कालीगण्डकीबाट अयोध्यासम्म यसरी पुर्याइयो शिला
नेपालले भारतलाई कालीगण्डकीबाट दुईवटा शिला (पत्थर) उपहार दिएको छ । रामको मूर्ति बनाउन नेपालबाट पठाइएको शिला माघ १९ गते भारतको अयोध्या पुगिसकेको छ । र, सो शिला कांग्रेस नेता विमलेन्द्र निधिको नेतृत्वमा भारतको अयोध्यासम्म पुर्याउने काम सम्पन्न भएको हो ।
निधिले अयोध्याको राम मन्दिरमा जनकपुरबाट पठाएको धनुष राख्ने अभियान सुरु गरेका थिए तर सोही क्रममा शिला दिने कुरा आयो । उनले अयोध्यामा शिला पुर्याइसके भने धनुष पुर्याउने तयारी गरिरहेका छन् ।
यही सेरोफेरोमा रहेर रातोपाटीले कांग्रेस नेता निधिसँग विस्तृत कुराकानी गरेको छ । प्रस्तुत छ, उनीसँग गरिएको कुराकानीको सम्पादित अंशः
नेपालको कालीगण्डकी नदीको शिला भारतसम्म पुर्याउन तपाईको महत्वपूर्ण भूमिका रह्यो, यो कसरी सम्भव भयो ?
–नेपाल र भारतको सम्बन्ध अहिलेको मात्र होइन, आदिकालदेखि नै दुई देशबीच सम्बन्ध रहँदै आएको छ । प्राचिनकालमा जनकपुर जानकीजीको नगरी हो । राजा जनकको राजधानी हो जनकपुर । रामका पिता दशरथ पनि राजा थिए र उनको राजधानी भारतको अयोध्या हो । यी कुराहरु कथामा सुनिन्छ । राम र सीताबीचको बिहेका कारण अध्योध्या र जनकपुरको सम्बन्ध बनेको कुरा हामी पौराणिक ग्रन्थबाट सुन्दै आइरहेका छौँ । राम नवमी भनेर जनकपुरमा रामको जन्मजयन्ती मनाउँछौँ । जानकीजीको जन्मजयन्ती मनाउँछौँ जनकनवमी भनेर । राम–सीताको विवाहलाई लिएर हरेक वर्ष विवाह पञ्चमी मनाउने गरिएको छ ।
२०६१ सालदेखि जानकी मन्दिरको महन्थले विवाह पञ्चमी मनाउँदा अध्योध्याबाटै जन्ती ल्याउन प्रारम्भ गर्ने भनि निर्णय गर्नुभयो । यो आइडिया महन्थको भए पनि त्यसमा मेरो पनि सहयोग थियो । अयोध्यास्थित राममन्दिरको विवाद सन् २०१९ मा टुङ्गियो । त्यसपछि अध्योध्यामा राम मन्दिर बनाउने कुरा सुरु भयो । विवाह पञ्चमीको एउटा कार्यक्रम भएको थियो । त्यसमा भारतबाट पनि साधु तथा विभिन्न व्यक्तित्वहरु आउनु भएको थियो । ‘रामबिना सीता अधुरो, सीताबिना राम अधुरो भन्नुहुन्छ, अहिले त्यहाँ रामको मन्दिर बन्दैछ, त्यहाँ सीताको पनि मूर्ति राख्दा कस्तो होला !’ भनि मैले प्रस्ताव गरेँ । त्यसमा सबैजना सहमत हुनुभयो । त्यहाँ रामसीताको प्रतिमा बनाइने उहाँहरुले भन्नुभयो ।
केहीपछि अयोध्यामा राममन्दिर बनाउनका लागि हुने भूमि पूजामा सहभागी हुन जानकी मन्दिरका महन्थ र जनकपुरवासीलाई निमन्त्रणा गरिएको थियो । त्यहाँ भूमिपूजाका लागि केही उपहार लिएर जाने कुरा भयो । त्यहीबेला मैले प्रस्ताव गरेँ ।
के थियो त्यो प्रस्ताव ?
–राम मन्दिरका लागि जानकी मन्दिरले एउटा यस्तो उपहार दिनुपर्छ, जो सधैँका लागि सान्दर्भिक होस् भन्ने मेरो चाहना थियो । त्यो बेला धनुषको कुरा आएको थियो । आयोध्या जाँदा धनुषको चर्चा गर्नुहोला भनि जानकी मन्दिरका महन्थलाई सुझाव दिएको थिएँ । महन्थजी जानुभयो तर सायद व्यस्तताका कारण उहाँले धनुष उपहार दिने बारेमा कुरा गर्न पाउनुभएन । त्यसपछि म आफै अध्योध्या जाने विचार गरेँ । जनकपुरबाट अयोध्यालाई धनुष नै दिनुपर्छ भन्ने तर्क मेरो मनमा बलियो रुपमा आयो । राम र सीताको विवाहका लागि धनुष यज्ञ भएको थियो । धनुष यज्ञमा राखिएको धनुष अनेक महापुरुषले उठाउन सक्नुभएन, रामले मात्र त्यसलाई उठाउन सक्नुभयो । यदि राम त्यो धनुषलाई उठाउन सफल नभएको भए राम–सीताको विवाह हुने थिएन । जसले त्यो धनुष उठाउन सक्थे, उसैसँग सीताको विवाह हुने कुरा थियो । राम–सीताको विवाहको आधार त्यही धनुष यज्ञ भयो । र, त्यहाँ प्रयोग भएको धनुष नै अयोध्यालाई उपहार दिँदा राम्रो हुने मेरो तर्कपूर्ण सुझाव रह्यो ।
हामीले सुनेको कथा अनुसार त्यो धनुष भगवान शिवको थियो, जसलाई शास्त्रमा पिनाकिन धनुष भनिन्छ । त्यो धनुष परशुरामले ल्याएर राजा जनकको दरवारमा राखेका थिए । त्यो धनुष सीताले सानैदेखि सफा गर्ने, सार्ने गर्थिन् । त्यसपछि जनकले यस्तो धनुषलाई सीताले उठाउन सक्छिन् भने अरु जसले यो धनुष उठाउन सक्छ, उसैसँग सीताको बिहे गर्ने कुरा उठाउनुभयो । र, पछि धनुष यज्ञमा जसले यो धनुष उचाल्न सक्छ, उसैसँग छोरी सीतासँग बिहे हुन्छ भन्ने घोषणा नै गर्नुभयो ।
धैरै ठूला र बलवान व्यक्तिहरु त्यो यज्ञमा आए । कसैले उचाल्न सकेनन् । अन्त्यमा रामले त्यसलाई उचाल्नुभयो र सीतासँग बिहे भयो । धनुषसँग सीता–रामको यस्तो सम्बन्ध छ भने किन धनुष नदिने भनि म त्यतातिर लागेँ । पिनाकिन धनुष रामका पिता दशरथको दरवारमा थिएन, सीताका पिता जनकको दरवारमा थियो । त्यही कारण अयोध्यामा निर्माण गर्ने राम मन्दिरमा जनकपुरबाट धनुष राख्ने कुरा भयो । यस विषयमा मैले जनकपुर र अयोध्याका विभिन्न साधुसन्तसँग छलफल गरेँ । यसमध्ये एक जनाले भन्नुभयो, ‘चम्पत रायजी ट्रष्टको महासचिव हुनुहुन्छ, उहाँ यो विषयमा कन्भिन्स हुनुभयो भने सबैजना कन्भिन्स हुन्छन् ।’
त्यसपछि उहाँसँग भेट्ने सूत्र खोज्न थालेँ । चम्पत रायजी २०६१ को विवाह पञ्चमीमा जन्ती बनेर जनकपुर आउनु भएको थियो । उहाँले मसँग भेट्न पनि खोज्नुभएको थियो तर के कारणले भेट भएन, त्यो थाहा भएन । जानकी मन्दिरका महन्थले मसँग भन्नुभयो, ‘चम्पत रायजीसँग भेट्न समस्या छैन, उहाँसँग भेट्ने व्यवस्था म गरौँला ।’
अयोध्यामा भूमिपूजन हुँदा त्यहाँको पुरोहितमध्ये एकजना दुर्गाप्रसाद गौतम हुनुहुन्थ्यो । उहाँ झापाको हुनुहुन्छ भन्ने खबर आयो । मेरो लागि त सुखद् सूत्र फेला पर्यो । झापाका कांग्रेसका एक जना नेताबाट दुर्गाप्रसादको बारेमा खोजबिन गर्न लगाएँ । उहाँले एक दिनमै पत्ता लगाएर दिनुभयो । दुर्गाजीको नम्बर पनि पत्ता लाग्यो । मैले उहाँसँग सम्पर्क गरेँ र उहाँको माध्यमबाट चम्पत रायजीसँग सम्पर्क गरेँ । फोनमै मैले राम मन्दिरमा धनुष राख्नेबारे प्रस्ताव राखेँ । उहाँ सहमत हुनुभयो ।
चम्पत रायलाई के भनेर कन्भिन्स गर्नुभयो त ?
–राम–सीता मिलनको मुख्य आधार भनेको धनुष हो । धनुष नभएको भए सीता र रामको मिलन हुने थिएन । त्यही भएर धनुष मुख्य कुरा हो र जनकपुरले अयोध्यालाई धनुष उपहारमा दिन चाहन्छ । अरु कुराहरु मैले ह्वाट्सअपमा लेखेर पनि पठाएको थिएँ । अनि उहाँ कन्भिन्स हुनुभयो । उहाँले यो प्रस्ताव स्वीकार गरिसकेपछि मैले यो विषयमा छलफल गर्न र लिखित रुपमै सम्झौता गर्न अयोध्या आउन चाहन्छु, बनाउने काम हाम्रो हो तर कस्तो बनाउने, केको बनाउने जस्ता कुरामा छलफल गर्न चाहेको कुरा उहाँसँग राखेँ । यी सबै कुरा म त्यहीँ आएर गर्छु भनेँ । यही कुराहरु आदानप्रदान भइरहँदा दुर्गा गौतमले अर्को प्रस्ताव राख्नुभयो ।
के थियो त्यो प्रस्ताव ?
–जनकपुरबाट अयोध्यालाई धनुष दिने कुरा चम्पत रायसँग चलिरहेको बेला दुर्गा पौडेलले के भन्नुभयो भने धनुष उपहार दिने तपाईको प्रस्ताव एकदमै सह्राहनीय छ । राम मन्दिरमा राखिने राम लाला (बाल्यकाल)को मूर्ति बनाउन कुन शिला प्रयोग गर्ने भनेर यहाँ चर्चा भइरहेको छ । यहाँ धेरैको इच्छा नेपालको कालीगण्डकीको शिला राख्ने भन्ने छ । कालीगण्डकीमा पाइने शालिग्राम शिलालाई विष्णुको प्रतिक मानिन्छ । रामलाई पनि विष्णुको अवतार मानिन्छ । त्यही कारण कालीगण्डकीबाट शिला आयो भने त्यसबाट मूर्ति बनाउन उपयुक्त हुन्छ भन्ने कुरा उठेको छ । हामीले मूर्ति बनाउन त्यहाँबाट शिला प्राप्त गर्न सक्छौँ त भन्ने कुरा उठेको छ । त्यसमा तपाईको सहयोग चाहिन्छ भन्नुभयो । उहाँहरुले तपाईसँग यो विषयमा पनि कुरा गर्न चाहनुभएको छ । यदि सम्भव छ भनेमात्र उहाँहरुले तपाईसँग कुरा गर्नुहुन्छ भन्नुभयो ।
मैले हुन्छ, जरुर हुन्छ भनेँ । त्यसपछि यस विषयमा चम्पत रायसँग पनि कुराकानी भयो । चम्पत रायले पनि धनुषको कुरा सही हो तर राम लालाको मूर्ति बनाउन नेपालको शिला चाहिन्छ, त्यसमा तपाईले सहयोग गर्नुहुन्छ भन्ने अपेक्षा छ भन्नुभयो ।
अयोध्याले नेपालबाट शिला लैजान तपाईलाई नै किन प्रस्ताव गर्यो त ?
