शनिबार, ०८ मङ्सिर २०८१
ताजा लोकप्रिय
बहस

‘नमासम् राखम कर्नाली’

कर्नालीलाई किन जोगाउने ?
आइतबार, ०७ फागुन २०७९, ११ : २९
आइतबार, ०७ फागुन २०७९

सुर्खेत ।  कर्नाली (कर्णाली) नदी आफैमा एउटा विराट सभ्यता हो, यसलाई ‘जोगाइ राख्ने कि मास्ने’ भन्ने अहम् प्रश्न खडा भएको छ । कर्णाली नदी संकटमा रहेकोप्रति चिन्ता व्यक्त भइरहेका छन् । शनिबार कर्णालीको राजधानीमा आयोजित कर्णाली उत्सवमा ‘कर्णाली नदी प्रणाली’ विषयमा गरिएको बहसमा कर्णाली नदीको संरक्षणबारे चर्चा भएको छ ।

बहसमा नेपाल नदी संरक्षण संस्थाका अध्यक्ष मेघ आलेले नेपालमा ६ हजार नदी नालामध्ये सबैभन्दा दुर्लभ नदी कर्णााली रहेको दाबी गरे । तिब्बतको कैलाश क्षेत्रबाट उत्पत्ति भएको यो नदीबारे आलेले विज्ञसहितको टोली लगेर खोज अनुसन्धान समेत गरिसकेका छन् ।

आज भन्दा ३५ वर्ष पहिले कर्णालीमा पहिलो पटक पर्यटक भित्र्याउने व्यक्ति आले नै हुन् । त्यो बेला दैलेखको डुंगेश्वरदेखि कर्णाली चिसापानीसम्म उनले पर्यटकलाई घुमाएका थिए । कर्णाली नदीको महत्व र यहाँको चिन्ताले नै आफूले नदी संरक्षण संस्था बनाएको उनले बताए ।

नदी सम्बन्धी देशी–विदेशी विज्ञसहितको टोली लगेर आले केही समय पहिला कैलाश हुँदै कर्णालीको मुहान खोज्न गएका थिए । ‘अनुसन्धानका क्रममा कर्नालीको मुहान तिब्बत (चीन) को माब्चाखबाब रहेको पाइयो, जुन राक्षस तालको भित्र खोंचमा छ,’ आलेले स्मरण गरे, ‘गंगासम्मको वैज्ञानिक रुपमा अनुसन्धान गरेका थियौं ।’

विभिन्न ‘साइन्टिस्ट’सहितको टोलीले कर्णाली नदीको महत्व र संरक्षणको विषयमा त्यो बेला एउटा रिपोर्ट तयार गरेर सरकारी निकायलाई बुझाएको थियो । तर अहिलेसम्म उक्त रिपोर्टबारे कुनै जवाफ नआएको उनले बताए । नदीको संरक्षणमा राज्य नै अग्रसर नभएको तर्क उनको छ ।

राष्ट्रिय योजना आयोगका पूर्व सदस्य एवं समाजिक विकास विज्ञ मिनबहादुर शाही विकास र संरक्षणको कुरालाई सँगसँगै लैजानुपर्ने तर्क राख्छन् । योगी नरहरिनाथले ‘ॐ’ सभ्यताको सुरुवात कैलाश मानसखण्ड हो भनेर लेखेको उल्लेख गर्दै उनले भने, ‘कर्णाली कैलाशबाट चिसापानी आउँदासम्म कहीँ पनि उपयोग भइरहेको छैन, त्यसको कारण हो– यो नदी राक्षस तालबाट उत्पत्ति भएको र धेरै गहिरो खोंचमा बग्दै आएको छ, जो सिंचाई र अरु उपायका निम्ति प्रयोग हुँदैन भन्ने किवदंती छ ।’

‘कर्णाली नदी सभ्यता’

हिन्दु धर्मको आस्था कैलाश, कर्णाली र गंगा हुन् । कैलाशदेखि निस्किने एकमात्र नदी कर्णाली धेरै सभ्यता र संस्कृतिको मुहान पनि हो । भोटे सभ्यता, खस, राजी राउटे, सोना लगायतका सभ्यता यही नदीकै किनारबाट आएको नदी अभियन्ता आलेको दाबी छ ।

यो नदी भूगर्भ जैविक विविधता र जलवायुको संग्रहालय हो । ‘यो दुर्लभ नदी हो, जसलाई हामीले विश्व सम्पदा सूचीमा सूचीकृत गर्नुपर्ने छ,’ आले भन्छन्, ‘जसले विश्वलाई नयाँ सन्देश दिन सक्छ । समृद्धिको द्वार हो भने पर्यटक र कृषि क्षेत्रको पनि द्वार यही नदी हो ।’

कर्णालीमा पाइने माछाहरुको विशेषता र प्रजाती विश्वका अन्य नदीमा पाउन मुस्किल रहेको बताउँदै आलेले भने, ‘मूल कर्नाली (हूम्ला कर्नाली) बाहेक शाखा नदीहरुमा लगभग ६ हजार ७०० मेगावाट जलविद्युतको लाइसेन्स दिइसकेको अवस्था छ । मुललाई राखेर सहायक नदीको प्रयोग गरे भइहाल्यो नि !’

आले माथिल्लो कर्णाली र वेत्तान कर्णाली आयोजनाले जलचर मासिनुका साथै टुरिजम बन्द गरिनु हो भन्दै चिन्ता व्यक्त गर्छन् । बरु शाखा नदीहरु मासेर मुल नदी जोगाउनुपर्ने तर्क उनको छ । जसका कारण जैविक विविधता जोगिने उनले बताए । नदी बेचेर हैन, नदीको सदुपयोग गरेर राष्ट्रलाई समृद्ध बनाउने सोच र त्यस अनुरुपको दूरगामी नदी नीति आजको आवश्यकता रहेको उनको बुझाइ छ ।

गिनिज बुकमा लेखाइने

आलेले यो नदीको महत्त्व बुझाउनका लागि गिनिज बुकमा नाम लेखाउने प्रयास गरिरहेका छन् । त्यसका लागि आगामी नोभेम्बरमा संसारकै सबैभन्दा लामो ¥याफ्टिङ रेस आयोजना कर्णालीमा गर्दैछन् आले । यसअघि एक पटक नदी शिखर सम्मेलनको आयोजना भइसकेको छ । ‘नमासम् राखम कर्नाली’ भन्ने निष्कर्षसहित  सम्मेलन सम्पन्न गरिएको थियो ।

‘कर्नाली प्रकृतिको बरदान हो, यो गिनिज बुकमा लेखिने छ,’ आलेले भने, ‘अबको ५० वर्षमा पछुताउनुपर्ने गरी कर्नाली नदी नमासौं ।’ आले कर्णाली संकटमा रहेको बताउँछन् ।

उनीमात्र होइन, राजनीतिकर्मी एवं कर्णाली नदीकै किनारामा बसोेबास गर्दै आएकी दीपा बोहोरा पनि कर्णाली नदी संकटमा रहेकोप्रति चिन्ता व्यक्त गर्छिन् । ‘नदी आसपासमा रहेका बस्तीको एउटै आधार नै कर्णाली हो,’ बोहोरा भन्छिन्, ‘कुनै समय नदी धमिलो हुँदा पनि मान्छेहरु अमृत जस्तै ठानेर पानी पिउँथे तर आज सफा नदी हुँदा पनि मान्छेहरु पानी पिउन सकिरहेका छैनन् । किनकि मानव जातिले कर्णालीलाई निकै दुषित बनाइसकेको छ ।’

सफा र स्वच्छ कर्णाली विस्तारै पीडाको कारक बनिरहेकोप्रति बोहोराले चिन्ता व्यक्त गरिन् । बर्खा याममा कर्णाली गर्जिने गरेको उनले बताइन् । कर्णालीमा नुहाउँदा पाप कट्छ भन्ने मान्यता रहेको बताउँदै बोहोरा भन्छिन्, ‘कर्णाली आफै मलाई लुटिरहेका छन् भनेर रुने गरेको छ, कर्णाली नदीलाई रुने स्थिति सिर्जना कसरी भयो ? राज्यले गम्भीर ध्यान दिनुपर्छ ।’

नेपाल सरकारका सह–सचिव कलानिधि पौडेल पानीको संरक्षणमा राज्य नै अग्रसर नभएको बताए । लामो समयसम्म राष्ट्रिय जलस्रोत नीति नभएको र अहिले बनाइएको उल्लेख गर्दै उनी भन्छन्, ‘नदी संरक्षण र यसको बचाउका लागि अहिलेसम्म कुनै निकाय छैन, जस्तो वन संरक्षणका लागि निकाय छन्, त्यस कारण नेपालमा नदी शिखर संरक्षण सम्बन्धी कानुन आवश्यक छ । त्यसतर्फ अहिले सरकार लागिरहेको छ । जलस्रोत ऐन बन्छ ।’

उनी अब पानीको सुत्रका लागि पनि राज्यले बजेटको व्यवस्थापन गर्नुपर्ने बेला आएको बताउँछन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप