अब निर्धक्क भएर संसद् जान्छु : सांसद अरुण चौधरी
कैलाली निर्वाचन क्षेत्र नं. २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य अरुण कुमार चौधरी १७ दिने जेल बसाइपछि आइतबार रिहा भए । नागरिक उन्मुक्ति पार्टीबाट चुनाव लडेका उनी राष्ट्रपति विद्यादेवी भण्डारीबाट सजाय माफी भएपछि रिहा भएका हुन् ।
थरुहट थारुवान् आन्दोलन ताका २०६६ भदौ ३ गते कैलालीको लम्की चुहा नगरपालिकाका पूर्व मेयर महादेवको बजगाईँको लु२त २११ नम्बरको ट्याक्टरमा आगजनी भयो । सो घटनाका सम्बन्धमा ट्याक्टर मालिक बजगाईँले १ वर्षपछि २०६७ भदौ २ गते कैलाली जिल्ला अदालतमा अरुण चौधरीसहित ३ जनाविरुद्ध मुद्दा दर्ता गरे । अदालतले सोही मुद्दाको सुनुवाइ गर्दै २०७० वैशाख ९ गते चौधरीसहित परशुराम चौधरी र वीर बहादुर चौधरीलाई जनही ६ महिना कैद र ८ लाख १८ हजार ४२३ रुपैयाँ पीडितलाई उपलब्ध गराउने फैसला सुनायो ।
घटना पश्चात् उनी २०७४ मा प्रदेशसभा निर्वाचनमा उम्मेदवार बने । लम्की चुहा नगरपालिकाको मेयरमा पनि उनी उम्मेदवार बने । २०७९ मा प्रतिनिधिसभा सदस्यमा उम्मेदवार बनेका उनी यस पटक भने निर्वाचित भए । माघ १९ गते उनलाई बाँकेबाट पक्राउ गरियो । रिहापछि चौधरीसँग रातोपाटीले यिनै सेरोफेरोमा संक्षिप्त कुराकानी गरेको छ । प्रस्तुत छ, उनीसँग गरिएको कुराकानीको सम्पादित अंश–
जेल बसाइ र आममाफीलाई कसरी लिनुभएको छ ?
यो नितान्त परिवर्तनको लागि उठाइएको मुद्दा थियो । अधिकारको लागि थियो । जुन घटना भयो, मलाई सजाय पनि सुनाइयो । सजाय सुनाउने पनि उनीहरु नै थिए । तर मलाई जानकारी किन भएन ? हामीले परिवर्तनको लागि गरेको आन्दोलनको क्रममा घटना घटेको हो । जबकि राज्यलाई जगजाहेरै थियो । राज्य र आन्दोलनकारी पक्ष थरुहट थारुवान् संयुक्त संघर्ष समितिबीच अदालतको फैसला पूर्व २०६९ जेठ १० गते शान्ति तथा पुनर्निर्माण मन्त्रालयमा भएको सहमतिमा आन्दोलनमा क्रममा लगाइएका सबै मुद्दा फिर्ता लिने सहमति थियो । तर जानाजान सहमति विपरीत मुद्दा लगाइयो । अहिले निकास पाइयो ।
तपाई प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभयो । त्यही पुरानै मुद्दामा तपाईंलाई पक्राउ गरियो । त्यो फैसला नै त्रुटिपूर्ण रहेको भन्दै बदरको माग राख्दै तपाई उच्च अदालत जानुभयो । अहिले राष्ट्रपतिबाट आममाफी हुँदा त्यही सजाय स्वीकार गरेको देखियो नि ?
यस्तो हो, जेल जीवन भोग्नेलाई मात्रै थाहा हुन्छ । अर्को कुरा, परिवर्तनकामी व्यक्तिको खुट्टा कसरी तान्ने काम हुन्छ ? सुनियोजित रूपमा कसरी फसाइन्छ ? भोग्नेलाई मात्रै थाहा हुन्छ । आफ्नो बचाउका लागि कति हदसम्म के–के गर्नुपर्छ ? बचाउको लागि कानुनी प्रक्रिया मैले पनि अपनाएको हो । तर अहिले जुन हिसाबले नेपाल सरकारले मप्रति सोच बनायो र निर्णय गर्यो । हामीले गरेको फैसलाले गर्दा उहाँलाई अन्याय भयो भनेर प्रधानमन्त्रीदेखि राष्ट्रपतिज्यूसम्मले सोच्नुभयो । राजनीतिक मुद्दाको रूपमा स्वीकार गरियो । र, मलाई आममाफी दिइयो । जसको लागि म उहाँहरूलाई धन्यवाद, आभार व्यक्त गर्न चाहन्छु । त्यो घटना मेरो नितान्त व्यक्तिगत पनि थिएन नि ।
त्यो मुद्दाले अझै पनि निकट भविष्यमा पार्ने असरलाई कसरी लिनुभएको छ ?
यो घटनाले निकट भविष्यमा चुनौती भन्दा पनि कम समयमै धेरै पाठ सिकियो । राजनीति यति सरल छैन । कदम–कदममा पाइला छामेर हिँड्नुपर्ने अवस्था छ । तथापि अहिले राष्ट्रपतिज्यूबाट भएको आम माफीलाई मैले मेरो कानुनी लडाइँको अन्तिम विन्दु मानेको छु । राष्ट्रकै सर्वोच्च निकायबाट निर्णय भइसकेपछि कानुनी लडाइँको च्याप्टर नै क्लोज भएको मैले ठानेको छु । किनकि, उच्च अदालत, महान्यायाधिवक्ता कार्यालयबाट राय मागेपछि राष्ट्रपतिज्यूबाट भएको निर्णय हो । यो भन्दा ठुलो कानुन नहोला ।
उसो भए अब निर्धक्क संसद् छिर्नुहुन्छ ?
अवश्य, आजदेखि म पुनः माननीयको हैसियतमा छु । जनताको हक हितको लागि लामो समय आन्दोलनमा थिएँ । आम जनता, मतदाताले मलाई अमूल्य मत दिई जिताउनुभएको छ । उहाँहरूको हित, हक अधिकारको लागि उहाँहरूसँगै हुनेछु । उहाँहरूसँग गरेको बाचा पूरा गर्न लाग्नेछु । उहाँहरूको हितलाई सर्वोपरि ठानेर संसद्मा निर्धक्कका साथ आवाज उठाउने मेरो ध्येय हो ।