आर्मीका गजिन्द्रलाई हाफ म्याराथनको उपाधि

बुटवल । नेपाली सेनाको ३ सय ६० औ वार्षिक उत्सव तथा महाशिवरात्रि २०७९ को अवसरमा आज बुटवलमा गरिएको हाफ म्याराथन त्रिभुवन आर्मी क्लबका गजिन्द्र राईले जितेका छन् । राईले १ घण्टा ६ मिनेट ५० सेकेन्डमा २१ किलोमिटरको दुरी पार गर्दै उपाधि चुमेका हुन । उपाधिसँगै उनले नगद ४० हजार रुपैयाँ, मेडल, प्रमाणपत्रबाट पुरस्कृत भएका छन् ।
खेलकुदको विकास तथा आफ्नो स्वास्थ्यको लागि दौड भन्ने नारासहित आयोजना गरिएको प्रतियोगितामा आर्मीकै सुशील कुमार शाही १ घण्टा ७ मिनेट ४६ सेकेन्डमा दुरी पार गर्दै दोस्रो भएका छन् । उनी नगद २५ हजार रुपैयाँ, मेडल, प्रमाणपत्रबाट पुरस्कृत भए । आर्मीकै जितेन्द्र दनुवार १ घण्टा १९ मिनेट ५७ सेकेन्डमा दुरी पार गर्दै तेस्रो बन्दै नगद १५ हजार रुपैयाँ, मेडल, प्रमाणपत्रबाट पुरस्कृत भएका छन् ।
मध्य पश्चिम पृतना र श्री नं २२ बाहिनी अड्डाले बुटवलमा आयोजना गरेको खुल्ला हाफ म्याराथन पुरुष तथा १० किलोमिटर (महिला÷पुरुष) दौड प्रतियोगिताको पुरुष १० किलोमिटर दौड त्रिभुवन आर्मी क्लबका खगेन्द्र रानाभाट ३१ मिनेट ३७.४२ सेकेन्डमा दुरी पार गर्दै उपाधि चुमेका छन् ।
एपीएफका सन्जित नेपालीले ३४ मिनेट ४७.५७ सेकेन्डमा दुरी पार गर्दै दोस्रो भए । महावीर गणका रमेश सिजापति ३६ मिनेट ४२.१५ सेकेन्डमा दुरी पार गर्दै तेस्रो भए । १० किलोमिटर महिला दौड त्रिभुवन आर्मी क्लबकी सिपाही गीता विकले ४० मिनेट १५.०५ सेकेन्डमा दुरी पार गर्दै प्रथम भए । आर्मीकै सिपाही निर्मला केसी ४१ मिनेट १५.२० सेकेन्डमा दुरी पार गर्दै दोस्रो भए । यसगरि महेन्द्र दल गणकी सिपाही धनमाया बोहराले ४३ मिनेट ४६.१५ सेकेन्डमा दुरी पार गर्दै तेस्रो स्थान हासिल गरे । प्रतियोगिताको प्रथम, द्वितीय र तृतीय खेलाडीहरूले क्रमशः नगद १५ हजार, १० हजार र ५ हजार रुपैयाँसहित मेडल, प्रमाणपत्रबाट पुरस्कृत भएका छन् ।
एक कार्यक्रमका बिच मध्य पश्चिम पृतना हेड क्वाटरका पृतनापति उपरथी याम प्रसाद ढकाल, बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डे, श्री नं २२ बाहिनी अड्डाका बाहिनी पति सहायक रथी नवराज गुरुङले विजेता, उपविजेता खेलाडीहरूलाई पुरस्कृत वितरण गरेका कार्यक्रम संयोजक उज्ज्वल केसीले बताए । उनले नागरिक सैनिक बिचको सम्बन्ध सुमधुर बनाउने एउटा माध्यमका रूपमा खेल आयोजना गरिएको बताए । कार्यक्रममा ४ सय बढी खेलाडीहरू सहभागी रहेका थिए ।