‘माधवी’ उपन्यासका पात्रसँग सपनामा संवाद गर्थे मदनमणि’
काठमाडौँ । मदनमणि दीक्षित नेपाली आख्यान क्षेत्रका एक खम्बा हुन् । नेपाली साहित्यकारहरूमाझ उनको ‘माधवी’ उपन्यास चर्चित र प्रतिष्ठित छ ।
नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति वैरागी काइँलाका अनुसार पूर्वीय ज्ञानका क्षेत्रमा अगाध जानकारी राख्ने भएकाले पूर्वीय दर्शन, पुराण, वेदहरूमा आधारित भएर उच्च कोटीको आख्यानात्मक साहित्यिक रचना माधवीजस्तो कृति लेख्न दीक्षितले सफलता पाए ।
माधवी उपन्यासलाई २०३९ को मदन पुरस्कार प्रदान गरिएको थियो । यस उपन्यासलाई मदन पुरस्कार दिएर यो पुरस्कारको गरिमा अझ उच्च कोटीको र सम्मानित हुन पुगेको समेत कतिपय समालोचकको धारणा छ ।
‘कसले जित्यो कसले हार्यो’ शीर्षकको कथा विसं २०१९ सालमा ‘रूपरेखा’मा प्रकाशित गरी साहित्यिक यात्रामा टेकेका दीक्षित जीवनभर लेखन र सिर्जना क्षेत्रमै समर्पित रहे ।
दीक्षितको जन्म विसं १९७९ फागुन ६ गते बुवा लक्ष्मणमणि आचार्य दीक्षित र आमा विष्णुकुमारीका पुत्रका रूपमा गैरीधारा, काठमाडौँमा भएको थियो । नेपाली साहित्यका क्षेत्रमा जीवनभर समर्पित उनी २०७६ साउन ३० गते जनैपूर्णिमाका दिन यस धर्तीबाट बिदा भए ।
उनको सम्पादकत्वमा प्रकाशित हुने ‘समीक्षा’ पत्रिका पञ्चायतले पटक पटक बन्द गर्दा राजदरबार अगाडि आत्मदाह गर्ने सोचसमेत आएको प्रसङ्ग उनले उल्लेख गरेका छन् ।
केही समय प्रज्ञा प्रतिष्ठनामा उपकुलपतिसमेत रहेका उनका माधवी, चरैवेति, त्यो युग, हाम्रा ती दिन, म रुँदै बिर्सन्छु, बर्लिन डायरीका पाना, लाखौँ शिशुहरू लिफ्ट मागिरहेछन्, मेरी आमाको प्रश्नलाई आज जवाफ चाहिएको छ, कसले जित्यो कसले हार्यो ? दस लाख हिरोसिमातिर, ग्यास च्याम्बरको मृत्यु, जीवन महाअभियान, ऋग्वेदः केही प्रमुख सूक्त लगायत थुप्रै गहन कृति प्रकाशित छन् ।
विसं २०३९ मा माधवी उपन्यासका लागि मदन पुरस्कार र सोही वर्ष साझा पुरस्कार पनि प्रदान गरिएको थियो । यसै गरी भानुभक्त पुरस्कार, लेखनाथ साहित्य पुरस्कार, पद्मश्री सम्मान, राष्ट्रिय कलाश्री सम्मान, राष्ट्रिय पत्रकारिता पुरस्कारलगायत दर्जनौँ पुरस्कारबाट सम्मानित भए ।
दीक्षित प्रज्ञा प्रतिष्ठानमा रहँदा ‘अभिव्यक्ति’का सम्पादक नगेन्द्रराज शर्मा पनि प्राज्ञ सभा सदस्य थिए । दुबै नेपालका अधिकांश जिल्ला सँगै हिँडेका थिए । प्रस्तुत छ, दीक्षितसँग हजारौँ कोश सँगै यात्रा गरेको बताउने वरिष्ठ साहित्यकार नगेन्द्रराज शर्मासँग मदनमणि दीक्षितका विविध स्वभावबारे गरिएको कुराकानी :
मदनमणि दीक्षितसँग तपाईंको पहिलो भेट कसरी भएको थियो ?
२०२७ सालमा त्रिभुवन विश्वविद्यालयको सेडा (सेन्टर फर इकोनोमिक डेभलपमेन्ट एन्ड एड्मिनिस्ट्रेसन) मा म काम गर्थें । त्योबेला मदनमणि दीक्षितको पत्रिका समीक्षामा सेडाको विरोधमा लेख आएको थियो ।
सेडा अमेरिकन संस्था हो भनेर विरोधमा समीक्षा पत्रिकामा प्रकाशित गरेका थिए । त्यसको खण्डन गर्न डाइरेक्टर पशुपति शमशेरले मलाई पठाउनुभयो । त्यो लिएर म समीक्षाको अड्डामा गएँ । मेरो पहिलो प्रत्यक्ष भेट त्यहाँ भएको हो । तर उहाँलाई पहिलेदेखि नै चिन्थेँ तर दोहोरो चिनजान भने त्यतिबेला भएको हो ।
साहित्यकारहरूका लहरमा मदनमणि दीक्षित कस्तो खालका व्यक्तित्व हुन् ? तपाईंले कसरी सम्झनु हुन्छ ?
उच्च कोटीका हो उहाँ । नेपाली साहित्यमा फस्ट ट्वान्टीभित्र पर्नुहुन्छ उहाँ । मतलब पहिलो लहरमा हुनुहुन्छ ।
अक्षरका हिसाबले अर्थात् क्वान्टिटीका हिसाबले चाहिँ उहाँ २, ३ नम्बरमै पर्नुहुन्छ । किताब प्रकाशनका हिसाबले सयवटा नाघेका त अरू साहित्यकार पनि छन्, ७० वटा नाघेका कमलमणिका पनि छन्, कसैका साना, मसिना पुस्तकहरू हुन्छन् । तर अक्षरका हिसाबले चाहिँ सम्भवतः दोस्रो तेस्रोमा उहाँ हुनुहुन्छ होला । भनाईको अर्थ उहाँले धेरै लेख्नुभएको छ ।
साहित्यका किताब मात्र होइन, समीक्षाका सन्दर्भका कुराहरू पनि जोडेर भनेको हो । समीक्षामा सम्पादकीय लेख्नुहुन्थ्यो, विभिन्न नामले फिचरहरू लेख्नुहुन्थ्यो । लेख्दा लेख्दा अन्तिम अवस्थासम्म लेख्न नसक्दा पनि उहाँले डिक्टेट (लेखन सहयोगीमार्फत्) गराउनु भएको छ अस्पतालबाट । मृत्युको एक दुई दिनसम्म पनि उहाँले लेखाउनुभयो । भनेपछि अक्षरका हिसाबले उहाँ एक नम्बर नै हो ।
पञ्चायती शासकले समीक्षा पत्रिका बन्द गराएपछि उहाँ माधवी उपन्यास लेखनतिर लागेको भन्ने सुनिन्छ । समीक्षा बन्द गराउनुको उद्देश्य चाहिँ के रहेछ ?
पञ्चायतविरोधी भयो भनेर पटक पटक बन्द गराएको हो । मेरो विचारमा आठ, दस पटक बन्द भएको छ । तर त्यो धेरै लामो, वर्षौं बन्द भने भएन । समीक्षा बन्द भएपछि उहाँको हात चिलाउँथ्यो, सकसक लागिरहन्थ्यो । लेख्नुपथ्र्यो उहाँलाई । अनि उहाँले कथा पनि लेख्नुभयो, उपन्यासमा पनि हात हाल्नुभयो । लेख्ने बानी उहाँको जुन थियो नि, समीक्षा बन्दको छटपटी भएका बेला उहाँले बढी साहित्य लेख्नुभयो ।
ओखलढुङ्गा जाँदा तपाईं सँगै जानुभएको प्रसङ्ग पनि कहीँकतै पढेको थिएँ । उहाँ माधवी उपन्यास लेखनकै क्रममा हुनुहुन्थ्यो क्यारे त्यतिबेला । माधवी उपन्यासका पात्रका बारेमा सपनामा खुब बर्बराउनु हुन्थ्यो रे नि ? हजुरलाई केही सम्झना छ ?
मदनमणि दीक्षितसँग मैले हजारौँ किलोमिटर यात्रा गरेको छु । पश्चिम धनगढी महेन्द्रनगर, पूर्व मेचीसम्म । ओखलढुङ्गा पनि गएको छु उहाँसँग । मदनमणिसँग सबैभन्दा बढी हिँड्ने मै हुँ ।
खास गरी उहाँ एकेडेमीमा कुलपति भएपछि म पनि प्राज्ञ सभा सदस्य थिएँ । तीन चार जना हामी सँगै हिँड्थ्यौँ । कहिले ज्ञानुवाकर, कहिले उहाँका छोरा विनोदमणि, कहिले देवीप्रसाद सुवेदी, कहिले रोचक घिमिरे हिँड्नुहुन्थ्यो । तर जो हिँडे पनि उनीहरू अल्टरनेटिभ हुन्थे, म चाहिँ सधैँ हुन्थेँ ।
उपन्यास लेख्दा मात्र होइन, उहाँ अघि पछि पनि सपनामा बर्बराउनु हुन्थ्यो । म धेरै पटक एउटै कोठामा उहाँसँगै सुतेको छु । उहाँ बर्बराएको कतिपय समयमा रेकर्ड गर्ने प्रयास पनि गरेँ । तर टेप मिलाउँदा मिलाउँदै उहाँको बर्बराइ सकिन्थ्यो पनि ।
माधवी उपन्यास लेख्ने सन्दर्भमा माधवीसँग डायलग गरेको पनि सपनामा बोल्नुहुन्थ्यो ।
यसको अर्थ माधवीमा उहाँ धेरै गहिरिएर लाग्नुभएको रहेछ, सपनीमै देख्ने गरी ?
