सोमबार, २१ असोज २०८१
ताजा लोकप्रिय

भारतसँग मैत्रीपूर्ण खेल खेलेर नेपाली टोली स्वदेश फिर्ता

आइतबार, ०७ फागुन २०७९, १८ : ००
आइतबार, ०७ फागुन २०७९

काठमाडौँ । भारतसँगका दुई मैत्रीपूर्ण खेल खेलेर आइतबार नेपाली महिला राष्ट्रिय फुटबल टोली स्वदेश फर्किएको छ । प्रशिक्षक अनन्तराज थापा महिला प्रशिक्षकको रूपमा नियुक्त भएपछिको पहिलो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा सहभागी भएर नेपाली टोली आइतबार स्वदेश फर्किएको हो ।

आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलमा ओर्लिएपछि नेपाली टोलीकी कप्तान एञ्जिला तुम्बाप्पोले भारतसँगको दुई मैत्रीपूर्ण खेल नेपाली टोलीका लागि अनुभव सँगाल्ने राम्रो अवसर भएको प्रतिक्रिया दिइन् । उनले पहिलो खेलमा पछि परेको अवस्थामा पनि पुनरागमन गर्नसक्नु टिमको प्रदर्शनमा सुधार भएको टिप्पणी गरिन् । राम्रो पुनरागमन गर्नमा सबै खेलाडीले आ–आफ्नो ठाउँबाट राम्रो खेलेको बताए ।

आयोजक टोलीले उमेर समूहका विभिन्न प्रतियोगिता खेल्दै अनुभव लिएपनि उनीहरुविरुद्ध राम्रो नतिजा निकाल्दा आपूm सन्तुष्ट रहेको बताए । उनले प्रीति राई बिरामी हुनाले अपेक्षा अनुसारको खेल्न नसकेको र गीता राना चोटग्रस्त हुँदा केही कठिन भएको स्वीकार गरिन् । 

यस्तै नेपाली टोलीकी स्ट्राइकर सावित्री भण्डारीले छोटो समयको तयारी भएपनि राम्रो भएको र सोही अभ्यासबाट घरेलु टोलीविरुद्ध सुखद् नतिजा निकाल्न सफल भएको बताइन् । दुई खेलमध्ये दुवैमा सन्तोषजनक प्रदर्शन भएकाले सबै खेलाडीको मनोबल उच्च रहेको बताइन् । पहिलो खेलमा पछि परेको अवस्थामा स्ट्राइकर सावित्राले सम्हालिएको प्रदर्शन गर्न सकेको बताइन् ।  

बिरामी भएका कारण अपेक्षा अनुसारको प्रदर्शन गर्न असफल प्रीति राईले भने जितको खोजीमा आफ्नो टोली भएपनि राम्रो खेलेको बताइन् । अर्की खेलाडी अमिषा कार्कीले मैत्रीपूर्ण खेल आफ्नो लागि राम्रो अनुभव बटुल्ने अवसर भएको बताइन् । उनले आफ्नो स्वभाविक खेल खेल्न नसकेको भन्दै आगामी दिनमा सुधार गर्ने प्रतिबद्धता पनि व्यक्त गरिन् ।  

एशियन कप छनोटको तयारीमा रहेको नेपाली भारतसँगको खेलबाट राम्रो अनुभव लिएको छ । प्रशिक्षक अनन्तराज थापाले भ्रमण फलदायी भएको र फिफा तालिकाको ६१ औं स्थानको टोलीसँग खेल्दा आफ्नो टोलीको कमी कमजोरी केलाउने मौका मिलेको बताए । भ्रमणको क्रममा घरेलु टोलीमा निकालेको सफलतालाई निरन्तरता दिनुपर्ने धारणा प्रशिक्षक थापाले राखे ।  

भारत भ्रमणको क्रममा नेपालले दुई मैत्रीपूर्ण खेल खेलेको थियो । खेल अन्तर्गत पहिलो खेलमा नेपालले उत्कृष्ट पुनरागमन गर्दै आयोजक भारतसँग २–२ को बराबरी खेलेको थियो । पुनरागमन गर्ने क्रममा सावित्री भण्डारीले एक पेनाल्टी गोलसहित एक गोल गर्न सफल भएकी थिइन् । यस्तै दोस्रो मैत्रीपूर्ण खेलमा भने नेपालले भारतविरुद्ध गोलरहित बराबरी खेलेको थियो । बराबरी नतिजा निकाल्ने क्रममा कप्तान एञ्जिला तुम्बाप्पो सुब्बाको खेल उत्कृष्ट रहेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप