इरान इन्टरनेशनल न्युज च्यानलले बेलायतमा रोक्यो आफ्नो काम : भन्यो, ‘पत्रकारलाई बचाउनै सकिँदैन कि भन्ने डर लाग्यो’

बेलायतद्वारा सञ्चालित फारसी भाषाको स्वतन्त्र समाचार च्यानल ‘इरान इन्टरनेशनल न्युज च्यानल’ ले लन्डनस्थित आफ्नाे कार्यालय बन्द गरेकाे छ । च्यानलले आफ्ना पत्रकारले पाइरहेको धम्कीका कारण बेलायतमा सञ्चालन निलम्बन गरेकाे घोषणा गरेको छ ।
च्यानलले ‘इरानबाट राज्य समर्थित धम्कीमा उल्लेख्य वृद्धि भएको कारण’ यो निर्णय लिइएको बताएको छ । च्यानलका अनुसार धम्की यति हदसम्म बढेको थियो कि यो च्यानलका कर्मचारीहरूलाई बचाउन सम्भव छैन भन्ने महसुस भयो ।
यद्यपि च्यानलले अमेरिकाको वासिङ्टन डिसीमा रहेको आफ्नो कार्यालयबाट काम सञ्चालन जारी रहने बताएको छ । नोभेम्बरमा यस च्यानलका दुई बेलायती–इरानी पत्रकारलाई प्रहरीले उनीहरूको ज्यान खतरामा पर्न सक्ने चेतावनी दिएको थियो ।
त्यसपछि पश्चिम लन्डनको चिसविकमा रहेको च्यानलको स्टुडियो नजिक प्रहरी गार्ड तैनाथ गरिएको थियो । साथै, उनको भवन बाहिर कङ्क्रिटको अवरोध खडा गरिएको थियो ।
यसै क्रममा लन्डनको मेट्रोपोलिटन प्रहरीका अनुसार पछिल्लो एक वर्षमा अपहरण र हत्याका करिब १५ वटा षड्यन्त्रलाई असफल पारिएको छ । प्रहरीले बेलायतमा बसिरहेका इरान सरकारका कथित दुस्मनलाई खतरा हुनसक्ने बताएको छ ।
सञ्जालका महाप्रबन्धक महमूद इनायतले भने, ‘यो मामिला यो स्तरमा पुगिसकेको भन्नेमा मलाई विश्वास नै लागिरहेको छैन । एक विदेशी सरकारले बेलायतको धर्तीमा बेलायती जनताका लागि यति ठुलो खतरा पैदा गरिरहेको छ कि हामीले आफ्नो काम रोक्नु पर्नेछ ।’
उनले भने, ‘मलाई यो स्पष्ट पार्न दिनुहोस् कि यो हाम्रा टिभी स्टेसनहरूका लागि मात्र होइन, बेलायती जनताको विशाल बहुमतका लागि पनि खतरा हो ।’