पूर्वराजाद्वारा राजनीतिक दलसँग सहकार्यको प्रस्ताव
काठमाडौँ । पूर्व राजा ज्ञानेन्द्र शाहले राजनीतिक दलहरूसँग सहकार्यको प्रस्ताव अघि सारेका छन् । देश जोगाउन प्रजातन्त्रको लागि अपरिहार्य राजनीतिक दलहरू र लामो समय देशभक्तिपूर्ण ऐतिहासिक विरासत बोकेको राजसंस्था आएर आपसी विश्वासका साथ सहकार्यको लागि विलम्ब गर्न नहुने उनले बताएका हुन् ।
राष्ट्रिय प्रजातन्त्र दिवसको पूर्व सन्ध्या शुभकामना सन्देश जारी गर्दै शाहले नेपालको निरन्तर अधोगति प्रति अब आफू मौन रहन नसक्ने बताउँदै उनले पछिल्ला वर्षहरूमा देशको दीर्घकालीन शान्ति ,स्थिरता र अन्तर्राष्ट्रिय सम्मान र सार्वभौमिकतामा चिरा चिरा पर्न थालेको प्रति चिन्ता व्यक्त गरेका छन् । उनले भनेका छन्, ‘राज्यसत्ताको बागडोर ज–जसका हातमा दोहोरिँदै तेहरिँदै आए पनि वा फेरिँदै बदलिँदै गए पनि हाम्रो विद्यमान राज्य व्यवस्थाले जनताको सुख, शान्ति र राष्ट्रले श्री समृद्धिमा कुनै गहन योगदान दिन सकेको देखिन्न ।’
पूर्व राजा शाहले हालै सम्पन्न आमनिर्वाचनमा युवाहरूको सहभागिता र केही आशालाग्दा नतिजाहरूप्रति आशा व्यक्त गरेका छन् ।
७३ औँ राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा पूर्वराजको शुभकामना सन्देश
नेपाली दिदीबहिनी तथा दाजुभाइहरु,
प्रजातन्त्र दिवसको सन्दर्भमा हामी प्रजातन्त्रका उत्प्रेरक हाम्रा पूज्य जिजुबुबा राष्ट्रपिता श्री ५ त्रिभुवन सहित प्रजातन्त्रका निम्ति त्याग, उत्सर्ग र योगदान गर्ने सबैको संस्मरण गर्न चाहन्छौँ । जनचाहना बमोजिम राजसंस्थाले गद्दी दाउमा राखेर प्रजातन्त्रका लागि जनतासँग हातेमालो गरेको आठौँ दशक पुग्दै गर्दा यसका सबल र सुधार गर्नुपर्ने पक्षको समीक्षाका साथै ऐतिहासिक क्षणको विस्तारित एवं यथार्थपरक संस्मरण नयाँ पुस्ताको ज्ञान र प्रेरणाका लागि आवश्यक भइसकेको छ ।
बडामहाराजाधिराज श्री ५ पृथ्वीनारायण शाह देखि आजको समयावधिसम्म हेर्दा नेपालको राज परम्परा सदा नै लोकसम्मत, प्रजातान्त्रिक, युगानुकूल जनहितकारी र विकासमुखी रही आएको छ । नेपाल एकीकरणको झन्डै २४० वर्षपछि हामीबाट शासकीय सत्तारुपी जनताको नासो जनतालाई नै बुझाएका थियौँ । विविधतापूर्ण नेपाल अधिराज्यलाई थप प्रतिनिधिमूलक र समावेशी बनाउने प्रयासको विस्तार स्वागत योग्य भए पनि अहिले कुशासन, भ्रष्टाचार, निराशालाग्दो आर्थिक शिथिलता र सामाजिक विग्रहको चपेटामा नेपाल फसेको छ । प्रविधिको विकास र अन्तर्राष्ट्रिय सन्निकटताले समाजका आधुनिक अपेक्षाहरू सम्बोधन गर्ने विधि निषेध होइन, सहकार्यको राजनीतिमा अन्तर्निहित छ । अहिले युवाहरूको हकमा नेपालको इतिहास मै अद्वितीय जनसाङ्ख्यिक लाभांशको चरणबाट गुज्रिरहेको छ । यस्तो अवस्था अब धेरै अवधि रहने छैन । युवाहरू आफ्ना सम्भावना र अवसरबाट वञ्चित हुने अवस्था, आम नैराश्यमा बदलिने जोखिम बढ्दो छ । हालै सम्पन्न आमनिर्वाचनमा युवाहरूको सहभागिता र केही आशालाग्दा नतिजाहरूबाट मुलुकको आगामी दिशाबारे आङ्कलन गर्न सकिन्छ । विगत बिस वर्षमा दसौँ लाख युवाहरू विदेश पलायन र फराकिलो डायस्पोराको निर्माण, विप्रेषण समाज र अर्थतन्त्र दुवै ठुलो मात्रामा आश्रित हुँदा सकारात्मक र नकारात्मक असरबारे आगामी उज्यालो भविष्यको लागि राष्ट्रिय बहस जरुरी भइसकेको छ ।
देश बलियो बनाउने, समाजलाई आफ्नो राष्ट्रिय परिचय सहित रूपान्तरण गर्ने र भावी पुस्तालाई समुन्नत नेपाल छोडेर जानका लागि राजनैतिक तथा सामाजिक रूपले दबाब दिन सक्ने युवा शक्ति बाहिर हुँदा राजनीतिक दलका नेताहरूलाई हाइसन्चो भएको भान होला । तर कडा मेहनत गरी आफ्नो खुट्टामा उभिन खोज्ने स्वाभिमानी नेपालीहरू अहिले निराश छन् । देशभित्र उज्यालो सम्भावना नदेखिएकोले अप्रिय बाटो रोज्न बाध्य छन् । देशको परिस्थितिले आशा जगाउन नसक्दा हिमाल, पहाड र तराई मधेसका सबै दीन दुःखी नेपाली दाजुभाइ, दिदीबहिनीहरूले स्वदेश मै गरिखाने माहौल नहुनु भन्ने सोचले जरा गाड्दै जानु चिन्ताको विषय हो । स्वदेश मै उद्यम गर्ने र स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्ने उद्देश्यले कर्मशील युवाहरू अगाडी बढ्न खोज्दै छन् ।
राज्यसत्ताको बागडोर ज–जसका हातमा दोहोरिँदै तेहरिँदै आए पनि वा फेरिँदै बदलिँदै गए पनि हाम्रो विद्यमान राज्य व्यवस्थाले जनताको सुख, शान्ति र राष्ट्रले श्री समृद्धिमा कुनै गहन योगदान दिन सकेको देखिन्न । देश र जनता भन्दा दलगत, पारिवारिक र व्यक्तिगत लोभ र लालचको जन्जालमा राजनीतिक दलका धेरै नेताहरू फसेका छन् । तिनका धेरै कार्यकर्ताहरूमा राजनीतिक छत्रछाया नभई जीवनमा केही हासिल गर्न सकिँदैन भन्ने मनोभाव विकसित गरिएको छ । प्रश्न गर्न नसक्दा र नपाउँदा दलहरूको आन्तरिक सुधार एवं विकल्पको गुन्जाइस नदेखेको आभास समाजमा उजागर भएको छ। दलहरूले नेपालको निम्न एवं मध्यमवर्गको मुद्दामा मौन रहने प्रवृत्ति बढ्दो छ । शासकीय उत्तरदायित्व र गाम्भीर्यको कमी देशभित्रका सवालमा मात्र होइन परराष्ट्र सम्बन्धमा पनि देखिन थालेको छ । नेपालको सार्वभौमिक परिचयमा नै आँच आउने गरी कमजोर मानसिकताका साथ स्वार्थ केन्द्रित अपरिपक्व परराष्ट्र नीतिको अभ्यास गम्भीर चिन्ताको विषय भएको छ ।
नेपालको अत्यधिक बहुसङ्ख्यक जनताले चाहेको निर्णय स्विकार्ने हाम्रो वंशको परम्परा र संस्कार हो । शोकाकुल अवस्थाको अत्यन्तै प्रतिकुल पलहरूमा पनि हामीले सम्यमता र देशभक्ति गुमाएनौँ र देश छोडेर पनि गएनौँ । तर नेपालको निरन्तर अधोगति प्रति अब हामी मौन रहन सक्दैनौँ । यी यावत वर्षहरूमा देशको दीर्घकालीन शान्ति ,स्थिरता र अन्तर्राष्ट्रिय सम्मान र सार्वभौमिकतामा चिरा चिरा पर्न थालेको छ । अब यो देश जोगाउन प्रजातन्त्रको लागि अपरिहार्य राजनीतिक दलहरू र लामो समय देशभक्तिपूर्ण ऐतिहासिक विरासत बोकेको राजसंस्था आएर आपसी विश्वासका साथ सहकार्यको लागि विलम्ब गर्नु हुँदैन ।
यस वर्ष यो दिवस मनाउँदै गर्दा नयाँ पहलको प्रण गर्दै नेपालको प्रजातन्त्रलाई थप उन्नत र सार्थक बनाऔं । देशभक्ति, सुशासन, आर्थिक प्रगति, सार्वभौमिक भावना र सनातन धर्म सहितको नेपाली पहिचानको सम्वर्द्धन गर्ने गराउने ध्येय नै मूलमानयताको रूपमा स्थापित गरौँ ।
श्री पशुपतिनाथले हामी सबैको कल्याण गरुन् । जय नेपाल , २०७९ साल फागुन ७ गते
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अब धरहरा चढ्न दुई सय रुपैयाँ शुल्क लाग्ने
-
राजस्व कार्यालयमा कर्मचारी नहुँदा सेवाग्राही मर्कामा
-
निर्यात बढेपछि घट्यो देशको व्यापार घाटा
-
आज राजधानीमा नेकपाको जनसभा : विप्लवले सम्बोधन गर्ने
-
कर्णालीको विकासका लागि सहकार्य हुनुपर्छ : मुख्यमन्त्री कँडेल
-
पूर्णबहादुरको सारङ्गी : ‘बा’को कथा कि गन्धर्व लोकजीवनको उजागर ?