टी–ट्वान्टी लिग : स्पट फिक्सिङमा खेलाडीलाई ३६ लाखसम्मको अफर

काठमाडौँ । नेपाल टी–ट्वान्टी क्रिकेट लिगको स्पट फिक्सिङमा खेलाडीलाई लाखौँको अफर गरेको भेटिएको छ । केन्द्रीय अनुसन्धान ब्युरोले गरेको अनुसन्धानबाट एक जना खेलाडीलाई सबैभन्दा धेरै ३६ लाख सम्मको अफर गरेको भेटिएको छ ।
सो अफर सप्तरी घर भएका रवि माझीले पूर्व राष्ट्रिय क्रिकेटर मेहबुब आलममार्फत गरेका थिए । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले अदालतमा दर्ता गरेको अभियोग पत्र अनुसार आलमले दुईजना खेलाडीलाई सो प्रस्ताव गरेका हुन् । त्यस्तो अफर एक जना बलर र एक जना ब्याट्सम्यानलाई गरेको थाहा भएको छ ।
रवि माझीलाई खेलाडीसँग चिनजान गराएर अफर गर्ने भूमिका आलमले खेलेका थिए । आलमले ‘विपक्षी खेलाडीलाई ८ भन्दा धेरै रन बनाउन दिएमा भारु ६ लाखदेखि ८ लासम्म रवि माझीले दिन्छन्’ भनेर खेलाडीलाई भनेको अनुसन्धानबाट खुलेको छ । ६ वटा खेलमा ‘६ लाखको दरले ३६ लाख आउँछ’ भनेर आलमले फेसबुक म्यासेन्जरमार्फत खेलाडीलाई प्रस्ताव गरेका थिए । अभियोग पत्र अनुसार आलमले खेलाडीलाई भनेका छन्–‘बलिङ गर्दा विपक्षी ब्याट्सम्यानलाई एक ओभरमा १० रन भन्दा बढी रन बनाउन दिएमा वा ब्याटिङ गर्दा ५ भन्दा कम रन बनाई आउट भएमा रवि माझीले ६ लाख दिन्छन्, र बाँकी ६ खेलमा ३६ लाख तिमिलाई हुन्छ ।’
टी–ट्वान्टी लिगमा सहभागी दुईजना खेलाडीलाई आलमले रवि माझीसँग सम्पर्क गराएका थिए । माझीले आलममार्फत गरेको एप्रोचको रकम खुले पनि अन्य आरोपीले गरेको एप्रोचको रकम खुलेको छैन ।
अर्का ब्याट्सम्यानलाई आलमले ५ रनभन्दा कममा आउट भए ४ लाख दिने अफर गरेका थिए । सरकारी वकिल कार्यालयले माझी र आलमसहित १२ जनाको विरुद्ध मुद्दा दायर गरेको छ । आरोपीहरूमध्ये ७ जनाको स्थायी वतन नखुलेको केन्द्रीय अनुसन्धान ब्यूरोका एसएसपी दिनेश आचार्यले रातोपाटीलाई बताए ।
२०७९ पुस ९ देखी पुस २७ सम्म सञ्चालित टी–२० लिगमा स्पट फिक्सिङ गरेको आरोपमा सीआईबीले ३ जनालाई पक्राउ गरेको थियो । स्पट फिक्सिङमा संलग्न आरोपमा पक्राउ पर्नेमा पूर्व राष्ट्रिय क्रिकेटर मेहबुब आलम, राष्ट्रिय क्रिकेट टोलीका सदस्य आदिल अन्सारी र पर्साको वीरगन्ज घर भएका नितेश गुप्ता छन् । पक्राउ परेकाहरूलाई जिल्ला अदालतले प्रतिव्यक्ति ३ लाख धरौटीमा छाड्न आदेश गरेको छ ।
जनकपुर रोयल्सका खेलाडी आदिल अन्सारीले दुईवटा खेलमा ओभरको पहिलो बल नो बल र दोस्रो वाइड बल फालेका थिए । अनुसन्धानबाट उनले अफर अनुसार नै फिक्सिङ गरेर खेलेको थाहा भएको छ ।
भारतीय नागरिक समीर शेखले उनलाई स्पट फिक्सिङ खेल्न प्रस्ताव गरेका थिए । स्पट फिक्सिङ खेलेबापत उनलाई एक बल बराबर १ लाख दिने प्रस्ताव गरिएको अनुसन्धानबाट थाहा भएको छ ।
आफूलाई आएको अफर अनुसार खेलेका अन्सारीले खेल पूरा भएपछि मात्रै क्रिकेट संघलाई रिपोर्ट गरेको अनुसन्धानबाट थाहा भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ विदेशी मुद्राको बजार भाउ, कसको मूल्य कति ?
-
प्रिमियर लिग : लिभरपुल सजिलै जित्दा आर्सनलाई नटिङघमले रोक्यो
-
प्रिमियर लिगमा म्यान्चेस्टर सिटी र युनाइटेड दुबै विजयी
-
रुद्रतालको संरक्षणमा जुट्यो ढोरपाटन
-
पशुपतिनाथमा किन गरिन्छ चार प्रहरको विशेष पूजा ?
-
ट्रम्पको जालमा जेलेन्स्की, शुक्रबार अमेरिकामा ‘विशाल सम्झौता’