युनिटीपछि ‘क्युनेट’ नेटवर्कको डरलाग्दो ठगी : यसरी भयो पर्दाफास !
काठमाडौं – धनगढीका शिव जोशी (नाम परिवर्तन) पेशाले शिक्षक हुन् । एनजिओमा काम गर्ने उनको एउटा साथिले ‘क्युनेट’ नामक प्राइभेट कम्पनीले विदेश घुम्ने र सस्तोमा ब्राण्डेड समान खरिद गर्न राम्रो स्किम ल्याएको भन्दै मिलेर काम गर्न आग्रह गरे ।
राम्रो लाईफस्टाईल बिताउँदै आएका साथीको आग्रह शिवले काट्नै सकेनन्, अनि ३ लाख ५० हजार तिरेर गत मंसिरमा क्युनेट नामक नेटवर्किङ कम्पनीको सदस्य बने । सदस्य बनाउनेबेला कम्पनीको नेपाल हेर्ने मुख्य मान्छे भनेर शिवलाई काठमाडौंमा सुमित श्रेष्ठसँग भेट गराइएको थियो । तिनै सुमित सहितका बोसहरु आइतबार (जेठ २८ गते) काठमाडौंको तिनकुनेस्थित सिद्धार्थ कटेजमा शिवजस्तै १०२ जनालाई तालिम दिँदै थिए । रातको करिब ९ बजेको हुँदो हो, सिद्धार्थ कटेजमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले घेरा हाल्यो । सादा पोशाकका प्रहरीले धमाधम समातेर भ्यानमा कोच्न थालेपछि शिवले बल्ल थाहा पाए, ‘म ठगिएछु !’
सोमबार केन्द्रीय अनुसन्धान ब्युरोको क्यान्टिनमा भेटिएका शिवजस्तै करिब ५० जना युवा युवतीहरु मिडियाकर्मीसँग तर्कंदै थिए । कत्तिपय खुलेर आफु ठगीएको कुरा खुलाउनै चाहेनन्, बरु मुख छोपेर भाग्न खोजे ।
करिब डेढ बर्षदेखी ‘क्युनेट’ नामक नेटवर्किङ कम्पनीमार्फत यसरी ठगी धन्दा चलाउँदै आएका १४ जना मुख्य अभियुक्तलाई नियन्त्रणमा लिएर केन्द्रीय अनुसन्धान ब्युरोले ठगी मुद्धा चलाएको छ । आईतबार नियन्त्रणमा लिएका १४ बाहेक अन्यले आफु मातहत सदस्य बनाएको नखुलेपछी उनीहरुलाई भने हाजिर जमानीमा छाडिएको केन्द्रीय अनुसन्धान ब्युरोका निमित्त निर्देशक (एसएसपी) शेर बहादुर बस्नेतले जानकारी दिए ।
सोमबार सिआईबीले पत्रकार सम्मेनल गरेर विगतमा सर्वसाधारण ठगेर लुट मच्चाउने युनिटी जस्तै क्युनेटले उच्च घरानियाहरुलाई समेत डरलाग्दो तरिकाले ठगि गरेको बताएको छ ।
‘३५ सय देखि पाँच हजार अमेरीकी डलर तिरेर सदस्य बन्न सक्नेहरु जस्तै डाक्टर, ईन्जिनीयर र विद्यार्थीहरु क्युनेटको शिकार भएको खुलेको छ’ एसएसपी बस्नेतले भने, ‘क्युनेट ठगीको मुख्य मान्छे सुमित श्रेष्ठ हुन्, डेढ बर्षको बीचमा उनको खातामा ५१ हजार अमेरिकी डलर जम्मा भएको भेटिएको छ ।’
को–को हुन् मुख्य ठग ? डलरमा हुन्थ्यो ठगी !
केन्द्रीय अनुसन्धान ब्युरोका अनुसार सुमित श्रेष्ठ बाहेक प्रकृति बुढाथोकी, श्वेता बस्नेत, सृजना सिंह, अंकिता श्रेष्ठ, विकल्प श्रेष्ठ, क्षितीज पौडेल, नरेश मल्ल, ओम गुरुङ, बिशन गुरुङ, किरण जोशी, सुमित मानन्धर, सौरभ गोयन्का र प्रमेश मानन्धर रहेका छन् । उनीहरु बिरुद्ध प्रहरीले मुद्धा दर्ता गरेर अनुसन्धान गरिरहेको छ ।
मलेसियामा मुख्य कार्यालय र हङकङमा कर्पोरेट कार्यालय भएको क्युनेटमा आवद्ध सदस्यहरुले डलरमा कारोबार गर्ने गरेको केन्द्रिय अनुसन्धान ब्युरोले जनाएको छ । सुमित लगायतका सदस्यहरुको इमेल जाँच गर्दा डलरमा कारोबार हुने गरेको खुल्न आएको हो ।
क्युनेट नामको नेटवर्किङ समुहले संठगीत रुपमा ठगेको सुचना आएपछि ब्युरोले टिम बनाएर केही दिनअघी देखी नै उनिहरुमा माथी निगरानी थालेको थियो । आईतबार ईन्टरनेटको सहायताले सिद्धार्थ कटेजमा तालिम दिईरहेको बेला ७३ पुरुष र २९ महिला प्रहरी फन्दामा परेका हुन् ।
तालिम दिने क्रममा क्युनेटका मुख्य ठगहरुले कटेजको झ्याल बाहिरबाट भित्रको गतिबिधी नियाल्न नमिलोस भन्नका लागी सबै झ्यालमा पत्रिकाले बन्द गरेका थिए ।
प्रहरीका अनुसार क्युनेटका प्रशिक्षकहरुले हङकङ, मलेशिया र बैंगलोरबाट इन्टरनेटको माध्यमबाट तालिम दिने गर्थे । त्यस्तो तालिम हरेक आईतबार र बुधबार हुने गरेको पिडीत शिव जोशीले बताए ।
३ लाख ५० हजार तिरेर सदस्य बनेपछि क्युनेट नेटवर्किङले नयाँ सदस्यहरुलाई एउटा कार्ड सहित कम्पनीको युजरनेम र पासवर्ड दिने गरेको थियो । जुन युजरनेम र पासवर्ड मार्फत कत्ति कमाई भयो र आफु मातहत कत्ति सदस्य बनेका छन् भन्नेबारे जानकारी पाउन सकिन्थ्यो ।
‘यो लेफ्ट र राईटतर्फ सदस्य बनाउँदै ठग्ने पद्धती हो’ सिआईबीका एसएसपी बस्नेतले भने, ‘पिरामीड आकारको ठगी भएकाले माथि हुनेहरुले कमाउँछन्, तल्ला लेयरका आम सदस्यहरुले भने गुमाउँदै जान्छन्, अन्तत उनीहरु बर्बाद हुन्छन् ।’
भारतस्थित बम्बै हाईकोर्टमा क्युनेटविरुद्ध मुद्धा परिसकेको छ । बम्बे हाईकोर्टले क्युनेट पिरामीड शैलीको ठगी भएको ब्याख्या गरेको थियो ।
प्रहरीका अनुसार विश्वका १८० मुलुकमा क्युनेटले ठगी धन्दा सञ्चालन गरिरहेको छ । अनलाईन नेटवर्किङ बिजेनसका नाममा विभीन्न आकर्षका (स्किम) प्रलोभन देखाएर यस्तो ठगी हुने गरेको बताईएको छ । क्युनेटका नामबाट कोही ठगिएको भएमा सम्पर्कमा आउन र जाहेरी दर्ता गर्न सिआईबीले सवैलाई आह्वान समेत गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिनिधिसभा सचिव अधिकारीले दिए राजीनामा
-
एमालेलाई जरिवानाको पत्र बुझाउन महानगरको टोली च्यासल जाँदै
-
सूर्य नेपाल सेन्ट्रल ओपन गल्फ सोमबारदेखि
-
भारतले एक दिनमै ६४ करोड मत गनेपछि एलन मस्कको यस्तो प्रतिक्रिया
-
जोर्डनस्थित इजरायली दूतावास नजिकै गोली चल्दा एक जनाको मृत्यु
-
शुक्रबारबाट रिलिज ‘तेल भिसा’ र ‘अग्निदहन’को व्यवसाय कस्तो ?