–उहाँहरुले नेपालको कालीगण्डकीबाट शिला लग्ने भनेर सोचिरहनु भएको थियो । त्यही बेला धनुषबारे मैले कुराकानी चलाएपछि संयोगवस् मसँग प्रस्ताव गर्नुभएको हो । सायद मेरो बारेमा पनि कसैले सबै कुरा उहाँहरुलाई भन्नुभएको होला । ममाथि विश्वास गरेरै सो प्रस्ताव गरेको हुनुपर्छ जस्तो लाग्छ । त्यसपछि म शिला खोज्नतिर लागेँ । त्योसँग सम्बन्धित विज्ञहरुसँग छलफलहरु सुरु गरेँ । खानी तथा भूगर्भ विभागका डिजीसँग फोनमा सम्पर्क गरेर त्यस विषयमा छलफल गर्न उहाँकै कार्यालयमा गएँ । त्यहाँ शालिग्रामको कुरा भयो । त्यहाँ जे जे कुरा उठ्थ्यो र कन्फ्युज भएका कुरा म त्यहीँबाट अध्योध्याका चम्पत रायसँग सल्लाह गर्थेँ । विभिन्न विकल्पको बारेमा त्यहाँ छलफल भयो । कालीगण्डकीबाट शालिग्राम निकाल्ने कुरा भयो । शिला पहिचानका लागि विशेषज्ञहरु एकचोटी साइट (कालीगण्डकी)मै जाने कुरा भएको थियो । विभागबाट दुई जना जान तयार हुनुभयो । मैले पोखराका डा.जगदिशचन्द्र पोखरेलसँग सम्पर्क गरेँ । उहाँ राष्ट्रिय योजना आयोगका उपाध्यक्ष हुनुहुन्थ्यो पहिला । उहाँले यस कामका लागि सबैभन्दा उपयुक्त पात्र डा.कुलराज चालिसे हुनुहुन्छ, उहाँलाई साथमा लिनुस्, सबै काम सजिलो हुन्छ भन्नुभयो । कुलराज चालिसेलाई गण्डकी प्र्रदेशका सरकारले भौतिक, अध्यात्मिक, धार्मिक, प्राकृतिक लगायतका बारेमा अध्ययन गरेर त्यसलाई सम्बर्द्धन र विकास गर्न गठन गरेको कार्यदलमा राखेको थियो । मैले कुलराज चालिसेको नम्बर लिएर उहाँसँग सम्पर्क गरेँ । उहाँ निकै खुसी हुनुभयो र यसमा खुलेर साथ दिने भन्नुभयो । उहाँ त्यो दिनदेखि पूरै विश्वासका साथ यस मिसनमा लाग्नुभयो ।
त्यसपछि त्यहाँका मुख्यमन्त्रीलाई सम्पर्क गरेँ । मुख्यमन्त्रीले पनि खुसी भएर सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । हामी कालीगण्डकी पुग्यौँ । विशेषज्ञहरुले ठाउँठाउँमा सेम्पल लिनुभयो । काठमाडौँ फर्केपछि त्यसको ल्याब टेस्ट भयो । त्यो टेस्टको रिपोर्ट लियौँ ।
रिपोर्ट कस्तो आयो ?
–रिपोर्ट सोचे अनुसार नै आयो । अयोध्याले जस्तो खोजेको थियो, त्यस्तै शिला फेला परेको थियो । यो शिला र धनुषको बारेमा कुरा गर्न अध्योध्या जानुभन्दा पहिले मैले शेरबहादुर देउवा, प्रचण्ड, माधवकुमार नेपाल र राजेन्द्र महतोलाई भेटेर सबै कुराको जानकारी गराएको थिएँ । कुनैबेला पनि सरकारी निर्णय जरुरी पर्न सक्छ भनेपछि उहाँहरुले ‘जानुस् जे जे आवश्यकता पर्छ, हामी सहयोग गर्छौँ’ भन्नुभयो । जानकी मन्दिरको महन्थ, कुलराज चालिसे, जीवनराम ठाकुर, दुई शिला विशेषज्ञसहित म अयोध्या गएँ । जुलाई ३० र ३१ गरी दुई दिन छलफल भयो । त्यसमा हाम्रो तर्फबाट विभिन्न प्रस्तुति भयो । शिला र धनुषको प्रस्तुति दिएपछि उहाँहरु पनि खुसी हुनुभयो । उहाँहरुले दुईवटै प्रस्ताव स्वीकार गर्नुभयो । हामी फर्केर आयौँ ।
औपचारिकता वा कुनै लिखित सहमति भएन त्यहाँ ?
–हो, हामी फर्किसकेपछि चम्पत रायले त्यहाँबाट शिला र धनुष सम्बन्धी दुईटा छुट्टा छुट्टै औपचारिक पत्र जानकी मन्दिरलाई लेख्नुभयो । क्वारजाइट शिला र क्यारसाइट शिला चाहियो भनि नामै उल्लेख गरेर जानकी मन्दिरलाई पत्र लेख्नुभयो । शिला हामीलाई पहिले चाहियो । २०२५ जनवरीमा मूर्ति बनाएर त्यसमा प्राण प्रतिष्ठा गर्ने योजना छ । मूर्ति बनाउन त्यसअघि नै शिला हामीलाई चाहिन्छ । धनुषका लागि दुई वर्षको समय छ । त्यो विस्तारै दिए पनि हुन्छ भन्ने व्यहोराको पत्र अयोध्याबाट पठाइएको थियो । त्यहाँबाट पनि राजेन्द्रसिंह पंकज आउनुभयो । लगभग उहाँ एक महिना जनकपुर र पोखरामा बस्नुभयो । शिला व्यवस्थापनमा उहाँ पनि हाम्रो साथमै रहनुभयो ।
अयोध्याबाट पत्र पाएपछि हामी जानकी मन्दिरमा बस्यौँ, त्यहाँ छलफल भयो । त्यहाँको छलफलबाट शिला र धनुषको सम्पूर्ण व्यवस्थापन गर्ने जिम्मेवारी जानकी मन्दिरका महन्थ र मलाई दिइयो । त्यसपछि गण्डकी सरकार र संघीय सरकारलाई पनि औपचारिक पत्र लेख्ने काम भयो । गण्डकी प्रदेश सरकारले कालीगण्डकी क्षेत्रबाट दुई थान शिला जानकी मन्दिरलाई उपलब्ध गराउने र त्यसका लागि नौ लाख ९५ हजार बजेट पनि छुट्याउने निर्णय गर्यो । संघीय सरकारले पनि मन्त्रिपरिषद्बाट आधिकारिक निर्णय गरी शिला दिनेबारे गण्डकी सरकारलाई सहमति दियो । त्यसपछि त्यहाँबाट दुईटा शिला निकाल्ने काम भयो ।
एउटा मूर्ति बनाउन दुई वटा त्यत्रा शिला किन त ?
–हो, रामको एउटा मूर्ति बनाउनका लागि एउटा मात्र शिलाले हुन्थ्यो तर बनाउँदा बनाउँदै बिग्रिहाल्यो वा केही समस्या भयो भने अर्को काम लाग्छ भनेर नै दुई वटा लगिएको हो । त्यो शिला उठाउनु भन्दा अघि पूजापाठ गर्ने कुरा भयो । त्यहाँका स्थानीय पण्डितहरु बोलाउने काम भयो । धार्मिक दृष्टिकोणले पनि त्यहाँ विभिन्न पूजाहरु भए । माघे संक्रान्तिका दिन १०ः२० मिनेटको साइतमा क्षमा पूजा, भूमि पूजा, शिला पूजा, गंगा (गण्डकी) पूजा सम्पन्न भयो । म र मेरो श्रीमतीले अखण्डबत्ती बालेर पूजा आरम्भ गरेका थियौँ । त्यो क्षेत्रका, प्रदेश सरकारका प्रतिनिधिलगायत विभिन्न क्षेत्रका व्यक्तिहरुको उपस्थिति थियो ।
पूजा सम्पन्न भएपछि गण्डकी प्रदेश सरकारले जनकपुरसम्मका लागि दुई वटा ट्रकको व्यवस्था गरिदियो । २६ जनवरीको दिन त्यहाँबाट हिँड्यो । बाटोमा भक्तजनहरुको घुइँचो लाग्न थाल्यो । बाटोमा जनताको अपार सहभागिता हुन थाल्यो । पूजापाठ गर्नका लागि स्वागत पनि भइरहेको थियो । तीन दिनमा हामी जनकपुर पुग्यौँ । जानकी मन्दिर परिसरमा शिला राख्यौँ ।
मन्दिर परिसरमा मेलाजस्तै भयो । टाढा टाढाबाट त्यहाँ शिला हेर्नेको घुइँचो नै लाग्न थाल्यो । त्यहाँ पनि विधिपूर्वक पूजापाठ भयो । त्यहाँबाट भारतका लागि प्रस्थान गर्यौँ । भारतमा पनि बाटोभरि पूजा पाठ, भव्य स्वागत गर्ने काम भक्तजनले गरे । एक रात मुजफ्फरपुर र अर्को दिन गोरखपुरमा बास बस्यौँ । गोरखपुरमा त मेरो तस्विरसहितको बोर्ड लगाएर भव्य स्वागत गरिएको थियो । त्यो शिलालाई त्यहाँको रामसेवक कार्य पुरम (वर्कसप) मा राख्यौँ । भोलिपल्ट एक समारोह आयोजना गरी अयोध्याको ट्रस्टलाई हस्तान्तरण गर्यौँ ।
शिला हस्तान्तरण गर्नुभयो तर धनुषको कुरा के भयो ?
–अयोध्यामा राम मन्दिरको निर्माण काम भइरहेको छ । राम लालाको जुन आसन बन्छ, त्यो आसनको साइज हेरेर त्यस्तै सामुनेको अर्को कोठामा धनुष राख्ने हो । त्यो आसनको साइज फिक्स भएपछि मात्र धनुष बनाउने कुरा भयो । धनुष के को बनाउने भन्ने पनि टुङ्गो लगाउन बाँकी छ । यो मन्दिरको आयु न्यूनतम दुई हजार वर्षको हुन्छ, त्यति नै आयुुको धनुष पनि बनाउनुपर्छ । त्यति वर्षसम्म राखिराख्न के वस्तुबाट बनाउँदा ठिक हुन्छ भन्नेबारे छलफल चलिरहेको छ । चम्पत रायले के भन्नुभयो भने यसको वजन यति होस् कि एकदेखि दुईजनाले यताबाट उता उठाएर सार्न सकोस् । उचाल्न सकिने खालको बनाउनुपर्छ । वजन कम र टिकाउ बढी बनाउनका लागि कुन धातुको बनाउन सकिन्छ, त्यसको लागि विशेषज्ञसँग छलफल भइरहेको छ ।
धनुष निर्माणको लागत तपाई व्यक्तिगत रुपमा व्यहोर्नु हुन्छ कि सरकारले व्यहोर्छ ?
–म व्यक्तिगत रुपमा केही गर्दिनँ । त्यसको खर्च वा अरु व्यवस्थापन जानकी मन्दिर र जनकपुरवासीको तर्फबाट हुन्छ । यसको लागत आठदेखि १० करोडसम्मको पनि हुनसक्छ । जति लागत लाग्छ, त्यति नै जानकी मन्दिर र हामी जनकपुरवासीले व्यहोर्छौँ । अयोध्याकै निगरानीमा त्यो निर्माण हुन्छ ।
कालीगण्डकीको शिला र धनुष अयोध्यासम्म पुर्याउनुको पछाडि तपाईको उद्देश्य के हो ?
–कुनै अन्य उद्देश्य छैन । जनकपुर र अध्योध्याको सम्बन्ध त्रेता युगदेखि भएको हो । जनकपुर र अयोध्याको सम्बन्ध राम र सीताको बिहेदेखि मात्र भएको होइन जस्तो लाग्छ । त्यो भन्दा पहिलादेखिकै हो । राम र सीताको विवाहपछि सम्बन्धमा नयाँ आयाम थपेको हो । त्यहाँ राम मन्दिर बन्दैछ । जनकपुरबाट त्यहाँ धनुष दिएपछि आगामी पुस्ताले पनि यो सम्बन्धलाई सम्झिरहनेछ । र, यो धेरै ठूलो ऐतिहासिक काम हुनेछ । नेपाल र भारतको सम्बन्धमा नयाँ आयाम थपिनेछ ।
राम–सीताको विवाह सम्बन्धले नेपाल–भारतको सम्बन्धलाई अझ कसरी विकसित गर्न सकिन्छ, त्योमात्रै स्वार्थ हो । म धार्मिक व्यक्ति हुँ । म सानैदेखि धर्म कर्ममा लागेको थिएँ । मेरो बुबा जेलमा हुनुहुन्थ्यो । बुबा जेलबाट छुट्नुहोस् भनेर मेरो ठूलो आमाले भाकल गर्नुभएको थियो । प्रत्येक संक्रान्तिको दिन सत्यनारायण भगवानको पूजा हुन्थ्यो र त्यो दिन म दिनभर उपवास बस्थेँ । त्यतिबेला म पाँच कक्षामा पढ्थेँ । अर्थात् म आज हिन्दु धर्ममा लागेको भने होइन, म सानैदेखि धर्म कर्ममा लागेको व्यक्ति हुँ । आधुनिककालमा राम र सीताको वैवाहिक सम्बन्धलाई अझै बहुआयामिक बनाउन म लागेको हुँ, अरु कुनै उद्देश्य छैन ।
यो धनुषा र शिला आयोध्या पुर्याएपछि नेपाल–भारतबीचको सम्बन्धमा केही फरक पर्ला ?
–दुई देशको बीच अनन्तकाल र दीर्घकालसम्मको सम्बन्धलाई चिरस्थायी बनाउँछ । यसमा नकारात्मक कुरै छैन, सकारात्मक सम्बन्धको विकास हुन्छ । धेरै पछिसम्म यो सम्बन्धलाई सम्झिरहनेछ । र, यसलाई कसरी निर्वाह गर्छौँ भन्ने कुरा हामीमा निर्भर हुन्छ ।
नेपाल–भारत सम्बन्ध धेरै पुरानो हो तर सबभन्दा बढी विवाद पनि यी दुई देशकै बीचमा हुने गरेको छ, किन ?
–मलाई पनि यो विषयमा अचम्म लाग्छ । राम र सीताको यस्तो सुमधुर सम्बन्ध छ । जसले पनि शासनको कुरा गर्दा रामराज्यको शासन हुनुपर्छ भन्छन् । अरु राज्य कसैले भन्दैन । रामराज र रामायण कथाको कुरा गर्ने हो भने राम र दशरथको सम्बन्ध कस्तो थियो, राम र लक्ष्मणको सम्बन्ध कस्तो थियो, राम र भरतको सम्बन्ध कस्तो थियो, राम र सीताको सम्बन्ध कस्तो थियो, राम र उनको आमाको कस्तो सम्बन्ध थियो, रामलाई १४ वर्ष वनवास किन जानु पर्यो । रामको सौतेनी आमा राम अयोध्याको राजा नबनुन् भन्ने थियो । यसको षड्यन्त्रमा रामलाई वनबास पठाएको हो नि त । अब रामराज भन्नेहरुले के बुझ्नुपर्छ भने रामलाई नचाहने व्यक्ति पनि थिए । त्यही परिवारमा रामलाई चाहने र त्यही परिवारमा रामलाई नचाहने व्यक्ति थिए । नेपाल–भारतको सम्बन्ध पनि त्यस्तै हो । यही सम्बन्ध राम्रो नहोस् भन्ने चाहना भएका व्यक्ति छन् भने राम्रो सम्बन्ध भएका व्यक्ति पनि छन् । त्यसैले यसलाई अन्यथा लिनु हुँदैन । सम्बन्ध कस्तो हुन्छ भन्ने सोचाई आ–आफ्नो हुन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मन्त्री भण्डारी र कोरियाली समकक्षीबिच टीआइपीएफ सम्झौतामा हस्ताक्षर
-
रवि लामिछानेको हिरासतभित्रको तस्बिर सार्वजनिक गर्नेलाई कारबाही गर्न गृहमन्त्रीको निर्देशन
-
सामाजिक सञ्जालमा देखिने शङ्कास्पद पोस्टहरू क्लिक नगर्न प्रहरीको आग्रह
-
मनाङमा जलविद्युत् आयोजना सम्पन्न गर्न सहजीकरण समिति गठन
-
सिरिया छाड्ने तयारी गर्दैछ रुस ?
-
आमा बनिन् अभिनेत्री नन्दिता केसी