यो निकै गहन कृति हो, सबैजसो पाठक, समीक्षकले यसो ठान्छन् । उहाँका गहन कृतिमध्ये सबैभन्दा उत्कृष्ट माधवी हो । यसले मदन पुरस्कार पनि पायो, धेरै नाम कमायो । गहन कृति त उहाँका अरू पनि छन् । तर त्योचाहिँ एउटा पुरस्कृत, प्रतिष्ठित र सबैभन्दा पपुलर भयो ।
उहाँ सँगको भेटको सबैभन्दा मीठो प्रसङ्ग के सम्झना छ ?
हामी यात्रामा हुन्थ्यौँ । यात्रामा समय बिताउन गाह्रो हुन्छ नि भन्थेँ । उहाँले वर्ल्ड क्लासिक भन्छन् नि ठुल्ठूला उपन्यासहरू, जुन मैले पढेको थिइनँ, उहाँले पढ्नुभएको थियो । म ती किताबका बारेमा सोध्थेँ । जस्तो वार एन्ड पिसको कथा मलाई एक पटक बताइदिनुस् न भनेँ ।
उहाँले एक एक गरी आँखाले देखेको जस्तो, नाटक देखाए जस्तो गरी डिटेलमा मलाई त्यो कथा सुनाउनु भयो । कति त मैले पढेर पनि बिर्सेको हुन्थेँ, उहाँले ठुल्ठूला किताबहरूका पाठ सबै सुनाउनुहुन्थ्यो । उहाँको स्मरण शक्ति पनि बहुत तेज थियो । यात्रामा उहाँले धेरैवटा किताबहरू मजाले सुनाउनु भएको छ । उहाँसँगको मीठो प्रसङ्ग त्यही हो ।
रमाइलो कुरा के भने उहाँकी श्रीमतीचाहिँ समय बिताउने कुरा गर्दा पुराना सिनेमाका कथा सुनाउनु हुन्थ्यो । उहाँलाई हिन्दी सिनेमाको बारेमा धेरै ज्ञान थियो । हिन्दी सिनेमाका कथा, हिन्दी सिनेमाका हिरो, हिरोइनका कथा सुनाउनुहुन्थ्यो ।
वर्ल्ड क्लासिक ठूल्ठूला नाम चलेका पुरस्कार प्राप्त गरेका किताबहरू मदनमणिले सुनाउनुहुन्थ्यो । मेरा लागि त्यो निकै मीठो रमाइलो क्षण हो ।
के कुनै कुराप्रति उहाँ दुःखी हुनुहुन्थ्यो ? कुनै कार्य गर्न नसक्दा, नगर्दा वा कसैले दुःख दिएको बारेमा ?
आफ्ना पिताजीसँग यौवनकालमा राम्रो सम्बन्ध थिएन उहाँको । पितासँग अलि नराम्रो भएपछि घर छोडिदिनुभयो । अंशै छोडेर हिँड्नुभयो, दुःख पाउनु भयो । एक रुपियाँ, दुई रुपियाँ मागेर छाक टारेँ भनेर उहाँले लेख्नु भएको छ । अभिव्यक्तिमा मैले नै पनि छापेको छु ।
२०१४ साल तिरको कुरा हो, उहाँले सबैभन्दा दुःख पाएको कुरा भनेर एउटा निबन्ध नै लेख्नुभएको छ, मैले छापेकै छु । त्यसो हुनाले मोहोर रुपियाँ सापट लिनुपर्ने सम्मको अवस्था परेको थियो उहाँलाई । त्यो बेलाको मोहोर निकै ठूलो हुन्थ्यो ।
उहाँको छोरा विनोदमणि दीक्षित मेरो साथी हो । त्यहाँ जाँदाओर्दा दोस्तीचाहिँ बुबासँग बढ्यो । छोरा टाढिए, बुबा साथी भए । त्यसरी हाम्रो मित्रता प्रगाढ थियो ।