आइतबार, ०७ पुस २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

खर्चै नउठ्ने भएपछि विकल्प रोज्दै अलैँची किसान

हाल अलैँचीको मूल्य मुस्किलले ५ सय रुपैयाँ प्रति केजी
बुधबार, १० फागुन २०७९, १७ : ५७
बुधबार, १० फागुन २०७९

काठमाडौँ । अलैँची किसानहरूले आफ्नो खर्चै नउठ्ने भएपछि विकल्प रोज्न थालेका छन् । अलैँचीको उत्पादन बढे पनि मूल्य र निर्यात निरन्तर घट्दै गएको छ । भारतबाहेक अरू देशमा निर्यात गर्न नसक्दा नेपालमा उत्पादन भएको अलैँचीको मूल्य बर्षैनी घट्दै गएको हो ।

अरू खेती छाडेर अलैँची खेती मात्रै किसानहरू पनि धेरै छन् । तर पछिल्लो वर्ष अलैँचीको मूल्यमा गिरावटले किसान चिन्तित छन् । पाँचथरको फिदिम नगरपालिका–१ का दीपक नेपाल भन्छन्, ‘खर्च पनि नउठ्ने मूल्यले गर्दा हामी किसानहरू निराश बन्दै गएका छौँ। अहिले अलैँची खेतीले परिवार चलाउन धौ धौ पर्न थालेको छ ।’

हरेक वर्ष पूर्वी पहाडका ताप्लेजुङ, पाँचथर, इलाम, सङ्खुवासभा, भोजपुर, तेह्रथुम, धनकुटा, खोटाङ लगायतका जिल्लामा अलैँचीको उत्पादन बढेता पनि बजारमा मूल्य पाउन नसकेको नेपालले बताए । 

पहिले पहिले अलैँचीले धेरैको जीवनस्तर सुधार्‍यो । नेपालले भने, ‘केही वर्ष यता अलैँचीको मूल्य घट्या घट्यै छ । जबकि बजारमा अरू बस्तुको मूल्य बढ्या बढ्यै छ ।’ 

एक समय प्रतिमन (४० किलो) १ लाख २० हजार रुपैयाँसम्म पुगेको अलैँचीको मूल्य अहिले प्रतिमन २३ हजारदेखि ३० हजार रुपैयाँमा छ । यसरी अहिले अलैँचीको मूल्य मुस्किलले ५ सय रुपैयाँ प्रति केजी छ । 

अलैँचीको मूल्य निरन्तर घट्दै जाँदा किसानले वैकल्पिक व्यवसायसमेत रोज्न थालिसकेका छन् । निरन्तर मूल्य घट्दै गएपछि आफूले अलैँची खेती गर्न छाडेको बताउँछन्, काभ्रे, पनौती नगरपालिका–१ का किसान उपेन्द्र तिमल्सिना । उनले अलंैची छाडेर अब किवी खेती गर्न थालेको बताए ।

तिमल्सिना भन्छन्, ‘पहिला वार्षिक १० लाखको अलैँचीको बिरुवा मात्रै विक्री गरिन्थ्यो तर अहिले घट्दै आएर करिब ६० हजारको हाराहारीमा मात्रै विक्री हुने गर्छ । अलैँचीको मूल्य घट्दै गएकाले मैले यसको विकल्प रोजेको हुँ ।’

अलैँची व्यवसायी महासङ्घका केन्द्रीय अध्यक्ष निर्मल भट्टराईका अनुसार सरकारले अब अलैँची ब्राण्डिङ गरेर तेस्रो देशमा पनि निर्यात गर्ने योजना बनाउनु पर्छ । नभए अलैँची किसान विस्थापित हुनेछन् । 

ताप्लेजुङ, फुङलिङ नगरपालिका–१ का अलैँची किसान तथा व्यापारी वालमणि बराल भन्छन्, ‘अहिले अलैँची खेतीको स्थिति नाजुक छ । गत वर्ष प्रति मन ४८ हजारमा विक्री गरेँ तर यस वर्ष भने २० हजारदेखि ३० हजार प्रतिमन मात्र बेच्न बाध्य भइयो ।’ त्यसो त रोग, कीराको समस्या र सिँचाइको अभावले पनि उत्पादन घट्ने क्रममा रहेको उनको भनाई छ । 

भारतबाहेक अरू देशमा निर्यातको विकल्प नभएकाले नेपाली किसानले उत्पादन गरेको अलैँचीले उचित मूल्य नपाएको अलैँची व्यवसायी महासङ्घका केन्द्रीय अध्यक्ष निर्मल भट्टराई बताउँछन् । 

किसानहरूले गत वर्ष र यस वर्ष गरी करिब ८० प्रतिशत अलैँची विक्री गरिसकेको जनाउँदै भट्टराईले भने, यहाँको अलैँची ५ प्रतिशत मात्र यहाँ खपत हुने गरेको छ । भारत र भुटानमा अहिले ३० प्रतिशतले अलैँचीको उत्पादन बढेकाले पनि मूल्यमा गिरावट आएको हो।’

केन्द्रीय अध्यक्ष भट्टराईका अनुसार सरकारले अब अलैँची ब्राण्डिङ गरेर तेस्रो देशमा पनि निर्यात गर्ने योजना बनाउनु पर्छ । नभए अलैँची किसान विस्थापित हुनेछन् । 

अर्बौँको अलैँची निर्यात

केन्द्रीय भन्सार विभागका अनुसार नेपालमा वार्षिक करिब ६ अर्ब भन्दा बढीको अलैँची निर्यात हुने गरेको छ । विभागका अनुसार आर्थिक वर्ष २०७७÷७८ मा ८ हजार दुई सय ८९ मेट्रिक टन बराबरको ६ अर्ब ८९ करोड ५४ लाख २२ हजार चार सय ८० रुपैयाँको अलैँची निर्यात भएको थियो। 

त्यसै गरी गत आर्थिक वर्षमा  ५ हजार दुई ८० मेट्रिक टन बराबरको चार अर्ब ७६ करोड ४३ लाख ८९ हजार तीन सय ६० रुपैयाँको अलैँची निर्यात भएको थियो। 

चालु आर्थिक वर्षको ७ महिनामा ६ हजार १ सय १७ मेट्रिक टन बराबरको चार अर्ब ७९ करोड ७६ लाख २१ हजार रुपैयाँको अलैँची निर्यात भएको छ । नेपालबाट भारतमा मात्रै ९८ प्रतिशत अलैँची निर्यात हुन्छ । तर, सरकारले युरोपमा अलैँची निर्यातका लागि कुनै योजना बनाएको छैन ।

भारतबाहेक अरू देशमा अलैँची निर्यातका लागि चाहिने आवश्यक प्रक्रिया पुरा गर्न नसकिने भएकाले अहिले निर्यातको विकल्प नरहेको कृषि तथा पशुपक्षी विकास मन्त्रालयका प्रवक्ता प्रकाश कुमार सन्जेलले बताए । तेस्रो देशमा अलैँचीको निर्यातका लागि उत्पादन अझै बढाउनुपर्ने भएकाले अहिले नै सम्भव नरहेको उनको भनाई छ । 

नेपालमा वार्षिक सरदर १६ हजार हेक्टर जमिनमा अलैँची खेती हुने गरेको कृषि तथा पशुपक्षी विकास मन्त्रालयको तथ्याङ्क छ । नेपालको अलैँची गुणस्तरमा अग्रस्थानमा रहे पनि चीन, युरोप, अमेरिकामा नेपालको अलैँची निर्यातका लागि मन्त्रालयसँग भौतिक संरचना नभएको प्रवक्ता प्रकाश सन्जेलले  बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप