सेनाले बनाएको हेलिप्याड गाउँपालिकालाई हस्तान्तरण

डोटी । डोटीको बोगटान फुड्सिल गाउँपालिका–७ चवराचौतारामा नेपाली सेनाद्वारा निर्माण गरिएको हेलिप्याड गाउँपालिकालाई हस्तान्तरण गरिएको छ ।
गाउँपालिकासँगको समन्वयमा सिलगढीस्थित भैरवप्रसाद गण डोटीले चालु आर्थिक वर्ष २०७९/०८० मा सीमित कार्यक्रमअन्तर्गत रु पाँच लाख लगानीमा निर्माण गरिएको हेलिप्याडको सोमबार उद्घाटनसँगै गाउँपालिकालाई हस्तान्तरण गरिएको हो ।
हेलिप्याडको गाउँपालिकाका अध्यक्ष कमलबहादुर गडसिला र भैरवप्रसाद गणका गणपति प्रमुख सेनानी जनमत कार्कीले संयुक्तरूपमा उद्घाटन गरेका हुन् ।
विपद्मा परेका, जटिल अवस्थाका गर्भवती÷सुत्केरी तथा गम्भीर खालका बिरामीलाई आकस्मिक उद्धार गर्न सहज होस् भन्ने उद्देश्यका साथ हेलिप्याड निर्माण गरिएको नेपाली सेना भैरवप्रसाद गण सिलगढीका गणपति प्रमुख सेनानी जनमतबहादुर कार्कीले बताए । जिल्ला सदरमुकामदेखि टाढा दुर्गम क्षेत्रमा रहेको यस क्षेत्रमा सडकको सहज पहुँच नहुने भएकाले आपत्कालीन अवस्थामा उद्धार गर्न सहज होस् भन्नका लागि हेलिप्याड निर्माण गरिएको प्रमुख सेनानी कार्कीले बताए ।
गत मङ्सिर ८ देखि निर्माण कार्य सुरु गरेको नेपाली सेनाले ४५ दिनमा हेलिप्याड तयार गरेको भैरवप्रसाद गणले जनाएको छ । ग्रामीण क्षेत्रमा हेलिप्याड निर्माण हुँदा प्राकृतिक विपद्को समयमा उद्धारमा सहजता हुने बोगटान फुड्सिल गाउँपालिकाका अध्यक्ष गडसिलाले बताए । उनले नेपाली सेनाले निर्माण गरेको हेलिप्याडको गाउँपालिकाले पूर्णरूपमा संरक्षण गर्ने बताए । नेपाली सेनाले बोगटान क्षेत्रमा हेलिप्याड निर्माण गर्दा सैनिक र नागरिकबीचको सम्बन्ध सुधारमा थप टेवा पुग्नुका साथै हेलिप्याड निर्माणबाट गाउँपालिकाका करिब १८ हजार लाभान्वित हुने उनको भनाइ थियो ।
जिल्ला सदरमुकामदेखि बोगटान क्षेत्रका सबै क्षेत्रमा यातायातको सुविधा पुगेको छैन । पुगेका स्थानसम्म यातायातका साधनका रूपमा महिन्द्रा बोलेरो जिप सीमित सङ्ख्यामा मात्र जाने गर्छन् । बोगटान क्षेत्रमा पुग्न छ देखि १० घण्टा समय लाग्ने गर्दछ । डोटी जिल्लामा सदरमुकामभन्दा बाहिर बनेको यो पहिलो हेलिप्याड हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केन्या, नेदरल्यान्ड्स र अमेरिकाको ऐतिहासिक उपस्थिति
-
ट्रकको ठक्करबाट महिलाको मृत्यु
-
विभिन्न जिल्लामा ४ जना मृत अवस्थामा फेला
-
शिक्षाको गुणस्तर वृद्धि गर्न सामूहिक प्रयास आवश्यक छ : उपप्रधानमन्त्री सिंह
-
शीतल निवासमा 'फेमार' काटेर राष्ट्रपतिले सुरु गरे ग्याल्पो ल्होसार
-
प्रधानन्यायाधीश पनि ट्रम्पकै पक्षमा, विदेश सहयोग रोक्का जारी राख्न दिए अनुमति