मङ्गलबार, ११ मङ्सिर २०८१
ताजा लोकप्रिय
समाचार

रातोपाटी ब्रिफिङ : यस्ता छन् आजका ‘टप टेन’ समाचार

आइतबार, ०७ फागुन २०७९, २१ : १४
आइतबार, ०७ फागुन २०७९

आज २०७९ फागुन ७ गते आइतबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’ मा प्रस्तुत गरेका छौं–

आजका मुख्य समाचारमा पूर्वराजाको प्रस्तावले दलहरुमा तरङ्ग, राष्ट्रपतिबारे दलहरुको आ–आफ्नै दाउ, निलम्बित सांसद अरुण चौधरी रिहा, जसपाका प्रचार विभाग प्रमुखविरुद्ध उजुरी, डिजेल आयात घट्यो, दुर्गा प्रसाईले त्यागे एमाले लगायत छन् ।
१. पूर्वराजाको प्रस्तावले दलहरुमा तरङ्ग
पूर्वराजा ज्ञानेन्द्र शाहले सहकार्यको प्रस्ताव गरेसँगै दलहरुमा तरङ्ग मच्चिएको छ । अधिकांश दलले उनको प्रस्तावको औचित्यमा प्रश्न उठाएका छन् भने राप्रपा सकारात्मक देखिएको छ । 

२. राष्ट्रपतिबारे दलहरुको आ–आफ्नै दाउ
राष्ट्रपति पदका लागि हुन गइरहेको निर्वाचनका लागि दलहरु आ–आफ्नै रणनीतिमा अडिग देखिएका छन् । माओवादी केन्द्रले राष्ट्रिय सहमतिको आधारमा राष्ट्रपति चयन हुने बताइरहँदा एमाले भने माओवादीसँग सरकार गठनको बेला भएको सहमतिको आधारमा आफूले राष्ट्रपति पद पाउनुपर्ने दाबी गरिरहेको छ । प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएको कांग्रेस भने माओवादीले भन्दै आएको राष्ट्रिय सहमतिको नारा आफ्नै लागि केन्द्रित रहेको व्याख्या गर्दै आएको छ ।


३. निलम्बित सांसद अरुण चौधरी रिहा 
नागरिक उन्मुक्ति पार्टीका निलम्बित प्रतिनिधिसभा सदस्य अरुण कुमार चौधरी रिहा भएका छन् । कैलाली निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित चौधरी कैलाली कारागारबाट रिहा भएका हुन् ।  

४. जसपाका प्रचार विभाग प्रमुखविरुद्ध उजुरी
जनता समाजवादी पार्टी (जसपा)को लेटरप्याड दुरुपयोग गरेको भन्दै पार्टीका प्रचार विभाग प्रमुख पूर्ण बहादुर बस्नेतको राजीनामा माग गर्दै अध्यक्ष उपेन्द्र यादवसमक्ष उजुरी दिएका छन् । जसपा अन्तर्गतका १० प्लस १ राष्ट्रिय समितिका अध्यक्षहरुले आइतबार प्रेस विज्ञप्ति जारी गरी उनको राजीनामा माग गरेका हुन् । 

५. राष्ट्र बैंकले नागरिक बचतपत्र जारी गर्दै
नेपाल राष्ट्र बैंकले ५ वर्षे नागरिक बचतपत्र जारी गर्ने भएको छ । बैंकले आगामी चैत ६ गते निष्काशन गर्ने गरी २ अर्ब ५० करोड रुपैयाँ बराबरको नागरिक बचतपत्र २०८४ ‘क’ जारी गर्ने भएको हो । इच्छुक खरिदकर्ताले फागुन १० गतेदेखि फागुन ३० गतेसम्म बचतपत्रका लागि आवेदन दिन सक्नेछन् । 

६. डिजेल आयात घट्यो
चालू आर्थिक वर्ष २०७९/८० मा डिजेल आयात ह्वात्तै घटेको पाइएको छ । गत आर्थिक वर्षको ६ महिनाको तुलनामा चालू वर्षको सोही अवधिमा डिजेलको आयात ह्वात्तै घटेको सरकारी तथ्याङ्कले देखाएको हो ।

७. सुदूरपश्चिम प्रदेशको विकास खर्च डामाडोल
प्रदेश र प्रतिनिधि सभा सदस्य निर्वाचन भएको ३ महिना पूरा भएको छ । यसैबीच सुदूरपश्चिम प्रदेशले २ मुख्यमन्त्री, ४ मन्त्री पाए पनि बढ्दो राजनीतिक खिचातानीले प्रदेश सरकारको विकासे गतिविधि भने प्रभावित हुँदै गएको छ ।

८. अस्ट्रेलिया बस्ने युवतीसँग मिलेर काठमाडौंमा ठगी
अस्ट्रेलिया बस्ने युवतीसँग मिलेर काठमाडौंमा ठगी हुँदै आएको तथ्य प्रकाशमा आएको छ । प्रहरीले उक्त गिरोह पत्ता लगाएको हो ।

९. दुर्गा प्रसाईले त्यागे एमाले 
नेकपा एमाले केन्द्रीय सदस्य दुर्गा प्रसाईँले पार्टी परित्याग गरेको घोषणा गरेका छन् । चर्चित व्यवसायीसमेत रहेका प्रसाईँले एमाले पार्टी परित्याग गरेको आइतबार घोषणा गरेका हुन् ।

१०. र यो पनि,
७३ औँ राष्ट्रिय प्रजातन्त्र दिवस मनाइएको छ । हरेक वर्ष फागुन ७ गते प्रजातन्त्र दिवस मनाउने गरिन्छ । सोही अनुसार आज सैनिक मञ्च टुँडिखेलमा प्रजातन्त्र दिवस मनाइएको हो । 

भावी प्रहरी महानिरीक्षक (आईजीपी) को दौडमा रहेका प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहविरुद्ध परेको उजुरीबारे अख्तियार दुरुपयोग अनुसन्धान अयोगले विस्तृत छानबिन गर्ने भएको छ ।

सभामुख देवराज घिमिरेले संसदको ध्यान ऐन, कानून बनाउनेतर्फ जान नसकेको बताएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप