भ्यूज, फओअर्स र स्टारडम लगानीः बालुवामा पानी
नेपाली फिल्मको इतिहास करिब ६ दशक लामो छ । यसले धेरै आरोह अवरोह पार गर्दै आइरहेको छ । यस क्षेत्रमा लाग्नेहरु केही मात्रामा सफल भए पनि धेरै पलायन हुँदै आएको तीतो यथार्थ छ । वर्षमा सय करोडभन्दा बढीको लगानी हुने नेपाली फिल्म बजारमा धेरै मात्रामा लगानी डुब्दै आइरहेको छ । कतिले नबुझेर लगानी गर्ने गरेका छन् भने कतिले मनोरञ्जनका लागी लगानी गर्छन् । यसमा थोरैले मात्र ब्यबसायिक सफलता पाउने गरेका छन् ।
यस क्षेत्रमा नाम र दाम कमाउने लोभमा कति त घरबारबिहीन समेत भएका छन् । कोरोना कालअघि नेपालमा वर्षमा करिब एकसय र कोरोना कालपछि करिब ५ दर्जन जति सिनेमा निर्माण हुँदै आएको छ । जसमा मुस्किलले आधा दर्जनले लगानी उठाएर मुनाफा गर्छन् भने करिब एक दर्जन जति चलचित्रले आफ्नो लगानी सुरक्षित गर्ने गर्छन् । बाँकी सबै चलचित्रले फिल्मी भाषामा भन्नुपर्दा पानी पनि भन्न पाउँदैनन् । यतिसम्म कि आफ्नो पोस्टरको लगानी समेत उठाउन नसक्ने अवस्थामा पुग्छन् ।
पछिल्लो समय नेपाली चलचित्रको व्यापार दिनानुदिन ओरालो लाग्ने अवस्थामा रहेको छ । केही नाम चलेका ब्रान्डका चलचित्रबाहेक अन्य चलचित्रलाई भने दर्शकले पत्याउनै छाडेका छन् । यसो किन भइरहेको छ ? किन नेपाली चलचित्रप्रति दर्शकको आकर्षण घट्दो छ त ? भन्नेतिर कसैको चासो अध्ययन अनुसन्धान गरेको पाइँदैन ।
नेपाली चलचित्रको बजार सानो छ तर यहाँ हल्लाबाजी स्टण्टबाजी यति धेरै हुने गर्छ कि दिनहुँ केही न केही घटना चर्चामा आइरहेकै हुन्छ । तर आम दर्शकले भने नेपाली चलचित्रप्रति हेर्ने दृष्टिकोणमा खासै परिवर्तन आएको छैन ।
अझ भन्नुपर्दा अहिले निर्माण हुने गरेका चलचित्रमा पनि खासै परिवर्तन आएको छैन । त्यही प्रविधि, त्यही कथा, त्यही गीतसङ्गीत, त्यही कलाकार, त्यही प्रणाली । न त अध्ययन छ, न त अनुसन्धान छ, न त राम्रो मेकिङ्ग नै छ । सीमित मेकरहरुले बनाएका चलचित्रबाहेक अन्य चलचित्रले भने खासै फड्को मार्न सकेका छैनन् ।
२०३७ सालदेखि २०५२ सालसम्मको इतिहासलाई नेपाली चलचित्रको स्वर्णिमकाल भन्न सकिन्छ । त्यो समयका प्रायः चलचित्रले सफलता पाएको भेटिन्छ । त्यो समयका चलचित्रहरूमा उत्कृष्ट गीतसङ्गीत, कथावस्तु र दर्शकको साथले नेपाली चलचित्र क्षेत्रले निकै फड्को समेत मार्यो ।
अझ त्यो समयमा त कलाकारलाई पोस्टरमा बाहेक अन्य स्थानमा हेर्न पाउने ठाउँसमेत थिएन । जसका कारण पनि आम दर्शकले कलाकार हेर्न भए पनि सिनेमा घरसम्म जानुको विकल्प नै थिएन । त्यस बेलाका गीतसङ्गीतले समेत चलचित्र चल्नुमा योगदान दिएको पाइन्छ ।
अब कलाकारको फओअर्स मापन नगरी उसको अभिनय क्षमता निर्देशकको निर्देशकीय क्षमता, लेखकको लेखन क्षमता र मेकरको मेकिङ्ग क्षमतामा स्तरोन्नति गर्न नसके नेपाली चलचित्र हेर्ने दर्शकको संख्या दिनानुदिन घट्दै जानेमा दुई मत छैन ।
तत्कालीन समयमा मनोरञ्जनका अन्य सामाग्रीहरूसमेत थिएनन् । त्यसैले, त्यस समयमा सिनेमा घरमा नेपाली चलचित्रहरू ६ महिनादेखि वर्ष दिनसम्म चलेका इतिहासहरू छन् ।
अहिले भने समय फेरिएको छ । कलाकारलाई हेर्न चलचित्र घरमा जानै पर्दैन । हातमा एक थान मोबाइल भए पुग्छ । त्यही मोबाइलमा कलाकारका सबै गतिविधि हेर्न सकिन्छ । कलाकारहरू यति सजिला भए कि आफ्नो हरेक पलपलका गतिविधि सामाजिक सञ्जालमा अपडेट गर्छन् । आम दर्शकले मेला महोत्सवमा कलाकारलाई फेला पार्छन् । त्यसैले, कलाकारलाई हेर्न चलचित्र घरसम्म जानै पर्दैन ।
नेपालमा पछिल्लो समय सामाजिक सञ्जाल प्रयोगकर्ताको सङ्ख्या उल्लेखनीय रूपमा बढ्दै आएको छ । यसबाट कलाकारहरू पनि अछुतो छैनन् । गीतसङ्गीत होस् या म्युजिक भिडियो वा चलचित्र नै किन नहोस्, युट्युवमार्फत् अहिले आम दर्शक माझ प्रचारप्रसार गर्न यो बहु उपयोगी माध्यम त बनेको छ । तर चलचित्र नचल्नुमा पनि यसले उतिकै भूमिका निभाएको एक अध्ययनले देखाएको छ ।
कलाकारहरूले आफ्ना विभिन्न सूचना तथा गतिविधि मात्रै नभई पछिल्लो समय आफ्ना चलचित्रलाई प्रचारप्रसार गर्ने बलियो माध्यम सामाजिक सञ्जाललाई समेत बनाउँदै आएका छन् । चलचित्र निर्माण पक्षले पनि आफ्ना कलाकारहरूलाई सामाजिक सञ्जालमा प्रचार गर्न दबाबसमेत दिने गरेका छन् ।
पछिल्लो समय नेपाली चलचित्र बजारमा स्टार को हो ? भन्ने कुराले पनि बजार तताउने गरेको छ । कसैले जसको चलचित्रले ईनिसियल हान्छ, उही स्टार हो भन्ने गरेका छन् त कतिले जसको चलचित्रले बढी व्यापार गर्छ, उही स्टार हो भन्ने समेत प्रचलन छ ।
उता धेरैले सामाजिक सञ्जालमा जसको धेरै फओअर्स छ, उही स्टार हो भन्ने मापनसमेत गर्ने प्रचलन पनि बढ्दै आएको छ । यही हल्लालाई लिएर होडबाजीसमेत चल्ने गरेको छ । जसका कारण कलाकारहरू पनि प्रतिस्पर्धाकै निम्ति भए पनि आफूले अभिनय गरेका चलचित्रका गीतसङ्गीत अन्य प्रचारप्रसारका सामग्रीहरूसँगै सामाजिक सञ्जालमा डलर खर्च गरेर को भन्दा को कम भन्ने अघोषित प्रतिस्पर्धा नै गर्ने गरेका छन् । जसका कारण अवैध रूपमा लाखौं डलर बिदेसिने गरेको छ ।
चलचित्रको प्रचारप्रसार सामग्री गीतसङ्गीतमा निर्माताले लाखौँ डलर खर्चेर प्राप्त हुने भ्यूजलाई खाली कलाकारको स्टारडमको मापन गर्ने कार्य मात्र हुने गरेको छ । यो कार्यले न त चलचित्रका दर्शक बढ्ने गरेका छन्, न त निर्माताको खल्ती भरिने गरेको छ । यस किसिमको कार्यले खाली निर्माता र राज्यका लागि ठुलो नोक्सानी हुने गरेको छ ।
प्रचारप्रसार सामग्री, गीतसङ्गीतमा लाखौं डलर खर्चेर प्राप्त हुन आउने भ्यूजको ५ प्रतिशतले मात्र पनि चलचित्र हेर्ने हो भने हरेक निर्माता फाइदामा जानुपर्ने हो तर त्यस्तो हुन सकिरहेको छैन ।
उता कलाकारहरूको सामाजिक सञ्जालमा जति फओअर्स छन्, त्यो सङ्ख्याको १० प्रतिशतले मात्र पनि त्यो कलाकारले अभिनय गरेको चलचित्रलाई हेरिदिए पनि त्यो चलचित्रले व्यावसायिक सफलता पाउन सक्छ । त्यो चलचित्रले आफ्नो लगानी सुरक्षित गर्न सक्छ तर त्यसो पनि हुन सकेको छैन । के फओअर्स भएजतिकै उनीहरुले अभिनय गरेका चलचित्रहरूले ब्यबसायिक सफलता पाउने गरेका छन् त ? यो गम्भीर विषय बनेको छ ।
कलाकारका लाखौँ फओअर्स छन् तर उनीहरुले अभिनय गरेका कतिपय चलचित्रले पोस्टरको समेत पैसा उठाउन नसकेको तीतो यथार्थ नेपाली चलचित्र क्षेत्रको छ । यो नै वास्तविकता हो भन्दा फरक नपर्ला ।
अब कलाकारको फओअर्स मापन नगरी उसको अभिनय क्षमता निर्देशकको निर्देशकीय क्षमता, लेखकको लेखन क्षमता र मेकरको मेकिङ्ग क्षमतामा स्तरोन्नति गर्न नसके नेपाली चलचित्र हेर्ने दर्शकको सङ्ख्या दिनानुदिन घट्दै जानेमा दुई मत छैन ।
यस क्षेत्रमा काम गर्ने हरेक विधा, निर्देशक कलाकारदेखि मेकरले आत्मालोचना, समीक्षा, अध्ययन, अनुसन्धानसहित मेहनत र अपग्रेड हुन जरुरी छ । नभए यस क्षेत्रबाट पलायन हुनेको सङ्ख्या दिनानुदिन बढ्दै जानेछ । यो क्षेत्र अझ धरापमा पर्नेछ । हरेक वर्ष करोडौं लगानी बालुवामा पानी हुनेछ । जय नेपाली सिनेमा ।
लेखक चन्द कार्यकारी निर्माता एवं सामाजिक अभियन्ता हुन्
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भेनेजुएली सुरक्षा बलद्वारा अर्जेन्टिनी दूतावास घेराउ
-
सरकारले स्वदेशी उत्पादनभन्दा आयातलाई जोड दिइरहेको छ : उपाध्यक्ष वैद्य
-
उत्तर कोरियाली क्षेप्यास्त्रले युक्रेनमाथि आक्रमण गरिरहेछ : रुस
-
राजनीतिमा नैतिकताको खाँचो
-
स्वदेशी उत्पादनको वस्तु प्रयोगको कुरा सरकारको भाषणमा मात्र सीमित छ : अध्यक्ष ज्ञवाली
-
पूरा भयो ट्रम्पको मन्त्रीमण्डल