युवा सांसद भन्छन् : ‘रुपान्तरणलाई बोक्ने पुस्तान्तरणले हो’
सुर्खेत । प्रतिनिधिसभा सदस्य समेत रहेका राप्रपाका नेता ज्ञानबहादुर शाही (ज्ञानेन्द्र)ले रुपान्तरण नभइकन पुस्तान्तरणको अर्थ नरहने तर्क गरेका छन् । आइतबार सुर्खेतको बुलबुलेमा ‘रुपान्तरण, पुस्तान्तरणको’ बहस कार्यक्रममा उनले पुस्तान्तरण भन्दा पहिला रुपान्तरण आवाश्यक रहेको बताए । उनको कुरामा राष्ट्रिय स्वतन्त्र पार्टीकी नेतृ सोविता गौतमले पनि समर्थन जनाइन् ।
सांसद शाहीले अहिलेको राजनीतिको उदारण दिँदै व्यवस्था परिवर्तन नै यो देशको उद्गमस्थल भएको बताए । ‘किनभने व्यक्ति मात्र परिवर्तन भएर केही पनि गर्न सकिँदेन, अवस्था परिवर्तन कुनै व्यक्तिले गर्ने होइन व्यवस्था परिवर्तन आवश्यक छ’ उनले भने, ‘अवस्था मात्र परिवर्तन गर्ने भइदिएको भए नेपालको राजनीतिक अहिले यो स्थितिमा हुन्थेन ।’
उनले पहिला रुपान्तरण र त्यसपछि मात्रै पुस्तान्तरण प्रमुख कुरा रहेको बताए । सांसद गौतमको बुझाईमा पनि मुल कुरा रुपान्तरण हो, रुपान्तरणलाई नै बोक्ने पुस्तान्तरणले हो । ‘ अहिले नेपालको ४२ प्रतिशत हिस्सा युवा पुस्ताले ओगटेको छ भनेर भनिन्छ, युवा पुस्ता भनेको घरको मियो जस्तो रहेछ,’ गौतम भन्छिन्, ‘बुबा आमा नातागोता सबैसँग युवा जोडिएको छ । तर ४२ प्रतिशत हिस्सा बोकेको युवा पुस्ताको मुद्दा हजुरबुबा, हजुरआमा पुस्ताले ओगटेको देखिन्छ । रुपान्तरणमा युवा पुस्ता आउनुपर्छ ।’
गौतमको बुझाईमा व्यक्तिगत रुप र पार्टीभित्रको कुरा गरिरहँदा नयाँ राजनीति भनेर उदाएका पार्टीभित्र पनि विचारको विमर्श हुन जरुरी छ । ‘कहिलेकाहीं नेतृत्वले गरेका कुराहरु गलत पनि हुन सक्छन्, त्यसलाई खबरदारी गर्न युवा पुस्ता अग्रसर हुनुपर्छ,’ गौतमले भनिन्, ‘यदि त्यो गर्ने ल्याकत हामीले राख्दैनौं भने फेरि पनि उही पुरानो ढर्राको राजनीति समाउँछौं ।’
राप्रपाका नेता शाही पुपुलारिटीको लागि राजनीतिमा आउन नहुने तर्क राख्छन् । उनी भन्छन्,‘पहिलो कुरा कुनै पनि व्यक्ति कुनै योजना र सोचविना राजनीतिमा आउँदैन, सोच, लक्ष्य विनाको मान्छे मान्छे नै होइनन् नि, साेंच विना परिवर्तन गर्छौं भन्दा भन्दा आज देश दुर्घटनामा गइरहेको छ ।’ उनले शरीर र उमेरले मात्र युवा भएर हुँदैन सोचले पनि युवा हुनुपर्ने बताए । पार्टीभित्र युवा पुस्ता भएपनि पार्टीकै कारण युवापुस्ताको प्रतिनिधित्व गर्न नसकिरहेको उनले बताए ।
रास्वपा नेतृ गौतम पपुलरको विषयमा रास्वपा परिणाममुखी राजनीतिमा आएको बताउँछिन् । विश्लेषक दिपेश घिमिरे ०५१ सालदेखि नेपालको राजनीति एउटै मियोमा घुमिरहेको तर परिवर्तन हुन नसकेको तर्क राख्छन् । उनी भन्छन्,‘ यसले पुस्तान्तरण र रुपान्तरण खोज्छ, पुस्तान्तरण भनेको परिवर्तनको मुद्दालाई बोक्ने समूह हो ।’
सांसद गौतम र शाहीले नयाँ युवा पुस्तालाई अहिलेको राजनीतिले स्वीकार गर्न नचाहेको बताए ।