हात्तीको आक्रमणबाट मनहरीमा एक वृद्धा घाइते, निकुञ्जको पोष्ट तोडफोड

मकवानपुर । जंगली हात्तीको आक्रमणबाट मनहरीमा एक वृद्धा घाइते भएकी छन् । मनहरी गाउँपालिका–४ मसिनेमा सोमबार बिहान करेसाबारीमा काम गरिरहेकी ६४ वर्षीय राधा अधिकारीलाई हात्तीले आक्रमण गरेको स्थानीय श्रीकृष्ण ढकालले जानकारी दिए ।
घाइते अधिकारीको हेटौंडा–११ स्थित चुरेहिल अस्पतालमा उपचार भइरहेको छ । यसअघि पनि सो क्षेत्रमा हात्तीको आक्रमणबाट एक वृद्धाको मृत्यु भएको थियो ।
हात्तीले वृद्धालाई आक्रमण गरेसँगै आक्रोशित स्थानीयले मनहरी गाउँपालिका–३, लामिटारस्थित पर्सा राष्ट्रिय निकुञ्जको लामिटार पोष्टमा तोडफोड गरेका छन् । हात्ती नियन्त्रणमा बेवास्ता गरेको भन्दै स्थानीय आक्रोशित भएका हुन् । आक्रोशित स्थानीयले सेनाले प्रयोग गर्दै आएको गाडी, कार्यालय र गोलघरमा तोडफोड गरेका छन् ।
केही दिन अघिदेखि मनहरी गाउँपालिकाको क्षेत्रमा जंगली हात्तीले आतंक फैलाएको थियो । आइतबार साँझबाट मनहरी मसिने क्षेत्रमा हात्ती देखा परेको पर्सा राष्ट्रिय निकुञ्ज मध्यवर्ती व्यवस्थापन समितिका अध्यक्ष सीताराम अर्यालले बताए । केही दिन यता हाँडीखोला क्षेत्रमा तीनवटा हात्ती देखा परेको र त्यसले स्थानीयलाई हानी पु¥याइरहेको उनको भनाइ छ ।
‘केही दिनदेखि मनहरी क्षेत्रमा जंगली हात्ती देखापरेको थियो । मसिनेमा भने हिजोमात्र देखिएको हो,’ उनले भने, ‘हात्तीले स्थानीयको घर भत्काउने, बालीनाली नष्ट गर्ने गरेको छ । मनहरीको प्रतापपुरदेखि हाँडीखोलासम्म क्षति पु¥याइरहेको छ ।’
उनका अनुसार हात्ती नियन्त्रणका लागि सेना खटाइएको छ । उनले साँझ बिहान घर बाहिर ननिस्किन समेत सर्वसाधारणलाई आग्रह गरेका छन् ।
यता मनहरी गाउँपालिकाका अध्यक्ष रञ्जन कालाखेतीले हात्ती नियन्त्रणका लागि पर्सा राष्ट्रिय निकुञ्जसँग समन्वय गरिरहेको जानकारी दिए । ‘हात्ती नियन्त्रणको प्रयास भइरहेको छ । निकुञ्जसँग समन्वय गरेका छौँ । अघिल्लो पटक पनि जेसिवी लगाएर हात्ती लखेटेका थियौँ । मानिसले लखेट्दा नमान्ने भएकोले जेसिवी प्रयोग गरेका थियौँ । धनजनको क्षति हुन नदिनेतर्फ गाउँपालिकाले भूमिका खेलिरहेको छ,’ उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भ्रष्टाचारी ठहरिएका अवकाशप्राप्त कर्मचारीले पेन्सन नपाउने
-
कर्मचारी निवृत्त भएपछि हुने नियुक्तिमा कुलिङ पिरियड नराखौँ : रघुजी पन्त
-
आतंकवादीबाट मारिएका सुदीप : स्थानीय भन्छन्, ‘एउटा समाजसेवी युवा गुमायौँ’
-
शिक्षक आन्दोलन: विरोध भएसँगै बानेश्वर–माइतीघर सडक खण्डको एक लेन खुला
-
वैशाख १९ गते सरकारको नीति तथा कार्यक्रम पेस हुने
-
वर्तमान सरकार पूर्णरुपमा असफल : माओवादी केन्द्र