नेपाल विद्यालय कर्मचारी परिषद्को तेस्रो राष्ट्रिय सम्मेलन काठमाडौँमा सुरू
काठमाडौँ । नेपाल विद्यालय कर्मचारी परिषद्को तेस्रो राष्ट्रिय सम्मेलन सुरू भएको छ । डिल्लीबजारमा रहेको नेपाल सांस्कृतिक संघमा सुरू भएको सम्मेलनमा देशभरबाट प्रतिनिधिहरू सहभागी छन् ।
कार्यक्रममा निवर्तमान शिक्षामन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका नेता शिशिर खनाल प्रमुख अथिति रहेका छन् । परिषद्ले प्रमुख अथितिका लागि सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मालाई निमन्त्रणा गरेको थियो । तर, अन्तिममा कार्य व्यस्तताको कारण आउन नसक्ने जनाएपछि खनाललाई प्रमुख अथितिको रूपमा आमन्त्रण गरिएको हो ।
२ दिनसम्म चल्ने सम्मेलनबाट पेसागत माग सम्बोधन गराउन सरकारको ध्यानाकर्षण गराउइनेछ । आफ्ना भावी रणनीतिहरू समेत तय गर्दै घोषणा पत्र जारी गरिने परिषद्का महासचिव शान्तिनाथ योगीले बताए ।
परिषद्ले अघि सारेका विभिन्न पेशागत मागहरू अझै सम्बोधन हुन सकेका छैनन् । यस्तो अवस्थामा जारी सम्मेलनबाट कस्तो खालको रणनीति तय हुन्छ भन्ने चासोका साथ हेरिएको छ । उनीहरूले गत भदौंमा आफ्नो सेवा सुरक्षाको ग्यारेन्टीसहितका विभिन्न माग अघि सारेर आन्दोलन थालेका थिए । सरकार उनीहरूलाई वार्तामा बसेर समस्याको समाधान गर्न आह्वा गरेपछि आन्दोलन स्थगित गरिएको थियो । शिक्षा मन्त्रालयले उनीहरूले उठान गरेका मागहरू सम्बोधनका लागि अर्थ मन्त्रालयलाई पत्राचार गरेको थियो । तर, अर्थ मन्त्रालयले कुनै निर्णय गर्न नसक्दा अहिलेसम्म उनीहरूका माग सम्बोधन हुन सकेका छैनन् ।
उनीहरूले विद्यालय कर्मचारीलाई दरबन्दीमा समायोजन गरेर एक पटकको लागि प्रक्रिया पुर्याई स्वतः स्थायी गरिनुपर्ने, सरकारले पूर्ण सेवासुविधाको ग्यारेन्टी गर्नुपर्ने, विद्यालय कर्मचारी सहायक (लेखापाल) को हकमा ३६ हजार ७३० रूपैयाँ र विद्यालय सहयोगीको २६ हजार २१० तलब बनाइनुपर्ने लगायत माग अघि सारेका छन् ।