बिहीबार, ०६ मङ्सिर २०८१
ताजा लोकप्रिय
स्वास्थ्य

किशोरावस्थामा बारम्बार यी व्यवहार देखिएमा हुन सक्छ मनोरोग

सोमबार, ०८ फागुन २०७९

काठमाडौँ । बालबालिकामा मानसिक स्वास्थ्य सम्बन्धी समस्या देखिँदैन भ्रम अभिभावकहरूमा हुने गरेको मनोचिकित्सकहरू बताउँछन् । यद्यपि बालबालिकामा मानसिक स्वास्थ्यसँग सम्बन्धित समस्या देखिने क्रम बढ्दो रहेको उनीहरूको भनाइ छ ।

बालबालिका तथा किशोरकिशोरीमा पनि मनोरोग लाग्ने  कान्ति बाल अस्पतालका बालबालिका तथा किशोर किशोरी मनोचिकित्सक डाक्टर उत्कर्ष कार्की बताउँछन् ।

५० देखि ६० प्रतिशत मनोरोगका समस्या १४/१५ वर्षको उमेर सुरु हुने विभिन्न अध्ययनहरूले देखाएको छ । डा. कार्कीका अनुसार बालबालिकामा मनोरोगको प्रस्तुति फरकफरक उमेरमा फरक हुन्छ । १८ वर्ष मुनिका बालबालिकामा विभिन्न खालका समस्या देखिँदा समेत परिवारले सामान्य ठान्दा मानसिक स्वास्थ्य जटिल बन्न सक्ने उनको भनाइ छ ।

बालबालिकामा यी समस्या देखिन सक्छन्  

पूर्वबाल्यावस्था

६ वर्षभन्दा मुनिका बालबालिका अर्थात् पूर्वबाल्यावस्थामा पनि मनोरोग लाग्न सक्छ । ६ वर्ष मुनिका बालबालिकामा भाषा बोलीको विकास हुँदैन । जसका कारण ती बालबालिका कतै मनोरोग छ कि भनेर शङ्का गर्नुपर्ने बालबालिका तथा किशोर किशोरी मनोचिकित्सक डा. कार्की बताउँछन् ।

उनी भन्छन्, ‘यदि बालबालिकामा भाषा र बोलीमा समस्या देखिन सक्छ । उदाहरणका लागि ती बालबालिकाले धेरै झिजो मान्ने, कराउने, अटेरी गरेर बारम्बार व्यवहार परिवर्तन गरिरहेको खण्डमा मानसिक स्वास्थ्यमा समस्या छ कि भनेर बुझ्नुपर्छ ।’

६ वर्ष मुनिका बालबालिकाले चकचक गर्नु, एक ठाउँमा स्थिर भएर नबस्नु, भनेको नमान्नु, जिद्दी हुनु, केही कुरा माग्दा अभिभावकले दिनु भएन भने प्रतिक्रिया स्वरुप बच्चा रुनु, चिच्याउनु, कराउनु, लडीबुडी खेल्नु सामान्य खालको व्यवहार हो ।

यस उमेर समूहका बालबालिकामा मनोरोग भएमा बोली र भाषामा ढिलाइ, बौद्धिक विकासमा पनि समस्या देखिने उनको भनाइ छ ।

डाक्टर कार्कीका अनुसार मनोरोग लागेको खण्डमा ६ वर्षभन्दा मुनिका बालबालिकाहरूमा विकाससम्बन्धी थुप्रै समस्या हुन्छ । जस्तै अटिजम भई मुख्यतः सामाजिक अन्तरक्रियामा अनि सरर बोलीको विकासमा ढिला हुनुका साथै अन्य मान्छेहरूसँग खासै घुलमिल हुन सक्दैनन् ।

बालबालिकामा यस्तो लक्षण देखिए शङ्का गरौँ

६ वर्ष मुनिका बालबालिकाले चकचक गर्नु, एक ठाउँमा स्थिर भएर नबस्नु, भनेको नमान्नु, जिद्दी हुनु, केही कुरा माग्दा अभिभावकले दिनु भएन भने प्रतिक्रिया स्वरुप बच्चा रुनु, चिच्याउनु, कराउनु, लडीबुडी खेल्नु सामान्य खालको व्यवहार हो । तर, यस्तो खालका व्यवहार अत्यधिक भयो भने शङ्का गर्नुपर्ने उनले बताए । जस्तै, घरमा मात्रै सीमित नभएर बाहिर अनि स्कुलमा पनि व्यवहार परिवर्तन देखियो भने परिवारले चनाखो भएर बालबालिकाको ख्याल गर्नुपर्ने डा.कार्कीको सुझाव छ ।

यस्तै, पाँच वर्ष मुनिका बालबालिकाले ओछ्यानमा पिसाब फेर्नु सामान्य नै हो । तर, पाँच वर्षपछि पनि ओछ्यानमा पिसाब फेरेमा बालबालिकामा केही समस्या छ भनेर अभिभावकले बुझ्न आवश्यक रहेको उनको भनाइ छ ।

उत्तरबाल्यावस्था

यस्तै ६ वर्षदेखि १२ वर्ष उमेर समूह अर्थात् उत्तरबाल्यावस्था विद्यालय जाने उमेर हो । डा. कार्कीका अनुसार यस उमेर समूहका बालबालिकामा भावना, विचार व्यक्त गर्ने क्षमता अलि बढी हुन्छ । ६ वर्षदेखि १२ वर्ष उमेर समूहका बालबालिकाको सोचविचारमा परिवर्तन आउने, परिवर्तित व्यवहार देखाउन थालेमा मानसिक समस्यामा हो भनेर शङ्का गर्नुपर्ने उनले बताए ।

यस उमेर समूहका बालबालिकामा टाउको दुख्नु, टाउको भारी हुनु, पेट दुख्नु, स्कुल जान हिचकिचाउनु, स्कुल नजानु, वाकवाक आएको जस्तो हुनु, श्वास प्रश्वासमा एकदमै गाह्रो भएको जस्तो हुनु, मुटु भारी भई मुटुको धड्कन तेज हुनु, आत्तिने, डराउने, बाहिरबाट हेर्दा शारीरिक समस्या जस्तो देखिए पनि गहिराइमा पुगेर उनीहरूमा अध्ययन गर्दा थुप्रै मनोरोगको समस्या देखिन सक्ने डा. कार्की बताउँछन् ।

‘किशोरावस्थामा शारीरिक रुपमा परिर्वतन आउँछ । त्यस्तो हुँदा हर्मोनल परिर्वतन, साथीहरूसँग घुलमिल हुने, साथीहरूले जे गर्‍यो त्यही गर्नुपर्ने, आमा बुबासँग अलिकति टाढिने क्रमलाई सामान्य विकासको क्रम हो भनेर बुझनुपर्छ ।

एन्जाइटी डिसअर्डर, कहिलेकाहीँ यो उमेर समूहका बालबालिकामा उदासहिनता, डिप्रेसन डिस अर्डर पनि हुने  उनी बताउँछन् । यस्तै, भनेको नमान्ने, अटेरी हुने, झगडा गर्ने लगायतका समस्या ६ देखि १२ वर्षसम्मको उमेर समूहमा देखिन्छ ।

यस उमेर समूहका बालबालिका धेरै रुनु, कराउनु, ननिदाउनु, खाना नखाने क्रम हप्ता दश दिन रहेर पठनपाठन, दैनिक साथीभाइसँगको अन्तरक्रियामा यसले असर गर्न थालेमा मानसिक स्वास्थ्यमा समस्या भयो भनेर चाँडै पहिचान गरी उपचारतिर लाग्नुपर्ने बालबालिका तथा किशोर किशोरी मनोचिकित्सक डा. कार्कीको भनाइ छ ।

किशोरकिशोरी अवस्था

यस अवस्थामा साइकोसिस, सिजोफेनिया, वाइपोलर एफेक्टिभ डिस अर्डर, नसालु पदार्थ सेवन, मोबाइल, टिभी जस्ता ग्याजेट प्रयोग गरेर दैनिक कार्यमा पनि असर गरेको पाइन्छ ।

यस उमेर समूहका किशोरकिशोरीले मानसिक समस्या भएर आत्महत्याको सोच आउने, अत्महत्याको प्रयास गर्ने गरेको उनले बताए । यद्यपि १२ वर्ष मुनिका बालबालिकाकाले अपवाद अर्थात् कहिलेकाहीँ आत्महत्याको प्रयास गरेको पाइएको उनले बताए ।

उनी भन्छन्, ‘किशोरावस्थामा शारीरिक रुपमा परिर्वतन आउँछ । त्यस्तो हुँदा हर्मोनल परिर्वतन, साथीहरूसँग घुलमिल हुने, साथीहरूले जे गर्‍यो त्यही गर्नुपर्ने, आमा बुबासँग अलिकति टाढिने क्रमलाई सामान्य विकासको क्रम हो भनेर बुझनुपर्छ । यस अवस्थामा भावनाहरू उथलपुथल हुनुलाई पनि नर्मल मानिन्छ ।’

दैनिकीमा असर हुनु, तनाव तथा चुनौतीहरू झेल्न नसक्दा आत्महत्याको सोच आउनु, आत्महत्याको प्रयास गर्नु, साथीहरूसँग बोल्दै नबोल्नु, घरको कोठमा मात्रै थुुनिएर बस्नु, मोबाइल, टिभी र ल्यापटप हेरेर वा खेलेर दैनिक रुटिन नै गडबड हुने जस्ता समस्या देखिन थालेमा अभिभावक सतर्क हुनुपर्ने उनको भनाइ छ ।

यस्तो अवस्था आफ्ना बच्चाहरूलाई कतै मानसिक स्वास्थ्यमा असर गरिरहेको छ कि भनेर शङ्का गरी उपचार र परामर्शमा जान उनको सुझाव छ । उल्लेखित कुरा सामान्य हो भनियो भने भविष्यमा बालबालिकामा मानसिक स्वास्थ्यसम्बन्धी समस्या जटिल खालका आउन सक्ने उनले बताए । मनोरोग जति चाँडो पहिचान गरियो, त्यति नै चाँडो निको पार्न सकिने डा. कार्की सुनाउँछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया