‘प्रारम्भिक बाल विकास तथा शिक्षा सबलीकरण कार्यनीति’ को मस्यौदा लेख्न प्रस्ताव माग
काठमाडौँ । शिक्षा तथा मावन स्रोत विकास केन्द्रले ‘‘प्रारम्भिक बाल विकास तथा शिक्षा सबलीकरण कार्यनीति’ को मस्यौदा तयार पार्न परामर्शदातासँग प्रस्ताव माग गरेको छ । ११ फागुनभित्रमा आवश्यक योग्यता भएका परामर्शदाताहरूले प्रस्ताव पेस गकिनेछ । परामर्शदार्ताहरूले प्रारम्भिक बालबालिका तथा शिक्षा सवलीकरण कार्यनीतिका लागि सुभाव संकलनको खाका तयार पार्नुपर्नेछ । त्यस्तै सुझाव संकलनका लागि धुलिखेलमा सञ्चालन गरिने राष्ट्रिय स्तरको र बर्दिबासमा सञ्चालन गरिने फिल्डस्तरको कार्यशालामा उपस्थित भई सुझाव टिपोट र संग्रह गर्नुपर्नेछ ।
प्राप्त गरेका सुझावहरू समेटेर कार्यनीतिको मस्यौदा तयार पार्नुपर्ने केन्द्रले जनाएको छ । प्रारम्भिक मस्यौदा प्रतिवेदन केन्द्रमा प्रस्तुत गर्ने र छलफल गराउनुपर्नेछ । प्राप्त सुझाव र पृष्ठपोषण समाविष्ट गरी अन्तिम मस्यौदा तयार गरी पेश गर्नुपर्ने केन्द्रले जनाएको छ । त्यसरी प्रस्ताव पेश गर्ने परामर्शदाताको मुख्य जनशक्ति शिक्षा शास्त्रमा कम्तीमा स्नातकोत्तर तह उत्तीर्ण गरी प्राध्यापक वा अध्ययन वा अनुसन्धानमा कम्तीमा ५ वर्षको अनुभव भएको हुनुपर्नेछ ।
प्रारम्भिक बालविकास तथा शिक्षा मूल विषय लिई उच्च शिक्षा अध्ययन गरेका तथा प्रारम्भिक बालविकास तथा शिक्षाका क्षेत्रमा काम गरेकालाई विशेष प्राथमिता दिइनेछ । परामर्शदाताले १५ फागुन २०७९ देखि काम सुरू गरेर वैशाख मसान्तसम्म काम सम्पन्न गर्नुपर्नेछ ।