्फ बिजुली निर्यात सुरु गरेको विद्युत प्राधिकरणले यो वर्ष ११ अर्ब १६ करोडको बिजुली भारत निर्यात गरेको थियो । प्राधिकरणलाई भारतले सुरुमा ३९ मेगावाट बिजुली निर्यातको अनुमति दिएको थियो । त्यसपछि तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका क्रममा थप ३०८ मेगावाट बिजुली निर्यातको सहमति भएको थियो ।

यस्तै, थप २ पटक गरेर भारतले नेपाललाई कुल ४५२ मेगावाट बिजुली भारतीय बजारमा बिक्रीको अनुमति दिइसकेको छ । तर, वर्षा याममा नेपालको कुल बिजुली उत्पादन क्षमता २४ सय मेगावाट नाघिसकेको छ । गत वर्षको भदौदेखि राष्ट्रिय गौरवको आयोजनाको सूचीमा समावेश माथिल्लो तामाकोसी जलविद्युत आयोजनाले उत्पादन थालेपछि वर्षा याममा आवश्यकताभन्दा धेरै बिजुली उत्पादन हुन थालेको छ ।

हाल वर्षा यामको समयमा आन्तरिक माग अधिकतम १७ सय मेगावाट छ । जबकि, राष्ट्रिय प्रसारण लाइनमा जोडिएको आयोजनाको कुल उत्पादन क्षमता २४ सय मेगावाट भन्दा धेरै छ । यद्यपि, नेपालका अधिकांश आयोजना ‘रन अफ दि रिभर’ (नदी प्रवाहमा आधारित) रहेकाले सुक्खा याममा भारतबाटै बिजुली किन्नुपर्छ ।

सुक्खा याममा बिजुली आयात गर्नुपरे पनि वर्षा याममा चाहिनेभन्दा धेरै उत्पादन भएपछि प्राधिकरण लगातार बजारको खोजीमा छ । हालसम्म २४ सयभन्दा धेरै क्षमताका आयोजना प्रसारण लाइनमा जोडिएपछि वर्षा सुरु हुनु अगावै (असार–साउन अघि) थप आयोजनाले उत्पादन थाल्नेछन् । साथै, आगामी आर्थिक वर्षभित्र राष्ट्रिय प्रसारण लाइनमा कुल ३ हजार मेगावाट बिजुली जोडिनेछ । उक्त बिजुली आन्तरिक बजारले खपत गर्न नसक्ने भएकाले प्राधिकरण निर्यातको प्रयासमा निरन्तर लागेको छ ।

हाल प्राधिकरणले इन्डियन इनर्जी एक्सचेञ्ज लिमिटेड (आइएक्स)मार्फत भारतमा बिजुली बेचिरहेको छ । हाल भारततर्फ भइरहेको निर्यातले आगामी वर्षहरुमा उत्पादन हुने बिजुली नबिक्ने भएपछि प्राधिकरण बंगलादेशसँग सहकार्य गर्न चाहन्छ ।

यस्तै, भारततर्फ समेत थप बिजुली निर्यातका लागि प्राधिकरणका प्रबन्ध निर्देशक घिसिङ आफै लागिरहेका छन् । ‘आगामी दिनमा आन्तरिक बजारले खपत गर्न नसक्ने गरी बिजुली उत्पादन हुन्छ,’ घिसिङ भन्छन्, ‘२ देखि ३ वर्षभित्र सुक्खा यामको समयमा पनि नेपालको माग धान्नेगरी बिजुली उत्पादन सुरु हुन्छ ।’

यस्तो अवस्थामा उत्पादित बिजुली बिक्रीका लागि भरपर्दो बजार भारत र बंगलादेश नै हुन् । चीनतर्फ भौगोलिकरुपमा सम्भावना कम रहेको र पाकिस्तानतर्फ निर्यातको सम्भावना समेत न्यून रहेको अवस्थामा प्राधिकरणको ध्यान भारत र बंगलादेशी बजारतर्फ नै केन्द्रित छ ।

के चाहन्छ बंगलादेश ?

बंगलादेश नेपालमा उत्पादन हुने बिजुलीको गन्तव्य मुलुक बन्न चाहन्छ । बंगलादेशमा हाल २३ हजार मेगावाट आसपास बिजुलीको माग छ । यो बढेर सन् २०३० सम्म ३४ हजार मेगावाटभन्दा धेरै पुग्ने बंगलादेशी सरकारको प्रक्षेपण छ ।

भारत आफै ठूलो मात्रामा पेट्रोलियम र कोइलाबाट बिजुली उत्पादन गर्ने मुलुक हो । यस्तै, उसको आन्तरिक माग धान्नै नपुग्ने स्थितिमा बंगालदेशतर्फ बिजुली निर्यातको सम्भावना न्यून छ । त्यसैले बंगलादेशले नेपाल र भुटानमा उत्पादित बिजुली किन्न चाहेको छ ।

तर, बंगलादेशमा बिजुली उत्पादनका लागि योग्य ठूला र आवश्यक नदी छैनन् । सोही कारण हाल ऊर्जाको आन्तरिक माग धान्न डिजेल, पेट्रोल र कोइलाको व्यापक प्रयोग भइरहेको छ । बिजुली उत्पादनमा पेट्रोलियम पदार्थ र कोइलाको प्रयोगबाट ठूलो मात्रामा कार्बन डाइअक्साइड उत्पन्न हुन्छ, जसले वातावरणमा प्रत्यक्ष असर गर्छ । यही कारण बंगलादेश डिजेल र कोइलाबाट चल्ने प्लान्ट बन्द गरेर नविकरणीय र स्वच्छ ऊर्जाको प्रयोग बढाउन चाहन्छ ।

नविकरणीय ऊर्जा र स्वच्छ ऊर्जा प्रयोग गर्ने बंगलादेशी लक्ष्य पूरा गर्न आन्तरिक उत्पादनले धान्दैन । स्वदेशमै उत्पादनको सम्भावना रहेको सोलार ऊर्जा र हावाबाट निकालिने बिजुलीले समेत माग धान्दैन । त्यसैले भारत, नेपाल र भुटानसँग दीर्घकालीन ऊर्जा सम्झौता गर्ने बंगलादेशको योजना छ ।

यीमध्ये भारत आफै ठूलो मात्रामा पेट्रोलियम र कोइलाबाट बिजुली उत्पादन गर्ने मुलुक हो । यस्तै, उसको आन्तरिक माग धान्नै नपुग्ने स्थितिमा बंगालदेशतर्फ बिजुली निर्यातको सम्भावना न्यून छ । त्यसैले बंगलादेशले नेपाल र भुटानमा उत्पादित बिजुली किन्न चाहेको छ भने यसका लागि निरन्तर भारतलाई अनुमति दिन दबाब सिर्जना गरिरहेको छ ।

बंगलादेशले नेपालबाट बिजुली किन्ने चाहना राखेको धेरै समय भइसक्यो । २०७५ सालदेखि ऊर्जा बैठकका लागि दुई देशले सचिवस्तरीय कमिटी गठन गरेका थिए र लगातार वार्ता गरिरहेका छन् । यही क्रममा पछिल्लो ऊर्जा सचिवस्तरीय बैठकमार्फत बंगलादेशले ६८३ मेगावाट क्षमताको सुनकोसी–३ जलविद्युत आयोजनामा लगानीको इच्छा समेत देखाएको छ । कुल १ खर्ब ६० अर्ब लागत अनुमान गरिएको यो आयोजनाबाट बिजुली उत्पादन गरेर आफ्नो देशमा लग्ने योजना बंगलादेशको छ ।

कमजोर कुटनीतक पहल, छैन भरपर्दो पूर्वाधार

नेपाल र भारतबीच हाल साढे ४०० मेगावाटसम्मको बिजुली व्यापार भइरहे पनि दुई देशबीच भरपर्दो र बलियो पूर्वाधार छैन । हाल सञ्चालनमा रहेका प्रसारण लाइनमा समस्या आएलगत्तै दुई देशबीचको व्यापार पूर्णरुपमा रोकिन्छ । यसको अर्थ नेपालले अहिलेसम्म बलियो र भरपर्दो विद्युत पूर्वाधार निर्माणमा ध्यान दिएको छैन ।

भारतसँगको व्यापारमा वैकल्पिक पूर्वाधार नहुँदा भारतीय आयातकर्ताहरु नेपालसँग बिजुली किन्ने सम्झौता गर्न डराइरहेको ऊर्जा अनुसन्धानकर्ता सूर्यप्रसाद अधिकारी बताउँछन् । ‘भारत र नेपालबीच नै भरपर्दो ऊर्जा व्यापारका लागि पूर्वाधार छैन । यही कारण, भारतीय पक्ष नेपालसँग ऊर्जा खरिदको सम्झौता गर्न हच्किन्छ,’ उनले भने, ‘बंगलादेशतर्फ निर्यातमा पनि पूर्वाधार नै समस्या हुन्छ ।’ तर, भारतले बंगलादेशतर्फ निर्यातको अनुमति पाए ऊर्जा व्यापारमा ‘ब्रेक थ्रु’ हुन्छ ।

ऊर्जा उद्यमी कुमार पाण्डे बंगलादेश निर्यातका लागि प्रस्ताव गरिएको ५० मेगावाट क्षमता ठूलो परिमाण नभएको बताउँछन् । तर, सांकेतिकरुपमा सुरु हुने निर्यातले आगामी दिनमा थप फराकिलो र मजबुत हुँदै जान्छ । पछिल्लो वर्षा याममा आवश्यकताभन्दा बढी बिजुली उत्पादन हुन थालेको र आगामी दिनमा बंगलादेशसँग ऊर्जा व्यापार गर्न ट्र्याक खोल्ने पाण्डेको भनाइ छ । यसले बंगलादेशी लगानी नेपाल भित्र्याउन समेत महत्वपूर्ण भूमिका खेल्ने र प्रसारण लाइन निर्माण गर्न थप सहज वातावरण बन्ने उनको आकलन छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

निकेश खत्री
निकेश खत्री

खत्री रातोपाटीका लागि आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप