बुधबार, ०७ कात्तिक २०८१
ताजा लोकप्रिय

पर्वत अस्पतालमा शल्यक्रिया सेवा पुनः सञ्चालन

सोमबार, ०८ फागुन २०७९, १४ : ४३
सोमबार, ०८ फागुन २०७९

पर्वत । पर्वत अस्पतालमा केही समयदेखि अवरुद्ध बनेको शल्यक्रिया सेवा पुनः सञ्चालन गरिएको छ । 

वैकल्पिक जनशक्ति नहुँदा झण्डै एक महिनादेखि शल्यक्रिया सेवा रोकिएकामा राससबाट गत  बिहीबार समाचार प्रकाशन भएपछि शुक्रबारदेखि पुनः सेवा सुरु गरिएको हो । 

अस्पतालमा कार्यरत एमडिजिपी हेमन्त बाँस्तोला तालिममा रहेका कारण उक्त सेवा  रोकिएको थियो । 

शुक्रबार सेवा प्रदान गरेसँगै अस्पतालले चालु आर्थिक वर्षको साउनदेखि हालसम्म ६५ गर्भवतीको  शल्यक्रिया गरी बच्चा निकालेको अस्पताल प्रमुख रुक्मणी अधिकारीले जानकारी दिइन् । 

अस्पतालमा कार्यरत एमडिजिपी हेमन्त बाँस्तोला र दुई सुरक्षित गर्भपतनसम्बन्धी नर्स तालिममा खटिएका कारण शल्यक्रिया सेवा बन्द भएकामा  चिकित्सकको उपस्थितिसँगै फागुन ५ गते साँझ विहादी गाउँपालिका–४ निवासी  बबिता भट्टराईको शल्यक्रिया गरिएको थियो ।

यसअघि विशेषज्ञको अभावमा सामान्य प्रसूति सेवाले निरन्तरता पाए पनि शल्यक्रिया गर्नुपर्ने जटिल प्रकारका गर्भवतीलाई पोखरालगायत ठूला अस्पतालमा पठाउने गरिएको थियो ।

अस्पतालमा अहिले डा. हेमन्त बाँस्तोला र डा.मनिष सिंहको प्रत्यक्ष निगरानीमा जटिल  प्रकृतिका गर्भवतीको शल्यक्रियामार्फत बच्चा जन्माउने कार्य भइरहेको छ ।

साथै हर्निया, हाइड्रोसिल, एपेन्डिक्सलगायत बिरामीले पनि शल्यक्रिया सेवा पाएका छन् । जिल्लाको एकमात्र सुविधा सम्पन्न अस्पतालमा वैकल्पिक जनशक्ति नहुँदा बेला बेलामा सेवा अवरुद्ध हुने गरेको छ । 

जिल्लाका सातवटै पालिकाका साथै छिमेकी बागलुङको दक्षिण क्षेत्र र पर्वतसँग सिमाना जोडिएका कास्की र स्याङजाका नागरिकले समेत यो अस्पतालबाट सेवा लिँदै आएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप