मङ्गलबार, ११ मङ्सिर २०८१
ताजा लोकप्रिय
ब्रिफिङ

रातोपाटी ब्रिफिङ : यस्ता छन् आज दिनभरका ‘टप टेन’ समाचार

मङ्गलबार, ०९ फागुन २०७९, २२ : ४४
मङ्गलबार, ०९ फागुन २०७९

काठमाडौँ । आज मिति २०७९ साल फागुन महिनाको ९ गते मंगलबार । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमलाई रातोपाटीको रात्रिकालीन प्रस्तुती ‘रातोपाटी ब्रिफिङ’ मा प्रस्तुत गरिएको छ–

१.प्रधानमन्त्री कतार भ्रमणमा जाँदै
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड कतारको भ्रमणमा जाने भएका छन् । उनी यही फागुन २० गते विकाससम्बन्धी सम्मेलनमा सहभागी हुन कतारको राजधानी दोहा जाने तयारीमा रहेका हुन् । प्रधानमन्त्री प्रचण्डका राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले प्रधानमन्त्री फागुन २० गते दोहा जाने तयारीमा रहेको रातोपाटीलाई पुष्टि गरे ।

२. राष्ट्रपतिमा रणनीति

संसद्को पहिलो शक्ति कांग्रेस, दोस्रो शक्ति एमाले र तेस्रो माओवादी केन्द्र छ । भावी राष्ट्रपति कसलाई बनाउने भन्नेमा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री प्रचण्ड निर्णायक अवस्थामा छन् । उनको पार्टीबाट राष्ट्रपति बनाउने अवस्था नभए पनि कांग्रेस, एमाले लगायत अन्य दलबाट राष्ट्रपति बनाउनेमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने अवस्थामा उनी छन् । त्यसैले, कांग्रेस, एमाले लगायतका दलले राष्ट्रपतिमा सहयोग गर्न उनलाई आग्रह गरिरहेका छन् ।

३‍. जनमोर्चाको निर्णय

राष्ट्रिय जनमोर्चाले वैशाख १० गते चितवन २ मा हुने उपनिर्वाचनमा भाग लिने निर्णय गरेको छ । मंगलबार पार्टी अध्यक्ष चित्रबहादुर केसीको अध्यक्षतामा बसेको संसदीय बोर्डको बैठकले उपनिर्वाचनमा भाग लिने निर्णय गरेको हो  ।

४. सर्वोच्चमा मुद्दाको चाङ 

भनाइ नै छ– ढिलो न्याय दिनु न्याय नदिनु सरह हो । तर, सर्वोच्च अदालतमा मुद्दाको चाङ हेर्दा धेरैले छिटो न्याय पाउने छाँट देखिँदैन । आइतबारसम्म सर्वोच्चमा मुद्दा २९ हजार ९२ मुद्दा फर्छ्योट हुन बाँकी छ । हाल सर्वोच्चमा कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीसहित १६ जना न्यायाधीश छन् । दैनिक आठ वटा इजलास बस्छ । एउटा इजलासमा दुई जना न्यायाधीश बस्छन् ।

५. संसदलाई विजनेश भएन

 यस पटकको हिउँदे अधिवेशन शून्य र विशेष समयमै सीमित हुने देखिएको छ । सरकारले संसद्लाई बिजनेस नदिँदा यस्तो अवस्था आइपरेको हो । सांसदहरुले बिजनेश नभएकै कारण राम्रोसँग काम गर्न नसकेको गुनासो गर्न थालेका छन् । वर्तमान संसद् प्राविधिक कुराहरूमा अल्झिँदा संसदीय अन्य गतिविधिहरू हुन सकेका छैनन् । संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले अघिल्लो प्रतिनिधि सभापछि निष्क्रिय भएका विधेयकहरुलाई पुनः दर्ता गर्नेगरी सरकारले हाल कुनैपनि विधेयक नल्याएको बताए । 

६. माधन नेपालको दाबी

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालले राष्ट्रपतिका लागि आएको प्रस्तावबारे केही नसोचेको बताएका छन् । मंगलबार दाङका सञ्चारकर्मीहरूसँग कुरा गर्दै चाहाना राख्नु एउटा कुरा भए पनि त्यसबारे आफू र आफ्नो पार्टीले केही सोचिसकेको अवस्था नरहेको बताएका हुन् । त्यस क्रममा उनले पावर सेयरिङका सवालमा आफ्नो पार्टीको भूमिका हुनुपर्ने बताए । 

७. ल्होसार मनाइयो 

प्रत्येक वर्ष फागुन शुक्ल प्रतिपदाका दिन शेर्पा समुदायले मनाउने सांस्कृतिक पर्व ग्याल्पो ल्होसार विविध कार्यक्रम आयोजना गरी  मनाइएको छ । 
नयाँ वर्षका रुपमा शेर्पा समुदायले २१५० औँ ग्याल्पो ल्होसार आज बाघ वर्षलाई बिदाइ गरी खरायो वर्षलाई स्वागत गरेर मनाएका हुन् ।

८. क्रिकेट

नेपालले अपराजित हुँदै घरेलु मैदानमा भएको आईसीसी विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिज जितेको छ ।  मंगलबार भएको सिरिजको अन्तिम खेलमा स्कटल्यान्डलाई २ विकेटले हराउँदै नेपालले अपराजित हुँदै सिरिज जितेको हो । 

९. टेलिकमको तयारी

 टेलिकम कम्पनीहरुले गर्ने बद्मासी रोक्ने लक्ष्यसहित सरकारले टेलिकम्यूनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेरामक्स) जडान गर्ने तयारी गरेको छ । टेलिकम कम्पनीहरुले सेवाग्राहीलाई सेवा दिएबापत सरकारलाई बुझाउनुपर्ने विभिन्न शीर्षकको राजस्व, सेवाको गुणस्तर र कम्पनीहरुको अन्य गतिविधिमाथि निगरानी गर्ने लक्ष्यसहित टेरामक्स जडान गर्न लागेको हो ।

१०. थप समाचार

नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीशको नियुक्ति चाँडो टुङ्ग्याउन माग गरेको छ। एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरे नेतृत्वको टोलीले मंगलबार बालुवाटारस्थित प्रधानमन्त्री निवासमा  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर अविलम्ब प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्न माग गरेको हो। प्रधानमन्त्री संवैधानिक परिषद्को अध्यक्ष रहने संवैधानिक व्यवस्था छ।

गृह मन्त्रालयले रिक्त पदमा बढुवाको तयारी गरेको छ । गृह–सचिव विनोद प्रकाश सिंहका अनुसार ‘केही दिन’मा एआईजीको बढुवा हुनेछ । रातोपाटीसँग कुरा गर्दै सिंहले भने,‘रिक्त पदमा केही दिनमा बढुवा होला ।’

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप