आइतबार, २३ असार २०८१
ताजा लोकप्रिय

ट्राफिक नियम उल्लंघन गरेको आरोपमा ४ हजार चालक कारबाहीमा

सोमबार, ०८ फागुन २०७९, १८ : ०७
सोमबार, ०८ फागुन २०७९

काठमाडौँ ।  ट्राफिक प्रहरीले साउनयता नियम उल्लंघन गर्ने ४ हजार ३ सय ९४ जना चालकलाई कारबाही गरेको छ । ट्राफिक प्रहरीले सीसी टिभीको सहयोगबाट नियम उल्लंघन गर्ने चालकहरुलाई कारबाही गरेको हो ।  काठमाडौं उपत्यका प्रहरी कार्यालयमा रहेको सीसीटीभि कन्ट्रोल रुमले दिएको सूचनाका आधारमा ३ हजार २९२ जना र  ट्राफिक नियम उल्लंघन गरी फरार रहेका १ हजार २२ जना गरी ४ हजार ३ सय १४ जना चालकलाई कारबाही गरिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएको छ ।

कार्यालयका अनुसार साउनमा ३४१, भदौंमा ६८०, असोजमा ४८२, कार्तिकमा ३६६,मंसिरमा ६६२, पुसमा  ९२५, माघमा ८१४ र फागुनमा  ४४ जना चालकलाई कारबाही गरिएको हो ।  ट्राफिक प्रहरीको आँखा छलेर नियम मिच्ने चालकलाई प्रविधिको सहायताले कारबाहीको दायरामा ल्याइएको र यसबाट सवारी आवागमन व्यवस्थापन तथा दुर्घटना न्यूनीकरणमा सहयोग पुगेको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिएका छन् ।

काठमाडौँ  उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा रहेको सीसीटिभी कन्ट्रोल रुममा खटिएका ट्राफिक प्रहरीले दिएको स्थान, समय, सवारी साधनको नम्बर, किसिम र कसुरका आधारमा सडकमा खटिएका ट्राफिक प्रहरीले चालकलाई कारबाही गर्ने गरेका छन् ।  ट्राफिक प्रहरीले सवारी आवागमन व्यवस्थापन र ट्राफिक नियम उल्लङ्घन गर्ने चालकलाई कानुनको दायरामा ल्याउन २०७४ सालबाट सीसीटिभी  र  २०७५ सालबाट सर्भिलेन्स भेहिकलद्वारा निगरानी गर्दै आएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप