राष्ट्रपति-उपराष्ट्रपतिको निर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना
काठमाडौँ । राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनका लागि नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको परिसरमा आजदेखि निर्वाचन अधिकृतको कार्यालय सञ्चालनमा आएको छ ।
राष्ट्रपतिको निर्वाचन यही फागुन २५ गते र उपराष्ट्रपतिको निर्वाचन आगामी चैत ३ गते हुने गरी निर्वाचन आयोगले गत माघ १६ गते मिति तय गरेको थियो ।
सो परिसरमा आज आयोजित कार्यक्रमबीच प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले कार्यालयको उद्घाटन गर्दै उक्त निर्वाचनका लागि आयोगका तर्फबाट मतदाता नामावलीको अन्तिम सूची आज कार्यालयलाई उपलब्ध हुने र कार्यालयले स्वीकृत निर्वाचन कार्यक्रमअनुसार यही फागुन १० गते मतदाता नामावली प्रकाशन गर्ने बताए ।
उनले पछिल्लो राष्ट्रिय जनगणनाको प्रतिवेदन प्राप्त भइनसकेकाले विद्यमान कानुनअनुसार २०६८ सालकै राष्ट्रिय जनगणनाको परिणामलाई आधार मानी यस निर्वाचनमा मतभार कायम गरिएको जनाए ।
प्रमुख आयुक्त थपलियाले राष्ट्रपतिको निर्वाचनको मतदानका दिन साँझ ७ गतेभित्र मतपरिणाम प्रकाशन गर्ने गरी तयारी भएको र कुनै पनि उम्मेदवारले बहुमत प्राप्त गर्न नसकेमा भोलिपल्ट फागुन २६ गते नै निर्वाचन गराइने बताए । मतदान अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमै हुनेछ ।
अन्य निर्वाचन आयुक्तसमेत सहभागी कार्यक्रममा आयोगका सचिव गोकर्णमणि दुवाडीले आयोगबाट स्वीकृत कार्यक्रमअनुसार राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनका कार्यक्रम सञ्चालन गर्न निर्वाचन अधिकृतको कार्यालयले कार्यारम्भ गरेको जानकारी दिए ।
आयोगले न्याय परिषद्को परामर्शमा उच्च अदालत पाटनका न्यायाधीश महेश शर्मा पौड्याललाई उक्त निर्वाचनका लागि निर्वाचन अधिकृत तोकेको छ । निर्वाचन अधिकृत पौड्यालले मुलुकको सर्वोच्च पदको निर्वाचन स्वच्छ र स्वतन्त्रतरूपमा गराउन दिइएको विश्वासलाई कामबाट पुष्टि गर्ने प्रतिबद्धता व्यक्त गरे ।
दुवै पदका लागि सङ्घीय संसद् र प्रदेशसभाका सदस्य मतदाता रहनेछन् । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार सङ्घीय संसद्का तीन सय ३४ र प्रदेशसभाका पाँच सय ५० गरी कूल आठ सय ८४ मतदाता रहनेछन् ।
प्रतिनिधिसभामा हाल दुई सदस्य निलम्बित र एक सदस्य रिक्त रहेको छ । विद्यमान कानुनअनुसार सङ्घीय संसद्का प्रति सदस्यको ४८ मतभारका दरले २६ हजार ४०० र प्रदेशसभा सदस्यको प्रति सदस्य ७९ मतभारका दरले २६ हजार तीन सय ८६ गरी कूल ५२ हजार सात सय ८६ मतभार कायम हुनेछ ।
स्वीकृत निर्वाचन कार्यक्रमअनुसार राष्ट्रपतिको निर्वाचनका लागि फागुन १० गते बिहान १० बजेदेखि ११ बजेसम्म मतदाता नामावली प्रकाशन गरिनेछ । साथै फागुन १३ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयनपत्र दर्ता गरिनेछ । उपराष्ट्रपतिको निर्वाचनका लागि फागुन २७ गते बिहान ९ बजेदेखि दिउँसो २ बजेसम्म उम्मेदवारको मनोनयनपत्र दर्ता गर्नेलगायतका कार्यक्रम तय गरिएको छ ।
वर्तमान राष्ट्रपतिको पदावधि २०७९ साल फागुन २८ गते र उपराष्ट्रपतिको पदावधि आगामी चैत ३ गते समाप्त हुँदैछ । संविधानबमोजिम राष्ट्रपति र उपराष्ट्रपतिमा फरक फरक लिङ्ग र समुदायबाट प्रतिनिधित्व हुनुपर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिद्धार्थ बैंकका ग्राहकलाई हार्ड रक क्याफेमा १०% सम्मको छुट
-
सौर्य जहाज दुर्घटना : पीडित परिवारको न्यायका लागि महासंघले खबरदारी गर्ने
-
कर्णाली प्रदेश : संसदीय समितिले बल्ल पाए नेतृत्व
-
गणतन्त्रलाई बलियो बनाउन स्वच्छ प्रशासन आवश्यक : प्रदेश प्रमुख खापुङ
-
‘कुस्ती’ मा दिकिला शेर्पा अनुबन्धित
-
सरकारले सेटिङमा सिमेन्टको मूल्य बढाएको आरोप