सरकारलाई पूर्वबुकरही तथा पूर्वकमलरीको चिठी
नेपाल सरकार !
म विषनी थारु । कमैया महिला जागरण समाजकी अध्यक्ष । मेरो बुवा लक्ष्मण थारु कमैया थिए । कमैया भनेको जमिनदारको घरबारीमा अर्धदासको रूपमा काम गर्ने व्यक्ति । कमैयाले मालिकको खेतबारीमा काम गरेबापत चौकुरबटैया (कुल उब्जनीबाट चार भागको एक भाग) पाउँथे । एउटै मालिकले थुप्रै कमैया राखेका हुन्थे, ती सबैले त्यही एक भागलाई बाँड्नुपथ्र्यो, त्यसले एक महिना खान पुग्दैनथ्यो ।
कमैया मुक्त हुनुअघि (२०५७ साउन २)सम्म कमैयाका स्वास्नी बुकरही हुन्थे । कमैयाकी स्वास्नी भएकै नाताले ऊ आफ्नो लोग्नेले काम गर्ने मालिकको घरमा अर्धदास हुन पुग्थी । गोठ, भान्सा, जुठोभाँडो, लिपपोत, बढारकुँडारदेखि खेतबारीको काम भ्याउनुपथ्र्यो । तर बुकरहीलाई कुनै ज्याला वा अन्नको भाग आउँदैनथ्यो ।
बा कमैया भएपछि मेरी आमा मनबुझाउनी थारु सिधै बुकरही भइगइन् । नामै मनबुझाउनी हजुर । यस नामको अर्थ ? मलाई नै थाहा छैन, उसो त मलाई मेरो नामको अर्थ पनि थाहा छैन– विषनी थारु । के अर्थ होला र ? उसै पनि कमैयाका लोग्नेस्वास्नी र छोराछोरीको यो राज्य र समाजमा के मूल्य छ र !
हेर्नुस् न, देश एउटै हो, दमन र दुर्दशा फरक ! व्यवस्था एउटै हो, व्यथा बेग्लै !
बाबआमाका नौ सन्तानमध्ये माहिली म । २०३५ सालको जन्म हो, यतिखेर जीवनका ४४औँ वसन्तमा हिँड्दै छु । हिजो सरकारले ७३औँ प्रजातन्त्र दिवस मनायो क्यारे । मेरैअगाडि देशमा दुईवटा व्यवस्था फेरिए । अरुलाई बहुदल आउँदा म कमलरी थिएँ । १६ वर्षको उमेरमा कमैयासँग विवाह भयो र बुकरही भएँ । बहुदल आएपछि कमैयालाई मुक्त गरियो, म बुकरही रहिनँ, पुनः कमलरी हुन पुगेँ । अरु गणतन्त्र ल्याउन लडिरहँदा हामी कमलरी मुक्तिका लागि लडिरहेका थियौँ । कमलरी भनेको ? यति छिटै बिर्सिसक्नु भयो र ! हुन त, मुक्त घोषणा गरेकै आठ वर्ष नाघ्यो क्यारे । अँ, कमैयाका श्रीमती बुकरही भएजस्तै कमैयाका सन्तान सिधै कमलर र कमलरी भइहाल्थे । कमैयाको श्रमको कुनै मूल्य थिएन । मालिकले दिएका फाटेका कपडा र दुई छाक खानामा खटिनुपथ्र्यो । खाना पनि आफ्नो भाग पाउने हो र ? मालिकको भान्सामा हामीले सबै तयार गरेर चुलोमा बसालिदिएपछि छुन पाइँदैनथ्यो । मालिकका जहान–परिवारले खाइसकेपछि उभ्रियो भने मात्रै खाने हो । त्यसपछि भान्सा, भाँडाकुँडाको सरसफाइ गर्दा रातको १२–१ बज्थ्यो ।
हेर्नुस् न, देश एउटै हो, दमन र दुर्दशा फरक ! व्यवस्था एउटै हो, व्यथा बेग्लै ! गणतन्त्रले कमलरीलाई मुक्त गर्यो । ०५७ सालमै कमैयालाई मुक्त गर्दा पुरुषको टाउको गनेर पुनर्स्थापना गर्ने भनिएको थियो । हामी बुकरही बिनाज्याला मालिकको दास भएको क्षतिपूर्ति के ?
कसरी र कहिलेदेखि कमैया भए भन्नुहोला । उत्पीडितहरू अन्याय र विभेदमा परेको थाहै नपाएजस्तो गर्नु सरकारको चरित्र नै हुन्छ क्यारे !
मेरी आमा बिहानै उठेर जमिनदारको घरमा काम गर्न पुग्थिन् । घरमा सानी बहिनी भोकाएर रुन्थी । आमाको दूध चुसाउन बहिनीलाई बोकेर म मालिकको घरमा जान्थेँ । आमाले बहिनीलाई दूध चुसाउँदासम्म मैले आमाको काम गरिदिन्थेँ । यसरी काम सिक्दै थिएँ, जब ठूली भएँ, मलाई मालिकले कमलरी राखे ।
१६ वर्षको उमेरमा अर्का कमैयासँग मेरो बिहे भयो, अनि म बुकरही भएँ । बुकरहीको अर्थ ? कमैयाहरू मालिकको घरछेउ मालिककै जग्गामा बनाइएको बुकुरो (झुपडी)मा बस्थे । बुकुरोमा बस्नेलाई नै बुकरही भनिने हो ।
कसरी र कहिलेदेखि कमैया भए भन्नुहोला । उत्पीडितहरू अन्याय र विभेदमा परेको थाहै नपाएजस्तो गर्नु सरकारको चरित्र नै हुन्छ क्यारे !
कमैया, भूदास हुनुको कथा लामो छ हजुर । मुखिया, राजा, राज्यको जन्म हुँदै भूदासहरूको जन्म भएको भन्छन् । हामी कमैया हुनुको कथा त त्यति पर पुग्दैन केरे । औलोको कथा बिर्सनुभएकै होला ! तराई क्षेत्रमा औलोका कारण टिक्न सक्ने अवस्था थिएन । सन् १९६० मा औलो उन्मूलन भएपछि पाँचवटा जिल्ला (दाङ, कैलाली, कञ्चनपुर, बाँके र बर्दिया)मा पहाडबाट बसाइ सर्नेहरू बढ्न थाले । औलो समाप्त भएपछि ती क्षेत्रमा ठूलो मात्रामा उर्वर जमिन खाली भयो, त्यसकै लोभमा टाठाबाठाको बसाइँ सर्ने होड चलेको थियो । यस क्षेत्रमा परिस्थितिसँग मुकाबिला गर्दै पहिलेदेखि बसिआएका थारुहरू सोझा थिए । उनीहरूको मेहनतले उर्वर बनाएको जग्गा अनेक प्रपञ्च गरेर बसाइँ सरेर आएका टाठाबाठाले फुत्काए । सोझा र मेहनती थारुलाई त्यसको पत्तै भएन । उनीहरूलाई कानुन, कर, जग्गानापी आदि थाहा भएन । कति थारुहरूले कुरो बुझे र जमिन जोगाए, सोझाहरू ठगिए । बिस्तारै जमिन सकिएसँगै भूमिहीन बनेका थारुहरूले खान र बाँच्नकै लागि जमिनदारसँग ऋण लिन बाध्य भए । ऋण तिर्ने कुनै माध्यम थिएन । ऋण लिएबापत जमिनदारकहाँ नै काम गरिदिन उनीहरू बाध्य भए । यस्तो ऋणलाई सौकी भनिन्थ्यो । यसरी हामी कमैया हुन पुग्यौँ ।
म भन्दै थिएँ, विवाहपछि म बुकरही भएँ भनेर । ठीक त्यही बेला कमैयाको मुक्ति घोषणा गरियो । सरकारले २०५८ सालमा ‘कमैया श्रम (निषेध गर्ने) सम्बन्धी ऐन’ ल्यायो । यसको केहीपछि मेरा बुढाले सरकारबाट १९ धुर जग्गाको लालपुर्जा पाए– मालिककै जग्गाको होइन, राजापुर– २, चैनपुरस्थित ऐलानी जग्गामा । त्यहाँ हामीजस्ता केही कमैयाले पुर्जासहितको जग्गा पाएका थियौँ ।
मुक्त भएपछि सरकारले केही कमैयालाई लालपुर्जा त दियो, जग्गा कहाँ छ भन्ने पत्तै थिएन, स्रेस्ता कायम भएको थिएन ।
त्यहीँ सानो झुपडी बनाएर मेरा बूढा भारततिर लागे, नोकरी खोज्दै । भारतमा तीन वर्षजति मजदुरी गरेर कमाएको पैसाले झुपडीमा टिन हालियो । त्यही झुपडीमा दुई छोरी र एक छोरा हुर्किए । जेठी छोरीले गाउँमै स्नातक गर्दैगर्दा भर्खरै बिहे गरी, अहिले पनि उसको अध्ययन निरन्तर छ । छोराले अहिले स्नातक पढ्दै छ । बीचमा पढाइ छाडेकी कान्छी छोरी अहिले कक्षा ९ मा भर्ना भएकी छ । बाबुआमा मुक्त भएपछि छोराछोरीको जीवनमा आएको फेरबदल यही हो । अब छोराछोरीले राम्रो जागिर वा अवसर पाए हुने !
मुक्त भएपछि १९ धुर मात्रै जग्गा पाउँदा मेरा छोराछोरीले केही पढ्न पाएका छन् । अक्षर चिन्ने र देशको शासन–प्रशासन बुझ्ने हो भने यहाँ हामीजस्तो मान्छे ठगिनुपर्दैन नि हजुर । यहाँ त सरकारी कर्मचारीले पनि अनुहार, लवाइखवाइ, वर्ग, जात हेरेर व्यवहार गर्छन् । हामी त हिजोका कमैया । आज सरकारी मान्छेले हामीलाई हेर्ने दृष्टिकोण नै बेग्लै छ ।
मुक्त भएपछि सरकारले केही कमैयालाई लालपुर्जा त दियो, जग्गा कहाँ छ भन्ने पत्तै थिएन, स्रेस्ता कायम भएको थिएन । स्रेस्ता कायम गर्न जाँदा कर्मचारीबाट हामीलाई सहयोग हुँदैन हजुर– अनेक दुःख दिन्छन्, कतिले त पैसा खोज्छन् ।
कोही–कोही जमिनदार यतिसम्म फटाहा र शोषक थिए, छोरी हुर्केपछि बेला न कुबेला बुकरहीलाई भन्थे– तेरी छोरी पठा ।
म भन्दै थिएँ, लोग्ने भारत गएपछि म फेरि कमैया हुनुपर्यो– खानका लागि, बाँच्नका लागि । १९ धुर जग्गाले मात्रै खान पुग्ने होइन । लोग्ने गएपछि कमलरी बसेबापत मैले वार्षिक एक क्विन्टल धान (सय किलो) पाउन थालेँ, त्यतिबेला कमैया श्रम निषेध ऐन आइसकेको थियो । बडो दुःखले छोराछोरीलाई हुर्काइयो, पढाइयो । आफूले पनि अक्षर चिन्न प्रौढ शिक्षा पढियो ।
दुःख ? अहो, कमलरीहरूको दुःख यहाँले कल्पना गर्न सक्नुहुन्न । कमैया मुक्तिको घोषणा अघिसम्म थुप्रै कुमारी आमा भए । मालिकको कुकृत्यबाट जोगिएकाले आज म यहाँ यसरी बोल्न सक्ने भएकी छु भनौँ न । कमलरीको काम मालिक र मालिक्नीलाई मालिस गरिदिनेसम्मको हुन्थ्यो । भनेको काम नमाने गालीगलौज र कुटपिट गरिन्थ्यो । मालिक र उसका छोराले कतिपयलाई यौनदुव्र्यवहार गर्थे । मुक्त घोषणा गर्नु अघिसम्म कुमारी आमा भएका घटना धेरै छन् । मालिकबाट बलात्कृत भई गर्भवती भएका कमलरीलाई मालिकले नै अर्को कमैया खोजेर जबर्जस्ती विवाह समेत गरिदिन्थे । कमैया पुरुषले विवाह गर्न मानेन भने उसलाई पनि कुटपिट हुन्थ्यो, अनेक धम्की दिइन्थ्यो । पुलिस–प्रशासन सबै मिलेका थिए नि हजुर ।
कोही–कोही जमिनदार यतिसम्म फटाहा र शोषक थिए, छोरी हुर्केपछि बेला न कुबेला बुकरहीलाई भन्थे– तेरी छोरी पठा । कसैले भर्खर बिहे गरेर बेहुली ल्याएको छ र ऊ राम्री छ भने, त्यो रात जमिनदारले ती नयाँ बेहुलीलाई सुत्न बोलाउँथे ।
कमैया, बुकरही र कमलरीले कहिलेकाहीँ माघीका बेला मालिक फेर्नुपथ्र्यो । घरमा धेरै कमैया छन् र सस्तोमा अर्को कमैया पाएपछि मालिकले भएका कमैयालाई निकाल्थे । त्यसैले हरेक वर्ष माघीमा निकालिएका कमैयाहरू अरु मालिकको घरघर हात जोर्दै जान्थे– मलाई राख्नुस्, म काम गर्छु । कुनै जमिनदारले राख्छु भनेपछि उनीहरूले आफ्ना भाँडाकुँडा, कपडा लगायत सामान बोकेर अर्को मालिकको बुकरीमा बस्न जान्थे ।
जमिनदार खोज्दै आफँै दास हुन किन गएको त भन्नुहोला ? देशकै सहरबजार, अन्य गाउँ वा भारत लगायत ठाउँमा ज्याला–मजदुरी गर्न सक्दैनथ्यौ भन्ने प्रश्न पनि सरकारको दिमागमा आउला । आफैँ भन्नुस् त ? परिवार कहाँ राखेर हिँड्ने ? समाजै छाडेर जाने कहाँ, बस्ने कहाँ ? मालिकको दास वा अर्धदास हुन पुग्नुको व्यथा नै अलग छ सरकार ।
त्यतिबेला माओवादीले ‘घर कसको पोत्नेको, जग्गा कसको जोत्नेको’ भन्ने नारा दिएको थियो हजुर । घर र जमिन नभएका कमैया यस नाराले आकर्षित भएका थिए ।
लाउन, खान, नुनतेल, स्वास्थ्योपचार, सामाजिक कार्य आदिमा ऋण लिनुपथ्र्यो । दुई–चार सय रुपैयाँ ऋण दिएर दुई–चार हजार बनाइदिन्थे । हामीलाई त आफ्नै आवश्यकताले थप दास बनाउँथ्यो सरकार । कमैया आन्दोलन कसरी सुरु भयो भन्नु’भा ? बिर्सनु भो र ! कैलालीका शिवराज पन्थको घरमा १९ जना कमैया थिए । श्रमशोषण भयो भनेर उनीहरूले त्यतिबेला गाविस र जिल्ला प्रशासनमा निवेदन हाले । यहीँबाट सुरु भएको आन्दोलन चर्कंदै गएको हो ।
राजापुरकै एक जमिनदारले धेरै कमैया राखेका थिए । उनको ज्यादती र शोषण चरम थियो । उनलाई जनयुद्धकालको सुरुवातमै माओवादीले कुटपिट गरेर घाइते बनाएका थिए । उनलाई विद्यार्थीले पनि कालोमोसो दलेर, चप्पलको माला लगाएर डुलाएका थिए ।
त्यतिबेला माओवादीले ‘घर कसको पोत्नेको, जग्गा कसको जोत्नेको’ भन्ने नारा दिएको थियो हजुर । घर र जमिन नभएका कमैया यस नाराले आकर्षित भएका थिए । त्यतिबेला माओवादीले कतिपय जमिनदारको जग्गा कब्जा गरेर कमैयालाई दिएको पनि थियो । जमिन पाइन्छ कि भनेर हामीले माओवादीलाई भित्रभित्रै सहयोग गर्यौँ तर जनयुद्धमा लागेनौँ । किनभने, हाम्रो घर जमिनदारकै जमिनमा थियो । सबै केटाकेटी र बूढाबूढीलाई लिएर हिँड्ने कुरा भएन !
