स्थानीय तह निर्वाचनले दिएको सन्देश
स्थानीय तहको हालै सम्पन्न निर्वाचनले निकै अनौठो सन्देश दिएको छ । यसको गहिराइमा हेर्दा देश निकै जटिल मोडमा उभिएको सङ्केत गर्दछ । निर्वाचन देशको परिस्थितिको परीक्षण पनि हो । यसर्थ, देशले कस्तो अवस्थाको दुर्दशा भोग्दैछ ? कस्तो नेतृत्वको पक्षमा जनमत खुम्चिन गएको छ ? देश कसरी चल्न र चलाउन खोजिएको छ ? यस्ता विविध कुराहरुको सरल सङ्केतहरु निवार्चनले सतहमा ल्याउने गर्दछ । यसबारे सबैले आफू अनुकुल व्यख्य गर्नु अनौठो होइन ।
तर, समग्र यसले दिएको सन्देश नै ‘देशको परिवर्तन र समृद्धि चाहन्छौँ भने परदेशिएका सबै प्रवासी नेपाली स्वदेश फर्क’ भन्ने हो । गाउँघरमा अशक्त आमा–बुबा र बालबच्चाहरु छाडेर केही पढेलेखेका, चेतना–ऊर्जा भएका युवाहरु विदेशिन नरोकिएसम्म न त भ्रष्ट र कमजोरले शासन गर्न छाड्नेछन् न त परिवर्तन र समृद्धि नै आउने छ । सही के हो ? गलत के हो ? छुट्ट्याउन सक्ने सामाथ्र्य ती युवाहरूसँग छ, जो प्रवासी भूमिमा पसिना बगाइरहेका छन । असल र बलिया–बुद्धिमान नभएपछि भ्रष्ट र कमजोरहरु नै अगाडि आउनु कुनै अनौठो होइन । यसले दिएको सन्देश ध्रुवसत्य छ । मनन योग्य छ ।
दैनिकजसो एयरपोर्टबाट विदेशिने युवाहरुको एउटै उद्देश्य आय–आर्जन नै हो । वर्क परमिट भिसाबाहेक उच्च शिक्षा लिन भन्दै लाम लाग्नेहरुको उद्देश्य पनि अधिकांशको त्यही नै हो । स्वदेशमै केही गर्ने उपाय नदेखिएका कारण वैदेशिक रोजगारीको बाटो समात्नुपरेको हो । वर्तमान अवस्थामा वैदेशिक रोजगार एक बाध्यता जस्तो बन्दै गइरहेको छ । नेपालजस्तो विकाशोन्मुख देशका लागि यो निकै दुःखद् कुरा हो । अहिले विश्वभर श्रम नै उत्पादनको मुख्या साधनका रुपमा रहेको छ । यस्तो अवस्थामा मुलुकले श्रमशक्तिलाई सदुपयोग गर्ने वातावरण सिर्जना गर्न नसक्नु निकै ठूलो दुर्भाग्य हो । श्रमशक्तिको मुख्य स्रोत नै युवाशक्ति हो । यसको समुचित व्यावस्थापन, विकास र उपयोगविना देशको आर्थिक रूपान्तरण सम्भव हुनै सक्तैन ।
एक सर्वेक्षणले नेपाली श्रम बजारमा श्रमशक्तिको सङ्ख्या लगभग एक करोड तीस लाखको हाराहारीमा देखाउँछ । नेपालमा बर्सेनि करिब साढे चार लाखको अनुपातमा श्रमशक्ति थपिँदै जाने गरेको अनुमान छ । यसको मतलब बर्सेनि साढे चार लाख ऊर्जाशील नेपाली युवा बेरोजगार हुनु हो । श्रमशक्ति आपूर्तिको तुलनामा रोजगारको अवसर सिर्जना हुन नसकेकै कारण युवाहरु वैदेशिक रोजगारमा पलायन हुनेको सङ्ख्या बर्सेनि उच्च दरमा बढ्दै गइरहेको देखिन्छ । विदेशबाट अर्थतन्त्रको महत्वपूर्ण हिस्सा मानिएको विप्रेषण मात्रै भित्रिदैन । काठको बाकसमा विलाप पनि भित्रिरहेको छ । सिउँदो पुछिएको, काख रित्तिएको, अभिभावक गुमेको, कैयौंँको रुवाबासी चलेको सबैलाई अवगत छ । विकासको ठुल्ठुला सम्भावना बोकेको हाम्रो जस्तो विकासोन्मुख मुलुकका लागि यो राम्रो सङ्केत हुँदै होइन ।
देशभित्र सूचना प्रणालीको भरपर्दो र व्यावस्थित नीति निर्माण हुन सकिरहेको छैन । तसर्थ, सञ्चालनमा रहेका कैयौँ उद्योग, प्रतिष्ठान र कलकारखानाहरु दक्ष जनशक्तिको चरम अभावको सामना गरिरहेका छन् । अर्कोतर्फ सीप, योग्यता र अनुभव प्राप्त दक्ष जनशक्ति बेरोजगारको चपेटामा छट्पटाइरहेका छन् । अन्ततः वैदेशिक रोजगारबाहेक अर्को विकल्प नखोजिँदा देशको स्थिति झन् विकराल बन्दै गइरहेको छ । यदि सबैखाले समस्याको न्यूनीकरण गर्दै देश समृद्ध बनाउने हो भने अब विकल्प खोजिनु पर्दछ । गरिबी हटाएर दोहोरो अङ्कमा आर्थिक समृद्धि प्राप्त गर्नका लागि सर्वप्रथम युवाहरुलाई सङ्गठित रूपमा स्वादेशमै विकल्प दिनुपर्दछ । विदेशबाट योजनासहित फर्कन सबैलाई उत्प्रेरित गर्नुपर्दछ । पचासौँ लाख युवा जनशक्तिलाई स्वदेश फर्कन औद्योगीकरणको बृहद् योजनासहित सङ्गठित अभियान चलाउन ढिलाइ गर्नु हुँदैन ।
हाल निर्वाचित प्रतिनिधिहरुले सामान्य औपचारिकता मात्रै निभाउने सङ्केत देखिन्छ । विकासको कछुवाको गतिलाई खरायोको गतिमा लैजान सक्षम नेतृत्व चाहिन्छ । सिङ्गो संरचना सन्तुलित र सही हुनुपर्दछ । त्यो देखिँदैन । विशेषतः संविधानलाई कार्यन्वायन गर्नुपरेको संवैधानिक बाधा–अड्चनलाई फुकाउन मात्रै दलहरु निर्वाचनमा गएका हुन् भन्ने उनीहरुको वजन र योजनारहित अभिव्यक्तिले पुष्टि गरेको पाइन्छ । उनीहरुको व्यवहारले पनि त्यस्तै देखाइसकेको छ । संवैधानिक सङ्कटलाई टार्न र सम्पूर्ण प्राप्त उपलब्धिलाई वैधानिक रुपमा संस्थागत गर्न तीन तहको निर्वाचन सम्पन्न गर्न अनिवार्य भएका कारण जबरजस्ती निर्वाचनमा गएका हुन् । यसरी औपचारिकता पूरा गर्नलाई मात्रै राज्यको ढुकुटी रित्याउनु जायज हुँदैन । सिङ्गो मुलुकको चौतर्फी विकास गर्ने हो र देशको कुना–कुनाबाट सक्षम नेतृत्व प्राप्त गर्ने हो भने प्रवासी पचासौँ लाख नेपाली स्वदेश फर्काउने योजना बनाउन ढिला गर्नु हुँदैन । समय निकै घर्कंदै छ ।
को–कुन पदमा निर्वाचित भयो ? मुख्य कुरा त्यो होइन । यसले केही तात्विक असर पार्दैन । तर उसले त्यहाँबाट कस्तो दक्षता, क्षमता प्रदर्शन गर्छ ? कस्तो योजना र कार्य तर्जुमा गर्न सक्छ ? यो कुरा मुख्य हो । यसका लागि सैद्धान्तिक, व्यावहारिक योग्यता चाहिन्छ । उसको योग्यता आफ्नो पार्टीको झोला बोकेको बाहेक अरू छैन भने उसले दिने योगदान अनियमितता र भ्रष्टाचार नै हो । सबै सचेत हुनु जरुरी छ । यी सबै भोलिका दिनहरुमा आउनसक्ने सम्भावित खतराहरु त छँदैछ । तर तत्काल सतहमा देखिएका वास्तविकता साँच्चै नेपालमा सही नेतृत्व चयन गर्ने, समृद्ध नेपाल निर्माण गर्ने नै हो भने प्रवासी नेपालीहरु स्वदेश फर्कन उत्प्रेरित गर्न तुरुन्त योजना बनाउनुपर्ने टड्कारो आवश्यकता देखिन्छ । अन्तर्यमा स्थानीय तह निर्वाचनले निष्पक्ष दिएको सन्देश पनि यही हो । यसलाई मनन् गरेर कार्यन्वायन गर्न सबै जुट्नु पर्दछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रिसव गौतमको पुस्तक ‘मौलिक अर्थतन्त्र’ बजारमा
-
गढीमाई मेलामा दिइने पशुबली निरुत्साहन गर्न ध्यानाकर्षण
-
रक्षामन्त्रीसँग भारतीय स्थल सेना अध्यक्षको शिष्टाचार भेटघाट
-
नेपाल कबड्डी लिगको लोगो सार्वजनिक
-
कफी खेतीमा युवा वर्गलाई आकर्षित गर्नुपर्छ : मन्त्री अधिकारी
-
स्वास्थ्य क्षेत्रको अनुसन्धानबारे अन्तर्राष्ट्रिय सम्मेलन हुँदै