चलचित्र पत्रकार संघको नेतृत्वका लागि ३ जना आकांक्षी
काठमाडौंँ । चलचित्र पत्रकारलाई अहिले चुनाव लागेको छ । १७ फागुनमा चलचित्र पत्रकार संघको महाधिवेशन मिति तोकिएसँगै संघको नेतृत्व हत्याउन सदस्यहरु कसरतमा जुटेका हुन् । महाधिवेशन नजिकिँदै गर्दा संघका सदस्यहरुले संघको विभिन्न पदका लागि उम्मेदवारी घोषणा गरिरहेका छन् ।
समाचार तयार गर्दासम्म संघको अध्यक्षमा ३ जना भिड्ने लगभग पक्का देखिएको छ । जसमा पूर्व कोषाध्यक्ष राजन घिमिरे, पूर्व उपाध्यक्ष विष्णु सुवेदी, पूर्व महासचिव समिर बलामी रहेका छन् । उनीहरु उम्मेदवारी घोषणासहित आफ्ना पक्षमा सदस्य पार्न भेटघाटमा लागिरहेका छन् ।
हुन त उम्मेदवारी घोषणा नगरेपनि डब्बु क्षेत्री, दयाराम पाण्डे , सन्दीप सापकोटा र उत्सव रसाइलीले पनि आफूलाई अध्यक्ष पदका आकांक्षीको रुपमा चिनाउँदै आएका छन् । यी ४ जना भन माहोल हेरेर अध्यक्ष उठ्ने नउठ्नेबारे निर्णय लिने सोचमा छन् ।
त्यस्तै संघको कार्यक्रम र संगठन गरेर दुई उपाअध्यक्षका लागि कुवेर गिरी, विजय सुवेदी, जीवन पराजुली, अशेष अधिकारी र विशाल राईको नाम चर्चामा छ । महिला उपाध्यक्षका लागि सुरक्षा भट्टराई र शारदा थापा भिड्ने भएका छन् ।
महासचिव पदका लागि प्रदीप कार्की र रघुनाथ सापकोटा उठ्दैछन् । कार्की संघका वर्तमान कोषाध्यक्ष हुन् भने सापकोटा सचिव हुन् । दुवै आफ्नो पक्षमा माहोल बनाउन आन्तरिक कसरतमा छन् ।
त्यस्तै कोषाक्षका लागि कुमार आचार्य, मनिष कार्की र मनोज न्यौपाने, सचिवका लागि नविन गिरी, गोपीकृष्ण चापागाई र सिपी जैसी उठ्ने घोषणा गरिसकेका छन् । समावेशी सचिवमा दीपक गुरुङ, सहकोषाध्यक्षमा मनिष अन्जान एक्लो छन् ।
सदस्यमा अनुप भट्टराई, सुरेन्द्र थापा, नविन कार्की, पवन भट्टराई, सुष्माश्री कार्की र सरिता भारती उठ्दैछन् । चुनावसम्म अध्यक्षदेखि सदस्यसम्मको यो उम्मेदवारीमा कायापलट हुने सम्भावना पनि देखिन्छ ।