बलिउडका ५ अभिनेत्री, जसले विवाहपछि छोडे अभिनय
मुम्बई । विवाहले प्रायः मानिसको जीवनमा परिवर्तन ल्याउँछ । बलिउडका कतिपय अभिनेत्रीका कुरा गर्ने हो भने विवाहपछि उनीहरुको अभिनय करियर ब्रेक लागेको छ । बलिउडमा यस्ता धेरै अभिनेत्री छन्, जसले विवाहपछि आफ्नो करियरलाई अलविदा गरे । जसमध्ये ५ को चर्चा यहाँ गर्न खोजिएको छ ।
सोनाली बेन्द्रे
अभिनेत्री सोनाली बेन्द्रले फिल्म ‘बम्बे के आइटम’ को ‘हम्मा–हम्मा’ गीतबाट फिल्मी करियर सुरु गरेकी थिइन् । उनले बलिउडका प्रायः अभिनेतासँग काम गरेकी छन् । सन् २००२ मा फिल्म अभिनेता–निर्देशक गोल्डी बहलसँग विवाह गरेपछि उनले फिल्म उद्योग छोडिन् । विवाहपछि सोनाली सन् २००३ मा ‘कल हो ना हो’ मा विशेष भूमिकामा देखिएकी थिइन् ।
मिनाक्षी शेषाद्री
अभिनेता ऋषि कपुरको फिल्म ‘दामिनी’ बाट मिनाक्षी शेषाद्रीले निकै तारिफ पाएकी थिइन् । अभिनय करियरमा उनले धेरै फिल्म हित दिएकी छन् । अहिले विवाह गरेर अमेरिका रहँदै आएकी उनी फिल्मबाट बाहिर छिन् ।
नम्रता शिरोडकर
पूर्व मिस इन्डिया १९९३ नम्रता शिरोडकर एलओसी कारगिल, अस्तित्व जस्ता धेरै फिल्ममा देखा परेकी थिइन् । नम्रताले सन् २००० मा फिल्म ‘वामसी’को सेटमापति महेश बाबुसँग भेट गरेकी थिइन् । फिल्मको सुटिङ सकिएपछि दुवैले एकअर्कालाई डेट गर्न थाले, पाँच वर्षपछि दुवैले विवाह गरे र अहिले उनी आफ्नो परिवारसँग हैदरावादमा बस्छिन् ।
ट्वींकल खन्ना
ट्वींकलले बलिउडका सबै खानसँग काम गरेकी छन् । तर अभिनेत्रीका रुपमा राम्रो पहिचान बनाउन सकिनन् । उनको अन्तिम फिल्म ‘लभ के लिए कुछ भी करेगा’ थियो । सन् २००१ मा उनले प्रेमी अक्षयकुमारसँग विवाह गरेपछि फिल्म अभिनय छोडिन् ।
असिन
बलिउड अभिनेत्री असिनले सन् २००८ मा आमिर खानसँग फिल्म गजनी अभिनय गरेकी थिइन् । यो उनको बलिउड करियरको सुरुवात थियो । असिनले त्यसपछि धेरै हिट फिल्ममा काम गरिन् । २०१६ मा माइक्रोम्याक्सका सह–संस्थापक राहुल शर्मासँग विवाह गरेपछि उनी फिल्मी दुनियाँभन्दा बाहिर छिन् ।