निबन्ध : गुरुत्व शक्ति
गुरुले सायद गुत्थी फुकाउँछ क्यारे ! अर्थात् गुरुले गाँठो फुकाउँछ क्यारे ! त्यो समस्याको गुत्थी या गाँठो हुनसक्छ; त्यसलाई फुकाउँछ र न ऊ गुरु कहलाउँछ । समस्याको समाधान दिन्छ र त ऊ गुरु पुकारिन्छ । समस्याका अनन्त गुजुल्टोमा फँसेका मनहरूलाई गुजुल्टो–मुक्त पार्ने चेतना जोसित छ, त्यो गुरु हुन्छ । गुरुसित गुरुत्व हुन्छ, त्यही गुरुत्वले शिष्यलाई आफूतिर खिच्तछ । आफूतिर आकर्षण गर्दछ । शिष्यगणलाई आफूतिर खिच्न नसक्ने मानिस कसरी गुरु हुनसक्छ र ?
गुरुमा गुरुत्वको आभा र रोशनी हुन्छ । त्यही आभा र रोशनीले अँध्यारोमा भट्किएका आत्मालाई उज्यालो प्रदान गर्दछ । ऊभित्रको गुरुत्व बलले समस्यामा अल्झिएका मनुवा–गणलाई आफूतर्फ सङ्केन्द्रित गर्दछ । जसरी पृथ्वीको गुरुत्व–बलले समस्त पदार्थलाई आफ्नै नाभीकेन्द्रमा खिच्तछ । पृथ्वी आफ्नो अदृश्य बलले चिजहरूलाई आफूतिर तान्छ । खिचाव शक्तिको हिसाबले पृथ्वी पनि एक गुरु हो, किनकि यसमा विराट् गुरुत्वको शक्ति निहित छ । वैज्ञानिकले पनि बडा सुझबुझपूर्ण ढङ्गबाट यसलाई गुरुत्व–बलको नामकरण गरिदिए ।
पृथ्वीको गुरुत्व शक्तिजस्तै मानव गुरुमा पनि विराट् गुरुत्व–बल हुनुपर्छ । जसरी धरणीले समस्त चिजलाई आफूतिर खिच्तछिन् त्यसरी नै मनुवा गुरुले पनि ज्ञानको आकर्षणबाट, ध्यानको आकर्षणबाट अनन्त अन्धकारमा भट्किएका मनहरूलाई आफूतिर खिच्नुपर्छ । अज्ञान र अचेतनाका रूमलोमा भट्किएका मानव–चरीलाई उड्ने पङ्ख दिनुपर्दछ । घोर तमस र प्रमादमा डुबेका जनहरूलाई ज्ञानको उज्यालो रेखाले छुनुपर्छ । त्यो छुनसक्ने सामथ्र्य बोकेको मान्छे गुरु हुन्छ ।
अल्पबुद्धि र अल्पज्ञानले मान्छे किमार्थ गुरु हुनसक्तैन । अल्पबोध र अल्पविधिले मान्छे किमार्थ सक्षम गुरु कहलिन सक्तैन । गुरुबाट त ज्ञानको विराट झर्ना हमेसा छङ्छङ्गाउनुपर्छ । गुरुबाट त अज्ञानको तापाग्निमा पिल्सेका आत्माहरूले हिमवर्षाको शीतलता अनुभूत गर्नपाउनुपर्छ । गुरुले जटिलतामा फँसेको चित्तलाई विस्तारै विस्तारै त्यहाँबाट निकालेर सरलताको गोरेटोमा टुकुटुकु हिँडाउनु पर्दछ । गुरुले जीवनको निरस स्थितिलाई सरस र सहज बनाउनुपर्छ । गुरुले दिमागमा बाँचेको मान्छेलाई दिलको मझेरीमा उतारेर छमछमी नचाउन सक्नुपर्छ ।
गुरुको विषयमा प्राचीन कालका एक सुफी सद्गुरुको कथा पढ्न पाएको छु । यस कथाले रहस्यका गाँठा फुकाउने सूत्र दिन्छ । समस्याको गुजुल्टो फुकाउने कला दिन्छ । कथाले भन्छ– “एक वयोवृद्ध गुरुको मृत्युको क्षण आयो । मृत्यु स्वाभाविक छ । यो गुरुको जीवनमा पनि घटित हुन्छ । अन्य साधारण जनको जीवनमा पनि घटित हुन्छ । तर मृत्युलाई कसरी लिने भन्ने कुराले मृत्युको गुणवत्ता निर्धारण गर्छ । मृत्युलाई सहज ढङ्गले अङ्कमाल गर्ने कि भयङ्कर त्रासद वस्तुको रूपमा ग्रहण गर्ने भन्ने कुराले जीवनको सफलता र विफलता निर्धारण गर्दछ ।
ती गुरुलाई आफ्ना शिष्यहरूको औधी ठूलो चिन्ता थियो । उनलाई डर थियो– मेरो अनुपस्थितिमा कतै यिनीहरूले साधनाको बाटो विराउने पो हुन् कि ? मेरो अनुपस्थितिमा यिनीहरू हिँड्दा हिँड्दै अँध्यारो भासमा जाकिने पो हुन कि ? ठूलो संशय थियो । संशय स्वभाविक पनि हो, आफ्नो प्रत्यक्ष मार्ग निर्देशनमा वर्षौंदेखि ती चेलााहरू ज्ञानको साधना गरिरहेको थिए ।
उनले आफ्नो अवशानपछि शिष्यहरूले सच्चा सद्गुरु भेट्न सकून् भनेर कागजमा केही कुरा लेखेर छोडी गए । त्यसमा अरू केही कुरा थिएन । बरु सद्गुरु खोज्नका लागि एक विधि दिइएको थियो । गुरु खोज्ने एक बाटो बताइएको थियो ।
ऊ मरेर जाँदा उसको आश्रममा सत्रवटा उँट छोडेर गएको थियो । त्यसमा सत्रवटा उँट शिष्यहरूमा भाग लाउने विधि लेखिदिएको थियो । उसले स्पष्टसित लेखिदिएको थियो, “म मरेपछि तिमीहरूले मेरा सबै उँटहरू यस अनुपातमा बाँड्नू । सबभन्दा पुरानो शिष्यले आधा उँट राख्नू । त्यसमुनिको शिष्यले एकतिहाइ उँट राख्नू र सबभन्दा कान्छो शिष्यको साथमा एक बट्टा नौ उँट राख्नू ।”
गुरुको मृत्युपछि उँट बाँड्ने विषयमा ठूलो कठिनाइ आइलाग्यो । आफ्ना गुरुले यस्तो अव्यावहारिक वितरणको विधि दिएर गएकोमा उनीहरू साँच्चै ठूलो समस्यामा परे । सत्रवटा उँट आधी गर्दा साढे आठवटा हुन आउँथ्यो । उँट जस्तो जीवित पशुलाई कसरी आधा गर्न सकिन्थ्यो र ? आठ सङ्ख्या त ठीकै थियो । तर साढेलाई कसरी भाग लाउने काटेर आधी गर्दा उँटको अस्तित्व नै सकिन्थ्यो । उँटलाई भागबण्डा लगाउने कुरामा समस्या प¥यो ।
केही मान्छेहरूले भने– “अब सद्गुरुले भनेबमोजिम उँटलाई बाँडफाँट गर्न कठिन छ । यसलाई सबैले सामूहिक रूपमा प्रयोग गर्नुपर्छ ।”
अल्पबुद्धि र अल्पज्ञानले मान्छे किमार्थ गुरु हुनसक्तैन । अल्पबोध र अल्पविधिले मान्छे किमार्थ सक्षम गुरु कहलिन सक्तैन ।
अनि कसैले सुझाव गरे– “यी सबै उँट बेचबिखन गरेर प्राप्त धनलाई सद्गुरुले बताएको अनुपातमा बाँडफाँट गर्नुपर्छ । त्यसो गर्दा हिसाब राफसाफ हुन्छ ।” यस कुरामा पनि शिष्यहरूले आपत्ति जनाए । यस तरिकाबाट बाँडफाँट गर्दा सद्गुरुको आप्त वचनको उलङ्घन हुन जान्थ्यो । गुरुको आशय विपरीतको कुरा थियो । गुरुको आत्मिक भावनाको अपमान हुन्थ्यो । बरु यो समस्यालाई समाधान गर्नका लागि कुनै समर्थवान् गुरुको खोजी गर्ने निधोमा पुगे । आखिर गुरुले समाधान हुनै नसक्ने समस्या दिएका छैनन् । यसको उपाय पक्कै हुनुपर्छ । हाम्रो बुता वर्गतले नभेटे पनि त्यस्तो सक्षम गुरु अवश्य पाउन सकिएला भन्ने कुरामा उनीहरू आशावादी रहे ।
वास्तवमा सद्गुरुको आशय पनि त्यही थियो । आफ्नो मृत्युपछि आफ्ना शिष्यहरूले सही मार्गदर्शनका लागि एक योग्य सद्गुरु भेट्न सकून् भनेर शिष्यहरूलाई समस्या छोडिदिएका थिए । उनीहरू अनेकौँ गुरुहरूको ढोका चहारे । कसैले पनि ठीक ठीक समाधान दिन सकेनन् । आखिरमा उनीहरू पैगम्बरको ज्वाइ हजरत अली भए ठाउँमा पुगे । उनीहरूले आफ्नो कठिनाइ ऊ सामु बिसाए ।
उनले सूत्र बताइदिए– तिमीहरूको समस्या यस प्रकार समाधान गर्न सकिन्छ । म तिमीहरूका सत्रवटा उँटमा मेरो एउटा उँट सामेल गरिदिन्छु । तिमीहरूसित अब अठारवटा उँट हुनेछन् ।
अठारको आँधा उँट अर्थात् नौवटा उँट सबभन्दा पुरानो शिष्यले लिनू । त्यसपछि त्यसको एकतिहाइ अर्थात् छवटा उँट माइलो शिष्यले लिनू । अनि कुल उँटको एक बट्टा नौ भाग उँट अर्थात् दुईवटा कनिष्ठ शिष्यले लिनू । यी सबै मिलाउँदा सत्र उँट हुनेछन् । अब एउटा उँट बाँकी रहनेछ । त्यो मेरो उँट म आफैँ फिर्ता लैजाने छु ।
हजरत अलीले समस्याको सरल समाधान गरिदिएकामा शिष्यहरू चकित बने । उनीहरू उसको अन्तरप्रज्ञाबाट चकित बने र आफ्नो मार्गदर्शनका लागि उसलाई सद्गुरुका रूपमा वरण गरे । समस्याको समाधान दिए र हजरत अलि गुरु बने । गुरुले हमेसा शिष्यका छातीमा विन्यस्त ज्ञानका ढोका खोलिदिन्छन् । शिष्यको आत्मामा जीवनको अखण्ड विश्वास भर्दछन् । प्राण भर्छन् । गुरुकै कारण जीवन जिउन लायक बन्दछ । गुरुकै कारण जीवन रस पिउन लायक बन्छ । भनिन्छ, संस्कृतमा ‘गु’को अर्थ अन्धकार हो । ‘रु’को अर्थ प्रकाश हो । गुरु त्यो हो, जसले अज्ञानरूपी अन्धकारबाट शिष्यलाई ज्ञानरूपी प्रकाशको संसारमा यात्रा गराउँछ । गुरु आफू जलेर उज्यालो छर्दछ । गुरुले छरेको आलोकमा अखिल दुनियाँ टुकटुक हिँडिरहेको हुन्छ ।
भनिन्छ गुरुबिना ज्ञान हुन्न, ज्ञान बिना मानिस महान बनिँदैन । हाम्रा शास्त्रले एउटै गुरु त्रिदेवको साक्षात् अवतारको रूपमा चित्रण गरेको छ । पहिलो गुरुलाई ब्रह्मका रूपमा चित्रण गरिएको छ । निर्माण र सिर्जनको काम गुरुबाट हुने भएकाले ब्रह्म स्वरूपमा गुरुलाई हेरिएको छ । दोस्रो रक्षा गर्ने काम गुरुबाट हुने भएकाले विष्णु स्वरूपमा गुरुलाई हेरिएको छ । तेस्रो खराब र दुर्गुण तत्त्वको नाश, विनाश गरी सत्बुद्धि दिने काम गुरुबाट हुने भएकाले शिव–तत्त्वका रूपमा पनि गुरुलाई हेरिएको छ ।
जीवनको विराट् पाठशालामा अनगिन्ती गुरु मिल्छन् । अनगिन्ती गुरु भेटिन्छन् । कुनै गुरुले बाहिरी वस्तुगत संसारको ज्ञान पिलाउँछन्, कुनै गुरुले आत्मिकतलको अँध्यारो दूर हटाउँछन् । कति शिक्षालयका औपचारिक गुरु हुनसक्छन् । शिक्षालय बाहिरका अनौपचारिक गुरु हुन सक्छन् । ती अक्षर–ज्ञान गराएबापत वेतन बुझ्ने वैतनिक गुरु हुनसक्छन् । ज्ञान दिएबापत कन्चो नलिने अवैतनिक गुरु हुनसक्छन् । अझ विराट् आयामबाट हेर्दा सिक्नेहरूका निम्ति मानव कोटीका गुरु हुनसक्छन्, मानवेतर कोटीका पनि गुरु हुनसक्छन् । सूक्ष्म नजरले हेर्दा प्रकृति स्वयं एक गुरु हो, यसले पलपलमा मानव जातिलाई केही न केही सिकाइरहेको हुन्छ । क्षणक्षणमा केही न केही पढाइरहेको हुन्छ । हरबखत केही न केही सन्देश सम्प्रेषण गरिरहेको हुन्छ । प्रकृतिका हर लयहरूमा एउटा न एउटा शिक्षा प्रवाहित भइरहेको हुन्छ । प्रकृतिको रहस्यदर्शी भङ्गिमा बुझ्न सक्ने हो भने यसको गति, यति र ताल ठम्याउने हो भने योभन्दा विराट् गुरु को होला र ?
महामुनि दत्तात्रेयले किन अजिङ्गरलाई गुरु मानेर ढोग गरेछन् । त्यसको रहस्य अलि अलि बुझ्न थालेको छु । किन परेवा, माछा र मौरीलाई गुरु थापेछन्; त्यसका अर्थहरू पर्गेल्न थालेको छु । किन वेश्या, बच्चा र मृगलाई गुरुको स्थानमा आसिन गराएछन्, त्यसको अभिप्राय केलाउन थालेको छु । किन सर्प, माकुरो, धान कुट्ने केटी, आगो, आकाश, सूर्य, समीर, मृग, बिरालोसम्मलाई गुरु थापेर तिनबाट अखण्ड शिक्षा लिई महाज्ञानी बनेछन् ? त्यसको रहस्य पहिल्याउन उत्सुक बनिरहेको छ मेरो चित्त ।
केही समयअघिसम्म मेरो साँगुरो मनले भन्थ्यो– मलाई लेखपढ गराउने शिक्षकहरू मात्र मेरा गुरु हुन् अर्थात् मलाई अक्षर–ज्ञान गराउने मान्छे मात्रै मेरा गुरु हुन् । अक्षर–दान नदिने व्यक्ति कसरी गुरु हुन सक्छ र ? तर अहिले मेरो पुरातन मान्यता भत्किएको छ । गुरुको कुरा अक्षर–दानमा सीमित हुँदोरहेनछ । लेखपढको किताबी शिक्षा त ज्ञान प्राप्तिको एक सानो हाँगो मात्र रहेछ । ज्ञानका, सीपका, व्यवहारका, अनुभूति र भाव जगत्का यति धेरै आयामहरू रहेछन्, जसलाई एक जुनी आयुले सिकेर सिकी नसकिने रहेछ, न आफ्नो सानो कुप्रे अँजुलीमा थापेर पिउन सकिनेरहेछ ।
एक सानो वित्ते आयु लिएर जन्मिएको मानव–चरीले जगत्को अथाह ज्ञानराशिमा जताबाट गोता मारे पनि त्यसको गहिराइ नछामी ऊ धर्तीबाट बिदा लिन्छ । अहिले आएर अक्षर जान्नु र कोरा किताबी ज्ञानमा पारङ्गत बन्नुलाई मात्र मैले ज्ञानी बन्नुको सङ्केत ठानेको छैन । लेखपढ गर्न जान्ने मानिस ज्ञानी हो, अनपढ मानिस अज्ञानी हो भन्ने भ्रम विस्तारी विस्तारी मेरो दिमागबाट दूर हुँदैछ । ज्ञानको विपुल सागर त अक्षर भन्दा धेरैगुना माथि रहेछ । जगत्मा फैलिएको विशाल ज्ञानसागर कहाँ पुड्के घैँटाहरूमा अँटाउन सक्छ र ? आजसम्म किताबमा त केही अँजुुुुुुली ज्ञान मात्र उगाउन सकिएको होला । अरू ज्ञान त जीवन, जगत र प्रकृतिमै छरिइबसेको छ ।
मेरो चित्तमा एक रूढ धारणा विराजमान थियो– ज्ञान शिक्षित र पठित व्यक्तिमा मात्र हुन्छ; ज्ञानको भण्डार भनेको पाठशाला या अन्य शिक्षण संस्थामा पढाउने अध्यापकहरू हुन् । अहिले यो धारणा खण्डित भइसकेको छ । ज्ञानका ठेकेदार पढालेखा बौद्धिक मान्छे मात्र होइन रहेछन् । ज्ञान त हरव्यक्तिसित हुँदोरहेछ । ज्ञान त ब्रह्माण्डका अनेक अवयवहरूमा टनाटन खाँदिएर रहँदोरहेछ । यसलाई देख्ने आँखा, यसलाई टिप्ने मगज भए यो विस्तिर्ण लयमा फुक्ने फैलिने रहेछ ।
मान्छे अनपढ छ, कालो अक्षर भैँसी बराबरको उखान चरितार्थ पार्ने हैसियतमा छ तर जीवनयापनका लागि आवश्यक अनेकन सीपकलाहरू उसमा लवालव भरिएको छ । जहाँ गएर पनि आफ्नो सीप बेचेर खानसक्छ । कहीँ पनि भोकै पर्नुपर्दैन, कहीँ पनि हात पसारेर मागिखानु पर्दैन भने त्यो मानिस कथित शिक्षित–साक्षरभन्दा अब्बलकोटिको ज्ञानी मनुवाभित्र पर्दछ । हातमा एकमुठो सर्टिफिकेट छ तर केही गरेर पनि खानसक्ने सीप, कला, क्षमता र आँट केही छैनभने त्यसलाई निपट निरक्षरको कोटीमा राख्ता के फरक पर्छ र ?
पहाडी गाउँमा पढाउन बस्ता मैले एकजना तामाङ थरका लोप्चन बालाई भेटेँ । उनी मानिस ल्याप्चे छाप थिए अर्थात् उनी निपढ निरक्षरी थिए । उनलाई आफ्नो हस्ताक्षरको वर्णमाला ज्ञान पनि थाहा थिएन । उनलाई कहीँ सही गराउनुप¥यो भने बूढी औँलो तेस्र्याइहाल्थे । मान्छेले हँसीमजाकमा उनको नाम बिगारेर लोप्चनबाको साटो ल्याप्चेबा भनेर बोलाउँथे । तर अनपढ भनेर के गर्नु ? उनको हातमा सीपको जादू थियो । कृषिकर्म र अन्य घरेलु प्रयोजनका लागि चाहिने इतिवृत्तान्त सामग्रीहरू बुन्न बनाउन उनी अति निष्णात थिए । हलो, जुवा, दाँदे, घुम, छपनी, ढोको, डालो, नाङ्लो, धोबे, चुरुङ्गी, घुम, छपनी, जाँतो, ढिकी बनाउन सिपालु थिए । दस गाउँका नवसिकारु मनिस उनीसित सिक्न र सेवा लिन आउँथे । उनलाई गुरु थापेर सिकेको सीपबाट अनेकन मानिसको गुजारा चलेको थियो । उनी गाउँका एक पाठशाला थिए । सयौँ शिक्षार्थीलाई उनले आफूसित भएको सीपकला सिकाएर गरिखाने बनाएका थिए ।
फेरि खेतीकिसानीको कुरो गर्दा कुन माटोमा बदाम फल्छ, कुन माटोमा काउली फक्रिन्छ, कुन माटोमा आलु कक्रिन्छ; एकएक बताइदिन्थे । कुन हावापानी र माटोमा सुन्तला फल्छ, कुन ठाउँमा आँप र भुइँकटहर हुन्छ । कुनै कृषि प्राविधिकलाई माथ खुवाउने गरी व्याख्या गर्नसक्थे । उनी कुनै कृषि विश्वविद्यालयमा पढेका मानिस होइनन् । तर उनलाई बालीसम्बन्धी, बागवानीसम्बन्धी, माटो र हावापानीसम्बन्धी गहिरो ज्ञान थियो । उनका कुरा सुनेर उनका अगाडि जेटी, जेटीएजस्ता कृषि प्राविधिकहरू छक्क पर्थे । उल्टै तिनीहरूले कतिपय व्यावहारिक ज्ञान तिनबाट सिक्थे । उनलाई सहर्ष गुरु थापेको कुरा स्वीकार गर्थे । कहिले छिमेकीलाई धानको बीउ राख्ने र मल हाल्ने तरिका सिकाइरहेका हुन्थे । कहिले आलुमा लाग्ने कीरा हटाउने विधि बताइरहेका हुन्थे । अनि कहिले बोडीलाई कसरी गोडमेल गर्ने सिकाइरहेका हुन्थे । उनलाई अनौपचारिक गुरु थापेर किसानी कर्म सिकेका अनेक मानिस थिए गाउँमा । लोप्चनबाको गुरुत्व शक्तिलाई म कुनरूपमा अर्चना गरुँ आफैँ छक्क परेको छु !
यस्तै मेरा अग्रज छेटु रञ्जन जो कुनै आयुर्वेद कलेज पढेका होइनन् । तर उनीसित रहेको जडीबुटीसम्बन्धी अथाह ज्ञान देखेर हाम्रो दिमाग तिल्मिलाउँछ । उनीमा रहेको तन्त्रशास्त्र, मन्त्रशास्त्र, ओखतिमुलोको अथाह ज्ञान देख्ता आयुर्वेदको कुनै कविराज, वैद्य, आचार्यले भेट्न गाह्रो छ । दुई चार सयवटा औषधिजन्य वनस्पतिको नाम मुखैले खरर बताइदिन सक्छन् । उनी दिनको अठार घण्टा जडीबुटी घोट्न कुट्ने, बिमारीको उपचार गर्ने र सयौँ हजारौँ मान्छेलाई घरेलु उपचारको विधि बताइरहेको देख्ता यिन पनि आफ्नो क्षेत्रका ठूलै गुरु ठानेको छु । गाउँगाउँमा यस्ता अनेकन विधा र विषयका अनगिन्ती गुरुहरू छन्, जसले स्वयं पाठशालाको भुँइ टेक्न पाएनन् तथापि आफ्नो लगन, साधना, स्वाध्यायन र अनुभवको आधारबाट आफूलाई अब्बल गुरुको ठाउँमा पु¥याउन सके । तिनकै ज्ञानले त अहिले पनि गाउँ चलिरहेछ । खेतीपाती र उपचारको बन्दोबस्त मिलिरहेको छ ।
गुरुको गरिमालाई बहुल आयामबाट चियाउन जुनघडी हामी सक्षम बन्छौँ, त्यसपछि फूल पनि गुरु हुन्छ । काँढा पनि गुरु हुन्छ । आकाश पनि गुरु हुन्छ । इन्द्रेणी पनि गुरु हुन्छ । जूनतारा पनि गुरु हन्छन् । सविता–समिरा पनि गुरु बन्छन् । जीवजन्तु, कीटपतङ्ग र चराचुरुङ्गी सबैसबै चिज गुरु बनेर देखिन थाल्छन् । विहङ्गम नजरले नियाल्नुपर्छ प्रकृतिलाई, देवकोटाले भनेझैँ सब तत्त्व खुल्छन् । विहङ्गम दृष्टि याने कि व्योम उक्लेर धरणी चियाउने चराको दृष्टि । यही दृष्टि नभएर हामी चरा हुन नसकी विचरा भएका छौँ । असली गुरुले नै हामीलाई विचराबाट चरा बनाइदिन्छन् । हामीलाई गगनपथमा उडान भर्ने प्वाँख सिउरी दिन्छन् र त्यसकै बलमा हामी जीवन– आकाशमा माथिमाथि कावा खाने हुनसक्छौँ । त्यही प्वाँख उमारिदिने तमाम ज्ञात अज्ञात गुरुहरूलाई कोटीकोटी नमन छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खेल जीवनबाट सन्न्यास लिए दुई ओलम्पिकका स्वर्ण विजेता ब्राउनलीले
-
एमाले महासचिवका ९ प्रश्न : सुरुङ, रेल र पानी जहाजको योजना अघि सार्नु गलत हो ?
-
‘मृत’ भन्दै चिकित्सकले ‘पोस्टमार्टम’समेत गरिसकेका थिए, घाटमा पुग्दा जीवित
-
३२ हजारमध्ये १३ जना डेंगु संक्रमितको मृत्यु
-
उपत्यकामा खानेपानी मिटरको सुरक्षाको जिम्मा घरधनी आफैँले लिन अनुरोध
-
तोलामा १ हजार ५०० रुपैयाँ बढ्यो सुनको भाउ, चाँदीको कति ?