मुक्त कमैया घोषणा भएको आज २२ वर्ष भइसक्यो । कमैया मुक्तिको घोषणापछि पाँच जिल्लामा मुक्त कमैया समाज गठन गरियो । सरकारले मुक्त घोषणा गरेपछि कतिपयलाई लालपुर्जा त दियो, तर जग्गा कहाँ छ भन्ने कतिपयलाई थाहै थिएन । आफूहरूको पुनर्स्थापना नभएपछि पाँचवटै जिल्लाका कमैयाले ०६१ सालमा सरकारको स्वामित्वमा रहेको जग्गा कब्जा गर्न थाले ।
मुक्त भएपछि हामी ज्याला–मजदुरीमा लाग्यौँ, त्यहाँ पनि उचित ज्यालासहितको अधिकार भएन । मजदुरी गर्ने मुक्त कमैयालाई ठेकेदारले पनि दोस्रो दर्जाको रूपमा हेर्ने गरेको छ ।
बर्दियाका कमैयाले कपास विकास समितिको जग्गा कब्जा गरेका थिए । पछि सरकारले मुक्त कमैयालाई त्यहीँको जग्गामा लालपुर्जा दिएको छ । राजापुरको सरकारी वनमा ठूलाठूला रूख जमिनदारले तस्करी गरिसकेका थिए । त्यस्ता वनमा पनि कमैयाले कब्जा गर्न थाले । मेरो परिवार त त्यही १९ धुर जग्गामै छ हजुर, सरकारले त बढीमा पाँच कट्ठासम्म दिने भनी कानुन बनाइसकेको छ क्यारे ।
तँ कसरी कमैया महिला जागरण समाजको अध्यक्ष भइस् भन्नुहोला ? कमैयालाई मुक्त घोषणा गरेपछि सरकारले घरमूली पुरुषको पहिचान त गर्यो, तर उसकी श्रीमती बुकरहीको पहिचान भएन । बुकरहीले पनि मालिककहाँ दासीकै जीवन बिताउनुपरेको थियो । सरकारले हाम्रो पहिचान नगरेपछि मुक्त कमैया समाजकै अगुवाइमा २०६४ जेठ ३१ मा राष्ट्रिय सम्मेलन गरेर ‘कमैया महिला जागरण समाज’ बनाइयो । २०६७ सालमा विधिपूर्वक सञ्चालनमा आएको यस संस्थामा सुरुको अध्यक्ष कृष्णी थारु हुनुहुन्थ्यो, म सदस्य थिएँ । उहाँ (कृष्णी) २०७४ मा लुम्बिनी प्रदेशको उपसभामुखमा निर्वाचित हुनुभयो, अनि म अध्यक्ष भएँ ।
सरकारलाई अचेल रोगै लागेको छ, समाजमा अलिकति आवाज उठाउने महिलालाई कुनै ‘उप’ पदमा लगेर थन्काइदिन्छ, कार्यकारी अधिकार दिँदैन । ‘उप’ नै होस्, चित्त बुझाउँदै छौँ, यही पनि क्रमशः खोसिने लक्षण देखिएका बेला ।
मुक्त कमैया समाजले २०६३ मा काठमाडौंको तीनकुने घेरेको थियो । मुक्त कमैया समाज र जागरण समाजले कमलरी मुक्तिका लागि संघर्ष गर्यो । राजापुरबाट दुई दिन एक रात हिँडेर हामी सदरमुकाम गुलरिया पुग्थ्यौँ, सरकारी कार्यालय घेरेर आन्दोलन गर्न । खानका लागि चामल, बास बस्नका लागि कटेरो बनाउने बाँस, ओढ्ने–ओछ्याउने आदि बोकेका हुन्थ्यौँ ।
अहिले हामी हाम्रै हक–अधिकारका लागि संघर्षरत छौँ । सरकारले पाँचवटै जिल्लामा ३२ हजार ५०९ जना कमैयाको तथ्यांक संकलन गरेको छ । कमैयाका श्रीमती नै बुकरही भएकाले सरकारले अर्को तथ्यांक संकलन नगरी पहिलेकै आधारमा बुकरहीलाई अधिकार दिन सक्छ ।
बुकरहीलाई एकै वर्ग र रङको परिचयपत्र दिइनुपर्छ । हामी बुकरही मालिकको घरमा अर्धदास भयौँ, हामीलाई जग्गाको आधारमा होइन अन्य प्याकेजका आधारमा सरकारले हेर्ने हो, त्यसका लागि फरक–फरक परिचयपत्र जरुरत हुँदैन ।
पहिले हामीलाई परिचयपत्र दिनुपर्यो । सरकारले विभिन्न कार्यक्रम लक्षित वर्गका लागि भन्छ, तर कार्यक्रम हुनेखाने पहुँचवाला वर्गले मात्रै पाउँछन् । बुकरहीको परिचयपत्र हुन्छ भने सरकारले लक्षित वर्ग खोज्दै हिँड्नुपर्दैन ।
परिचयपत्रसँगै हाम्रा केही माग छन्– सीप नहुनेलाई सीप वा तालिम दिइनुपर्छ, तालिमअनुरूप रोजगारी वा स्वरोजगारीको व्यवस्था हुनुपर्छ, सीप भएकाहरू अर्थात् जो कृषिमा अभ्यस्त हुँदै आएका छन्, उनीहरूलाई कृषि उत्पादनमै जोड्न पहल गर्नुपर्छ, कतिपयले घर बनाउने लगायत मजदुरी गर्दै आएका छन्, उनीहरूको सोसम्बन्धी सीप प्रवद्र्धन गरिनुपर्छ, उचित र समान ज्याला हुनुपर्छ । सरकारले हामीलाई भाडामा जग्गा उपलब्ध गराएर पनि उत्पादनसँग जोड्न सक्छ । सरकारले कतिपयलाई पाँच कट्ठा वा सोभन्दा कम जमिन दिएको छ, त्यसको उब्जनीले त खान पुग्दैन ।
मुक्त भएपछि हामी ज्याला–मजदुरीमा लाग्यौँ, त्यहाँ पनि उचित ज्यालासहितको अधिकार भएन । मजदुरी गर्ने मुक्त कमैयालाई ठेकेदारले पनि दोस्रो दर्जाको रूपमा हेर्ने गरेको छ । सरकारले स्वास्थ्य बिमाको कुरा गरेको छ । बिमाका लागि ३५ सय रुपैयाँ तिर्नुपर्छ । दिनभरि मजदुरी गरेर साँझ खाने मुक्त कमैयाले कसरी त्यत्रो पैसा तिरेर बिमा गर्ने ? सरकारले हामीलाई निःशुल्क उपचारको सुविधा दिनुपर्छ ।
कमैया श्रम (निषेध गर्ने) सम्बन्धी नियमावली– २०६७ ले मुक्त कमैयाको चार प्रकारले वर्गीकरण गरेको छ । आफ्नो वा आफ्नो परिवारको नाममा घर र जग्गा नभएकोलाई ‘क’ वर्ग, सार्वजनिक वा सरकारी जग्गामा बसोबास गरेको र आफ्नो वा आफ्नो परिवारको नाममा जग्गा नभएकोलाई ‘ख’ वर्ग, आफ्नो वा आफ्नो परिवारको नाममा नाममा दुई कट्ठासम्म जग्गा र घर भएकोलाई ‘ग’ वर्ग र आफ्नो वा आफ्नो परिवारको नाममा दुई कट्ठाभन्दा बढी जग्गा र घर भएकोलाई ‘घ’ वर्ग । यी वर्गलाई क्रमशः रातो, नीलो, पहेँलो र सेतो रंगको परिचयपत्र दिने व्यवस्था नियमावलीमा छ ।
तर सरकारले ‘ग’ र ‘घ’ वर्गलाई कुनै सेवा–सुविधा दिएको छैन । बुकरहीलाई एकै वर्ग र रङको परिचयपत्र दिइनुपर्छ । हामी बुकरही मालिकको घरमा अर्धदास भयौँ, हामीलाई जग्गाको आधारमा होइन अन्य प्याकेजका आधारमा सरकारले हेर्ने हो, त्यसका लागि फरक–फरक परिचयपत्र जरुरत हुँदैन ।
संविधानमा उल्लिखित ‘राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्व’ले भन्छ– मुक्त कमैया, कमलरी, हरवा, चरवा, हलिया, भूमिहीन, सुकुम्बासीको पहिचान गरी बसोबासका लागि घरघडेरी तथा जीविकोपार्जनका लागि कृषियोग्य जमिन वा रोजगारीको व्यवस्था गर्दै पुनःस्थापना गर्ने ।’
मौलिक हकअन्तर्गत पनि थुप्रै हक छन् । राज्यले कम्तीमा संविधानको पालना गरे पुग्थ्यो सरकार ।
(विषनी थारुसँगको कुराकानीका आधारमा यो चिठी रातोपाटीकर्मी ध्रुवसत्य परियारले तयार गरेका हुन् ।)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्राप्त ज्ञानलाई मुलुकको समृद्धि र सुखका लागि प्रयोग गरौँ : प्रधानमन्त्री ओली
-
प्रहरीका भान्सेको हत्या प्रकरण : अनुसन्धान विभागका इन्स्पेक्टरसहित तीन जना पक्राउ
-
मधेसमा मोर्चा बनाउन ह्रदयश त्रिपाठीको दौडधुप
-
जसपा नेपाल प्रचार विभागको पदाधिकारी चयन
-
पुस १५ गते राजधानीमा च्याउ महोत्सव हुने
-
त्रिभुवन विश्वविद्यालयको ५०औँ दीक्षान्त समारोह : जसले पदक पाए